साहित्य र कला

हँसिया–हथौडा त्यागेर कलमबाट युद्ध

हँसिया–हथौडा त्यागेर कलमबाट युद्ध

— अक्षर काका


कुमाई बाहुन, बिहेवारी क्षेत्री कुलमा । उमेरले सासूका थान्कामा पुगिसकिन् तर समाजका अनेक बुहार्तन खेपेका छोरी–बुहारीको वकालत गर्दै हिँडिरहेकी छन् ।

प्रगतिशील आचरणकी पक्षपाती । साम्यवादी सपनाले अद्यपर्यन्त मथिङ्गल खज्मज्याएकै छ । तर, समकालीन कम्युनिस्ट आन्दोलनकी उनी ‘कटू आलोचक’ हुन् । आलोचनात्मक दृष्टिकोण राख्छिन् भनौं ।

आन्दोलको एउटै मोर्चामा पहिलो पंक्तिमा लडेकी महिला शीतल निवास पुगिसकिन् । तथापि उनको मन शीतल भएको छैन । दिन दुगुणा, रात चौगुणा बढिरहेको महिला दुव्र्यवहार र सामाजिक विसङ्गतिका यावत घटनाले छातीमा भुंग्रो खडा भएको छ । र, सधैं लेखनकार्यमा उद्वेलित गरिरहन्छ ।

परिवर्तनको नियमले भन्छ– विद्रोह शाश्वत सत्य हो ।

त्यही विद्रोहको अविराम यात्रामा छिन् उनी । चिन्ने–जान्नेहरू भन्छन् । हरिमाया– विद्रोहकी घाम–छाया हुन् । कहिले राजनीतिको मूलधारमा रहेर आन्दोलनको आँधीबेहरी निम्त्याइन् । अहिले एकान्तबास बसेर विद्रोहको दमित आवाज बोलिरहेकी छन् ।

लामो समय हँसिया–हथौडा चित्र अंकित रक्तरञ्जित झन्डा बोकेर परिवर्तनको यात्रामा समाहार भइन् । पार लागेन । अहिले त्यही झन्डाको हथौडा झिकेर शोषण, उत्पीडन र दमनको पर्खाल भत्काउने भगिरथ यत्नमा छिन् । एक्लै सही— निर्निमेष प्रहार गरिरहेकी छिन् उनी ।

० ० ०

मध्य असारमास । गाउँघरतिर हुँदो हो त बेठीको रन्कोले छुँदो हो । छातीभरि कंक्रिटको सहर उभ्याएको काठमाडौंलाई असारे–चटारोले रत्तिरभर छोएको छैन । बहालका पैसाले बगली उकासेर मस्त उग्राइरहेको छ– राजधानी । काठमाडौंको उत्तरी कुइनेटोमा भेटिइन्, भेटवाल— हँसमुद्रामा ।

“बाबु अचेल त म लेखन साधनामा पो छु त !” केही वर्षपहिले विपश्यना–साधानासँगै आफूलाई लेखनकार्यमा समेटेकी हरिमायाको मुग्ध हाँसो बरन्डाभरि फिँजारियो ।

केहीबेरको अनौपचारिक गफगाफपछि उनले हामीलाई आफ्नै जीवन विचरण गराइन् ।

ताप्लेजुङ उनको पुख्र्यौली थातथलो । पूर्वी पहाड– गरिबीको अजेय पर्वत थियो उतिबेला । सिँगौरी खेल्न सक्ने, उतै दुःखजिलो गर्थे । नसक्ने तराई झर्थे ।

अभावसँगको पौंठेजोरीमा ‘रक्तमुच्छेल’ भएपछि उनका पिता–पुर्खा पनि तराई झरे । झापाको दक्षिण–पश्चिम क्षेत्र, लालपानी ।

झापा होइन, झोडा थियो । चारैतिर वन–उपवन । त्यहीँ फाँडेर आवादी गर्नुपर्ने । उनको परिवारले पनि सकेजति झोडा फाँड्यो र भोगचलन थाल्यो । वर्ष बिराएर १२ सन्तान जन्मिए । कान्छी थिइन् उनी ।

“एक दजर्न जन्मिएछौं हामी । दुई सन्तानलाई चाहिँ व्याधीले छिमल्यो,” सम्झिन्छिन् उनी ।

उनको परिवार झापा झर्नुको कारण छ—

बाबु ‘लाहुरे’ । यायावरीका लागि गोर्खा सैनिकमा भर्ती हुने र लाहोर पस्ने । आजको नियति पनि हिजैको ‘लिगेसी’ हो । उनका बाबु पनि लाहोर पुगे । तिनताक पहिलो विश्वयुद्धको राप–ताप थियो । विश्वयुद्धको एक–दुई मोर्चामा सामेल त भए तर स्वास्थ्य प्रतिकूल भएपछि फिर्ता पठाइए । काम गरेको महिनाको मात्रै तलब लिएर स्वदेश फर्किए । निवृत्तिभरण, उपदान केही हात परेन । नियतिले ठगेर लाहोर भासिएको, स्वास्थ्यले समेत ठग्यो । त्यही वेदनाले लालपानी झारेको हो उनीहरूलाई ।

लालपानी– कन्काईको छेऊ । सर्प बिच्छीको बिगबिगी थियो । वर्षायामैपिच्छे कन्काईले कतिबेला सुलुत्तै निल्ने हो, यकिन थिएन । तराईमा बस्न त्राही–त्राही हुन्थ्यो ।

पीडा प्रतिस्थापन गर्न उनीहरूले सुरुङमा केही कट्ठा जग्गा जोडेका थिए । हरिमायालाई त्यसैले तन्नेरी बनायो ।

० ० ०

उपभोक्तावादी समाजले आजका स्त्रीलाई ‘कमोडिटी’ मान्छ । उनीहरूको नजरमा नारी फगत ‘वस्तु’ हुन् । साहित्यले त स्त्री जातिलाई सौन्दर्यको विम्बभन्दा ज्यादा मानेकै छैन । अस्तित्व र जीवनको मूल्यको खोजीमा छन् उनीहरू । आजको दिनमा त जीवन–हीन छन् नारीहरू । हिजोको दिन कस्तो थियो होला ? कल्पना गर्नसमेत गाह्रो ।

किशोरवयमा चौपट्टै सुन्दरी थिइन् । पढाइमा त्यस्तो तीक्ष्ण होइन तर रूप–माधुर्यको दश–गाउँ चर्चा हुन्थ्यो ।

उमेरै नपुगी केटा माग्न आउनेको ताँती लाग्यो । दुई–चारपटक घरपरिवारले नपन्छाएका पनि होइनन् तर बारम्बार ‘मगनी’ हुन थालेपछि परिवारसमेत तनावमा पर्‍यो ।

तिनताक उनका सानिमाका छोराले एउटा युवकको कुरा लिएर आए । रूप–रोगन र शरीरको बनोट हेर्दा उनलाई लागेन— यो मेरो जीवनसाथी बन्न योग्य छ । ठाडै इन्कार गरिन् उनले ।

तर, युवकले पछ्याउन छाडेनन् । ती युवकले उनका साथी–सहेलीलाई ट्युसन पढाउँथे ।

प्रवेशिका परीक्षा नजिकिँदै थियो । माध्यमिक शिक्षाको अन्तिम खुड्किलोसमेत भएकाले उनीहरूले सामूहिक वनभोज आयोजना गरेका थिए । त्यसैबेला खिचेको तस्बिर फेला पारेछन् । पर्समा बोकेर पो हिँड्न थालेछन् । स्कुलमा हल्लाखल्ला भइहाल्यो— फलानो शिक्षकले ती छात्रा मन पराउँछन् ।

बिहे गरौं— युवक राम्रा छैनन् । नगरौं— समाजमा भुसको आगोझैं हल्ला फैलिइसक्यो ।

शुरूशुरूमा त इन्कार गरेकी थिइन् । तीन–चार महिनामा माया पो अङ्कुरण हुन थालेछ ।

“करिब आठ महिनाको अवधिमा त प्रेमपत्र पो लेख्ने तहमा पुगेछु,” मच्चिएरै हाँस्छिन् उनी ।

“घृणा गर्नेसँग पो पन्छिन सकिन्छ, माया गर्नेसँग त एक न दिन आकर्षित भइहालिन्छ नि ! यसैले पो काम गर्‍यो कि,” उनी गम खान्छिन् ।

युवकलाई सम्बोधन गरेर पहिलो र अन्तिम पत्र त कोरिन्, बिट मार्न आएन । झल्याँस्स सम्झना आयो । पूर्वतिर जाने बसमा मन छुने भनाइ लेखिएको थियो । त्यही उद्धृत गरेर पत्र टुंग्याइन् उनले ।

“शायद प्रेमपत्र लेखेर नै साहित्यको लामो राजमार्गमा पाइला राखे हुँला,” लख काट्छिन् उनी ।

दाजु युद्ध भेटवाल कट्टर कम्युनिस्ट अनुयायी थिए । अर्का दाजुको झुकाव पनि उतै थियो । तिनताक झापा क्रान्तिको उर्वर भूमि थियो । सिलिगुडीका चारु मजुमदारको नक्सलवादी आन्दोलनको प्रभाव परेको थियो त्यहाँ ।

तीन महिनाअघि दिदीको विवाहसमेत प्रगतिशील आचरणअनुसार नै भएको थियो । क्षेत्री परिवारमा । उनको विवाहमा पनि त्यही संस्कृतिले निरन्तरता पायो ।

“परम्परागत सामाजिक मान्यताविरुद्ध त्यसरी बिहे गर्नु डरलाग्दो विद्रोह थियो । तर, परिवारले कसरी आँट गर्‍यो होला !” सम्झँदा आज पनि छक्क पर्छिन् हरिमाया ।

० ० ०

विद्रोही चेतकी प्रतिमूर्ति । सामाजिक जागरणकी हिमायती । भौतिकवादकी अभियन्ता । उमेरसँगै थपिँदै आएका चिनारी थिए उनका ।

यौवनवयमा पाइला राखेपछि कम्युनिस्ट आन्दोलनमा झुकाव बढ्यो । शुरूआतमा माले । त्यसपछिको एमाले उनको राजनीतिक आदर्श बन्यो । र, त्यसैको ओत लागिन् ।

तिनताको एउटा दुःखद् घटनाले अझै उनलाई रिँगाइरहन्छ—

दाजु भूमिगत थिए । अबेर राति घर आउँथे । र, उज्यालो फाट्नुअगावै घर छाड्थे ।

झापा विद्रोह चर्किएकै समय थियो । निमुखा किसान, ज्यामीमाथि धरपकड गर्ने क्रम जारी थियो । खबर आयो— उनको घर पनि प्रशासनले खानतलाशी लिँदैछ । दाजुले नै खबर पठाएका थिए ।

खबर ल्याउनेले सुनाएको थियो, “दाजुले म्याक्सिम गोर्कीको ‘आमा’ र अरू थुप्रै किताब बाँसघारीमा गाड्न तिमीलाई अह्राएका छन् । छिटै गर्नू ।”

उनले हुन्छ त भनिन् तर केटौले उमेर त हो भुसुक्कै बिर्सिइछन् ।

बेलुका दाजु आउँछन् तर किताब खाटमुनि जस्ताको तस्तै छ । हरिमायालाई एक झापड लगाए ।

जीवनमा कसैको एक लबटो नखाएकी हरिमायालाई दाजुको एक झापडले मर्माहत तुल्यायो । उनी सकुन्जेल भक्कानिएर रोइन् । केही बेरमा थाकिन् । हिँक्क... हिँक्क... मात्रै छुट्यो । झन्डै चार घण्टासम्म अथक रोइरहेपछि उनका कोषकोष–तन्तुतन्तु फर्कन लागे । फुर्सा आँखा पो लगाउन थालिन् । अस्पताल नै पुर्‍याउनु पर्‍यो उनलाई ।

साम्यवादी सपना बोकेर राजधानीको उडान् भरिन् उनले । काखका छोराछोरी च्यापेर । काठमाडौं आउँदा उनीसँग समाज परिवर्तनको चाहनाशिवाय केही थिएन । ठूलो घर । महँगो गाडी । विलासी जीवनशैलीको आकांक्षाधर्मी कम्युनिस्ट हुनु हुँदैन भन्ने ‘स्कुलिङ’ थियो । श्रमभन्दा अर्को ‘ईश्वर’ छैन भन्ने उनीहरूको तर्क थियो । भलै भगवान् मान्दैनथे । अतःएव भृकुटीमण्डपमा मोजा बेचेर साम्यवादी सपनालाई मलजल तुल्याइन् ।

काखका नानीलाई कोठामा बाहिरबाट ताला लगाउँथिन् र सडक आन्दोलनको नेतृत्व गर्न पुग्थिन् ।

वाक्पटु । शब्द–शिल्पी । स्वर–माधुर्यताका कारण ‘माइकिङ’ उनैको जिम्मामा हुन्थ्यो । तत्कालीन एमाले महासचिव मदन भण्डारीको रहस्यमय जिप दुर्घटनामा परेको दोस्रो स्मृति दिवसमा माइकिङ गर्दै उनी चितवनको दासढुङ्गासम्म पनि पुगिन् ।

राजाको प्रत्यक्ष शासन र दोस्रो जनआन्दोलनताका उनको क्रान्ति आह्वान काठमाडौंका गल्लीगल्ली प्रतिध्वनित भयो । हजारौं महिला चुल्हा–चौका छाडेर आन्दोलमा प्रवाहित भए ।

जब आन्दोलनको समाप्तिपछि आन्दोलनताकाका सहयात्री सत्ताका सारथि बने । विगतकै शासकको पुनरावृत्ति भयो । परिवर्तनका नारा सडकमा छरिएका ‘प्लेकार्ड’झैं अलपत्र पारिए । टुहुरो भयो साम्यवादी सपना । समकालीन नेताहरूदेखि मोहभंग हुन थाल्यो र जिन्दगी बाँच्ने ढङ्ग फेरिन् उनले ।

“साम्यवादी सपनासँगको विकर्षण होइन मेरो । नेता र तिनको प्रवृत्तिबाट पार लाग्दैन भनेर पन्छिएको हुँ,” स्पष्टीकरण दिन न खासै मन छैन तथापि भन्छिन् उनी ।

उनी यस्तो बेला राजनीतिबाट बहिगर्मित भइन्, उनका साथीसहेलीले व्यवस्थापिका–संसद्देखि सिंहदरबारसम्मको बाटो तताए । कतिपयले शासन–सत्ताको तात्तातो जिलेबी जिप्ट्याए । थुप्रै उपियाँझैं पुटुस्स अघाए ।

उनीचाहिँ क्रान्ति अझै अपूरै छ भनेर सडकमा ओर्लिइन् । र, पितृसत्ताले किनारमा धकेलेको महिलामुक्तिको कलम उठाइन् ।

फरक यत्ति हो– हिजो मुट्ठी ठड्याउँथिन् । अहिले तिनै मुट्ठीमा कलम अड्याएकी छिन् । र, सबाल्र्टनका आवाज बोलिरहेकी छन् ।

भनिन्छ– १२ वर्षमा खोला फर्किन्छ । मुलुकमा ०६२/६३ को आन्दोलन पूरा भएको पनि १२ वर्ष नाघिसकेको छ । तर, जनताको जीवनस्तरमा कुनै बदलाव आएको छैन । रोग, भोक, शोक आम नेपालीको नियति भन्दा हुन्छ । र, वर्षैपिच्छे शासक फेरिन्छन्, यी फेरिँदैनन् ।

सामाजिक मुद्दाबाट राजनीतिक नेतृत्व बेखबर छन् । केवल सत्ता वरपरमात्रै छन् । 
अचेल घरभित्रै बसेर साहित्य साधनामा जीवन व्यतीत गर्दैछिन् उनी । केही समयअघि काम विशेषले सहर आएकी थिइन् । लामो जाममा परिन् । पछि बुझ्दा राष्ट्रपतिको सवारी पो रहेछ ।

“आफ्नो काममा जाँदा देश–दुनियाँलाई ‘डिस्टर्ब’ । जनताको शासन–व्यवस्थामा पनि राजामहाराजाकै सवारीको झल्को ! धत् !” आफूले रगत–पसिना बगाएर ल्याएको परिवर्तनप्रति निकै दया लाग्यो उनलाई, “विचरा गणतन्त्र पनि टुहुरो पो भएछ !”

० ० ०

अक्सर घटनाहरू व्यक्तित्व निर्माणका सहायक हुन्छन् । यो दृष्टान्तको उपयुक्त पात्र पनि हरिमाया नै हुन् ।

०५७ साल उनको पुनर्जन्मको वर्ष पनि हो । कामविशेषले पूर्व जाँदै थिइन् । देश सशस्त्र संघर्षको रापतापमा थियो । घर नपुग्दै बाटैमा अपहरणमा परिन् ।

‘अबला’ स्त्री । ९–१० जना ‘तोपतिघ्रे’ले घेरा हाले । ‘के गर्न लागे ? कसो हुन लाग्यो ?’ सोच–विचार गर्नसमेत नभ्याई आँखामा पट्टी बाँधे ।

“गुहार !” कण्ठ उघ्रन आँट्दै थियो । एउटाले पेस्तोलले कञ्चटमा घोचिहाल्यो । भन्छ, “खबरदार ! बोल्लिस् ! हामीले जे भन्छौं, त्यही मान्ने !”

लछार्दै गाडीमा हालिहाले । गाडी आँधीझैं हुइँकियो । त्यस्तै ८ घण्टापछि एकलास ठाउँमा पुर्‍याए । कतै खोलो सुसाएजस्तो, चरा कराएजस्तो आवाज सुनिन्छ । कहाँ पुर्‍याइएँ ? के हुँदै छ ? केही थाहा छैन उनलाई ।

गाडीबाट ओरालेको केही बेरपछि पट्टी खोलिदिए । चलचित्रको दृश्यका लागि अभिनय गर्न लागेझैं पो प्रतीत हुन्छ । ८ घण्टा पट्टी बाँधिएकाले दृश्यपटलमा कुनै दृश्य आइरहेका छैनन् । पर्दा लागेझैं प्रतीत छन् आँखा । वरिपरि साना, छोटा बन्दुक बोकेर मानिसहरू बसेका छन् । कुनै चलचित्रको अमुक दृश्यझैं लाग्छ ।

एउटा प्रौढ र बुज्रुकजस्तो मानिस वर सर्‍यो र भन्यो, “तँलाई थाहा छ केपी ओली को हो ? हामीले चलाउँछौं उनलाई ।”

उनी केही बोल्न सक्दिनन् । आँखाबाट फगत खोल्सो बगिरहन्छ । केही उत्तर नदिएपछि ऊ अवाक् भयो र भन्यो, “यसलाई मीठो– मसिनो खान दिनू । आज नै यसको अन्तिम दिन हो । भोलि सखारै यसको ‘सफाया’ हुन्छ ।” थररर्र काँप्यो मुटु । 

फेरि भन्छन्, “तँ यस्तो ठाउँमा आइपुगेकी छस्, तैंले कल्पना पनि गर्न सक्दिनस् । भोलि बिहानै तँलाई ऊ पर नदी किनारमा लैजान्छौं । सुट गरेर मारिदिन्छौं । चिल, गिद्ध, कमिलाले खान्छन् तेरो लाश ! कसैलाई थाहा, पत्तो हुँदैन ।”

उनी केही उत्तर दिन सक्दिनन् । मस्तिष्कमा भयानक सन्नाटा छाउँछ ।

तिनताका उनी कविता लेख्थिन् । केही नाटकसमेत रचना गरेकी थिइन् उनले । यी सबै कृत्यसँग परिचय पाएका ती अपहरणकारीले रात ढल्कँदै गएपछि प्रस्ताव गरे, “यो रात तेरो अन्तिम रात हो । यहाँ आएका मानिस कोही पनि फर्किएका छैनन् । त पनि फर्कन्नस् । के लेख्न मन छ, लेख् । सुनाउन मन छ, सुना ।”

दिमागमा काखे नानी । श्रीमान् । वृद्धपथमा घिस्रिइरहेकी आमाबाहेक केही आउँदैन । आँखाले जीवनको याचना गरिरहेका छन् । ठाउँ छाड्लाजस्तो भएको छ मुटु, के सुनाउनू !

उनले कुनै जवाफ दिइनन् । तर, अपहरणकारीले निरन्तर कर गरिरहे ।

मध्यरातसम्म नमारेपछि मनबाट भय क्रमशः विस्थापित हुँदै गयो । आँट भरिँदै आयो । उनको बोलीमा तागत देखियो । बाँधिएका हात फुकाइएको र आँखाको पट्टस् खोलिएकाले मुक्त भएको अनुभूति पनि भयो ।

उनले भनिन्, “मलाई किन अपहरण गर्‍यौ ? मेरो अपराध के हो ? त्यो त भन !”

हरिमायाको केही सीप चलेन । उनले आफ्नो कसुर थाहा पाउन सकिनन् । अपहरणकारी भन्थे मात्रै, “तँलाई भोलि बिहान मार्ने हो !”

यसै मर्ने, उसै मर्ने । उनले नाटक सुनाइन् ।

तिनताका उनले लियोनार्दो दा भिन्ची र मोनालिसा शीर्षकको नाटक लेखेकी थिइन् । त्यसमा वीरबहादुर र मालश्री दुई पात्र भित्र्याइन् ।

उनले कथा वाचन गर्दै गइन्–

लियोनार्दोको चित्रशिल्प, मोनालिसाबाट प्रभावित भएर वीरबहादुरले पनि आफ्नी प्रेमिकालाई मोनालिसाकै रूपमा उतार्न चाहेको थियो । एकदिन उसलाई एकलास ठाउँमा पुर्‍यायो र जीवन्त हाँसोको अभिनय गर्न लगायो ।

प्रेममा आह्लादित भए पनि मालश्रीले वीरबहादुरले भनेबमोजिम अभिनय गर्न सकिनन् । बरु अनुहारमा घृणाको भाव पैदा गरिन् । मालश्रीको हर्कतबाट विक्षुब्ध भएको वीरबहादुरले आफ्नी प्रेमिकाको घाँटी अँठ्याउँदै मृत्युको जीवन्त तस्बिर कोर्न थाल्यो । पानी..पानी.. भन्दै छटपटाउँदै मालश्रीले त्यहीँ मृत्युवरण गरिन् ।

भिन्चीको चित्रकलाबाट बेहद प्रभावित वीरबहादुर मृत्युको जीवनन्त तस्बिर उतार्ने भूत सवार थियो । उसले प्रेमीलाई पानीको घुट्कोसमेत नपिलाई चित्र कोर्‍यो । परन्तु तस्बिरले पूर्णता पाएन । अन्तिममा प्रेमिका–हत्याको पश्चातापमा ऊ छट्पटियो । त्यसपछि वीरबहादुर आफैंले विष घुट्क्याएर आफ्नै मृत्युको अनुभूति गर्दै तस्बिरलाई पूरा गर्‍यो ।

अपहरणकारी झन् विक्षुब्ध भयो र भन्यो, “तेरो नाटकको मूल कथा ठीक छ । तर, तैंले किन निर्दोष मालश्रीलाई यतिविघ्न यातना दिइदिई मारिस् ?”

“नाटककी पात्र मालश्रीलाई मार्दा त तिमीहरूलाई यति पीडाबोध हुँदो रहेछ, मैले के अपराध गरेकी छु र मलाईचाहिँ मार्दै छौ ?” उनले निर्भीकतापूर्वक भनिन् ।

अपहरणकारी असिनपसिन हुँदै भित्रबाहिर गरिरह्यो । र, त्यसै बित्यो त्यो रात ।

भोलिपल्ट बिहान पुनः आँखामा पट्टी लगाए । हात पछाडि लगेर बाँधे र गाडीमा हाल्नै लाग्दा सोधे, “तेरो अन्तिम इच्छा के छ ?”

“आमालाई फोन गर्छु र मेरो बाटो नहेर्नू, म आउँदिन भन्छु,” उनले रुँदै याचना गरिन् ।

अपहरणकारीले आमालाई सम्पर्क गर्न त खोज्यो तर दुर्भाग्य, फोन लागेन ।

त्यसपछि गाडीमा हाले र लिएर हिँडे । अचम्म ! जहाँबाट अपहरण गरेको हो, त्यहीँ पुर्‍याएर पो पट्टी खोलिदिए । हात फुकाइदिए । सोचिन्— यहीँ ल्याएर मार्ने योजना रहेछ क्यारे !

तर होइन, हात फुकाउनासाथ अपहरणकारीले भन्यो, “अहिलेलाई जा । तर तैंले फेरेको सास जतिबेलै खोस्न सक्छौं ।”

हरिमाया मृत्युको मुखबाट उम्किएर आएको क्षण सपना थिएन तर सपनाजस्तो पक्कै थियो ।

यो घटना सुनाउँदा अझै उनको मुटु काम्छ । शरीरका रौं उचालिन्छन् । आँखा सजल हुन्छन् । भन्छिन्, “अपहरणकारीको पञ्जाबाट छुटेपछि म डिप्रेसनको शिकार भएँ । जतिबेलै मारिन सक्छु भन्ने भयले गाँज्यो । बाटामा कोही नयाँ मानिस देखें भने पुलिसलाई गुहार माग्थें र भन्थें— दाइ त्यसले अघिदेखि मलाई हेरिरहेको छ । मलाई अपहरण गर्न आएको हुनुपर्छ । त्यसलाई समातिदिनुपर्‍यो ! मेरो कुरा सुनेर वाल्ल पर्थे सुरक्षाकर्मी ।”

यही घटनापछि हो— उनले राजनीतिक सक्रियता घटाउँदै जीवनलाई साहित्यकर्मतिर डोयाउँदै लगेको । 

० ० ०

‘दोस्रो दर्जा (०६३)’, ‘मैनका मान्छे (०६८)’— कथा संग्रह, ‘आहाल (०५९— नाटकसंग्रह)’, ‘बाटो खोज्दै बाटोमा (०७१– कवितासंग्रह) ल्याएकी हरिमाया ०७३ मा ‘कल्ली’ उपन्यास लिएर साहित्यको आँगनमा देखापरिन् । पछिल्लो समय उनी कथासंग्रका लागि ‘गुप्तबास’ बसेकी छिन् ।

तथापि, साहित्यको पछिल्लो ‘लहड’देखि उनी सन्तुष्ट छैनन् । त्यसले उजाड पाखापखेरामा सम्भावनाको आँकुरा त देखाएको छ तर नेपाली साहित्यलाई टाकुरामा नपुर्‍याउनेमा उनी ढुक्कजस्तै छिन् ।

“हामीले समाजका छिपछिपे र सतही कुरा बोकेर हिँडेका छौं । यसले हामीलाई कहीँ पुर्‍याउँदैन, साहित्यलाई समाजको दर्पण मान्छौं, त्यही भएर होला— हामी बाह्य आवरणको ज्यादा चर्चा गरिराखेका छौं । समाजका भित्री पाटोमा प्रवेश नै गर्न सकेका छैनौं,” आफ्नो तर्कमा उभिँदै कुराकानीको लामो पोयो गाँठो पारिन् उनले ।

तपाईंको मत