भक्तपुर । गएराति परेको भीषण वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर र मध्यपुर ठिमी डुबानमा परेको छ । हनुमन्ते वरिपरि मानव बस्ती खाँदिदै र बाक्लिँदै गएपछि बाढी बस्तीमा पसेको भक्तपुर जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । हनुमन्तेले प्रत्येक वर्षामा दुःख दिने गरेको भए पनि यसपटक भने वितण्डा नै मच्चाएको छ ।
बाढी भक्तपुरका जगाती र बाराही स्थानका बस्तीमा बस्दा अरनिको राजमार्गसमेत अवरुद्ध हुन पुगेको थियो । त्यस्तै बाढीले भूकम्पपीडितको शिविर डुबाएको सहायक प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेलाई जानकारी दिए ।
यता मध्यपुरथिमिका राधेराधे र कमेरोटार जग्गा एकीकरण आयोजनाभित्र रहेका बस्ती पूरै डुबानमा परेपछि जनजीवन त्रस्त बनेको थियो । बाढीले राधेराधे र त्यस क्षेत्रका बस्तीका साथै भाटभोटेनी सुपर मार्केटदेखि स्यामसुङ कम्पनीसम्म पूरै डुबाएको घिमिरे बताउँछन् ।
नदीको प्राकृतिक बहाव रोकियो
६०को दशक यता जग्गा प्लटिङका कारण हनुमन्तेको प्राकृतिक बहाव साघुँ¥याउने काम भएको नदी बस्तीमा पसेको प्रशासनको भनाइ छ । त्यस्तै नदीमा फोहोर थुपारिएको र ढल मिसाइएकाले नदीको प्राकृतिक बहाव थुनिएको अधिकारीको भनाइ छ ।
“नदीका पुलका आसपास र बस्तीको छेउछाउमा टनका टन फोहोर छ, व्यवस्थापन छैन,” उनले भने, “फोहोर बगाउँदा नदी थुनिएर बाढी बस्तीमा पसेको हो । नगरकोटलगायत भक्तपुरको माथिल्लो क्षेत्रमा मुसलधारे वर्ष भएकाले हनुमन्तेमा भीषण बाढी आएको र अहिले पानी पर्न रोकिएकाले जलसतह घट्दै गएको उनको भनाइ थियो ।
त्यस्तै मनोहराले पनि खतराको तह पार गरेको छ । बुधबार बिहान पौने ९ बजेदेखि बिहीबार बिहान पौने ९ बजेसम्म २४ घन्टामा भक्तपुर र आसपासमा बढी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
नगरकोटमा ११७ मिमि, चागुनारायणमा ७६, भक्तपुरमा १२९.६, गोदावरीमा ११५.८ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तराइका जिल्लामा पनि सुरक्षा सतर्कता अपनाइएको मौसमविद् विभूति पोखरेलले जानकारी दिइन् ।
मध्ये, पश्चिम र तराइका जिल्लामा भारी वर्षा भएको उनले जानकारी दिइन् । त्यसैगरी मध्ये, पश्चिम र पूर्वका केही स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ ।
तीन जनाको मृत्यु
अविरल वर्षाका कारण पहिरोले घर भत्काउँदा भक्तपुरमा एकैघरका तीन जनाको मृत्यु भएको जिल्ला प्रशासनले जानकारी दिएको छ । प्रशासनका अनुसार चाँगुनारायण नगरपालिका–७ मझुवामा पहिरोले टहरा भत्काउँदा ७० वर्षीय बाजे हिराबहादुर दामा उनकी पत्नी वर्ष ६५ की पानमाया लामा र साढे दुई वर्षकी नातिनी सम्पदा लामाको ज्यान गएको हो । छोरा बुहारी अर्को घरमा सुतेकाले केही नभएको ज्रिप्रकाले जनायो ।
४ बजे विपद् व्यवस्थापनको बैठक
बाढी बस्ती पसेलगत्तै नेपाली सेना, सशस्त्र र जनपथ प्रहरीले डुंगा र क्रेनको सहायताले बालबालिका र बाढीमा फसेकाको उद्धार गरेको थियो । पानीको सतह घटेकाले अहिले उद्धारको काम सकिएको छ । पानीको सतह पूर्णरूपमा घटेपछि क्षतिको विवरण लिइने र राहतको काम गरिने अधिकारीको भनाइ छ । त्यसका लागि प्रशासनले आजै अपराह्न ४ बजे जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बोलाएको उनी बताउँछन् ।