– मनोज गजुरेल
अन्ततः सरकारले चीनसँग एउटा जहाज खरिद गरेरै छाड्यो रे ! जहाज लिन प्रधानमन्त्रीको नेतृत्वमा एक टोली चिन जाने निर्णय पनि भयो । सत्तासाझेदार दलका सात जना नेतालाई टोलीमा समावेश गरियो । तर, विपक्षी दलले आफ्नो पनि सहभागिताको माग गर्दै सदन अवरुद्ध गर्ने घोषणा गर्यो । तुरुन्तै ‘अवरुद्धवादी दल’का केही नेताहरूलाई वार्ता टोलीले ‘यात्रा टोली’मा राख्यो र समस्या समाधान गरियो ।
अकस्मात् ‘जनजाति समूह’का सदस्यहरूको विरोधको स्वर सुनियो । टोलीमा आफ्नो सहभागिता नभए आफ्नो समूहले पार्टी परित्याग गर्न सक्ने चेतावनी दियो । बाध्य भएर टोलीमा केही ‘जनजातिका मान्छे’ राख्ने भएपछि त्यो लफडा पनि सामसुम भयो ।
जहाज लिन जाने टोलीमा आफ्नो उपस्थिति नदेखेपछि मधेसीहरुद्वारा जहाज बहिस्कार गर्ने धम्की आयो । जहाज आए पनि तराईबाट आउने इन्धन रोकिदिने धम्कीपछि प्रधानमन्त्रीले टोलीमा केही ‘नेता मधेसी’लाई पनि समावेश गराए ।
जब आदिवासी थारुका कानमा यो कुरा पुग्यो, तब उनीहरूले थरुहटमा चक्काजाम शुरु गरिहाले ।
थारुसँगको वार्तापछि टोलीमा केही ‘नेता थारुहरू’ समेत थपिए । उता, दलितहरूको मनमा चिसो पसिहाल्यो । आफूहरूलाई टोलीमा नपारे जहाजको स्वागत कार्यक्रममा पनि नजाने भन्दै असन्तुष्टि पोखे । अन्ततः एक दर्जन ‘नेता दलित’लाई घुसाएपछि दलित आन्दोलन पनि थापमुम भयो ।
उता, प्रधानमन्त्री क्वार्टरमा यसै विषयलाई लिएर सानोतिनो महाभारत नै भयो । टोलीमा महिला नहुने हो भने त्यो जहाज ‘भाले जहाज’मात्रै हुने भएकोले आफू र छोरीलाई पनि समावेश गराउन प्रधानमन्त्राणीले माग तेस्र्याइन् । छोरीले अस्वीकार गर्दै भनिन्, “म जान्नँ मम्मी, बरु तपाईं पनि नजानुस् ।”
तर, मन्त्राणी कपडा प्याक गर्दै बोलिन्, “तिमी नजाने भए नजाऊ, म त गएर ल्याउँछु ।”
प्रधानमन्त्रीेले सानो स्वरमा भने, “तिमी नगएर अरुले नै ल्याए हुन्न ?”
मन्त्राणीले बीचैमा कुरा काटिन्, “चुप्, मौका आउँछ, पर्खेर ल्याउँडैन, बगेको खोला फर्केर ल्याउँदैन ।” सबैजना चुप्प लागे ।
टोलीलाई समावेसी बनाउँदा बनाउँदै एक हप्ता बित्यो । उत्ता, चीनमा जहाजको ‘पार्किङ चार्ज’ बढेको बढ्यै थियो । त्यसैले टोली हतारहतार त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्टतिर लाग्यो ।
एयरपोर्टको मूलगेटमै एक हुल बाहुनहरू कालो झन्डासहित देखिए । आफूलाई ‘ब्राह्मण मुक्तिमोर्चाको’ अध्यक्ष बताउने एक अधवैंशे प्रधानमन्त्रीको कानैमा कुर्लिए, “तपाईं वा हुन् कि वा हैनन् हँ ? बाहुनले स्वस्ती शान्ति नगरी जहाज उडाएमा जे पनि हुन सक्छ भन्ने सोच्नुपर्छ कि पर्दैन ?”
प्रधानमन्त्रीलाई शायद ठिकै लागेर होला— ब्राह्मण अध्यक्षलाई तानेर गाडीमा हाले र एयरपोर्टतिर हुइँकिए । एकजना ब्राम्हण पछि–पछि दौडिँदै भन्दै थिए, “बाहुनद्वारा बाहुनमाथि यत्रो धोका ? तिम्रो जहाज पञ्चट भवः ।”
टर्मिनलको गेटै अगाडि कम्मरमा खुकुरी भिरेका केही युवाँसँग जम्काभेट भयो । “टोलीमा खस क्षेत्रीको पनि सहभागिता हुनुपर्छ । नत्र यहाँ रगतको खोलो बग्न सक्छ ।”
प्रधानमन्त्रीले सोच्नु भयो— जहाज पूजा गर्दा बोकाको रगत त बगाउनै छ, त्यसका लागि यिनीहरूको खुकुरी काम लाग्न सक्छ । यही विचारका साथ केही खस क्षेत्रीहरू पनि टोलीमा समावेश गराइए ।
त्यसैबेला प्रधानमन्त्रीलाई कतैबाट फोन आयो । उहाँले ‘हेलो’ बाहेक केही पनि भन्नुभएन, बाँकी सबै उत्तैबाट भन्यो । के भन्यो, थाहा भएन । तर, एकैछिनमा एक दर्जन भारतीय दूताबासका कर्मचारीहरू पनि टोलीमा सामेल भए । शायद, जहाजमा ‘भारतविरोधी गतिविधि’ नआओस् भनेर टोलीमा आफ्नो सहभागिता माग गरेका थिए !
त्यसपछि सबैजना ‘इमिग्रेसन’ पार गरेर जहाज चढ्नै आँटेका थिए— ‘अपांगता भएका र पत्रकारको सहभागिता भएनछ’ भन्दै केही ‘मौखिक पत्रकार’हरू पनि टोलीमा जबर्जस्ती घुसे ।
सबैभन्दा अघिल्लो पंक्तिमा प्रधानमन्त्री, त्यसपछि गृहमन्त्री, अनि उड्ययन मन्त्री बसे । त्यसपछि क्रमशः विपक्षी दलका नेताहरू, नेता मधेसी, नेता दलित, नेता जनजाति, ब्राह्मण, क्षेत्री, पिछडावर्ग, महिला, अशक्त, अपांगता भएका आदि गरेर १५० जना ‘जहाजका जन्ती’ लिएर विमान चीनतिर उड्यो ।
तर, जहाज आउने सम्भावनाचाहिँ अझै पनि छैन । किनभने चीनले जहाजमात्रै बेचेको हो, पाइलट बेचेको हैन । तर, टोलीलाई ‘समावेशी’ बनाउँदा बनाउँदै जहाज उडाएर ल्याउने पाइलटलाई चाहिँ समावेश नै गरेनछन् ! अनि यो ‘समावेशी’ जन्तीले ल्याउला त जहाज ?