काठमाडौं । काठमाडौंको डल्लु आवास क्षेत्रमा रहेको सोनी श्रेष्ठको घरबाट ३१ लाख बराबरको धनमाल चोरी गरी भागेका दुईजना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहार राज्य मोतिहारी जिल्लाका करण पोदार र सुरज पोदार रहेका छन् । उनीहरुलाई डल्लु आवास क्षेत्रबाट पक्राउ गरिएको महानगरिय अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिंहले बताए ।
पोदारको समूहले गत शुक्रबार घरमा कोही नभएको मौका छोपेर सोनी श्रेष्ठको घरमा ताला फोडेर नगद तथा सुनका गहनासमेत गरी झण्डै ३१ लख ३३ हजार बराबरको धनमाल चोरी गरेको एसएसपी सिंहले बताए । प्रहरीले पोदारको समूहले काठमाडौंका विभिन्न स्थानमा चोरी गरेको हुनसक्ने आशंका गरेको छ । उनीहरुले कवाडीको भेषमा घरमा को–को छन्, पत्ता लगाउने, मान्छे रहने र बाहिर काममा जाने समय पत्ता लगाएर चोरी गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनीहरुको साथबाट ७२ हजार नेपाली रुपैयाँ, चोरी गर्दा प्रयोग गरिने फलामको रड, हिराको औंठी, ६ तोला सुनका गहना फेला परेको प्रहरीले जनाएको छ ।