site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
अर्को जन्ममा पनि लेखक बन्न पाऊँ
Sarbottam CementSarbottam Cement

– गोविन्दबहादुर मल्ल ‘गोठाले’


साभार (नाट्यकर्मी अशेष मल्लले २०६३ पुस १४ गते शुक्रबार गोठालेको निवास गणबहालमा लिएको यो अन्तर्वार्ता २०६३ माघको साहित्यिक मासिक ‘शारदा’मा प्रकाशित भएको थियो । बन्द भएर पुनः प्रकाशन शुरु गरेको ‘शारदा’को यो पहिलो अंक थियो । त्यसयता ‘शारदा’ निरन्तर प्रकाशन भइरहेको छ । गोठालेको जन्म वि.सं. १९७९ असार २९ गते र निधन ०६७ मंसिर २७ गते ओमबहालमा भएको थियो । उनका बाबु सुब्बा ऋद्धिबहादुर मल्ल र आमा आनन्दमाया हुन् । ‘शारदा’ साहित्यिक पत्रिकाका प्रकाशक र सम्पादक पिता ऋद्धिबहादुर भाषासेवी थिए । विजय मल्ल गोठालेका दाजु हुन् । राणा शासनका बेला प्रजा परिषद्को पर्चासमेत छरेर आन्दोलनमा उत्रिएका बेला सरकारी चेपुवाबाट बच्न नाम परिवर्तन गरी उनी ‘गोठाले’ बनेका थिए ।)

सन्चै हुनुहुन्छ दाइ ?
— के सन्चो हुनु । खुट्टा दुखेको छ, हिँड्न सक्दिनँ । कतै जानु परे अरुले समात्नुपर्छ । घरिघरि पेट दुख्छ । उमेर पनि त धे।ै भयो नि ।

Prabhu Bank
Agni Group
NIC Asia

अस्सी नाघ्नुभो होइन ?
— अस्सी रे ! पचासी वर्ष पुगें ।

अब बूढो भएँ भनेर अत्यास लाग्दैन ?
— अहँ लाग्दैन । बूढो भएपछि यस्तै त हो । सबैले एक दिन बूढा हुनैपर्छ । बूढो भएँ भनेर अत्यास त लाग्दैन तर लेख्न सकिनँ भने चाहिँ लागिरहन्छ ।

Global Ime bank

लेख्न त धेरै लेख्नुभयो नि, आख्यान र नाटक विधामा त्यति धेरै रचनाहरू दिनुभएको छ । आफ्ना ती लेखनहरू पर्याप्त लाग्दैन र ?
— लेखकका लागि आफ्ना लेखन कहिल्यै पर्याप्त हुँदैनन् । ऊ त जतिसक्दो धेरै लेख्न चाहन्छ । कल्पनाको पनि कहीँ अन्त्य हुन्छ र ?

यसको अर्थ अझै अनेक कल्पनाहरू छन् मनमा?
— धेरै छन् तर ती सबै कल्पनामा मात्रै सीमित हुने भए । लेख्नु भनेको कल्पना गरेर मात्रै हुँदैन, शारीरिक रूपमा पनि स्वस्त हुनुप¥यो । उत्साह हुनुप¥यो । मसँग अब उत्साह नै छैन । म त शब्दसँग खेल्ने मान्छे तर शब्द नै बिर्सन लागिसकें ।

अनि दिन कसरी बित्छ त?
— बितिहाल्छ नि ! बिहान उठ्यो, चिया खायो, पत्रपत्रिका पढयो । दिन बित्न के गाह्रो भो र ! मुख्य कुरा के हो भने बाँचिराखेको छु । जीवनमा बाँच्नुको पनि आफ्नै आनन्द छ ।

मृत्युसँग डर लाग्दैन ?
— लाग्छ नि, किन नलाग्ने ? आफन्तहरूसँग सधैंका लागि छुट्टिनु त्यति सजिलो कहाँ छ र ! मृत्युसँग नडराउने त को होला ? तर, के भने जतिसम्म बाँचिएला, आनन्दसँग बाँचियोस् । त्यस्तोचाहिँ लागिरहन्छ ।

लेखकका लागि बाँच्नु एउटा कुरा, लेख्नु अर्को कुरा । लेख्न नसक्दा बाँच्नुको अर्थ कस्तो हुन्छ ?
— पोल्छ अशेषजी, लेख्न सकिएन भन्ने कुराले पोल्छ । मनलाई सधैं चिन्तित बनाउँछ । लेख्ने इच्छा भनेको सानो कुरा होइन नि ! तर के गर्ने, शरीरले नदिएपछि ।

यति धेरै लेखिसकेको लेखकले लेख्ने इच्छा यसरी अधुरो हुँदो रहेछ हगि गोविन्द दाइ ?
— त्यै त ! त्यसैले त भन्छु, यदि साँच्चि नै अर्को जन्म छ भने अर्को जन्ममा पनि लेखक नै बन्न पाइयोस् ।

के त्यो सम्भव होला त ?
— थाहा छैन के हुन्छ ।

एउटा कल्पना गरौं है त दाइ !
— कस्तो कल्पना ?

मानौं, भगवान् प्रकट भएर ल, एउटा कृति लेख्ने मौका दिन्छु, त्यतिन्जेलका लागि शरीर तन्दुरुस्त बनाइदिन्छु, लेख भनेर भन्यो भने तपाईं के लेख्नुहुन्छ ?
— अहो ! के लेख्छु भन्ने ! मनमा यति धेरै कुराहरू छन् के लेख्ने, लेख्ने ! तर, यति त्यस्तो क्षण आएछ भने लेख्न छोड्दनिँ । त्यो क्षणमा जे आउँछ, लेख्छु । तर, त्यो क्षण आउँदैन । आए पनि लेख्न सकिएला र !

प्रसंग मोडौं है त । ‘शारदा’ फेरि प्रकाशन हुन लागेको देख्दा कस्तो अनुभव भइरहेको छ ?
— यति खुशी लागेको छ कि वर्णनै गर्न सक्दिनँ । ‘शारदा’सँगै हुर्केको म, मेरा लागि ‘शारदा’को महत्व अरु कुरासँग तुलना हुनै सक्दैन ।

‘शारदा’ प्रकाशन हुँदा दाइ कति वर्षको हुनुहुन्थ्यो ?
— म त्यस्तै ११–१२ वर्षको थिएँ होला ।

त्यतिबेलाको घटना सम्झिनुहुन्छ होला नि होइन ?
— किन नसम्झनू ! घरमा लेखक, कविहरू आइरहन्थे । सिद्धिचरण श्रेष्ठ, लक्ष्मीप्रसाद देवकोटा, प्रेमराज शर्मा, भवानी भिक्षु, रुद्रराज पाण्डेहरू बराबर आउँथे । मेरा पिताजी, सिद्धिचरण, रुद्रराज पाण्डेहरूसँग ‘शारदा’ प्रकाशन गर्ने विषयमा कुरा गर्नुहुन्थ्यो । म सुनिरहन्थें । तर, त्यतिबेला गरिएका ती सबै कुराहरू त मलाई सम्झना छैन तर त्यतिबेला म निकै उत्साहित भएको कुरा भने सम्झन्छु ।

अनि ?
— ‘शारदा’ निस्क्यो । सरस्वतीको तस्बिर भएको ‘शारदा’ प्रकाशित हुँदा मलाई अजीवको आनन्द भएको थियो । सानै थिएँ तर उत्सुकता भने ज्यादै थियो । धेरै कुरा नबुझे पनि सबै पढ्थें । सिद्धिचरण श्रेष्ठले ‘शारदा’मा सहयोग गर्थे । उनलाई ०९७ सालमा पक्रेर लगिएपछि भवानी भिक्षुले सहयोग गरे । पछि भिक्षु पनि आफ्नो घर गएपछि मैले पिताजीलाई सहयोग गर्न थालें । जाने पनि, नजाने पनि प्रुफ हेर्थें । रचनाहरू छान्ने काम गर्थें ।

अनि आफैं पनि कथा लेख्नुहुन्थ्यो हैन र ?
— त्यै त ! ‘शारदा’का रचनाहरू प्रुफ हेर्दाहेर्दै, अरुका रचनाहरू छान्दाछान्दै मलाई पनि लेख्न मन लागेछ । थाहै नपाई लेखक बन्न पुगेछु ।

‘शारदा’को प्रकाशन नभएको भए के तपाईं लेखक बन्नुहुन्थ्यो त ?
— शायद बन्दिनथें ।

विजय मल्ल पनि ‘शारदा’कै प्रभावले लेखक बन्नुभएको हो र ?
— म, विजय हामी त त्यतिबेलाका धेरै लेखक, कविहरूका लागि ‘शारदा’ प्रेरणा भएको छ । देवकोटा, भीमनिधि, भिक्षु त्यही समयका प्रतिभा हुन् । ‘शारदा’सँगै धेरै लेखक, कवि जन्मे । अहिले लाग्दैछ— वास्तवमा त्यो युग भनेको ‘शारदा’ युग रहेछ ।

यसरी एउटा युगलाई नै प्रतिनिधित्व गर्ने ‘शारदा’ फेरि प्रकाशन हुन लाग्दैछ । के अब ‘शारदा’ले त्यही स्थान राख्न सक्ला त ?
— हेर्नुस् अशेषजी, युग परिवर्तन भइसकेको छ । त्योबेलाको वातावरण र अहिलेको वातावरण नै भिन्न छ । अहिले धेरै पत्रपत्रिकासँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ तर मूल कुरो के हो भने एउटा युग बोकेको पत्रिका धेरै वर्ष सुतेर फेरि ब्युँझेको छ । यस्तो लाग्दैछ— लामो निद्रापछि यो फेरि उठ्खैछ । चुनौती धेरै छन् । अब ‘शारदा’ले आधुनिक सोच राख्नुपर्छ । अहिलेको युग र सामाजिक प्रवृत्तिलाई अँगालेर लान सक्नुपर्छ । मेरो इच्छा पनि त्यही छ ।

त्यतिबेलाको प्रेस र अहिलेको प्रेस पनि त आकाश–जमिनको फरक छ नि !
— त्यै त । शुरुमा हाते मेसिन थियो । हातले चलाउँदै छाप्नुपथ्र्यो । पछि बिजुली आयो र बिजुलीले छाप्न थाल्यो । अचेल अनेक प्रविधि आइसके, कुरा गरेर साध्ये छैन ।

त्यतिबेला ‘शारदा’प्रति सरकारको दृष्टिकोण कस्तो थियो नि ?
— कस्तो हुनु नि ! त्यो बर्बर राणातन्त्रको समय । उनीहरू खुशी हुने त कुनै थिएन । देश नै श्री ३ को कन्ट्रोलमा थियो । ‘शारदा’मा छापिने एक–एक रचना नेपाल भाषा प्रकाशिनी समितिमा सेन्सर गरिन्थे । सजिलो थिएन ।

जेहोस्, ‘शारदा’को प्रकाशन जस्तोसुकै कठिन अवस्थामा पनि थाकेन हैन ?
— थाकेन ।

आर्थिक भार नि ?
— बिक्रीबाट पत्रिका छाप्ने प्रश्नै उठ्दैनथ्यो । गाह्रो थियो । जसोतसो निस्कियो । पछि त बन्दै भयो ।

बन्द हुनुको कारण आर्थिक नै थियो त ?
— हैन, त्यो मात्रै कारण होइन । त्यतिबेलाको अवस्था नै सजिलो कहाँ थियो र !

‘शारदा’सँगै धेरै लेखक, कवि जन्मे, हुर्के । त्यही सन्दर्भमा गोविन्द मल्ल, विजय मल्ल नेपाली साहित्यका महान साहित्यकारका रूपमा चिनिएि । त्यो त नेपाली साहित्यकै लागि गौरवको विषय हो नि !
— त्यो त तपाईंहरूले मूल्यांकन गर्ने कुरा हो ।

अनि दाइ, एउटा कुरा सोधौं है ?
— सोध्नुस् न, किन एउटामात्र सोध्ने ? के–के सोध्न मन लाग्छ, सोध्नुस् ।

विजय मल्ल र तपाईं दुवै लेखक । दुवै एउटै घरमा । दुई जना यसरी लेखक हुँदा दुईबीच ईष्र्या हुन्नथ्यो ?
— अहँ, त्यस्तो कहिल्यै भएन ।

अनि प्रतिस्पर्धा त भयो होला नि ?
— प्रतिस्पर्धा त हरेक लेखकबीच हुन्छ । नेपाली लेखकको प्रतिस्पर्धा नेपाली लेखकसँगमात्रै नभएर अन्य विदेशी लेखकसँग पनि हुन्छ । विजय र मबीच अवश्य प्रतिस्पर्धा हुन्थ्यो । तर, त्यो प्रतिस्पर्धा स्वस्थ हुन्थ्यो । प्रतिस्पर्धा भए पनि एक–अर्कामा सहयोगको भावना थियो । सद्भाव थियो ।

लेख्ने बेला सरसल्लाह पनि हुन्थ्यो कि ?
— हुन्थ्यो । ऊ पनि मलाई सुनाउँथ्यो, म पनि सुनाउँथें । अहिले त ऊ छैन, शून्य लागिरहन्छ ।

पाठकले छान्नुपर्दा तपाईंहरू दुई जनामा ठूलो लेखक कसलाई छान्दो होला ?
— त्यो त पाठकलाई नै सोध्ने कुरा हो ।

थुप्रै कथा, उपन्यास र नाटक लेख्नुभयो । अहिले त सबै रचना, कृतिहरू सम्झिँदा आफैंलाई सबैभन्दा मन पर्ने कुन होला ?
— भन्नै सकिन्न । आफ्ना रचना सबै बराबर हुन्छन् ।

देवकोटाले आफ्ना सबै कृति जलाइदिनू, ‘मुनामदन’ नजलाऊ भनेका थिए नि ! तपाईंको त्यस्तो कुनै कृति छ ?
— छैन, मेरो कुनै त्यस्तो कृति छैन । मेरा लागि सबै रचना बराबर । तपाईंले ‘मुनामदन’को प्रसंग निकाल्नुभयो । ‘मुनामदन’ लेखेपछिको घटना सुनाऊँ ?

सुनाउनुस् न !
— देवकोटा हाम्रो घरमा आइरहन्थे । पिताजीलाई रचना पढेर सुनाउँथे । एकदिन ‘मुनामदन’को पाण्डुलिपि लिएर आए । कोठामा पिताजी र म थियौं । देवकोटाले आफ्नै सुरमा गीत गाएर ‘मुनामदन’ पढेर सुनाएका थिए । त्यो क्षण म कहिल्यै बिर्सन्नँ ।

अहिलेको साहित्य कत्तिको पढ्नुहुन्छ ?
— धेरै पढ्दिनँ । बूढो भएँ नि !

पढेका रचनाहरूमा राम्रा लागेका कुनै छन् कि ?
— सबै त पढेको छैन, भन्न गाह्रो छ । महेशविक्रम शाहका कथाहरू पढ्दा भविष्यमा उनले कथाको युगलाई हाँक्लान् जस्तो लाग्छ । राम्रा छन् उनका कथा । मलाई लाग्छ— आजको साहित्य निकै उन्नत छ ।

पहिले र अहिलेको साहित्यिक वातावरणको तुलना गर्नुपर्दा तिनमा केही भिन्नता पाउनुहुन्छ ?
— प्रविधिले धेरै फरक पारेको छ समयलाई । अहिलेको जस्तो थिएन त्यसबेलाको वातावरण । त्यसबेला लेखक, कविहरूको भेटघाट, विचार आदानप्रदान भइरहन्थ्यो । देवकोटा र समजस्ता लेखक, कविहरू आ—आफ्नो क्षेत्रमा महान् थिए तर एक–अर्कामा सद्भाव हुन्थ्यो । एकले अर्कालाई माया गर्थे ।

तर, भनिन्छ नि— सम र देवकोटाबीच ठूलो प्रतिस्पर्धा थियो रे ! हो ?
— प्रतिस्पर्धा त हुने नै भयो । तर, मलाई लाग्छ— उनीहरूले एक–अर्कामा सम्मानभाव राख्थे । यो नै ठूलो कुरा मान्नुपर्छ । तर, सम र देवकोटामा फरक भनेको के भने सम त्यसबेलाका राणा, देवकोटा जनता, अलिअलि फरक, अलिअलि नजिक । बस् त्यत्ति ।

धेरै समय दिएँ । झर्को त लागेको छैन गोविन्द दाइ ?
— छैन, छैन । दिनभरि घर बस्नेलाई केको झर्को लाग्ने ?

अब अन्तिम प्रश्न गर्नु । मैले सोध्न छुटाएको र दाइको मनमा उठेको त्यस्तो कुनै प्रश्न या कुरा छ ?
— भन्नै गाह्रो छ । के होला र त्यस्तो बाँकी कुरा ! ... धेरै कुरा ग¥यौं, बरु मेरो कुरा चित्त बुझ्यो कि बुझेन ?

किन नबुझ्नू ! मलाई त दाइसँग बिताएको यो दुई घण्टा सार्थक लागेको छ । एउटा महान् साहित्यकारसँग यसरी धेरै दिनपछि कुरा गर्दा समय बितेको पत्तै भएन । अब छुट्टिऊँ दाइ !
— हस्, धन्यवाद !
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ३०, २०७५  ०६:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC