काठमाडौँ । सरकारले ०७२ असोजमा गरेको पाँच बुँदे सहमति कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएपछि गंगामाया अधिकारीले अनसन तोडेकी छिन् । १७ वर्षे छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई आजीवन काराबासको सजायँ माग गर्दै उनी गत जेठ १५ गतेदेखि अनशन बसेकी थिइन् । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङ र राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले जुस खुवाएर अनसन तोडाएका हुन् ।
यसअघि सरकारसँग भएको पाँच बुँदे सहमति कार्यान्वय गर्ने प्रतिवद्धता जनाएपछि गंगामायाले अनसन तोडेको मन्त्री तामाङले जानकारी दिए ।
“दशदिनभित्र माग पूरा नभए पुनः अनसन बस्ने बताउनुभएको छ,” अनशन तोडाएलगत्तै मन्त्री तामाङले बाह्रखरीसँग भने, “गंगामायाको विषयमा सरकार गम्भीर छ ।”
यसअघि सरकारले जेठो छोरो नुरप्रसाद अधिकारी र गंगामायाको सुरक्षा, हत्यामा संलग्नहरूलाई कानुनी कारवाही, क्षतिपूर्ति, तत्कालको भरण पोषण गर्ने लगायतका विषय समेटिएका थिए ।
कृष्णप्रसादको हत्यामा संलग्न भनिएका छविलाल पौडेल आफैँ अदालत उपस्थित भइसकेका छन् ।
अन्य आरोपित जानुका पौडेल, भीमसन पौडेल र रामप्रसाद अधिकारी भने सम्पर्कमा आएका छैनन् ।
२० लाख भरण–पोषण र एक करोडका अक्षय कोष
अनसनकै क्रममा पति नन्दप्रसाद अधिकारीले ०७१ असोज ६ गते ज्यान गुमाएका थिए । युद्धकालमा छोरा र अनशनकै क्रममा पति मारिएपछि गंगामायाले माग पूरा नभएसम्म अनसन नतोड्ने अड्डि कसेकी थिइन् ।
सरकारले पूर्व सहमति बमोजिम एक करोडको अक्षय कोष र भरणपोषणका लागि तत्काल २० लाख उपलब्ध गराउने सरकारले वचनवद्धता व्यक्त गरेको कानुनमन्त्रीले जानकारी दिए ।
सुशील कोइराला नेतृत्वकै सरकारले २० लाख उपलब्ध गराउने निर्णय गरेको भए पनि गंगामायाले पाए नपाएबारे खोजवीन गरिने कानुनमन्त्रीको भनाइ थियो ।
“उहाँको नागरिकता हराएको भन्ने कुरा आएको छ । नागरिकता रहेनछ भने सरकारले बनाएर पनि रकम उपलब्ध गराउँछ,” उनले भने ।
अक्षय कोषमा जम्मा भएको पैसाको भने उनले ब्याजमात्रै भोगचलन गर्न पाउनेछिन् ।
कृष्णप्रसादको २०६१ साल जेठ २४ गते अपहरणपछि हत्या भएको थियो । हत्याको जिम्मा तत्कालीन नेकपा माओवादीले लिएको थियो ।