Skip Advt.

देश

देउसराले पाइन् १०३ वर्षमा नागरिकता

सुर्खेत । खत्याड गाउँपालिका–११ मुगु लुई गाउँकी १०३ वर्षीया देउसरा कार्कीले नागरिकता प्रमाणपत्र प्राप्त गर्नुभएको छ । 

जिल्ला प्रशासन कार्यालय मुगुको आयोजनामा मुगु खत्याड गाउँपालिकामा जेठ ३० गतेदेखि सञ्चालित एकीकृत घुम्ती शिविरमा कार्कीलाई नागरिकता प्रदान गरिएको मुगुका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिनुभयो । छत्तीस वर्षमात्र आयु भएका नागरिकको जिल्ला भनेर चिनिएको मुगुमा १०३ वर्ष उमेरसम्म बाँच्ने र जीवनको अन्तमा भएपनि नागरिकता पाउने देउसरा पहिलो भाग्यमानी महिला भन्छिन् । 

ओरालो लागेको जीवनको अन्तमा भएपनि नेपाली नागरिक हुन पाएकामा देउसराले खुशी व्यक्त गर्नुभयो । “योभन्दा अघि जिल्लाको कुनै हाकिम यहाँ आएनन्, यतिबेला सिडिओ साब पहिलो पटक घरदैलोमा आएर नेपाली नागरिक हुने मौका दिनु भएको छ, मलाई ठूलो खुशी मिलेको छ,” हर्षित मुद्रामा कार्कीले भने र प्रजिअ अधिकारीलाई फलिफाप होस् भनेर आशीर्वाद दिए । 

प्रजिअ अधिकारीले औसत आयु ४६ वर्ष भएको मुगु जिल्लामा १०३ वर्षको आमालाई नागरिकता दिन पाउँदा आफूलाई सौभाग्यशाली ठानेको बताए। “अशिक्षा, गरिबी र लुई गाउँ दुर्गम भएर होला, आमाले नागरिकता लिन पाउनु भएको रहेनछ,” उनले भने । 

घुम्ती शिविरबाट नौ सय लाभान्वित 

मुगु सदरमुकाम गमगढीबाट एक दिन समय लाग्ने खत्याड गाउँपालिकामा सञ्चालित एकीकृत घुम्ती शिविरबाट नौ सयभन्दा नागरिकहरु लाभान्वित भएका छन् । 

जिल्ला प्रशासन, जिल्ला समन्वय समिति, मालपोत, महिला तथा बालबालिका, स्वास्थ्य तथा पशुसेवा कार्यालयसहितको एकीकृत घुम्ती शिविरबाट नौसयभन्दा बढी नागरिकहरुले सेवा लिएका छन् । शिविरमा ४३८ जनालाई नागरिकता, ३३ बाल परिचयपत्र, ४८ अपांग परिचयपत्र, ११ जनालाई मालपोत नामसारी, चारजनालाई बकस, चार जनालाई राजीनामा, तीनजनाको नाम संशोधन र ३० जनालाई पुरानो फिर्ता गरी नयाँ पूर्जा जारी गरिएको उनले बताए। उनका अनुसार जेठ ३० गतेबाट शुरु भएको घुम्ती शिविर यही असार ७ गतेसम्म सञ्चालन हुनेछ । 

स्थानीय सरकारकै योजना गुणस्तरीय 

संघीय सरकारका विद्यमान संरचनाका साथै स्थानीय सरकारअन्तर्गतका विकास योजनाको काम अहिले धमाधम भइरहेका छन् । 

सबै तहमा असारे विकासको चटारो छ । दैनिक प्रशासन सञ्चालनार्थ हरेक तहमा चालू बजेट त निरन्तर खर्च भइरहेको छ । यद्यपि, पूँजीगत बजेट आखिर त्यही ‘असारे विकास’ भन्ने थेगो भन्दा फरक तरिकाबाट कार्यान्वयन नभएको स्थानीय जनता बताउँछन् । स्थानीय सरकार सञ्चालन भएको एक वर्षपछि पनि यो अवस्थाट धेरै स्थानीय सरकारहरु टाढा छैनन् ।    सञ्चालित योजनाको गुणस्तर र विकासमा तीव्रता स्थानीय सरकारले ल्याएको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए । 

प्रजिअ अधिकारीले भने – “संघीय सरकारबाट सञ्चालित स्कूल भवन, खानेपानी, सिँचाइ जस्ता योजनामा त्रुटि देखिएको छ । तिनको विवरण संकलन गर्दैछौं ।” केन्द्रको तुलनामा गाउँपालिकाले सञ्चालन गरेको योजनाहरुमा गुणस्तर र काममा छरितोपन देखिएको उनको दाबी छ । रासस

तपाईंको मत