खेल

क्रोएसियाले इंग्ल्यान्डविरुद्ध गोल फर्कायो, खेल १–१ गोलको स्थितिमा

क्रोएसियाले इंग्ल्यान्डविरुद्ध गोल फर्कायो, खेल १–१ गोलको स्थितिमा

एजेन्सी । विश्वकप फुटबलको सेमिफाइनलमा इंग्ल्यान्डविरुद्ध क्रोएसियाले गोल फर्काउँदै बराबरीमा पुर्याएको छ । क्रोएसियाका लागि इभान पेरिसिकले हेडर गोल गर्दै १–१ गोलको बराबरीमा पुर्याएका हुन् ।

खेलको ६८औं मिनेटमा पेरिसिकले गोल गर्दै क्रोएसियालाई उकासेका छन् । यसअघि इंग्ल्यान्डले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो हाफमा क्रोएसियामाथि १–० गोलको अग्रता बनाएको थियो । 

इंग्ल्यान्डका लागि कैरन ट्रिपिएरले गोल गर्दै १–० गोलको अग्रता दिलाएका थिए । खेलको पाचौ मिनेटमा फ्रिकिकबाट उत्कृष्ट गोल गर्दै ट्रिपिएरले अग्रता दिलाएका थिए । सुरुवाती समयमा नै गोल खाएको क्रोएसियाले पहिलो हाफमा गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न भने सकेको थिएन । रसियाको राजधानी मस्कोस्थित लुज्हनिकी रंगशालामा भएको पहिलो हाफमा इंग्ल्यान्डले गोल गर्ने अन्य राम्रो अवसर खेर फालेको थियो ।

अहिले खेल १–१ गोलको बराबरीमा चलिरहेको छ ।

५२ वर्षपछि इंग्ल्यान्ड फाइनलमा प्रवेश गर्ने लक्ष्यमा रहेको छ । यसअघि इंग्ल्यान्डले सन् १९६६ मा आफैले आयोजना गरेको विश्वकप फुटबलको उपाधि उचालेको थियो । इंग्ल्यान्डले विश्वकपको उपाधि एक पटक मात्रै उचालेको छ । इंग्ल्यान्ड दोस्रो पटक विश्वकपको फाइनलमा पुग्दै उपाधि उचाल्ने लक्ष्यमा छ ।

क्रोएसियाले भने सेमिफाइनलसम्मको मात्रै यात्रा अहिलेसम्म तय गरेको छ । सन् १९९८ मा भएको विश्वकप फुटबलमा क्रोएसिया सेमिफाइनलसम्म पुगेको थियो भने सेमिफाइनलमा फ्रान्ससँग २–१ गोलले पराजित हुदै उपाधि दौडबाट बाहिरिएको थियो । इंग्ल्यान्डलाई पराजित गर्दै फाइनलमा प्रवेश गरे क्रोएसियाले आफ्नो फुटबलमा इतिहास बनाउने छ । 

तपाईंको मत