विचार

विकास कि विनाश !

केशव शर्मा

विकास कि विनाश !

मनसुनको औपचारिक प्रवेश नहुँदै पहिरोले राजमार्ग अवरुद्ध भएका र घरहरु पुरिएका समाचारहरु आउन थालिसकेको छ । असार १२ गते बागलुङमा पहिरोले घर पुर्दा एकै परिवारका ३ जनाको मृत्यु भएको थियो । असार १४ गते धादिङको छुट्टाछुट्टै स्थानमा गएको पहिरोमा पुरिएर दुई परिवारका ५ जनाको मृत्यु भएको छ । देशका धेरै स्थानमा मनसुनको सुरुमै भएको सामान्य वर्षाले पनि केही स्थानमा बाढी र पहिरो गएका छन् । मनसुनको आगमनसँगै बाढी, पहिरो र डुवानका घटना सामान्य मानिन्छ । 

भूकम्प, बाढी तथा डुवान, पहिरो तथा आगलागी नेपालमा जनधनको क्षति गर्ने प्रमुख प्राकृतिक प्रकोप हुन् । यीमध्ये आगलागीबाहेक अरु विपद भूगर्भ र जल तथा मौसमसँग गासिएका प्रकोप हुन् । जनधनको क्षतिको दृष्टिले बाढी र पहिरो नेपालमा बढी संवेदनशील देखिन्छन् । भूकम्प सामान्यतः बर्सेनि जाँदैन । विसं. १९९० पछि ठूलो भूकम्प ८२ वर्षपछि २०७२ मा गयो । त्यसैले ५० – १०० वर्षको औसत क्षतिको हिसाब गर्ने हो भने भूकम्पले गर्ने क्षती न्यून देखिन आउँछ । नेपालमा बाढीपहिरोको कारणले हरेक वर्षमा २०० जनाभन्दा बढीको मृत्यु, ३देखि ४ हजार घर ध्वस्त तथा दसौं हजार मानिस प्रभावित र अर्बौंको क्षति हुनेगरेको छ ।

नेपालको करिब ८३.५  प्रतिशत भूभाग पहाडी तथा हिमाली क्षेत्रले ओगटेको छ। नेपालको भू बनोट विश्वमै कान्छो, अत्यन्त कमजोर र उतारचढावयुक्त मानिन्छ । यसले सजिलै पहिरो जान सक्छ । भारततिरबाट तिब्बततिर घस्रँदा चलायमन भएको हाम्रो भू अवस्थाले पनि नेपालको भू बनोटलाई कमजोर बनाएको छ ।

नेपालका पहाडहरु अत्यन्त भिराला, अग्ला र नरम छन् भने ३ महिनामै करिब १२०० देखि १५०० मिलिमिटर पानी पर्छ । त्यसलाई पहाडले थेग्न सक्दैन र पहिरो जान्छ । नदीले समेट्न सक्तैन र बाढी आउँछ । एकचोटी भाँचिएको वा मर्किएको हड्डी पछिसम्म पनि बारम्बार उकल्चिएजस्तै गरेर भूकम्पले खल्बलिएको भूभागले पनि धेरैपछिसम्म दुखः दिने गर्छ । गत वर्षको भूकम्पको कारणले अबका केही वर्षसम्म नेपालको मध्यपहाडी क्षेत्रमा धेरै पहिरो जाने र तराइका क्षेत्रमा उच्च मात्रामा गेग्रान जम्मा हुने जोखिम बढेको छ । 

चीनमा २००८ को वेन्चुवान भूकम्पपछिको पाँच वर्षमा दुई हजारभन्दा बढी पहिरो गएको थियो । पहिरो तथा भूक्षयका कारणले करिब ४० करोड घनमिटर गेग्रान मियानयुआन नदीमा मात्र जम्मा भएको थियो । बेइचुआन, चिङपिङ, मिआन्जुजस्ता धेरै सहर तथा बस्ती पुरिएका थिए । केही वर्ष यता धेरै स्थानमा सुख्खा पहिरो पनि जान थालेको छ ।

नेपालमा पहिरो गएको स्थानलाई विश्लेषण गर्ने हो भने अधिकांश पहिरो सडक र सिँचाइका लागि खनिएका नहर तथा कुलेसाको आसपासमा गएको देखिन्छ । प्राविधिक अध्ययनविना नै जथाभावी सडक र कुलेसा खन्नै, सडक बनाउने नाममा धेरै जोखिमपूर्ण क्षेत्रमा समेत ठूला  मेसिन तथा विस्फोटक पदार्थको प्रयोग गरी भूबनोटलाई खल्बल्याउन काम भएको छ । यो नेपालमा पहिरो जाने क्रम बढ्नुको पहिलो कारण हो । 

स्थानीय तहमै डोजर प्रयोग गरेर जथाभाबी सडक खन्न थालिएपछि बाढी पहिरो जाने क्रम ह्वात्तै बढेको पाइन्छ । यसको ज्वलन्त उदाहरण २०५० पछाडि फेवाताल पुरिने दर ह्वात्तै बढ्नु हो । फेवातालको आसपासका क्षेत्रमा जथाभाबी सडक खन्नाले त्यस क्षेत्रमा साना ठूला पहिरो जान थाले । अनि तिनै पहिरोको माटो र बालुवा पानीले बगाएर ल्याउँदा फेवातालको अस्तित्व नै संकटमा पर्दैछ । 

नेपालको तराई क्षेत्रमा सामान्य वर्षा हुँदा पनि डुवानमा पर्ने समस्या  बर्सेनि बढ्दो छ । यसको प्रमुख कारण हामीले अन्धाधुन्ध निर्माण गरेका संरचनाहरु हुन् । नेपालको भित्री मधेस तथा तराई पूर्वपश्चिम हुनेगरी सडक, सिँचाइका नहर आदि निर्माण गर्दा धेरै विचार पुर्याउनु पर्ने हुन्छ । त्यस्ता स्थानमा जलाधर क्षेत्रको अध्ययन गरेर उत्तरबाट दक्षिणतिर बग्ने पानीका बहावलाई अवरोध नहुने गरी संरचना बनाउनु पर्नेमा यसविपरितको निर्माण कार्य गर्नाले स्थानीय स्तरमा सामान्य वर्षा हुँदा पनि डुबान हुनेगरेको हो ।

अहिले त झन् केन्द्र सरकारले स्थानीय तहमा पठाएको अनुदानको ठूलो अंश जथाभावी पहाड खनेर सडक बनाउन प्रयोग भएको देखिन्छ । त्यसमाथि स्थानीय तहका प्रमुख वा उपप्रमुखले आफ्नो परिवार वा आफन्तका नाममा एक्स्काभेटर किन्ने र स्थानीय तहले त्यसैलाई भाडामा लिएर बाटो बनाउने काम बढेको पाइन्छ । फलस्वरूप, राज्यको ठूलो रकमको दुरुपयोगमात्र भएको छैन विकासका नाममा विनाश पनि निम्त्याइँदै छ । 

जथाभावी डोजर प्रयोग गरेर बनाइएका सडकका कारण बझाङमा १५ वटा बस्तीका २ हजार हाराहारी घर, सामुदायिक भवन र अस्पताल उच्च जोखिममा रहेको देखिएको थियो । त्यो अहिले बढ्दो छ । जताजता सडकका रेखा कोरिँदैछ, त्यसको दायाँबायाँ पहरो खोलेर भए पनि घडेरी बनाई घर बनाउने प्रवृत्ति अहिले मध्य तथा उच्च पहाडी क्षेत्रमा बढ्दो छ । यसले गर्दा सडक खन्दा खल्बलिएको भू बनोट अझै खल्बलिने र पहिरो गई भौतिक तथा मानवीय क्षति हुने जोखिम बढी हुन्छ । उपयुक्त सर्भे तथा डिजाइनबिना कुनै पनि सडक खन्न नदिने व्यवस्था कडाइका साथ कार्यान्वयन गरेमात्र पनि बाढी पहिरो नियन्त्रणमा ठूलो सहयोग हुनेछ ।

चुरेमा अव्यवस्थित र अवैधरूपले संचालन गरिएका रोडा तथा क्रसर उद्योग र तीव्र्र वन विनाशका कारण सिंगो चुरे क्षेत्र नै महाविनाशको दिशातिर उन्मुख छ । वातावरणीय जोखिमको ख्यालै नगरी संचालन गरिएका त्यस्ता उद्योगहरु भारतको भौतिक निर्माणका निम्ति नेपालको प्राकृतिक स्रोत मास्न प्रयोग भइरहेको छन् । यसको प्रत्यक्ष असर तराईको वातावरण, जनजीवन तथा कृषिमा पर्ने छ । ‘राष्ट्रपति चुरे संरक्षण कार्यक्रम’ घोषणा भए पनि उसले लक्ष्यअनुसारे काम गर्नसकेको छैन । नदी नालाबाट गिटी तथा बालुवाको उच्च दोहन गर्नाले काठमाडौं उपत्यकालगायत तराइका धेरै पुल उच्च जोखिम परेका छन् ।

नदी खोलाका किनाराहरु अतिक्रमण गर्दै मानब बस्ती बस्ने क्रम बढ्दो छ । फलस्वरूप, पानी बग्ने क्षेत्र साँगुरिन गई उच्च बहाव भएको बेलामा त्यस आसपासका क्षेत्र डुबानमा पर्छ । काठमाडौंको बबरमहल, शान्तिनगर, बल्खु जस्ता स्थान बर्सेनि डुबानमा पर्नु यसको उदाहरण हो । काठमाडौंका सबै नदी तथा खोला, पोखराको सेती र फिर्के, बाग्लुङ्गको मालढुङ्गा नजिक कालीगण्डकी र म्याग्दीको म्याग्दी र काली नदीलगायत नेपालका धेरै नदीहरु अतिक्रमणका चपेटा परेका छन् । यही कारण प्रत्येक वर्ष कहीँ न कहीँ केही वर्षअगाडि दार्चुलामा महाकालीले देखाएको जस्तो ताण्डव दोहोरिएको देखिन्छ । 

नेपालमा अहिलेसम्म पनि भूउपयोग निति आउन नसक्नु दुर्भाग्य हो । यसका अभावमा जोखिम युक्त क्षेत्रमा पनि धमाधम बस्ती बस्न थालेका छन् । जनसंख्या वृद्धि तथा सहरी क्षेत्रमा अधिक बसाइँसराइले गर्दा जोखिमी क्षेत्रसमेत अतिक्रमण गरी आधिकारिकरुपमै बस्ती विस्तार गर्ने क्रम जारी छ । यसबाट कुनै न कुनै दिन ठूलो विपद् निम्तिने निश्चितप्रायः छ । 

त्यस्तै सरकारी निर्णयबाट बन्ने कतिपय भौतिक संरचना पनि सामान्य भौगोलिक र प्रकोप जोखिमको सम्भावना अध्ययन नगरी निर्माण गर्ने गरिएको पाइन्छ । सरकारले मध्य पहाडी लोकमार्गमा बसाउन खोजेका करिब १० सहरी क्षेत्रमध्ये केही क्षेत्र अत्यन्त जोखिममा रहेको अध्ययनले देखाएको छ । 

अहिलेका कतिपय जिल्लाका सदरमुकामहरु जस्तै तानसेन (पाल्पा), इलाम (इलाम) पनि धेरै पुरानो पहिरो माथि बसेका छन् । यस्तो पहिरो जति बेला पनि पुनः सक्रिय हुन सक्छ ।  पुरानो भीमकाय पहिरो भएको ठाउँमा प्रशस्त मात्रामा माटोको तह हुने भएकोले जमिन मलिलो हुन्छ र सजिलै बस्ती स्थापना र विकास हुन्छ । 

हाम्रा राजमार्ग पनि पुराना ठूलो पहिराहरु हुँदै बनाइएका छन् । मुग्लिङ–नारायणगढ खण्डको धेरैजसो स्थान यस्तै पुरानो पहिरोका फेद हुँदै बनाइएको थियो । अहिले त्यस खण्डलाई चार लेनको बनाउने नाममा विस्तृत अध्ययनबिना भित्तो खोतल्र्ने काम गरिएका कारण ती पुराना ठूलो पहिराहरुको आधार कमजोर हुन गई ठूलो पहिरो केही वर्षअगाडिको जुरे पहिरोजस्तै पुनः सक्रिय भएर ठूलो क्षति पु¥याउनेछ । यसको प्रारम्भिक लक्षण त देखिई पनि सकेको छ । 

नदी किनारमा, अझ नदीको बगरमा, कमलो माटो भएका भिराला पहाडहरुमा र पहिला पहिरो गएको ठाउँमा बस्ती बसाउनु कुनै पनि हालतमा सुरक्षित छैन । कुनै पनि ठाउँमा बस्ती बसाउनुअघि त्यो स्थान भौगोलिकरुपमा बस्ती बसाउन उपयुक्त छ कि छैन भन्ने जाँच गरिनुपर्छ । त्यसलाई प्राकृतिक विपद जोखिम सम्भाव्यता अध्ययन भनिन्छ । राज्यस्तरबाटै देशभर नै प्राकृतिक विपद जोखिम सम्भावना अध्ययन गरी जोखिमयुक्त ठाउँलाई बस्ती निषेधित क्षेत्र तोक्नुपर्छ । त्यस्ता क्षेत्रमा पहिले नै बस्ती भएमा तिनलाई अन्यत्र सार्ने वा पूर्व चेतावनी दिने संयन्त्रसहित विपद अगावै गर्न सकिने अन्य उपाय अवलम्बन गर्ने र विपद्पूर्व गर्नुपर्ने कार्यका लागि स्थानीय समुदायलाई नै सक्षम बनाई २४ सै घन्टा तयारी साथ रहनुपर्छ । 
नेपालमा बाढी, पहिरो, भूक्षय, खडेरीजस्ता प्राकृतिक प्रकोपको समस्या पहिलेदेखि नै रहिआएकोमा जलवायु परिवर्तनले यसलाई अझ जटिल बनाउँदै लगेको छ । परन्तु, आजको दिनसम्म जे जति बाढीपहिरो गएका छन् तिनको प्रमुख कारण भने जलवायु परिर्वतन नभएर माथि उल्लेखित विषयहरु हुन् ।

बाढीपहिरोबाट जोगिन केही अरू उपाय पनि अपनाउन सकिन्छ । धेरै भिरालो ठाउँ र नदी खोलाको किनारमा भवन तथा संरचना निर्माण नगर्ने, साह्रै भिरालो ठाउँमा खेती नगर्ने, गर्नै परे गरा बनाएर गर्ने, विनाअध्ययन, नाप र डिजाइन बनाइएका सडक, सिँचाइका संरचना र  बाँधका कारण बाढीपहिरो जान सक्ने हुनाले यस्ता योजनास्थल आसपासमा बासिन्दासचेत रहनुपर्छ । 

ठूला बाढी, पहिरो र भूइँचालो जाने समयको निश्चित चक्रः हुनसक्छ । त्यसलाई बुझ्ने कोसिस गर्नुपर्छ र होसियार हुनुपर्छ । कतिपय पहिराहरू बिस्तारै बिस्तारै बगिरहेका हुनसक्छन् । पहाडको टुप्पामा तेर्सा धर्काहरु देखिने, रुखबिरुवा ढल्केको देखिने यसका लक्षण हुन् । यस्ता कुरामा विचार पु¥याई राख्नुपर्छ । बाढी वा पहिरो गइहालेको खण्डमा के गर्ने, कसरी बच्ने, बचाउने र नोक्सान कम पार्ने भन्ने जानकारी विपदपूर्व नै लिइराख्नु पर्छ ।

हाम्रो देशमा बाढी र पहिरो नियन्त्रण गर्नु भनेको पर्खाल (ढुङ्गा भरिएका तार जाली, पानीको गति कम र बहावको दिशा परिवर्तन गर्न ढुङ्गा तथा कन्क्रिटको गारो) लगाउनु भन्ने बुझिएको देखिन्छ। एक ठाउँका कारणले गर्दा अर्को कुनै ठाउँमा बाढी तथा पहिरोको जोखिम उत्पन्न हुनसक्छ । त्यसकारण स्थान विशेषमा बाढी तथा पहिरोको कारण र असरको राम्रोसँग अध्ययन अनुसन्धान गरेर गरिने उपायहरु बढी वैज्ञानिक र दिगो हुन्छन् । 

चुरे क्षेत्रमा भएको भूक्षयको कारणले उत्पन्न गेग्रान तराईका नदी तथा खोलाहरुमा जम्मा भई तिनको सतह उकासिनाले तराईतिर बाढीको प्रकोप बढ्दै छ । यस्को नियन्त्रणको लागि पर्खाल लगाउने गरिन्छ जुन एक दुई वर्षभित्रै पुरिएर काम नलाग्ने अवस्थामा पुगेको देखिन्छ । चुरेको समस्या समाधान नगरिउन्जेल तराईमा जति पर्खाल लगाए पनि यो समस्या समाधान हुँदैन । यो फजुल खर्च मात्र हो । कतिपय स्थान बनाइएका तिनै ढुङगा भरिएका तार जालीमा पनि कुनै प्राविधिक ज्ञान प्रयोग गरिएको हुँदैन । जलग्रहण क्षेत्रहरुको निक्र्याेल गरेर एक एक क्षेत्रको विस्तृत अध्ययन गर्नुपर्छ । त्यस्तै पहिरो नियन्त्रण गर्न जथाभावी लगाइएका गारो तथा पर्खालहरुले पहिरोहरु नै सक्रि पारिरहेको पनि देखिएको छ ।

कुन समयमा कुन ठाउँमा बाढी पहिरो जानेवाला छ त्यसको पूर्वानुमान गरेर सम्बन्धित निकायलाई परिचालित गरी जनधनको क्षति हुनबाट रोक्नु समस्याको पहिलो समाधान हो । बाढी पहिरोको पूर्वानुमान गर्न वर्षाको मापन आधारभूत विषय हो । यो आर्थिक र प्राविधिक दुवैरुपले धेरै सहज छ । दुर्भाग्य, नेपालमा त्यस्ता वर्षा मापन गर्ने स्थानको संख्या नगण्य छ । 

काठमाडौंलगायत अन्य धेरै स्थानमा जस्तै केही वर्षअगाडि सेती नदीले पोखरामा तथा महाकालीले दार्चुलामा ल्याएको बाढी, पहिरो तथा डुबान हाम्रो भूउपयोग नीति तथा विपद व्यवस्थापन कानुन नभएर नै हो । विपद व्यवस्थापन विधेयक संसद्बाट पारित भए पनि यस्को कार्यन्वयनको लागि आवश्यक गृहकार्य र संरचना नहुँदा बाढी तथा पहिरोबाट हुने जनधनको क्षति रोक्ने काम गर्न सकिएको छैन । यस्तैमा हाम्रो आफ्नो आन्तरिक स्रोत साधनले विपद व्यवस्थापन गर्न नसकी बाह्य देश तथा संस्थाहरुलाई गुहार्नु पर्ने दिन आउनेछ । राष्ट्रिय अर्थतन्त्रमा पनि त्यस अवस्थामा ठूलो धक्का लाग्नेछ ।

अन्त्यमा, हाम्रो मुलुक प्राकृतिक प्रकोपको जोखिम परिरहने मुलुक हो । जति नियन्त्रण र रोकथामका कुरा गरे पनि नेपालमा बाढीपहिरोे जाने क्रम रोकिनेछैन । त्यसैले प्रकृतिसँग जुधेरभन्दा पनि प्रकृतिको रचनालाई बुझेर अगाडि बढ्नु आवश्यक छ । हाम्रा विकासका रुप र शैली सोही अनुसार हुनुपर्छ । हामीले गर्ने क्रियाकलापले प्राकृतिक प्रकोपको असरमा फरक पर्छ । प्रकोपको प्रभावलाई न्यूनीकरण गर्न वैज्ञानिक तथा प्राविधिक उपायहरुको भरपूर उपयोग गर्नसक्ने क्षमता हामीले विकसित गर्नुपर्छ ।
(अल्बेर्टा युनिभर्सिटी, क्यानाडामा विद्यावारिधि शोधार्थी सिभिल इन्जिनियर) 
@KS_Paudel

तपाईंको मत