डार्कनेट इन्टरनेटभित्रको सामान्य मानिसहरुको पहुँच नहुने र प्रायः अवैध क्रियाकलापका लागि प्रयोग गरिने बेनाम र अन्धकार दुनियाँ हो । सर्वप्रथम डार्कनेट शब्दको उत्पत्ति अमेरिकामा सन् १९७० को दशकमा भएको हो । पिटर बिडल र पल इङल्यान्डले सन् २००२ मा ‘द डार्कनेट एन्ड र फ्युचर अफ कन्टेन्ट डिस्ट्रिब्युसन’ नामक कार्यपत्र पेस गरेसँगै यो शब्द पुनः चर्चामा आयो । पत्रकार जे.डी.लासिकाले सन् २००५ मा ‘डार्कनेट ः हलिउड्स वार अगेन्स्ट द डिजिटल जेनरेसन’ नामक पुस्तक लेखेपछि त झन् यसबारे कौतुहल बढ्यो । सन् २०१४ मा अर्का पत्रकार जेमी बर्लेटले ‘द डार्कनेट’ नामक पुस्तक लेखेपछि यसप्रतिको चासो झनै चुलिएको छ ।
डार्कनेटलाई राम्रोसँग बुझ्न पहिला इन्टरनेटका ३ मुख्य प्रकारहरुलाई सम्झिनुपर्छ । पहिलो हो सर्फेसनेट अर्थात् सबैको पहुँचमा हुुने, सार्वजनिक अस्तित्वमा रहने वैध इन्टरनेट । जस्तै : गुुगल, विकीपिडिया, युट्युब, फेसबुक, ट्विटर, याहु, जिमेल, आदि । दोस्रो हो डिपनेट अर्थात वैधानिक मान्यताप्राप्त तर सबैको पहुँचमा नहुने वा सीमित समुदायको उपयोगका लागिमात्र रहने इन्टरनेट । जस्तै : कुनै विश्वविद्यालयका प्रकाशनहरू, राष्ट्रिय सुुरक्षाका विवरण, बैंक र वित्तीय संस्थाका जानकारी, कुनै मुलुकको आणविक वा अन्तरिक्ष विज्ञानका सूचना राखिएका वेबसाइट । तेस्रो प्रकार हो डार्कनेट जसमा विवादास्पद र प्रायः कानुनद्वारा प्रतिबन्धित सामग्री राखिन्छ र जुन आफ्नो समूहका सदस्यका लागिमात्र भूमिगतरूपमा उपलब्ध हुन्छ । डार्कनेटसम्म पुग्ने आफ्नै नियन्त्रित वा गोप्य विधि हुन्छ ।
डार्कनेटको पहिलो प्रयोग अमेरिकी सेना अझ जलसेनाले गरेको हो । सैनिक सञ्चारलाई गोप्य एवं सुरक्षित राख्न सरकारबाटै यसको प्रयोग सुरु भएको हो । तर, पछि यसको दायरा विस्तार भई यो अन्तरदेशीय अपराधकर्मको प्रिय सञ्जाल बन्न पुग्यो । यसको अर्थ यसका प्रयोगकर्ता सबै अपराधी नै हुन्छन् भन्ने त हैन तर बहुसंख्यक तिनै देखिन्छन् । पेसेवर अपराधीबाहेक डार्कनेटको प्रयोग गर्नेमा पत्रकार र राजनीतिक कार्यकर्ता पनि पर्छन् । अभिव्यक्ति एवं प्रेस स्वतन्त्रता नियन्त्रित भएका मुलुकमा आफ्ना कुरा पुर्याउन तथा राजनीतिक संगठन विस्तार गर्न डार्कनेटले काम दिएको छ ।
साथै, आतंककारी र माफिया गिरोह पनि यसको प्रयोगबाट टाढा छैनन् । इराक र सिरियामा आतंककारी संगठन आइसिसले ३ वर्षसम्म शासन गर्दा यही डार्कनेटबाट आफ्नो प्रभाव विस्तार गरेको थियो । अर्कोतर्फ सो समयमा पत्रकार एवं ‘एक्टिभिस्ट’हरुले पनि डार्कनेटबाटै आइसिसका ज्यादतीलाई विश्वसामु ल्याएका थिए । यसरी अन्य प्रविधिजस्तै डार्कनेटको पनि सही र गलत दुवै प्रयोग सम्भव छ । सुरुमा सरकारी निगरानी छलेर विचार सम्प्रेषण गर्न डार्कनेट ल्याइएकोमा पछिल्लोपटक यसको गलत प्रयोग बढ्नु चिन्ताको विषय छ ।
डार्कनेटमा याहु, गुगल, बिङ, फायरफक्सजस्ता सामान्य सर्च इन्जिनबाट पहुँच पुर्याउन सकिँदैन । तिनका माध्यमबाट डार्कनेटका वेबसाइटलाई चिन्न वा तीभित्र पस्न सकिन्न । किनभने ती त्यहाँ सूचीकृत नै भएका हुँदैनन् । अतः यो एक अदृश्य इन्टरनेट हो जसको उपस्थिति छ तर सबैले देख्न सक्तैनन् । डार्कनेटभित्रका वेबसाइट र तिनलाई भेट्ने ब्राउजर दुवै अति गोप्य हुन्छन् । डार्कनेट प्याजी सञ्जाल अर्थात अनियन नेटवर्कमा आधारित हुन्छ । सामान्य इन्टरनेटमा हाम्रो कम्प्युटरले कुनै वेबसाइट देखाइरहेको सर्भरमा ब्राउजरको माध्यमबाट सिधै पहुँच राख्नसक्छ । तर, ‘प्याजी सञ्जाल’मा यो प्रत्यक्ष सम्पर्कलाई टुटाइन्छ र विभिन्न मध्यस्थ लिंक भएरमात्र कुनै गन्तव्यमा पुग्नसक्ने बनाइन्छ । यीमध्ये कुनै पनि मध्यस्थले इन्कार गरेमा सम्पर्क बीचैमा विच्छेद हुन्छ । प्रवेश पाएको खण्डमा पनि सञ्जालमा हाम्रो सम्पर्क त देखिन्छ तर कसले, कहाँ बसेर कसरी काम गरिरहेको छ, त्यो पत्ता लगाउन गाह्रो हुन्छ । कुनै वेबसाइटको नाम अन्तिममा डट अनियनमा टुंगिन्छ भने त्यसलाई डार्कनेट परिवारको सदस्य मानिन्छ ।
नामअनुसारै प्याजी संजालमा प्याजको जस्तै पत्रपत्र पार गरेरमात्र कुनै खास वेबसाइटको लक्षित सामग्रीसम्म पुग्न सकिन्छ । टोर सबैभन्दा प्रख्यात प्याजी संजाल हो । टोरबाट अवैधमात्र होइन वैध वेबसाइटहरूलाई समेत आफूलाई नचिनाईकन हेर्न सकिन्छ । यसबाट सरकारी जासुस, ह्याकर र प्रतिद्वन्द्वीहरूलाई थाहा नदिईकन वेबको समुद्र चहार्न सकिन्छ । अर्को प्याजी संजाल द फ्रीनेट प्रोजेक्ट हो । यसले पनि टोरले जस्तै काम गर्छ तर यसमा छुट्टै निजी संजाल अर्थात् प्राइभेट नेटवर्क पनि राख्न मिल्छ । यसको अर्थ, कुनै खास स्थान, पेसा वा रुचिका मानिसले मात्र कुनै वेबसाइटको सामग्री हेर्नमिल्ने गरी ‘कन्फिगर’ गर्न सकिन्छ । पछिल्ला दिनमा आईटुपी अर्थात इन्भिजिबल इन्टरनेट प्रोजेक्टको पनि लोकप्रियता बढ्दो छ । यसभित्र अन्यका अतिरिक्त ब्लगिङ, च्याट, सुरक्षित इमेल, फाइलको भण्डारण र आपसमा वितरणजस्ता थप सुविधा राखिएको छ ।
यसप्रकार, वैध सर्फेस नेटकै हाराहारीमा अवैध डार्कनेटको समानान्तर उपस्थिति देखिन्छ । हामीले दैनन्दिन प्रयोग गर्ने नेटजत्रै आकार भूमिगत नेटले लिइसकेको छ । यसको प्रयोग मुख्यतः देह व्यापार, वन्यजीव व्यापार, अवैध हतियारको कारोबार, बालयौन दुराचार, लागु पदार्थ ओसारपसार, मानव बेचबिखन, आतंकवाद र अतिवाद, व्यक्तिहत्या, खेलकुदमा सट्टेबाजी तथा छद्ममुद्रा अर्थात् क्रिप्टोकरेन्सीको सञ्चालनमा भइरहेको छ । मतसम्प्रेषणजस्ता जायज कामका लागि यसको प्रयोग घट्दो छ । किनभने विश्व आफैंँ दिनप्रतिदिन खुला भइरहेको छ । आफ्ना आपराधिक कामलाई हुर्काउन अपराधीहरूले डार्कनेट चलाएजस्तै तिनलाई पक्रिन र निगरानी राख्न कानुन कार्यान्वयन निकायले समेत यसमा समय बिताइरहेका हुन्छन् । डार्कनेटभित्र पनि अल्फाबे, सिल्करोड ३, ड्रिम मार्केट र वाल्हल्लाजस्ता वेबसाइटले बढी ग्राहक तानिरहेका छन् ।
अन्तमा प्रश्न उठ्छ – किन सरकारी निकायहरूले डार्कनेटलाई पूरै भत्काउन सकेका छैनन् त ? यसका पछाडि २ वटा कारण छन् – पहिलो त डार्कनेटले प्रयोगकर्तालाई अज्ञातवासको सुविधा दिएर समाचार सम्प्रेषण र विचारको आदानप्रदानमा सघाएको छ, खासगरी तानाशाही तन्त्रमा । धेरै पश्चिमा देशले आफ्ना राष्ट्रिय गोपनीयता यस्तै डार्कनेट वा निजी नेटवर्कमा राख्ने गरेका छन् । यसबाट विकिलिक्सजस्ता गोप्य जानकारी खोतल्ने र सार्वजनिक गर्ने ‘आक्रामक समूह’बाट संवेदनशील सूचनालाई जोगाउन सकिन्छ । अतः यसको गलत प्रयोगमात्र छैन । दोस्रो त प्रविधिको विकाससँगै डार्कनेटको साम्राज्य कति फैलिएको छ भने एउटा शंकास्पद वेबसाइट बन्द गर्यो, ५ वटा अरू खुल्छन् । दिनदिनै खुल्ने, बन्द हुने र ठेगाना बदल्ने डार्कनेटको निगरानी वास्तवमै दुरुह छ ।
नेपालमै सर्भर राखेर हालसम्म डार्कनेटबाट गैरकानुनी काम भइरहेको आधिकारिक जानकारी छैन । केही यौनजन्य वेबसाइट ओपन नेटमै छन् । तर कतिपय पेसेवर अपराधीले विदेशमा सर्भर रहेका अँध्यारा साइटमार्फत लागु पदार्थ र वन्यजीव तस्करी वा खेलकुदको सट्टेबाजीमा भाग लिइरहेका हुनसक्छन् । अतः अपराध अनुसन्धानको पाटोले यतातिर पनि नियाल्नु आवश्यक छ ।