प्रवास

क्यानाडामा गैरनाफामूलक संस्थामा स्वयंसेवा 

डा. कुसुमाकर शर्मा

क्यानाडामा गैरनाफामूलक संस्थामा स्वयंसेवा 

यस लेखमा गैरनाफामूलक स्वयंसेवी संस्थाले आफ्ना स्वयंसेवीलार्ई कसरी अनवरत आबद्ध गरिराख्न सक्छन् भन्ने  उपायहरुमध्ये सबैभन्दा प्रभावकारी उपायको वर्णन गरिएको छ। स्वयंसेवीहरु पनि मानवीय गुणबाट प्रभावित हुने भएकोले तिनको योगदानको कदर गर्दै यथोचित सम्मान गरियो भने उनीहरु लामो समयसम्म संस्थामा आबद्ध भैरहन्छन् । संस्था संचालनको यो प्रभावकारी उपायलार्ई ‘नेपालीज क्यानेडिएन सोसाइटी अफ एडमन्टन (नेकासे) ले कसरी संस्थागत गरेको छ भन्ने यस लेखमा प्रस्तुत गरिएको छ । यस लेखबाट अन्य समान उद्देश्यले स्थापित संघसंस्थालार्ई कसरी स्वयंसेवीको कदर सम्मान गर्ने भन्ने प्रक्रियालार्ई संस्थागत गर्न सकिन्छ भन्ने सिक्न सहयोग मिल्ने आशा गरिएको छ ।

क्यानाडामा  स्वयंसेवीको महत्त्व र पहिचान 
 

स्वयंसेवालार्ई क्यानाडामा अत्याधिक महत्व दिइएको छ र सबै क्षेत्रमा स्वयंसेवीलार्ई प्रोत्साहन दिन नियमितरुपले कदरसम्मान गरिन्छ । क्यानेडिएन स्वयंसेवक आचारसंहिताअनुसार स्वयंसेवाको कार्यले क्यानेडिएन समाजमा, समुदायमा, संस्थाहरुमा तथा व्यक्तिगत स्तरमा ठूलो असर गर्छ । स्वयंसेवकले आफ्नो व्यक्तिगत समय संस्थाका लागि लगाउनेमात्र नभएर संस्था सञ्चालनको जिम्मेवारी पनि बहन गर्छन् ।  त्यसैले संस्थाहरुले स्वयंसेवीलार्ई सधैँ आफ्ना सहयोगी, आधारभूत जनशक्ति, तथा कार्य सञ्चालनका खम्बा मानेका हुन्छन् । सानो होस् वा ठूलो तर स्वयंसेवीले दिएको अमूल्य योगदानको संस्थाले उचित मूल्यांकन गर्नुपर्छ । क्यानेडिएन स्वयंसेवक आचार संहितामा कदरसम्मानलार्ई स्वयंसेवी संस्थाको आदर्शका रुपमा स्थापित गरिएको छ ।  साथै व्यवस्थापन विज्ञानले पनि स्वयंसेवीको उचित कदर, सम्मानलार्ई संस्थाको दिगोपनसँग जोडेको प्रशस्त उदाहरण छन् । 

सन्दर्भ
गैरमुनाफामूलक संस्थाहरु प्रायः स्वयंसेवीबाट संचालित हुन्छन् । क्यानाडामा दानार्थी  एवं उपकारी गरी दुई थरीका गैरमुनाफामूलक संस्था केन्द्रीय तथा प्रान्तीय स्तरमा दर्ता गरेर संचलन गर्न सकिन्छ । अल्बर्टा प्रान्तमा सोसाइटी एक्टअन्तर्गत गैरमुनाफामूलक संस्था दर्ता गरेर संचालन हुन्छन् । क्यानेडिएन तथा क्यानाडाका विभिन्न प्रान्तीय सरकारले गैरमुनाफाका संस्थालार्ई आर्थिक सहयोग पनि गर्छन् । यसै कारणले क्यानाडामा गैरमुनाफामूलक संस्था दर्ता गरेर सञ्चालन गर्ने वातावरण छ । संस्थाको उद्देश्य र संचालन कार्यविधिअनुसार संस्थाको दैनिकी र प्रशासन कर्मचारीबाट अथवा स्वयंसेवीहरुबाटै सञ्चालन हुन्छन् ।  सन् २००० को सुरुमा स्थापना भएको नेकासे पनि सम्पूर्णरुपले स्वयंसेवीहरुबाट संचालित गैरनाफामूलक उपकारी नेपालीहरुको संस्था हो । 

नेकासेले वर्षभरमा विभिन्न नियमित तथा अन्य कार्यक्रम संचालन गर्दैआएको छ । नेपाली भाषाको जुनेली स्कुल, रेडियो काठमाडौंजस्ता नियमित कार्यक्रममा निश्चित् दक्षता भएका स्वयंसेवीहरुको योगदान हुन्छ भने नेपाली पात्रोअनुसार सञ्चालन हुने दसैं, तिहारलगायत विभिन्न सांस्कृतिक कार्यक्रम मनाउँदा सबै खाले स्वयंसेवीहरुको योगदान हुन्छ । यी सबै कार्यक्रमका लागि नेकासेले दुई सय देखि तीन सयसम्म स्वयंसेवीको परिचालन गर्छ । एडमन्टन हेरिटेज फेस्टिभलमा स्टल राखेर नेपाली संस्कृति र परम्परालार्इ प्रदर्शन गर्ने कार्यक्रम नेकासेको सबैभन्दा ठूलो कार्यक्रम हो जसमा तीन सयभन्दा बढी स्वयंसेवी परिचालन हुन्छन् । हेरिटेज फेस्टिवल व्यवस्थापनका लागि स्वयंसेवक व्यवस्थापनमा दख्खल भएका दक्ष स्वयंसेवीका साथै सबै प्रकारका स्वयंसेवीको परिचालन हुन्छ । यसबाहेक नेकासेको प्रमुख आयको स्रोत क्यासिनो इभेन्टका लागि दुई वर्षको अन्तरालमा विभिन्न दक्षता भएका करिब चालीस जना स्वयंसेवी परिचालन हुन्छन् ।

नेकासेले स्थानीयरुपमा मात्रै नभएर नेपालमा आइपर्ने प्राकृतिक विपतमा सहयोग गर्ने उद्देश्यले समयसमयमा विभिन्नस्वरुपका आर्थिक संकलनका कार्यक्रम गर्छ । यसका लागि पनि मनकारी स्वयंसेवीहरुले नेकासेसँग होस्टेमा हैंसे गर्दै दिलोज्यानले सहयोग गर्छन् । उदाहरणका लागि सन् २०१५ मा नेपालमा गएको विनाशकारी भूकम्पका पीडीतहरुका लागि सहायता संकलन कार्यक्रममा करिब एक हजार स्वयंसेवी परिचालन गरिएको थियो । जसबाट करिब एक लाख सत्र हजार क्यानेडिएन डलर संकलन गरिएको थियो । यीलगायत अन्य थुप्रै कार्यक्रमहरु नेकासेले स्वयंसेवकको परिचालनबाट नियमितरुपमा संचालन गर्छ । यसबाट के स्पष्ट हुन्छ भने नेकासे एउटा गतिशील संस्था हो र यसले आफ्ना कार्यक्रमहरु सञ्चालन गर्न वर्षभरमा धेरै संख्यामा स्वयंसेवी परिचालन गर्छ ।

नेकासेमा स्वयंसेवीको परिचालन व्यवस्था
नेकासेले पारदर्शिता, सदस्यहरुलार्ई समान अवसर, तथा जोखिमरहित संस्थाको अस्तित्वलार्ई संस्था संचालनका आधारभूत सिद्धान्तका रूपमा स्थापित गरेको छ । संस्था संचालनका यिनै सिद्धान्तलार्ई मन पराएर स्वयंसेवीहरु दिलोज्यान लगाएर नेकासेका कार्यक्रममा सहभागी हुन्छन् । नेकासेले स्वयंसेवी परिचालनबाट तीनवटा कुरालार्ई लक्ष्य बनाएको छ : १. सदस्यहरुको सहभागिता र दीर्घकालीन अनुबन्ध,  २. सफल कार्य सञ्चालन र ३. नेतृत्वको विकास । नेकासे संस्था र यसका कार्यक्रम संचालन सदस्यहरुले सदस्यहरुका लागि सदस्यहरुको सहभागितामा मात्रै सम्भव छ । नेकासेका हरेक नयाँ कार्यक्रम बनाउँदा अथवा कुनै विधि विधान निर्माण या परिमार्जन गर्दा विभिन्न समितिहरु गठन गरेर कार्य सम्पन्न गर्ने परिपाटी मार्फ्त नेकासेले सदस्यहरुलार्ई आबद्ध गरेको छ । नेकासेका कार्यक्रमहरुमा अगुवाको भूमिका पूरा गर्नु नेतृत्व विकासको पहिलो खुड्किलो हो । समान अवसर र पारदर्शिताका सिद्धान्तका आधारमा नेकासेले आफूले संचालन गर्ने सबै कार्यक्रमका लागि सदस्यहरु माझ समन्वयकर्ताहरुको लागि आह्वान गर्छ । इच्छुक स्वयंसेवकमध्येबाट समन्वयकर्ताको चयन हुन्छ । यसरी छानिएका समन्वयकर्ताले कार्यक्रम सञ्चालन गर्दा आफ्नो नेतृत्व क्षमताको परीक्षण गर्न पाउँछन् र मानव शंसाधनको व्यवस्थाको अनुभव संगाल्न पाउँछन् । साथै नेकासे संचालनका विधिविधानका बारेमा ज्ञान र दक्षता पनि हासिल गर्छन् । स्वयंसेवकका यी ज्ञान र दक्षतानै नेकासे संस्थाको दीर्घकालीन स्थायित्वका लागि अत्यावश्यक धरोहरहरु हुन् । नेकासेका कार्यकारी अथवा कार्यक्रमका समन्वयकर्ताले आफूलार्ई चाहिएका स्वयंसेवीहरुलार्ई परिचालन गर्छन् । 

नेकासेमा स्वयंसेवीको सम्मानको स्थापना 

व्यवस्थापन विज्ञानले स्वयंसेवालार्ई संस्थाको दिगो स्थायित्वसँग तुलना गर्दा पनि क्यानाडामा धेरै संघसंस्थाहरु व्यवस्थित तरिकाले स्वयंसेवीलार्ई कदर सम्मान गर्नमा केही पछाडि परेको यत्रतत्र सुन्न पाइन्छ । प्रायः संस्थाहरुमा स्वयंसेवीको कार्यको यथोचित मूल्यांकन गर्ने आधार र प्रक्रियाको अभावमा कार्यकारी निकायमा निर्वाचित पदाधिकारीहरु वा अन्य निर्णयकर्ता स्वयंसेवी कदरसम्मानलाई आफ्नो हक ठान्ने प्रवृत्ति जाग्न सक्छ । फलस्वरूप पदाधिकारी एक आपसविरुद्ध लड्ने, आफ्नो मनपरेकोलार्ई मात्र कदरसम्मान दिने, स्वयंसेवा नै नगरेका वा गलत भागीदारलार्ई कदरसम्मान दिने, स्वार्थको द्वन्द्वमा वैयक्तिक स्वार्थबाट प्रेरित भै आफूले आफैँलार्ई कदरसम्मान गर्नेजस्ता अनैतिक कुसंगतिहरु मौलाउने सम्भावना रहन्छ । यस्ता कुसंगतिहरुको विकास हुन सक्ने अवस्थालार्ई मनन गरेर नेकासेले व्यवस्थित तरिकाले स्वयंसेवीको योगदानको मूल्यांकन गरी स्वयंसेवी सम्मान गर्ने पद्धतिको निर्माण गरेको छ । यो पद्धतिको नाम कदरसम्मान पद्धति राखिएको छ । यो पद्धतिले प्रत्येक स्वयंसेवीको योगदानको व्यवस्थित तरिकाले मूल्यांकन गरी यथोचित कदर, सम्मान प्रदान गर्ने व्यवस्थालार्ई स्थापित गर्छ । 

स्वयंसेवी कदर सम्मानको पद्धति निर्माण गर्दा नेकासेको विधिविधानसँग नबाझिने गरी बनाइएको छ । यस पद्धतिको समयानुकूल परिमार्जनका लागि एउटा कानुनी प्रक्रियाको बाटो पनि निर्देशित गरिएको छ ।  यस पद्धतिको समयानुकूल परिमार्जन नेकासे कार्यकारी निकायको सिफारिसमा साधारण सभाले मात्र गर्न सक्छ । संस्थाका प्रत्येक विधिविधान निर्माण र परिमार्जनमा साधारण सदस्यको सर्वोच्चतालार्ई नेकासेले अंगिकार गरेको यो यौटा सशक्त उदाहरण हो । 

स्वयंसेवीको योगदानको मूल्यांकन आफैँमा एउटा जटिल कार्य हो ।  कुण्डकुण्ड पानी मुण्डमुण्ड विचार भने झैँ स्वयंसेवीको योगदानको मूल्यांकनमा पनि फरकफरक वैयक्तिक मत हुन सक्छ । फरक मतलार्ई आत्मसात गर्दै स्वयंसेवी कदरसम्मानको पद्धतिले स्वयंसेवीको योगदानको मूल्यांकन प्रक्रिया एवं कदरसम्मानको निर्णय गर्ने प्रक्रियामा यी चार निर्देशक सिद्धान्तलार्ई  आधार बनाएको छ : १. निष्पक्षता, २. पारदर्शिता, ३. समावेशी र ४. सहभागिता । कुनै पनि कदरसम्मानलार्ई निर्देशित मापदण्डअनुसार स्वतन्त्र समिति या समन्वयकर्ताले मूल्यांकन गर्ने प्रावधानले माथि लेखिएका सिद्धान्तको पालना हुन्छ ।

जुनसुकै रुपमा कदरसम्मान गरे पनि यसले स्वयंसेवीलाई दिगो समयसम्म नेकासे संग आबद्ध भइराख्ने प्रेरणा र उत्साह प्रदान गर्छ । साथै कदरसम्मानले स्वयंसेवी को आत्मसम्मान बढाउँछ । यसले नेकासेमा नेतृत्व विकासलार्ई टेवा पुर्याउँ छ ।  यस कदरसम्मान पद्धतिका प्रत्येक खण्डमा मूल्यांकनका मापदण्डहरु तय गरिएका छन् । यिनै मापदण्डका आधारमा कदर, सम्मान वा पहिचान निर्धारण गरिन्छ । यो पद्धति निर्माण गर्दा कुन कुन तथ्यलाई स्वयंसेवी योगदानको मूल्यांकनको आधार र मापदण्डहरु बनाउने भन्ने विषयमा व्यापक खोजीनिती गरिएको थियो ।  सैद्धान्तिक तवरमा मूल्यांकन गर्दा संस्थाले स्वयंसेवीबाट अपेक्षा गरिएका कुराहरुलार्ई स्वयंसेवीको क्षमतासँग मिलान गरेर मापदण्ड तय गरिन्छ  । संस्थाले अपेक्षा गरेका कुराहरुमा स्वयंसेवीको संस्थाप्रतिको निष्ठा, स्वयंसेवीको क्षमता, दीर्घकालीन प्रतिबद्धता एवं समर्पण पर्छन् भने स्वयंसेवीले संस्थालार्ई दिनसक्ने योगदानमा अथक प्रयास, इमानदारी, ज्ञान एवं  दक्षता पर्छन् । यसरी मिलान भएका कुराहरुलार्ई अल्पकालीन र दीर्घकालीनरुपमा हेर्दा समयमात्र मापदण्डको सूचक हुन जान्छ । उदाहरणका लागि स्वयंसेवीहरुले जति धेरै समय संस्थालार्ई दिन्छन् त्यति नै धेरै संस्थाको उन्नति, प्रगति र क्षमताको विकास हुन्छ । यसैले समयलार्ई पहिलो उपयुक्त सूचकको रुपमा गणना गरिएको छ । यसैगरी सबै स्वयंसेवीहरुमा संस्थालार्ई आवश्यक पर्ने सबै दक्षता परिपूर्ति गर्ने क्षमता वा रुचि हुँदैन । स्वयंसेवीहरुले आफ्नो क्षमता र स्तर अनुसार योगदान गर्छन् । यसबाट के कुरा बुझिन्छ भने समय र क्षमतालाई आधार बनाइयो भने योगदानलाई पनि अंकमा गणना गरेर मूल्यांकनको आधार बनाउन सकिन्छ । यसै सिद्धान्तलाई अनुसरण गर्दै कदरसम्मानको पद्धतिमा क्षमता र समयलाई स्वयंसेवीको योगदानको मुल्यांकनको प्रमुख आधार बनाइएको छ ।

यसरी प्रतिपादित सिद्धान्तका आधारमा कदरसम्मान पद्धतिमा स्वयंसेवीको क्षमता र संस्थालाई दिएको समयका आधारमा मूल्यांकनका स्तरहरु निर्धारण गरिएका छन् । उदाहरणका लागि नेकासेको कार्यक्रममा व्यवस्थापनको भूमिका वहन गर्नसक्ने स्वयंसेवीले संस्थालाई दिने समय र दक्षता अवश्य पनि कार्य सम्पादनमा सहयोगी साधारण स्वयंसेवीको भन्दा फरक हुन्छ । तसर्थ नेकासेको व्यवस्थापनको भूमिका वहन गर्नसक्ने स्वयंसेवीलाई अन्य साधारण स्वयंसेवीभन्दा फरक स्तरबाट मूल्यांकन गरिन्छ । यस्तै मूल्यांकनका स्तरअनुसार पद्धतिलार्ई तीन भागमा वर्गीकरण गरिएको छ : १. सम्मान, २. कदर एवं ३. पहिचान । यस पद्धतिमा कस्तो योगदानलाई सम्मान गर्ने, कस्तो योगदानलार्ई कदर गर्ने र कस्तो योगदानलार्ई पहिचान दिने भनेर स्पष्ट ब्याख्या गरिएको छ ।

कदरसम्मान पद्धतिको पहिलो भाग ’सम्मान’ मा  अगुवाको भूमिका वहन गर्ने स्वयंसेवीलार्ई सम्मान गर्ने व्यबस्था गरिएको छ । पद्धतिको यस भागमा क. एभेरेष्ट सम्मान, ख. नर्थर्न लाइट सम्मान, एवं ग. इन्जेन्युइटी सम्मान गरी तीन थरीका सम्मानलाई संस्थागत गरिएको छ । एभरेष्ट सम्मान दीर्घकालीन प्रतिबद्धता एवं समर्पण भएका , अनुकरणीय योगदान पुर्याएका र दूरदर्शी नेतृत्वलार्ई प्रदान गरिन्छ भने नर्थर्न लाईट सम्मान नेपाली संस्कृतिलार्ई प्रोत्साहन दिने अभियन्ता या नेपाली भाषाको प्रचारप्रसार गर्ने अभियन्ता या समुदायलाई आबद्ध गर्ने अभियन्ता या युवालाई सामाजिक कार्यमा उत्साह जगाउने अभियन्ता या यस्तै अन्य कर्मका अभियन्तालाई प्रदान गरिन्छ ।  इन्जेन्युइटी सम्मान आफ्नो क्षेत्रमा आविष्कार गर्ने वा उल्लेखनीय नवीनता प्रदर्शन गर्नेलाई प्रदान गरिन्छ । यो सम्मान युवा समूहलार्ई पनि प्रदान गरिन्छ । पद्धतिमा यी तिनै सम्मानका मूल्यांकनका मापदण्ड पनि विस्तृत रुपमा व्याख्या गरिएको छ । एभेरेष्ट सम्मान र नर्थर्न लाईट सम्मानका लागि मापदण्डलाई संख्यात्मक र गुणात्मक गरि दुई भागमा बाँडिएको छ । संख्यात्मक मापदण्डले योगदानको समयलाई आधार बनाएको छ भने गुणात्मक मापदण्डले नेतृत्व एवं व्यवस्थापनको क्षमतालाई आधार बनाएको छ । यसबाट स्वयंसेवीको दीर्घकालीन प्रतिबद्धता र क्षमतालाई मूल्यांकन गर्न सकिन्छ । यी तीनवटै सम्मानको लागि मनोनयन कुनै पनि सदस्यले गर्न पाउने र मूल्यांकन एउटा स्वतन्त्र समितिले गर्ने व्यवस्थाले  सहभागिता, निष्पक्षता र पारदर्शिताका सिद्धान्तलार्ई नेकासेले अंगालेको प्रष्ट हुन्छ ।

कदरसम्मान पद्धतिको दोस्रो भाग ‘कदर’ ले नेकासेका कुनै पनि गतिविधिमा योगदान गर्ने सबै स्वयंसेवीलाई प्रशंसा गर्ने व्यवस्था गरेको छ । पद्धतिको यस भागमा ‘समय’ लाई मात्र मूल्यांकनको सूचक बनाइएको छ । समयलार्ई मूल्यांकनको आधार बनाउँदा स्वयंसेवीलाई निम्न प्रकारले कदर गर्ने व्यवस्था गरिएको छ : क. स्वयंसेवीको एक पटकको होस् वा पटक पटक गरी लामो समयसम्म गरेको होस् त्यस्तो योगदानको मूल्यांकन गरी कदर गर्ने । ख. कुनै स्वयंसेवीले लामो समयसम्म नेकासेलाई दिएको जुनसुकैरूपको योगदानलाई दीर्घ स्वयंसेवीबाट कदर गर्ने व्यवस्था । ग. पद्धतिको यस भागमा कुनै एक गतिविधिको प्रकृति हेरेर कदरको मूल्यांकनका लागि मापदण्ड तोक्ने काम गतिविधि समन्वयकर्तालाई दिइएको छ । यसले गर्दा कुनै निश्चित गतिविधिमा स्वयंसेवकमात्रै नभएर अगुवा भूमिका निभाउने र उदाहरणीय योगदान दिने स्वयंसेवीको योगदानको कदर हुने अवस्थाको सिर्जना भएको छ । घ. कार्यकारिणीलाई कुनै स्वयंसेवीले संस्थालाई दीर्घकालीनरुपमा हित गर्ने खालको असाधारण र अनुकरणीय योगदान गरेको छ भन्ने लागेमा सोको मूल्यांकन गरी सोहीअनुरुपको कदर त्यस्तो स्वयंसेवीलाई कार्यकारिणीले प्रदान गर्न सक्नेछ । तर कार्यकारिणीले त्यस्तो योगदान संस्थाका सदस्यहरुलाई अनुभूति हुने गरी ठोस र असाधारण नै हो भन्ने कुरा प्रमाणित गर्नु पर्नेछ । ङ. नेकासेका गतिविधिमा आर्थिक सहयोग उपलब्ध गराउने व्यक्ति वा संस्थालाई कदर गर्ने व्यवस्था पनि यसै भागमा राखिएको छ । 

पद्धतिको तेस्रो भाग ‘पहिचान’ ले संसारको कुनै कुनामा रहे पनि नेपाली समुदायको उत्थानका लागि योगदान दिने नेपालीको योगदानको पहिचान गरी प्रशंसा गर्ने व्यवस्था गरेको छ । कदरसम्मान पद्धतिको अर्को विशेषता के हो भने यसले सम्मान वा कदर गर्ने तरिका र प्रदान गर्ने उत्सव पनि निर्धारण गरेको छ ।

पद्धतिको कार्यान्वयन  
 

स्वयंसेवीको योगदानको सामान्य प्रचलनलाई व्यवस्थित गर्दै नेकासेले सम्मानकदर पद्धति आब २०१४ / १५ देखि लागु गरेको छ । सम्मानकदर पद्धति लागु भएपछि नेकासेले धेरै स्वयंसेवीलाई सम्मान र कदर गरिसकेको छ र जनमानसको रायअनुसार हालसम्म उपयुक्त व्यक्तिले नै यथोचित सम्मान या कदर प्राप्त गर्नु भएको छ । अन्य पद्धतिमा जस्तै यो पद्धति लागु गर्दा केही चुनौतीको पनि सामना गर्नुपरेको थियो । उदाहरणका लागि लामो समयसम्म योगदान गरेका स्वयंसेवीको मनोनयन गर्दा अभिलेखको अभावमा मनोनयन कर्तामा भर पर्नुपर्ने हुन्छ । तर, अहिलेको संचार प्रविधि, जस्तै इमेलको संचयले यो चुनौतीलाई साम्य पार्ने बाटो पनि पहिल्याइ दिएको हुनाले केही सजिलो भएको छ । 

सारांश
 

स्वयंसेवीको सशक्त परिचालनबाट नेपाली कला र संस्कृतिको सम्बर्धन गर्दै उत्तर अमेरिकामा आफ्नो छुट्टै पहिचान बनाउन सफल संस्था हो नेकासे । स्वयंसेवीको योगदानलार्ई व्यवस्थितरुपमा यथोचित कदरसम्मान गर्ने पद्धति नेकासे आफैँले  प्रतिपादन गरेको हो । यसको कार्यान्वयनका लागि नेकासे कार्यकारिणीले स्वयंसेवी तथा साधारण सदस्यहरुको व्यापक परिचालन गर्ने गरेको छ जसका कारण यस पद्धतिप्रति नेकासेमातहतका सबै एकाइले अपनत्व  महसुस गर्छन् । त्यसैकारण यो पद्धतिअन्तर्गत आजसम्म गरिएका सबै कदरसम्मानलार्ई सबैले सराहना गरेका छन् । यो पद्धतिको संस्थापकीय व्यवस्थाले नयाँ स्वयंसेवक र लामो समयसम्म स्वयंसेवा गरी सुषुप्त अवस्थामा रहेका स्वयंसेवीहरुलार्ई थप  ऊर्जा प्रदान गरेको छ । यसबाट नेकासेको भविष्य दिगो हुने विश्वासको वातावरण सिर्जना भएको छ । 

(नेकासेका पूर्व सभापति ) 
kusumakar.sharma@gmail.com
 

तपाईंको मत