site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
‘मनसुन’ लेख्दाको सकस
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
- सुबिन भट्टराई
 
सधैँ पहिले पहिले कथा फुर्थ्यो । म कथा लेख्थेँ । कथा लेखिसकेपछि शीर्षक जुराउन मलाई कन्नुपथ्र्यो । ‘कथाकी पात्र’मा त्यस्तै समस्या भो । संग्रह तयार भइसक्यो, शीर्षक छैन । किताबको लेआउट, डिजाइन भइसक्दासम्म किताबको नाम के राख्ने भन्ने टुंगो लागिसक्या थिएन । अन्त्यमा, बल्ल तल्ल नाउँ जु¥यो– ‘कथाकी पात्र’ । संग्रहभित्रकै एउटा कथालाई लिएर शीर्षक जुराइयो ।
दोस्रो पुस्तक ‘समर लभ’मा त्यस्तै । कथा लेखिसकियो । अनेक नाउँले न्वारन गर्न खोजियो, केही चित्त बुझेन । अन्त्यमा प्रकाशक अजित बरालले न्वारन गरिदिए ‘समर लभ’ ।
तेस्रो पुस्तक ‘साया’लाई पाठकहरूले ‘समर लभ २’ भनेर नामाकरण गरिदिएका थिए । तर, अन्त्यमा उपन्यासकै नायिकाको नाउँबाट किताबको नाम जुराइयो ।
अब चौथो किताबमा आऊँ । यसपटक चाहिँ अचम्मै भयो । सबैभन्दा पहिले शीर्षक जुर्‍यो । बरु कथा चाहिँ के लेख्ने भन्नेमा टुंगो लागिसक्या थिएन । तर, नाम सुरुमै लेखियो । किनकिन यो नाम नै मलाई गज्जब लाग्यो । खाँदा, बस्दा, उठ्दा, डुल्दा जे गर्दा पनि ‘मनसुन... मनसुन’ भनेर दिमागमा आइरहने ।
एक लाइन कथा त तयार थियो तर कथाको अन्त्य मसित थिएन । करिब डेढ वर्षअघि मैले लेख्न सुरु गरेको थिएँ । त्यो भनेको फागुन महिना हुँदो हो । भूकम्प नजाँदै । दुई–तीन हजार शब्दमात्र लेख्न भ्याइसक्या थिएँ । चैत लाग्यो । अनि रमाइलो कुरा के भने वैशाखमा म बिहे गर्दैथेँ । मन लेखाइमा पूरै लागेन । मन हुनेवाला श्रीमतीसित संवादमा ज्यादा केन्द्रित हुन लाग्यो । वैशाख १७ गते मेरो बिहे थियो, बाह्रै गते भूकम्प गइदियो । अब त्यो भूकम्पको इतिहास खोतल्न नजाऊँ । जसरी तसरी १७ गते बिहे भयो । उता ‘मनसुन’ लेख्दै छु, लेख्नुपर्छ भन्ने कुराले बेला–बेलामा नचिमोट्ने होइन । तर, विवाहित जीवनको सुख बिर्सेर ? होइन । मनसुन लेखिँदै गर्छ भन्ने भो । बिहेको एक–दुई महिना फेरि केही हजार शब्द थपिए । अनि फेरि एकमहिने युरोप टिपले लेखाइ बिथोल्यो । नेपाल फर्किएलगत्तै नाकाबन्दी । त्यसले पनि मुड ठीक भएन । जतिखेर पनि भारतसित रिसमात्र उठिरहने । लेख्नतिर त दिमागै गएन । जसै नाकाबन्दी खुल्यो, लेखाइको रफ्तार बढाएँ र चैतमा पहिलो ड्राफ्ट सकाएँ ।
त्यो पढियो । करिब ७० हजार शब्दको भयो । पढेँ । अलिक बोझिलो भयो कि भन्ने लाग्यो । साथीहरूलाई पढाएँ । केहीले राम्रो छ पनि भने । केहीले अल्छी लाग्यो भने । प्रकाशकहरुले पनि अलिक बोझिल भयो भने । मन खिन्न भो । यत्रो मेहनत स्वाहा भएझैँ लाग्यो ।
अनि त्यसपछि त्यो किताबको कायापलट गरियो । दिनदिनै परिमार्जन गर्दै गइयो । कथा नै नयाँ लाग्दै जान थाल्यो । हजारौँ शब्द फालिए । हजारौँ शब्द भित्रिए । पात्र, प्लट, परिवेश परिवर्तन भइरहे । यसो भने भो– पहिलो ड्राफ्टमा भएका बोसोहरू सप्पै झिकेर फालियो । फेरि साथीहरूलाई पढाइयो । यसपटक राम्रो भो भने । अनि यसपटक अलिक युवा खालका पाठकहरू खोजेर उनीहरूलाई पढ्न दिइयो । सबैले रुचाए । किताब साँच्चै राम्रो भएछ भन्ने लाग्यो । प्रकाशकहरूबाट आएको प्रतिक्रिया पनि सुखद थियो । पात्रहरुको चरित्रचित्रण पनि फेरिँदै गयो । हरेकपटकको परिमार्जनमा पात्रका पेसा र स्वभाव नै बदलिँदै गए । तर, हरेक पटकको परिमार्जनमा त्रुटिहरू पनि बग्रेल्ती देखिन थाले ।
यसपटकको लेखाइमा लाग्यो– साँच्चै लेख्न गाह्रो हुँदो रहेछ । त्यसो त लेख्नु भनेको गाह्रो काम होइन । तर, पाठकहरूको मन मस्तिष्कमा घर बनाउने गरी लेख्नु भनेको चाहिँ निश्चय नै गाह्रो कुरा हो । मलाई लागिरहेछ– अब अर्को पुस्तक लेख्दा मलाई झनै गाह्रो हुनेछ । मैले त्यसमा झनै मेहनत गर्नेछु ।
हामीलाई असफलताले धेरै कुरा सिकाउँदो रहेछ । पहिलो ड्राफ्ट बोझिल भएपछि किन यस्तो भयो ? कसरी भयो ? के गर्दा राम्रो हुन्छ ? भन्नेमा निकै सोचियो । त्यो विषयलाई लिएर निकै संवेदनशील भइयो । र, त्यै कुराले सिकायो पनि ।
वैशाख देखि भदौसम्मै पुनर्लेखन भयो । दिन, रात, साँझ, बिहान केही भनिएन । धेरै नै मेहनत गरियो, त्यो पनि दुई जनाले । यसपटक मैले धेरै कुरा सिकें ।
‘समर लभ’ जस्तो हिट किताब पाठकमाझ दिइसकेपछि चुनौतीको अग्लोे पहाड थपिएको थियो । त्यो जसैतसै चढियो । म सोच्ने गर्छु– ‘कथाकी पात्र’ लेख्दा केही सकस परेन । ‘समर लभ’ एकदमै सजिलै लेखियो । ‘साया’मा अलिकता मेहनत बढी गरियो । ‘मनसुन’मा भने डरलाग्दो मेहनत गर्नुपर्‍यो ।
किन यस्तो भयो ?
अहिले सोचिल्याउँदा लाग्छ– सुरुमा चुनौतीका पहाड त के, सानो ढिस्को पनि थिएन, त्यसैले सजिलै लेखियो । जसै किताब र पाठकका संख्या बढ्दै जान थाले, राम्रो लेख्नुपर्छ भन्ने प्रेसरले पनि आफैँलाई पेल्दै लग्दो रहेछ । त्यसले चुनौतीका बडेमान पहाड अघिल्तिर तेर्सिँदै जाँदो रहेछ । र, हिजोभन्दा आज गाह्रो र आजभन्दा भोलि गाह्रो हुँदै जाने रहेछ ।
मलाई लाग्छ– हरेक लेखकसित यस्तै अनुभव हुन्छ । 
 
NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज १, २०७३  १२:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC