Skip Advt.

साहित्य र कला

नेपालीका लागिमात्रै कहिलेसम्म बनाउने चलचित्र ?

नेपालीका लागिमात्रै कहिलेसम्म बनाउने चलचित्र ?

दिदीभाइबीचको सम्बन्धलाई लिएर ‘डाइङ क्यान्डल’ बनाएका निर्देशक नरेशकुमार केसीले अहिले ‘रोमियो एण्ड मुना’ निर्देशन गरिरहेका छन् । सृष्टि श्रेष्ठ र विनय श्रेष्ठलाई मुख्य पात्रका रुपमा लिएर बनाइएको चलचित्रमा उनी अघिल्लो चलचित्रमा भन्दा ३८० डिग्रीको एंगलमा ढलेर ‘रोमियो एण्ड मुना’ निर्देशन गरेका छन् । साउन ११ गते उनको चलचित्र रिलिज हुँदैछ । सिजीआईमा निकै मेहनत गरेको बताउने निर्देशक केसीले एउटै गीत ‘पल पल’ को भिडियो तयार गर्न करिब चार महिना खर्च गरेको बताएका छन् । २०७५ मा चलचित्रले खासै राम्रो व्यापार नगरिरहेका बेला नयाँ चलचित्रले कस्तो प्रभाव पार्छ, नेपाली चलचित्र राम्रो बनेर पनि रुचाइँदैन कि नराम्रो भएकै कारण चल्दैनन्, विश्व बजारमा नेपाली चलचित्रले किन प्रवेश नै पाउँदैनन् ? लगायतका जिज्ञासा निर्देशक केसीसँग बाह्रखरीका नरेश फुयाँलले राखेका छन् । 

० ० ०


चलचित्र फ्लोरमा गएको लामो समय भयो, अझै सकिएको छैन ?

भिजुअल इफेक्टको काममा अलि धेरै मेहनत गर्यौं हामीले । यसममा कम्प्रमाइज गरेको भए एक वर्ष अगाडि नै चलचित्र रिलिज भैसक्थ्यो । 

निर्माण घोषणा गरेको ६ महिनाभित्र नै चलचित्र रिलिज गर्ने परम्परा बनिसकेको छ नि !
 

स्क्रिप्टको पहिलो ड्राफ्ट सकेर निर्मातासँग बस्दा नै यसको फिजिबिलिटीका बारेमा नै लामो समय छलफल भयो । हरेक चलचित्रको क्यानभास आफ्नै हुन्छ, सोच आआफ्नै हुन्छ तर यही स्क्रिप्टमा काम गर्ने हो भने समय, तर्क र चलचित्रको सन्देशलाई लिएर हामी तयार छौं कि छैनौं भन्ने विषयमा छलफल भयो । भिजोल इफेक्टका ५–७ वटा कम्पनीलाई भेटेर कुरा गरेपछि निर्माणमा जाने भनेर फाइनल गर्दा नै डेढ वर्ष लाग्छ भन्ने थियो । तर, भिजोल इफेक्टमा अझ धेरै समय लागेको हो । मलाई लाग्छ यति ठूलो भोलुममा सिजीआई नेपाली चलचित्रमा काम भएको यो पहिलो पटक हो । 

सिजीआईको फिनिसिङमा कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
 

हामीले जति गरेका छौं, त्यो पनि यसअघि भएको थिएन । विज्ञापनमा भए पनि चलचित्रमा भएको थिएन । निश्चय नै स्क्रिप्टमा भए जस्तो गर्न सकिएन होला प्रविधिको अभावका कारण तर यसले आउँदो पुस्तालाई पक्कै पनि स्पेस दिन्छ जस्तो लाग्छ । 

चलचित्र ‘रोमियो एण्ड मुना’ को कथा के हो ?
 

दुई जना पात्रको कथा हो । कथामा क्लियरकट एन्टागोनिस्ट छैन । दुईटै क्यारेक्टर सेट क्यारेक्टर हो । रोमियो एन्ड मुनाको जुन आइडिया छ । नाम राख्दा नै दुईटा वल्र्डको मान्छे भेटिसकेपछि जुन उनीहरूको लाइफस्टाइल छ । एउटा वर्तमानमा बाँचिरहेको छ र एउटा अतितमा रुमलिरहेको छ । फरक फरक सिद्धान्त, आर्थिक समाजिक परिवेशबाट आएका व्यक्तिबीच कसरी मर्ज हुन्छ र असल मानव बनाउन भूमिका निर्वाह गर्छ चलचित्रले देखाउँछ । 

नाम पूर्वीया र पाश्चात्य धुरन्धर साहित्यकरका पुस्तकबाट निकालेर फ्युजन गर्नु भएको छ, कथाले नै मागेको नाम हो कि, यत्तिकै राखिएको हो ?
 

इमान्दारिताका साथ भन्नुपर्छ मैले स्क्रिप्टको पहिलो ड्राफ्ट यि दुई पात्रलाई जोड्ने उद्धेश्यले नै बनाएको थिएँ । पात्र नै ब्रिटिस क्यारेक्टर थियो । तर, अहिले त्यसलाई एनआरएनको आइडियामा लगिएको छ । रोमियो एनआरएनको रुपमा चलचित्रमा देखिन्छ । 

सुटिङ अगाडि दिइएको स्क्रिप्ट एउटा अनि सेटमा पुग्दा अर्कै स्क्रिप्ट हुने नेपाली चलचित्र उद्योगको ठूलो समस्या हो, कतै ‘रोमियो एण्ड मुना’ पनि यही सस्याबाट गुज्रिएको त हैन ? 
 

होइन, सुटिङमा पुगेर स्क्रिप्ट परिवर्तन भएको छैन । २०१२ मा मैले दुईटा भाषामा बनाउँछु भनेर तयार पारेको स्क्रिप्ट थियो । विविध कारणले त्यो पूरा हुन सकेन । तर पछि जुन स्क्रिप्ट हामीले लेख्यौं त्यही नै हो सुटिङ भएको । 

‘स्यान्डविच सङ’ कति टेलिभिजनले बजाउन सकिँदैन भनेर प्रतिबन्ध लगाए । चलचित्रमा पनि त्यस्ता सिन छन् ? 
 

पारिवारिक चलचित्र हो । कतिले ट्रेलरमा पनि केही त्यस्तै सिन छ भनेका छन् । तर, पूर्णरुपमा परिवारमा बसेर हेर्न सकिने चलचित्र हो यो । 

गीत त चलचित्रमा बज्छ नि हैन र ?
 

हो । तर चलचित्रमा मुख खुम्च्याउनुपर्ने भल्गर सिन छैनन् । जसरी हामीले पाश्चात्य जीवनशैलीमा भिजेको पात्र देखाएका छौं, त्यसलाई पुष्टि गर्न पनि त्यो गीत आवश्यक थियो । यस्तो केटासँग यस्ती केटी पनि ? भनेर देखाउन त्यो गीत आवश्यक थियो । यो कुरा चलचित्रको कथाले पुष्टि गर्छ । 

पहिलो फिल्म ‘डाइङ क्यान्डल’ बाट दोस्रो चलचित्रमा आइपुग्दा ३८० डिग्रीको एङ्गलमा ढल्नु भयो नि ? 
 

मैले यस्तो चलचित्र निर्देशन गर्छु भनेर गरेको होइन । जुन मेरो हातमा आइपुग्यो त्यही काम गरेको हो । मैले जुन काम गर्छु त्यसमा न्याय गर्नुपर्छ भन्ने मेरो मान्यता हो । थ्रिलर मुभी बनाएँ भने त्यसमा मैले दर्शकमा भय सिर्जना गर्न सकिन भने त्यसको के अर्थ ? 
यो चलचित्रमा कलात्मक पक्ष पनि धेरै छन् । सृष्टि र विनय दुबैको पार्टमा कलात्मक पक्ष छ । दर्शकलाई मैले अन्याय गरेको छैन । 

एउटाबाट अर्को चलचित्रमा पुग्दा यति धेरै भिन्न कथा बोकेको चलसिचत्रमा पुग्छु भन्ने लागेको थियो ?
 

थिएन । यस्तो खालको चलचित्र गर्छु भनेर गरेको पनि होइन ।

त्यसो भए यसलाई रहर भन्ने कि बाध्यता ?
 

बाध्यता त भन्नै मिल्दैन किनभने कसैले मलाई यो तैले गर्नैपर्छ भनेर जबरजस्ती लादेको होइन । रहर भनेर यही नै गर्छु भनेर सपना बोकेर पनि बसेको थिइन । प्रशन्न गोपाली मेरो १२ वर्ष अगाडि देखिको साथी । डाइङ क्यान्डल रिलिज नहुँदै उसले अब पूर्ण व्यावसायिक चलचित्र बनाएर हेरौं न त के हुन्छ भनेर भनिरहेको अवस्थामा मैले पनि नाई भनिन । 

पलपल गीतमा मलाई उसले ४ महिना लगाएर काम गर्न दिएको छ । ७ लाखभन्दा धेरै त यही गीतमा मात्रै खर्च गर्न दिएको छ । भ्यानगगको विषयलाई उठाउन पनि उसले दिएको छ, यसको अर्थ मेरो क्रिएटिभ पार्टलाई पनि उसले मर्न दिएको छैन । 

अघिल्लो पटक आर्ट मुभी बनाएर थुप्रै अवार्ड बटुल्नु भयो, अहिले व्यावसायिक चलचित्र बनाउँदै हुनुहुन्छ । यसको अर्थ तपाई आफ्नै परीक्षण गर्दै हुनुहुन्छ हैन ? 
 

थोर बहुत त्यो हुनेवाला छ जस्तो लाग्छ । डाइङ क्यान्डल आउँदा मलाई सकारात्मक रुपमा यो चलचित्रलाई लिएर स्वागत गर्नुभयो । तर, अब मासका लागि चलचित्र बनाउँछु भनेर भन्ने तर सोचेजस्तो भएन भने मैले अभिमान पालेर बसेको अर्थ हुँदैन । 

आर्ट फिल्म मात्रै बनाएर बस्न सकिँदैन हो ?
 

यस्तो होइन । सम्भव छ । मेकर, विषयवस्तु हेरर यसको मूल्यांकन हुन्छ । बाहिरी बजारमा हाम्रो चलचित्रको माग हुन थालिसकेको छ । कालो पोथी, सेतो सूर्य, डाइङ क्यान्डलकै कुरा गर्दा पनि धेरै देशमा गएका छन् । डाइङ क्यान्डलकै कुरा गर्दा यसरी बाहिर जान्छ भनेर थाहा पाएको भए अलि राम्रो लगानी गरेर बनाइन्थ्यो होला । 

नेपाली चलचित्रमा पछिल्लो समय स्टारडम बेचेर चलचित्र चलाउन खोज्नेहरूको लर्को लागेको छ, भनिन्छ नि हो ?
 

म यसका लागि टिप्पणी गर्न लायक छु जस्तो लाग्दैन । तर, स्टारडम र मेकरभन्दा पनि कन्टेन्ट बलियो हुनुपर्छ भन्ने लाग्छ । कन्टेन्ट राम्रो भयो भने वर्ड अफ माउथ र दर्शकको माया आफैं पाइन्छ । स्टारडमले इनिसियल विजनेशलाई मात्रै सहयोग गर्छ । 

यो वर्ष कुनै पनि चलचित्र चलेका छैनन्, यसले अब रिलिज हुने चलचित्रलाई कस्तो असर गर्छ ?
 

पक्कै पनि मेकरलाई चलचित्र चलोस् भन्ने नै हुन्छ । चलचित्र बनाउने दर्शकका लागि हो, उहाँहरूले नै हेरिदिनु भएन भने पक्कै पनि राम्रो होइन । दर्शक चलचित्र हेर्न गएनन् भनेर समग्र चलचित्र नै नराम्रो भयो भनेर मूल्यांकन गर्न मिल्दैन । बक्स अफिसमा हिट नभएका चलचित्र पनि राम्रा हुन सक्छन् । 

किन नेपाली दर्शकले आफ्नै चलचित्र हेर्दैनन् ? 
 

पहिलाको अनुपातमा त नेपाली चलचित्र हेरिरहका छन् कि भन्ने मेरो बुझाई छ । 

पहिला हलमा ५१ दिन, १०१ दिन मनाउने चलचित्रको संख्या धेरै हुन्थ्यो, अहिले त्यो अवस्था त नगन्य छ भन्ने स्वीकार्नु हुन्न ?
 

त्यो बेला निकै कम चलचित्र बन्थे । सिंगल थिएटर मात्रै थिए । राम्रै चलचित्र बन्यो भने केही हप्तासम्म निरन्तर चलिरहने अवस्था थियो । अहिले प्रत्येक साता दुई तीन वटा चलचित्र रिलिज हुन थाले । अघिल्लो हप्ता रिलिज भएको चलचित्रको भन्दा धेरै अकुपेन्सी नयाँ चलचित्रमा हुने देखियो भने चलिरहेका चलचित्र पनि उतार्ने अवस्था छ अहिले । 

नेपाली चलचित्र राम्रो बनाउन सकिएन कि बनाएर पनि हामीले बेच्न जानेनौं ? 
 

मेरो बुझाइमा गुणस्तरका हिसावले राम्रो चलचित्र बनाउन सकेनौं । कति राम्रो चलचित्र बनेर पनि दर्शकसम्म नपुगेको जस्तो पनि लाग्छ । मुख्य कुरा त हामीेले राम्रो चलचित्र नै बनाउन सकेनौं । 

राम्रो चलचित्र किन बनाउन सकेनौं ? 
 

यसमा धेरै पक्षहरू होलान् । राम्रो चलचित्र बनाउन भनेर दिनरात लागिरहनु भएका धेरै साथीहरू पनि हुनुहुन्छ । एउटा जमात यस्तो पनि छ कि रिसर्च गरेर काम गर्दैन । म चारवटा स्क्रिप्ट बोकर निर्माताकोमा गएर आफ्नो आइडिया बतायो भने भाइ यस्तो चलचित्र त चल्दैन हो यस्तो चाहिँ बनाउ न भन्नेहरू धेरै छन् । 

चारवटा गीत, दुईटा फाइट, दुईटा ड्रामा राखेर बनाउ भन्छन् । म भन्छु यसरी बनाएर सयवटा फिल्ममा दुईटाभन्दा धेरै चलेका छैनन् । त्यसैले म आफ्नो कथामा चलचित्र बनाउँछु लगानी गर्नुस् भन्दा लगानी गर्नेमान्छे भेटिँदैन । 

भनेपछि लहडकै भरमा चलचित्र बनिरहेका छन् भन्ने हो ?
 

धेरै त लहडकै भरमा बन्छन् । थोरै मात्रै मेकरले मेहनत गरेको देखेको छु मैले । फाष्टफुडको जमाना छ, आज बनाउने भोली रिलिज गर्ने । एउटा ब्लकबस्टर गीत राख्ने, कमेडी राख्ने बेचिहाल्ने र अर्को बनाइहाल्ने चलन छ । यसले चलचित्र उद्योगलाई राम्रो गर्दैन । 
ट्रेलरमा देखिएको राक्षसको चर्चा छ नि ! 

धेरै कुराहरू आइरहेका छन् । कसैले राम्रो भन्नुभएको छ कसैले किन ? भन्ने प्रश्न गर्नु भएको छ । यसमा अहिले नै भन्न मिल्छ जस्तो मलाई लाग्दैन । चलचित्र हेरेपछि त्यहाँ दर्शकले त्यसको आवश्यकता अनुभूत गर्नुहुनेछ । यसका लागि हामीले धेरै मेहनत गरेका छौं । आउँदा दिनका लागि यसले नेपाली चलचित्रमा स्पेश बनाउन भूमिका खेल्नेछ भन्ने विश्वास गरेका छौं । 

नेपाली चलचित्र चलाउनका लागि के गर्नुपर्छ ?
 

मैले यो प्रश्नको उत्तर दिन सक्छु जस्तो त लागेन तर मेरो बुझाइमा सबै कुरा ग्लोबलाइजेशन भइसकेको छ । पेरिसको क्रिम युज गर्ने हामी, न्यूयोर्कको टिसर्ट लगाउने भैसक्यौं । हिन्दीसँगै, अंग्रेजी, इरानी, चाइनिज, कोरियन चलचित्र हेर्छौं । चलचित्रको भाषा, सिमा हुँदैन भने हाम्रो चलचित्र ग्लोबल नहुने ? किन हामी नेपालीलाई मात्रै भनेर चलचित्र बानाउँछौं ? कहिलेसम्म हामीले नेपालीका लागि मात्रै चलचित्र बनाउने ? हाम्रो आफ्नै चलचित्र किन नबनाउने ? सिनेमाको आफ्नै भाषा हुन्छ, त्यसैले यसको विश्वव्यापी मार्केट छ, भैरहेको छ र हुन्छ पनि । त्यसैले अब हामीले विश्वव्यापी चलचित्र बनाएर अगाडि बढ्नुपर्छ । यसका लागि हामीले आफ्नै संस्कृति, सभ्यता, भाषा, रहनसहनलाई नियाल्नुपर्छ । यो भैरहेको छैन । 

तपाईंको मत