Skip Advt.

ब्लग

रोपाइँको अर्थशास्त्र

रोपाइँको अर्थशास्त्र

म सानो छँदा मूलपानीको रोपाइँ मेरा लागि चाडजस्तै हुन्थ्यो । त्यसो त मैले थाहा पाउने भएपछि केही वर्षसम्म हाम्रो त्यो रोपाइँ गाउँकै विशेष अवसर मानिन्थ्यो । प्रायः असार १५ का दिन हुने २० रोपनीको मेलो मूलपानी खेतको रोपाइँमा सघाउन पनि तँछाडमछाड हुन्थ्यो र खाजामा सिरौँला, सेल र मैनकाँडाको अचार हुन्थ्यो । पूरै खेतमा रोपाइँ गर्न २० हल गोरु र ४० जना त रोपारमात्र लाग्थे । खेतमा भोटी माछा समात्न हली र बाउसेको तँछाडमछाड हुन्थ्यो । उनीहरूले मलाई पनि माछा दिन्थे र आमाहरूले पोलेर खान दिन्थे । अर्को खेत डुम्रेको रोपाइँमा चाहिँ ढाबटारको आँप खाने लोभले जान्थेँ । 

उमेरभन्दा बढी हुर्केको म अलि ठूलो भएपछि रोपाइँमा रमाउन छाडेँ । म नभएर रोपाइँमा खासै फरक पर्ने पनि थिएन । गोरु घरैमा पालिएका थिए । हली पनि हुन्थे । बाले खेतमा काम गर्नुभएको त सम्झना छैन तर आमाहरू भने पर्म पनि लगाउँथे । मेरो बिहापछि मेरी पत्नी पनि आमाहरूजस्तै खेतीमा खटिन थालिन् । मैले भने कहिलेकहीँ साथी लिएर साँझ पानी लगाउन जानेबाहेक अरू केही गरिन । पछिल्लोपटक २०३७ सालमा मूलपानीको रोपाइँमा साथीहरूसँग रमाइलो गरेको सम्झन्छु । 

त्यसपछि मैले खेतीका बारेमा खासै चासो राखिन । छुट्टिएपछि पनि आमा र पत्नीले घर धानेकाले मैले पढ्ने, पढाउने, राजनीति गर्ने, जागिर खाने जे मन लाग्छ गर्ने मौका पाएको हो । आमा बितेपछि केही वर्ष पत्नी एक्लैले खेती गरिन् । मूलपानी खेत मेरो भागमा आधाजति परेको थियो । अर्को दुई तीन ठाउँमा खेत र केही पाखो बारी थियो । मस्र्याङ्दी जलविद्युत् परियोजनाले अधिग्रहण गर्न थालेपछि जमिन घट्दै गयो । राजनीतिमा रहुन्जेलको खर्च त्यसले टर्यो । कसैले जग्गा बेचेर राजनीति गर्यो भन्न पनि पाएनन् ! 

रहँदाबस्दा बसाइ काठमाडौं नै भयो । छोराछोरी सबै पढ्न काठमाडौं बस्ने भएपछि उनीहरूकी आमा पनि आइन् । तर, खेती भने गर्दै गराउँदै थिइन् । मूलपानी बाह्रै महिना घटबढ नहुने मूल भएको र पानी सुकाउन खोज्दा सुकाउन पनि सकिने रोजा खेतमध्येको भएकाले अधियाँमा खेती गर्नेहरूको हारालुछै हुन्थ्यो । तर, बिस्तारै गाउँबाट युवा घट्तै गएपछि अँधिया गर्ने मान्छे पाउन गाह्रो हुँदै गयो । पराल नलिने, मल हाल्न पैसा दिने, रोपाइँमा खाजा दिनेजस्ता माग बर्सेनि बढ्दै गए । खेत बाँझो राख्नुभन्दा ठीकै छ नि त भन्दै स्वीकार पनि गर्दै गएर मेरी पत्नीले खेत बाँझो रहन दिएकी थिइनन् ।

यो वर्ष भने अधियाँ गर्नेमध्ये एक जनाले असार लाग्ने बेलातिर रोपाइँ गर्दिन भनिछन् । म खैरेनी गएपछि थाहा पाएँ । श्रीमतीजीलाई थाहा त दिनु पर्यो भनेर फोन गरेँ । फोन गर्नु के थियो आदेश र खटनपटन सुरु भइहाल्यो – फलानालाई यसो भन्नु, अर्कोलाई त्यसो भन्नु । उनको घोषणा भयो – ‘‘खेत नरोपी हुन्न । म भोलि आउँछु ।’’ 

साँधका अरू खेत रोपिने हाम्रो खेत नरोपिने भयो भने त इज्जतै जान्छ भनेर उनी भोलिपल्टै खैरेनी पुगिन् । अनि सुरु भयो रोपाइँको चटारो । अचेल खेतबारी ड्राइवरले जोत्छन् खैरेनीमा पनि । केहीले गोरु पालेका छन् । दिनको एक हल गोरुको १२ सय जति लिन्छन् । हाम्रो खेतमा मुहानतिर गोरु लगाउने मेलो पनि छ अलिकति । त्यो अर्कैले गरिन् । उनले छाडे जति मेलो हामीले रोपेको हो । ट्य्राक्टर, रोपार, बाउसे खोज्ने सबै काममा उनै लागिन् । मभन्दा अलि पछिसम्म र अलि धेरै नै घर बसेकाले खेताला खोज्न मैले सघाउन सक्ने कुरा पनि थिएन । मैले चिन्नेभन्दा नचिन्ने धेरै भइसकेका छन् खैरेनीमा । मलाई माटो उछि«ने हुनाले सकेसम्म हिलोमा नजाने उनको आदेश पनि थियो । तैपनि, रोपाइँमा गएर हिलोमा नकुल्ची कसरी मन मान्थ्यो र ? मैले अरू लाए अह्राएको काम गरेँ । रोपाइँ भयो । उनले सोमबार काठमाडौंबाट गएर शुकवार रोपाइँ गर्न भ्याइन् । 

मैले भने रोपाइँ सकिएपछि हिसाब गरेँ । जोत्न, साउन ट्य्राक्टरको भाडा, रोपार, बाउसे, खाजा सबै हिसाब गर्दा रोपनीको करिब ४ – ५ हजार जति त खर्चै हुँदो रहेछ । बाउसेलाई खाजा चिकन चाउचाउ र कोकाकोला चाहिँदो रहेछ । दाइँमा पनि थ्रेसरको भाडा र खेतालाको ज्याला अनि खाजामा करिब ५ – ७ हजार खर्च हुनै छ । कुल त्यस्तै ३० हजार जति खर्च गरेपछि २०–२५ मुरी धान फल्ने रहेछ । त्यही पनि बेलामा पानी परेर रोग लागेन वा कात्तिकमा हुरी चलेर धान ढलेन भने । मुरीको १५ सयमा धान मुस्किलले बिक्छ । त्यसरी हेर्दा लगानीसम्म उठ्नै धौधौ हुन्छ । 

उनले पाएको सास्ती त फोस्सामा गयो । खेतको मूल्यको त के कुरा ब्याजको २ प्रतिशत पनि आम्दानी नहुने रहेछ ।

अनि हाम्रा नीति निर्माता खाद्यान्नमा आत्मनिर्भर हुने गफ दिन्छन् । गाउँका खेत बाँझै राखेर कृषि उत्पादन कसरी बढाउने हो ? भारतका किसानले खेती गर्न अनुदान पाउँछन् । तिनीहरूसँग नेपाली किसान प्रतिस्पर्धा गर्नुपर्छ ।  
मेरो गाउँमा धान किन्नुभन्दा भारतबाट ल्याएको चामल किन्न सस्तो पर्छ । अहिले घरैपिच्छे जस्तो कोही न कोही वैदेशिक रोजगारीमा छन् । पति विदेश जानेबित्तिकै पत्नी सासुससुरासँग बस्तैनन् । छोराछोरी पढाउने वा अरू कुनै निहुँले आँबुखैरेनीजस्ता बजारहरूमा बस्न थाल्छन् । उनीहरू चामल किनेर खान्छन् । 

खेती किन गर्ने ? खेत बाँझै भए इज्जत जान्छ भन्ने डरले ? यो मध्यमवर्गीय खोक्रो इज्जत धान्न मेरी ६० नाघेकी पत्नीले कति वर्ष रोपाइँ गराउलिन् ? खेत बेच्न पनि उनलाई मन्जुर छैन । अंशमा पाएको माटो बेचेर सक्न हुँदैन भन्छिन् । उनको अनुहारमा खेत रोपेपछि देखिएको सन्तुष्टिका लागि नोक्सान बरु सहने तर खेत रोप्नैपर्ने उनको जिद्दीका सामु म त नतमस्तक हुँला तर कतिन्जेल रोपाउन सक्छिन् उनले ? 

भावनामा बगेरमात्र उत्पादन बढ्दैन । अब नयाँ सुरु गर्ने हाम्रो उमेर छैन । छोराहरूले कहिल्यै रुचि देखाएनन् । ठूला किसानका लागि आफैँ ट्य्राक्टर र अरू मेसिन राखेर खेती गर्दा फाइदा पनि होला । श्रम बेच्नेहरूलाई पनि वर्षभरको ज्याला उठ्यो भने चित्त बुझाउने बाटो होला तर हामीजस्ता मध्यम वर्गका किसानका लागि न नाफा  न सुख ! 

अर्को वर्ष उनको दबाब नपरे म खेत बाँझै राख्ने पक्षमा हुन्छु होला । उनलाई मनाउन सके बेच्न पनि सक्छु । तर, खेती गरेर सधैँ नोक्सान र सास्ती बेहोर्ने मूर्खता गर्न मन छैन ।   
मेरो खेतमा खण्डीकरण, प्लटिङ केही गरेको छैन । तर, खेतीमा लगानीसम्म पनि उठ्न धौधौ छ । मजस्तै अवस्थामा धेरै जना छन् । यस समूहलाई नाफा हुने गरी खेती गराउने कुनै योजना छ सरकारसँग ? 
हामीसँग जग्गा खोसेर बाँडे पनि खेतीमा नाफा नभएपछि कसैले गर्दैन । कम्तीमा लागत उठ्नेगरी सरकारले किनिदिने हो भने पनि अर्को बाली लगाउन जाँगर चल्थ्यो होला ! नत्र, बाँझै बस्छन् हाम्रा खेतहरू । यही वर्ष एक जना भाइले बीचको खेत बाँझै छाडेको छ । 
 

तपाईंको मत