site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नयाँ फिल्म मेकिङलाई स्वीकारे एकैपटकमा पाना पल्टिन्छ
Ghorahi CementGhorahi Cement

सिक्किममा जन्मिएका साम्तेन भुटिया अहिले नेपाली चलचित्र उद्योगमा निर्देशकका रुपमा सक्रिय छन् । थोरै तर स्तरीय चलचित्र बनाउनुपर्छ भन्ने भुटियाले अघिल्लो वर्ष तान्द्रो निर्देशन गरे । चलचित्रले बक्स अफिसमा राम्रो कमाइ त गरेन तर उनको कामको प्रशंसा भयो । सर्ट मुभीमा अभिनयबाट रजतपटमा प्रवेश गरेका उनी क्यामेरा चलाउनेदेखि सम्पादन पनि गर्छन् । नेपाली चलचित्र उद्योग पुरानै ढर्राबाट अघि बढेसम्म नेपाली चलचित्र विश्वबजारमा नपुग्ने धारणा राख्ने भुटिया नेपाली बजारले नयाँ क्रिएटिभ आइडियालाई आत्मसात नगरेसम्म गुणस्तरीय चलचित्र निर्माण नहुने बताउँछन् । नेपाली चलचित्रको सेरोफेरोमा रहेर भुटियासँग गरिएको कुराकानीः 
 

तपाईंको निर्देशन रहेको चलचित्र तान्द्रो चलेन, चलचित्र नै राम्रो बनेन कि दर्शकले बुझेनन् ? 
 

दर्शकले बुझेनन् भन्न मिल्दैन । तर यसको मतलब चलचित्र राम्रो थिएन भन्ने पनि होइन । विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरुमा गैरहेको छ । अहिले पनि विभिन्न महोत्सवहरुमा गैरहेको छ । त्यसैले व्यावसायिक रुपमा सफल भएन भनेर कसलाई दोष दिने म यसै भन्न सक्दिन । 

Agni Group

हाम्रा चलचित्रका विषयवस्तु र प्रस्तुति दर्शकको रुचीभन्दा फरक भएका हुन् ?
 

त्यसो पनि भन्न नमिल्ला । हामीले हाम्रो बजेटअनुसार जति बनाउन सकिन्छ, त्यति बनाएका छौं । तुलना गर्ने हो भने पक्कै पनि हामीले दिन नसकेकै हो । विदेशमा कतिमा चलचित्र बन्छन् त्यो सबैलाई थाहा छ । यहाँ मुस्किलले ७०–८० लाखसम्म चलचित्र बन्छन् । विदेशी चलचित्र करोडौंमा बन्छन् । केही विदेशमा खिचिएका चलचित्रको बजेट धेरै भए पनि त्यो ट्राभलिङमा हुने खर्च हो, टेक्निकल रुपमा ती चलचित्रमा लाग्ने खर्च उही हो । बजेट अनुसार हामीले जस्तो चलचित्र बनाइरहेका छौं, त्यसमा म सन्तुष्ट छु । 

Global Ime bank

पछिल्लो चलचित्र बक्सअफिसमा चलेन भने त्यसले निर्देशकको करिअरमा केही अर्थ राख्छ ? 
 

यसको जवाफ म कसरी दिउँ, निर्देशक भन्नेबित्तिकै उसले धेरै कुरा समेट्नुपर्छ । बजार व्यवस्थापनदेखि अन्य धेरै कुरा हुन्छन् । मचाहिँ बजार व्यवस्थापनभन्दा पनि कलात्मक हिसाबले दर्शकलाई के दिन सकिन्छ भन्ने पक्षमा ध्यान दिन्छु । मेरो शिक्षकले मलाई भन्नुहुन्थ्यो, तैले सय जनालाई सुनाइराखेको छस् तर तँलाई सुन्ने तीन जना छन् भने ती तीन जनालाई चाहिँ सुना । यसको अर्थ दूरगामी रुपमा पछिल्लो कुराले अर्थ राख्छ भन्ने हो । फिल्म मेकरका नाताले पक्कै पनि आफ्नो चलचित्र नचल्दा असर त पर्छ र त्यसबाट उदास भएर जे पायो त्यही बनाउनु हुँदैन । 

तपाईं यो भन्दै हुनुहुन्छ, मैले चाहें भने बजारमा चल्ने खालका चलचित्र बनाउन सक्छु ?

सकिन्छ । त्यस्तो चलचित्र बनाउन त केही गर्नैपर्दैन । त्यसका लागि केके चाहिन्छ सजिलो छ नि ! तर क्रिएटिभ हिसाबले कसरी देखाउने त्यो महत्वपूर्ण कुरा हो । अहिले त सबैको हातमा क्यामेरा छ, सबैले चलचित्र बनाइराखेका छन् तर रचनात्मक पक्ष के छ त आफ्नो चलचित्रमा भन्ने कुरा मुख्य हो । 

त्यसो भए रचनात्मक भनिएका चलचित्र किन रुचाईंदैन नेपालमा ? 
 

मेरो विचारमा स्कुलिङ मुख्य कुरा हो । हामीले चलचित्रलाई कसरी बुझ्न सुरु गर्यौं त्यसको प्रभाव पनि हो । अहिले हामी धेरैले विश्वकप हेरिरहेका छौं, धेरैलाई रुची पनि होला । कतिलाई खेलाडीको नाम पनि थाहा हुँदैन तर उहाँहरुले सुनेको हल्लाकै भरमा ब्राजिल, अर्जेन्टिना भनिरहनु भएको हुन्छ । ह्विम पनि हो । त्यसलाई अब हामी कसरी अगाडि बढाउछौं भन्ने कुराले अर्थ राख्छ । 

अहिलेको ह्विमले नेपाली चलचित्रलाई कहाँ पुर्याउँछ ? 
 

ह्विमले चलचित्रको स्तरलाई खस्काउँदैन । जुन विषयवस्तुमा हामी छौं, त्यसको प्रस्तुतिमा हामी दोहोरिरहेका छौं कि भन्ने लाग्छ । दोहोरिह्यो भने स्तर खस्किने होइन हराउँछ । विविधता आयो भने त्यसले चलचित्रको स्तरलाई माथि उठाउँछ । बोर भैरहेका बेला चलचित्र हेरर हाँसौं न त भनेर हलमा जाने हो । तर त्यसले कसरी हसाउँछ भन्ने कुरा प्रधान भएर आउँछ । ‘कबड्डी’ आउँदा त्यसले ह्विम नै ल्यायो । सबैले त्यस्तै चलचित्र बनाउन थाले, अहिले त्यो सेलायो । 

तपाईंहरुले बनाउने जस्ता चलचित्र नेपालमा कहिले हेरिएला गज्जब ! चलचित्र बनेछ है भनेर ? 

हामीले बनाउन छोड्नु हुँदैन, हरेश खानु हुँदैन । अहिले नयाँ पुस्ता आउँदैछ । सयमा २५ प्रतिशत निर्देशक चलचित्र महोत्सवका लागि भनेर फिल्म बनाउनु हुन्छ । यसको अर्थ उनीहरुले हामीसँग हातेमालो गर्छन् । यसैगरी आफ्ना कुरा सुनाउँदै लैजाने हो । त्यसैले अब चाँडै नै यो कुरा हुन्छ किनभने दर्शकले नयाँ स्वाद खोज्न थालेका छन् । परिवर्तनको नयाँ लहर आउँदैछ, त्यसैले अवश्य पनि चल्छ । 

अन्तर्राष्ट्रिय फिल्म फेष्टिवल र नेपाली आम दर्शकका लागि बनाउने चलचित्रमा फरक हुन्छ ? 
 

हुँदैन । कमेडी जानराको चलचित्र पनि फिल्म फेष्टिवलमा जान्छ, कार्टुन पनि गैरहेको हुन्छ, सबैथरीको चलचित्र जान्छ, यतिमात्रै हो हाम्रो हेर्ने दृष्टिकोणले ट्याग हान्दिएको हो जस्तो लाग्छ । चलचित्र भनेको एउटै हो, सबै दर्शले हेर्ने हो तर युनिभर्सल आइडियामा हामीले कसरी काम गर्ने हो भन्ने मात्रै फरक हो । युनिभर्सल आइडियामा चलचित्र बनाएको खण्डमा त्यसको स्याटलाइट राइट्स बिक्री हुन्छ । नेपाली भाषा नबुझ्नेले पनि नेपाली चलचित्र हेर्न सक्छन् । हामीले हाम्रो लामो यात्राबारे सोच्ने हो भने त्यो ठूलो प्ल्याटफर्मका लागि युनिभर्सल आइडियामा काम गर्नुपर्छ । 

तपाईं सिक्किममा जन्मिएको ब्यक्ति नेपाल आएर काम गरिरहनु भएको छ, तपाईंलाई त बलिउडमा काम गर्न सजिलो हुन्थ्यो होला नि ?
 

म सानै हुँदा मेरो बुबा नेपाल आउनु भएको रहेछ । उहाँले नेपालमा नौ तले घर भएको, बुढाहरु हुक्का तानेर बसेको जस्ता रमाइला कुराहरु सुनाउनु हुन्थ्यो । त्यो कुरा मेरो दिमागमा बसिरहेको थियो । म सानो छँदा सिक्किममा धेरै चलचित्र सुटिङका लागि आउँथे । त्यो सेटका क्यामेरा, ट्राइपोडले मलाई आकर्षित गर्थे तर एक चोटी त्यहाँ त्यस्तो चलचित्र सुटिङका लागि आयो जसमा बोलिने भाषा नेपाली थियो । त्यो भाषाले मलाई तान्यो । त्यो चलचित्रका निर्देशक तुलसी घिमिरे हुनुहुन्थ्यो । 

मलाई नेपाल आउनु अगाडि पनि बलिउडबाट चलचित्रका केही काम आएको थियो । जब म नेपाल आएँ । मैले बोल्ने भाषा, संस्कृति र रहनसहन मिलेको पाएपछि यहीँ बसेर किन काम नगर्ने भन्ने लाग्यो । न्यु कमरका हिसाबले मलाई यहाँ सजिलो पनि लाग्यो । 

भावनात्मक हिसाबले तपाईं नेपालमा बस्नु भयो, तर यहाँ त बलिउडमा करिअर खोज्न लालायितहरु धेरै रहिरहेको अवस्थामा तपाईंलाई के कुुराले यहीँ बाँधेर राख्यो ?
 

मलाई यहाँ आएर घाटा छैन । यहाँ आएर मैले हलिउडको प्रोजेक्ट गर्ने मौका पाएको छु । सायद अर्को वर्षबाट काम सुरु हुन्छ होला । यही सातामात्रै पनि बाहिरको प्रोजेक्टको कामका लागि कुरा भएको छ । त्यसैले मलाई यहीँबाट बिभिन्न भर्याङ चढ्न पाइरहेको छु । र, यही समय मैले यो क्षेत्रका मान्छेलाई पनि सहयोग गर्ने मौका पाइरहेको छु । सायद म बलिउडमा गएको भए यत्तिकै भौतारिरहेको पो हुन्थें कि । 

बलिउड जति ठूलो बजार छ, त्यति नै काम पाउन र स्थापित हुन पनि गाह्रो छ हैन ?
 

काम जानेको र इमान्दार मान्छेलाई काम पाउन गाह्रो छैन । मेरा धेरै साथीहरु त्यहाँ स्थापित भैसकेका छन् । काबुलीवालाको हिरोइनलाई हामीले नै ल्याएका हौं । अहिले उसले त्यहाँ काम पाइरहेकी छन् । प्रतिभा भएका मान्छेको त्यहाँ कदर पनि हुन्छ । 

त्यसो भए बलिउडतर्फ जाने सम्भावना छ ?
 

गत वर्ष एउटा प्रोजेक्ट आएको थियो । कल्चरल कुराहरुमा कुरा नमिलेर त्यो प्रोजेक्ट होल्ड भैरहेको छ । जाने हो तर चलचित्र बनाएर यतै आउने हो । तर, अहिले नै गैहाल्ने भने सोचेको छैन । अवसर चाहिँ छ ।

एउटै निर्देशकका महिनामा दुईटासम्म चलचित्र रिलिज भैरहेका हुनछन्, तपाईंमा त्यो हतारो देखिँदैन नी किन ?
 

चलचित्रको काम त्यसको कन्सेप्ट डिजाइनदेखि सुरु हुन्छ । छायांकनसम्म पुग्दा मेरो चलचित्र यस्तो हुन्छ भनेर दिमागमा भिजुअल आइसकेको हुन्छ । यसमै लामो समय लागिसकेको हुन्छ । तर, कहाँ कहाँ चित्त बुझिरहेको हुँदैन । आफूलाई चित्त नबुझेसम्म म काम गर्दिन । 

५–१० दश वर्षमा एउटा चलचित्र निर्माण गरेर निर्देशक टिक्छ त ?
 

अरुको कुरा नगरौं, मैले चलचित्रमै सस्टेन हुनु पर्दैन । मेरो ब्यापार छ । हामी अहिले यस्तो अवस्थामा छौं, अहिलेका फिल्म मेकरले केही गर्न सकेनन् भने अबको १० वर्ष नेपाली चलचित्र उद्योगलाई निकै कठिन हुन्छ । विदेशबाट जति अहिले नेपालमा चलचित्रका लागि लगानी गरिरहेका छन्, फेष्टिबलहरुबाट लगानी भैरहेको छ । त्यो यहाँ सिनेमा कल्चर बसोस् भनेर हो । मेरो लागि चलचित्रबाट सस्टेन हुनुपर्छ भन्दिन म । 
र, म एउटा चलचित्रका लागि निश्चित समय लिन्छु, त्यो समयमा चित्त बुझ्यो र बनाउन सकें भने बनाउँछु हैन भने त्यसबाट हात झिक्छु । 

चलचित्रबाट निर्देशक कलाकार तथा निर्माताहरु बर्सेनी पलायन भैरहेका छन्, किन ? 
 

प्रत्येक मान्छेमा महत्वाकांक्षा हुन्छ । त्यो महत्वाकांक्षा कति राख्ने भन्ने महत्वपूर्ण पक्ष हो । अलिअलि गर्दै महत्वाकांक्षा पूरा गर्दै जाने हो भने पलायन हुनु पर्दैन । हैन, एकैपटकमा सबै कुरा पाउन खोज्ने हो भने निश्चय सोचेको जति पाइँदैन, निराश हुनुपर्छ । आफ्नो क्षमता अनुसार डिजायर राख्नुपर्छ । 

पढ्दै नपढी रहरका भरमा दर्शकले खोजेजस्तो चलचित्र बनाउन सकिन्छ ? 

रहर मात्रै छ भने सकिँदैन । रहर क्युरोसिटीले पनि जन्माउँछ । त्यो क्युरोसिटीलाई सम्मान गरेर विषयबस्तुको अध्ययन गरेर काम गर्ने हो भने सकिन्छ । राम्रो चलचित्र बनाउन फ्ल्मि स्कुल गएर पढ्नै पर्छ भन्ने पनि छैन । अनुभव र स्वअध्ययनले पनि ज्ञान आर्जन गर्न सकिन्छ । रहरकै भरमा चलचित्र बनाउन बन्द नै हुनुपर्छ । कति मान्छेले चलचित्र उद्योगमा आफ्नो जीवन समर्पण गरेका छन् । तर, रहरकै भरमा आउनेहरुले भने खेलाँची जस्तो सोचीरहनु भएको छ, यस्तो प्रबृत्ति तत्काल बन्द हुनुपर्छ । 

पछिल्लो समय फिल्म, अभिनय पढ्ने विद्यार्थीको संख्या बढेको छ, यसले अब नेपाली चलचित्र उद्योगको स्तरलाई उकास्छ भन्न सकिन्छ ? 
 

यो समानान्तर रुपमा अगाडि बढ्छ । यदी बजारले नयाँ क्रिएशन मन पराएन भने नयाँ आउने पुस्तामा फ्रस्टेशनको दर बढ्ने छ तर नयाँ फिल्म मेकिङलाई बजारले स्वीकार गर्यो भने एकै पटक पाना पल्टाए जस्तै परिवर्तन हुन्छ । त्यो हेर्नुपर्छ के हुन्छ । 

नेपाली चलचित्रमा ८० लाख भन्दा बढी लगानी गर्यो भने उठ्दैन भनिन्छ, हो ?
 

इरानी, कोरियन चलचित्र हेरिरहेका हुन्छौं, ती चलचित्रमा त ठूलो लगानी हुन्छ । हामी यहाँ ८० लाख हैन, ३०–३५ लाखमा चलचित्र प्याकअप भयो भनिन्छ । मेरो सामानलाई बेच्नु छ भने त्यसलाई पालिस गरेर टल्काउनु पर्छ । पालिस गरेर नटल्काउने अनि महँगोमा बेच्छु भनेर त कहाँ हुन्छ ? त्यो त मुर्खता हो । 

पैसा हाले अनुसार चलचित्र बन्ने हो । कालो पोथी बनाउन ठूलो लगानी लागेको थियो, त्यो धेरै देशमा चल्यो । तर हामी पुरानै धारणामा छौं । हाम्रो सिर्जनालाई पैसाका कारण मार्नु हुँदैन । एउटै विषयमा ८० लाख र ३ करोडमा बनाउने चलचित्र फरक हुन्छ । स्क्रिप्ट तयार पारेपछि त्यसलाई स्क्रिप्ट डक्टरकोमा पठाउँ न भन्यो भने निर्माताले तपाईं नै हेर्नुस् भन्छन्, यो अवस्था नहटेससम्म राम्रो चलसचित्र बनाउन सकिँदैन । अब ३० लाखमा चलचित्र बनाउन सकिँदैन । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १५, २०७५  ०९:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC