साहित्य र कला

न रहर, न बाध्यता

न रहर, न बाध्यता

– नरेश फुयाँल


पत्रकारिता कसैका लागि रहर होला त कसैका लागि बाध्यता । तर, राजाराम (गौतम)का लागि पत्रकारिता न रहर हो, न त बाध्यता नै । आईएसीमा खासै राम्रो अंक नआएपछि मामाको संगतले ‘दृष्टि’ साप्ताहिक पुगेका राजाराम त्यतै अल्मलिए । समाचार लेख्न सिके । दुई–चार वर्ष त्यतै अल्झिएपछि उनी समाचारमै रत्तिए । साप्ताहिक पत्रिकाबाट समाचार लेख्न थालेका राजाराम कहिले दैनिक, कहिले साप्ताहिक हुँदै अहिले फेरि दैनिकमै आइपुगेका छन् । संवाददाताबाट करिअर शुरु गरेका राजारामको पत्रकारिता यात्रा अहिले सम्पादकसम्म आइपुगेको छ । बीचको केही समय उनले ध्वनि पत्रकारिताको पनि अनुभव सँगाले । शब्ददेखि ध्वनि तरंगसम्मको पत्रकारिताका उकाली–ओराली र तरेलीहरूको यात्रा अहिले पनि जारी छ ।

० ० ०

०५४ साल । काठमाडौंको स्युचाटारमा पण्डित महामण्डलेश्वर १००८ ले महायज्ञ लगाइरहेका थिए । काठमाडौं शहर नजिकैको गाउँमा लगाइएको महायज्ञको चर्चा काठमाडौंमा समेत थोरबहुत थियो । गाउँ त महायज्ञमा उल्टिएकै थियो । दिनभरि कान थापेर पुराण वाचन सुन्ने गाउँ राति अबेरसम्म भजन तथा झाँकीमा रमाइरहन्थ्यो ।

महामण्डलेश्वरले सबैको ध्यान खिचेका थिए । गाउँले त जान्थे नै, तत्कालीन कांग्रेस, एमाले तथा राप्रपाका नेताहरूको लर्को पनि उत्तिकै लाग्थ्यो उनलाई भेट्न । नेतामात्रै होइन, प्रहरीका उच्च अधिकारी तथा सरकारका सचिवहरू समेत उनको दर्शनभेटका लागि पुग्थे ।

देशका उच्चपदस्थहरूको ध्यान खिच्ने गुरुले राजारामको ध्यान नखिच्ने कुरै थिएन । तर, उनी भने अलि फरक तरिकाले खिचिएका थिए । दिनभरि सयौं गाउँलेलाई सामुन्ने राखेर पुराणका आदर्श कथा वाचन गर्ने महामण्डलेश्वर साँझ पर्दानपर्दै देहसुखमा मस्त हुने गरेको सूचना राजारामले पाएका थिए । दिनभरि देहसुख र मदिराको चर्को आलोचना गर्ने आश्रममा उनी साँझ नपर्दै त्यही मदिराको नशामा लठ्ठिएर बस्ने गरेको सुइँको पाएका थिए ।

‘दृष्टि’ साप्ताहिकमा भर्खरभर्खर काम गर्न थालेका राजारामले त्यो समाचार पुष्टि गर्ने प्रमाण खोज्नु थियो । उनले कही गाउँलेलाई उदृधृत गरे । ती पण्डितले खरिद गर्ने पसलबाट मदिरा किनेको बिल हात पारे । समाचार लेखे ।

समाचारको शीर्षक के थियो, त्यो राजारामलाई अहिले सम्झना छैन तर महामण्डलेश्वरको ढोंगी चरित्रलाई उदांगो पार्ने खालको थियो । समाचारले उनको कालो कर्तुत खोलिदिएको थियो । ‘दृष्टि’को पहिलो पृष्ठमा छापिएको त्यो समाचार उनको पहिलो बाइलाइन समाचारसमेत थियो ।

“पत्रिका छापिएर बजारमा पुग्नेबित्तिकै सम्पादक शम्भु श्रेष्ठलाई फोन आएछ,” राजाराम त्यो घटना सम्झन्छन्, “सम्पादकले बिहान ६ बजे नै मलाई फोन गरेर भन्नुभयो— के लेख्यौ राजाराम तिमीले आज ? मलाई फोन गरेर हैरान पारिसके ।”

पण्डित महामण्डलेश्वर तत्कालीन राजा वीरेन्द्रसँग निकट छन् भन्ने सबैमा परेको थियो । राजा वीरेन्द्र गुम्बा उद्घाटन गर्न जाँदा उनको स्वागतमा गाउँ नै उल्टिएको थियो । वीरेन्द्रले आफ्नो सवारी दुई मिनेट रोकेर महामण्डलेश्वरलाई भेटेका थिए । त्यही भेटका आधारमा उनी दरबारसँग निकट छन् भन्ने अनुमान थियो सबैमा । तर, उनी यथार्थमा दरबारनिकट थिए या थिएनन्, कसैलाई पनि थाहा थिएन । अनुमानकै भरमा उनलाई भेट्न नेतादेखि सचिवसम्म पुग्थे ।

पछि तिनै महामण्डलेश्वर १००८ ले आफ्नै चेली भनेर राखिएकी एक युवतीसँग विवाह गरेर घरजम गरे । उनको असली चरित्र उदांगिदै गयो । राजमरामले उनीबारे लेखेको फलोअप स्टोरी भने पत्रिकाले छाप्ने हिम्मत गरेन ।

पत्रकारिता यात्रा

२०३३ वैशाखमा जन्मिएका राजारामलाई पत्रकार बन्छु भन्ने न रहर थियो न करकाप नै । काठमाडौंका रैथाने, जग्गाको अभाव थिएन । पढ्नलाई पनि केही समस्या थिएन । स्कुलमा तेज नै थिए । भविष्यमा के बन्ने ? खासै लक्ष्य थिएन । तर, ०४८ मा एसएलसी पास गरेपछि त्रिचन्द्रमा विज्ञान पढ्न भर्ना भएका थिए । विज्ञान पढेपछि इन्जिनियर बन्नुपर्छ होला भन्ने थियो र तर त्यसको सपना भने देखेका थिएनन् ।

आईएसी प्रथम वर्षको परीक्षाका बेला राजारामलाई टाइफाइडले गाँज्यो । शायद उनीभन्दा टाइफाइड बलियो रहेछ । परीक्षा दिनै सकेनन् । दोस्रो वर्षमा पहिलो र दोस्रो दुवै वर्षको परीक्षा लेखे । पास त भए तर अंक सन्तोषजनक थिएन । त्यसैले घुर्मैलो भए पनि देखेको इन्जिनियरको सपनामा बादल लाग्यो । बाटो अर्कैतिर मोडियो ।

साहित्यकार, राजनीतिज्ञ तथा पत्रकार नारायण ढकाल राजारामका मामा । उनैले राजारामलाई ‘दृष्टि’को बाटो देखाइदिएका थिए । उनले सिके पत्रकारिताको बाह्रखरी । तीन वर्ष ‘दृष्टि’मा बिताएका राजाराम त्यसपछि ‘जनआस्था’ पुगे । ६ महिना ‘जनआस्था’ बसेर पत्रकारिताको कखरालाई अलि बलियो बनाए ।

त्यही बेला प्रकाशन शुरु भएको ‘काठमाडौं टुडे’मा उनले केही समय ‘फ्रिलान्सर’का रूपमा समाचार लेखे ।

जिन्दगीका शुरुआती दिनमा पत्रकारिताको सपना नदेखेका राजारामलाई अब भने पत्रकारिताप्रति दिलचस्पी बस्न थालिसकेको थियो । त्यही बेला ट्याब्लोइड पत्रिका ‘पत्रिका सात दिने’ प्रकाशन आरम्भ भयो । त्यसमै गाँसिए राजाराम, जहाँ अनुसन्धानमूलक समाचारहरू छापिन्थे । त्यसमा खोजी पत्रकारिता गर्न सिके उनले ।

कति पेशाको प्रकृति त कति कमजोर लगानीका कारण पत्रकार एउटै सञ्चारमाध्यममा बसिरहँदैनन् । राजाराम पनि अछुतो रहेनन् । ‘पत्रिका सात दिने’ मा एक वर्ष बसेका राजारामले फड्को मारे ‘कान्तिपुर पब्लिकेसन’को ‘नेपाल साप्ताहिक’मा । यहाँ आइपुग्दा बल्ल उनले व्यावसायिक पत्रकारिताको उच्चतम अभ्यास गर्ने मौका पाए । सात वर्ष ‘नेपाल’मा काम गरेर उनले आठ वर्ष ‘कान्तिपुर’  दैनिकमा काम गरे । ‘कान्तिपुर’ छोड्दा उनी विचार पृष्ठको सम्पादक थिए ।

‘कान्तिपुर’पछि उनका गोडा सोझिए ‘अन्नपूर्ण एफएम’तर्फ । त्यहाँ स्टेसन म्यानेजरको रूपमा डेढ वर्ष काम गरेका राजाराम त्यसपछि ‘अन्नपूर्ण टुडे’ म्यागेजिनको सम्पादकका रूपमा आइपुगे । करिब एक वर्ष प्रकाशन भएर ‘अन्नपूर्ण टुडे’ बन्द भएपछि उनी ‘अन्नपूर्ण दैनिक’को सम्पादक भए । उनी अहिले पनि यसमै कार्यरत छन् ।

युद्धबन्दी बनेको क्षण

माओवादी युद्ध उत्कर्षमा थियो । दिनदिनै दोहोरो भिडन्तमा कयौं नेपालीले ज्यान गुमाइरहेका थिए । कहिले युद्धविराम हुन्थ्यो, सरकार र माओवादी पक्ष वार्तामा बस्थे । तर, कुरा गणतन्त्र र संविधानसभामा गएर अड्किन्थ्यो, वार्ता भङ्ग हुन्थ्यो । उसैगरी राज्य र विद्रोही पक्षबीच भिडन्त शुरु हुन्थ्यो । दर्जनौं हताहत हुन्थे । धनजनको क्षति हुन्थ्यो । नागरिकको जीवन सुरक्षित थिएन । देश दुःखमा रोइरहेको थियो । तर, पत्रकारका लागि पनि त्यो युुद्धको दशक समाचारका लागि उर्वर थियो । एकातिर समाचारको ‘स्पेस’का हिसाबले राम्रो स्थान पाउँथ्यो । माओवादीसँग जोडिएका समाचार धेरै पढिन्छ भन्ने लोभ पत्रकारमा हुन्थ्यो । त्यो लोभ राजाराममा पनि गहिरो गरी छिरेको थियो ।

माओवादी काठमाडौंबाहिर बसेर राज्यसँग युद्ध चलाइरहेको थियो । राजाराम काठमाडौंमा । काठमाडौंमा बसेर माओवादीका छिपछिपे समाचार त देख सकिन्थ्यो तर पत्रिकाका कभर स्टोरी गर्न सहज थिएन । त्यसैले राजाराम पटक–पटक माओवादीको उद्गम भूमि रोल्पा र रुकुम पुगे । उपलब्ध माओवादी नेता तथा कार्यकर्तालाई भेटे र समाचार लेखे । त्यो बेला रुकुम, रोल्पा पुग्नु चानचुने कुरा थिएन । कहिले उनीहरूकै निम्तोमा  त कहिले आफ्नै खर्चपानीमा उनी माओवादीको ‘आधारशिविर’ पुगे ।

“०५८ सालमा पहिलोपटक युद्धविराम भएको थियो । त्यसैले अलि सजिजो पनि होला भन्ने आँकलन गरेर म, त्यो समय ‘हिमाल खबर’मा कार्यरत सुधीर शर्मा, क्यामेरापर्सन निश्चल चापागाईं काठमाडौंबाट रोल्पातिर लाग्यौं । रोल्पाबाट ‘कान्तिपुर’का रिपोर्टर काँशीराम डाँगी पनि हामीसँगै मिसिनुभयो,” राजाराम रोल्पा रिपोेर्टिङ सम्झन्छन्, “त्यो बेला हामीले रोल्पाको थवाङमा माओवादीको कार्यक्रम हुँदैछ र त्यो भेलामा माओवादीका सुप्रिम कमान्डर प्रचण्ड र बाबुराम भट्टराई पनि आउँदैछन् भनेर हामी त्यहाँ पुग्यौं । त्यो बेला प्रचण्ड र बाबुरामलाई भेटेर अन्तर्वार्ता अथवा समाचार लेख्न सके त्यो स्कुप हुन्छ भन्ने लोभ थियो ।”

त्यही लोभका कारण राजाराम र सुधीर पहिलोपटक माओवादीको आधार इलामा उनीहरूको अनुमतिबिनै प्रवेश गरेका थिए । थवाङ पुग्दा त्यहाँ राजारामले कर्मचारीहरूलाई माओवादीले बन्धक बनाएर राखेको भेटे । कुरेलीबाट फर्किएका कर्मचारी लिवाङ पुगे आफ्नो भेलाको सूचना चुहिने डरले माओवादीले कुरेलीतिरबाट लिवाङ आउने कर्मचारीलाई मिडुलमा बन्धक बनाएका थिए । त्यसअघि पनि पटक–पटक रोल्पा गएकाले त्यहाँका केही कर्मचारीलाई राजाराम चिन्थे । होटलमा बन्धक बनाइएका एक कर्मचारीले शौचालय आउँदा राजारामलाई सुटुक्क कानमा भने, “माओवादीको भेला यहाँ होइन, कुरेलीमा हो ।”

माओवादीका सेन्ट्रीहरू जबर्जस्ती तोडेर मिरुल पुगेपछि त्यहाँ ५०–६० माओवादी बन्दुक बोकेर बसेका भेटिए । उनीहरूले राजाराम र सुधीरलाई अगाडि जान दिएनन् । उनीहरूले ‘भोलि कार्यक्रम छ, नेताहरूसँग भेटाइदिन्छौं’ भनेर त्यहीँ रोके । भोलिपल्ट बिहान सुधीरले खाना खाइसकेका थिए । राजाराम खाने तयारी गरिरहेका थिए । होटलको झ्यालबाट ठूलो संख्यामा माओवादीको फौज कुरेलीतर्फबाट फर्किरहेको देखियो । कार्यक्रम सकिएको भन्ने उनीहरूले अनुमान लगाए । सुधीर र निश्चल माओवादीको त्यही फौजमा मिसिए । राजाराम र काँशीरामका लागि होटलमा खाना तयार थियो । खाएर जाने कि यत्तिकै जाने भन्दाभन्दै उनीहरू छुटे । तैपनि राजारामले फौजलाई पछ्याउन खोज्दै थिए, माओवादीले जान दिएनन् । उपलब्ध कमान्डरलाई राजारामले भने, “कि हामीलाई युद्धबन्दी घोषणा गर, होइन भने यसरी जबर्जस्ती बन्धक बनाएर राख्न पाउँदैनौ ।”

त्यसपछि ती कमान्डरले भने, “तपाईंहरू अपहरणमा हुनुहुन्छ, युद्धबन्दी नै हैन ।”

साँझ सुधीर र निश्चललाई पनि माओवादीले समाएर ल्यायो र बन्दी नै बनायो । तीन रात उनीहरू युद्धबन्दी भएर त्यहीँ बसे । उनीहरू पहिलो पत्रकार युद्धबन्दी थिए ।

त्यो समाचारले काठमाडौंमा ठूलो कभरेज पायो । अरु बेला रातो कार्पेट बिच्छाएर पत्रकारलाई स्वागत गर्ने माओवादीले पत्रकारलाई आफ्नै आधार इलाकामा बन्धक बनायो भन्ने प्रश्न काठमाडौंमा ‘हटकेक’ सरह भएको थियो । पछि त्यही घटनालाई लिएर माओवादी नेता सन्तोष बुढा मगरले माफी मागे ।

त्यो कर्फ्यू

तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासन व्यवस्था हातमा लिएपछि राजनीतिक दलहरू सडकमा ओर्लिएका थिए । लामो समयदेखि आन्दोलनरत दलहहरूको सडक आन्दोलन उत्कर्षमा पुगिरहेको थियो । औपचारिक रूपमा माओवादीले घोषणा त गरेको थिएन तर ऊ त्यही आन्दोलनमा सहभागी हुन काठमाडौं छिरेको थियो । सरकारले कर्फ्यू आदेश जारी गरेको थियो । ज्यान हत्केलामा राखेर सडकमा निस्किनेबाहेक अरु घरमै बसेका थिए । राजाराम स्युचाटारस्थित घरबाट निस्किए । कलंकी आए । पत्रकारहरू कोही पनि थिएनन् । कलंकीमा तीन जनाको ज्यान गइसकेकाले त्यो क्षेत्र थप तनावग्रस्त थियो । त्यतिबेला उनी ‘नेपाल’मा काम गर्थे । उनले त्यहाँबाट दिनभर ‘कान्तिपुर टेलिभिजन’का लागि लाइभ रिपोर्टिङ गरे ।

“मलाई लाग्छ— राज्य सञ्चारमाध्यमप्रति अनुदार भइरहेका बेला यथार्थ जानकारी आफ्ना दर्शकसामु पुर्‍याउन टेलिभिजनहरूलाई अप्ठ्यारो भइरहेको थियो,” राजाराम ०६२/६३ को जनजन्दोलनलाई पुनर्ताजगी गर्छन्, “कर्फ्यू लगाएर नागरिक अधिकार हनन् गरिरहेको सरकारका गतिविधि र त्यसलाई चुनौती दिइरहेका राजनीतिक दलका गतिविधिबारे जनता बेखबर रहने पस्थितिमा मैलै टेलिभिजनका लागि दिनभर लाइभ रिपोर्टिङ गरेको मलाई अहिले पनि सम्झना छ । दिनभर कर्फ्यू तोडेर गरेको त्यो रिपोर्टिङ मैले जिन्दगीमा जोखिम मोलेर गरेका सीमित काममध्येको एक थियो ।”

बादल भेट्ने सपना

काठमाडौं माओवादीले घेरिसक्यो भन्ने हल्ला भुसको आगोझैं सल्किएको थियो । त्यही समय मकवानपुरको आग्रामा कार्यक्रम छ भन्ने सूचना आयो । माओवादीबारे समाचार लेख्ने यो अर्को एउटा मौका थियो । राजारामले छोड्नै कुरै थिएन । एकातिर समाचार, अर्कोतिर द्वन्द्वमा गरिने प्रोपोगान्डाबारे जान्ने र अनुभव गर्ने मौका बन्न सक्थ्यो ।

तत्कालीन माओवादीका महासचिव रामबहादुर थापा (बादल)ले भेट्न बोलाएका थिए । बादलसँग भेट्न पाए समाचारका लागि ठूलै खुराक मिल्ने आशा थियो । लोकेसन दिइयो, “मकवानपुरको पालुङमा ओर्लिएर डाँडागाउँ पुग्नू ।”

त्यहाँ पुग्दा बम बोकेका मिलिसिया राजारामसहितका पत्रकारहरूलाई लिन आए । १७ घण्टा हिँडाएपछि बास बसाले । भोलिपल्ट बिहान ५ घण्टा हिँडेपछि कार्यक्रम हुने ठाउँमा पुर्‍याए । राजारामसँगै किरण नेपाल, उजिर मगर, सतिशजंग शाही, किरण पाण्डेजस्ता ‘नोटेड’ पत्रकार पनि थिए ।

बादललाई भेटाउँछौं भनेर काठमाडौंबाट लगेका माओवादीले त्यहाँ लगेर गाउँ जनसरकार प्रमुखको उपस्थितिमा सांस्कृतिक कार्यक्रम देखाए । र, खाना खुवाएर नयाँ प्रस्ताव राखे, “दुश्मनले हाम्रो कार्यक्रमबारे थाहा पाएको सूचना आएकाले कम्रेड बादल आउन सक्नुभएन । अब ७ घण्टा हिँडेर जाने हो भने कम्रेड लेखनाथ न्यौपाने (विद्यार्थी नेता)लाई भेटाउन सक्छौं ।”

बादललाई भेट्ने उद्देश्यले दिनरात हिँडेर अनकन्टार गाउँ पुगेका पत्रकारको आशाको पारो स्वात्तै तल झार्ने प्रस्ताव सुनेर ‘हिमाल’ खबरपत्रिकाका किरण नेपाल जंगिए, “लेखनाथजीसँग कुरा गर्नुपरे म टेलिफोनमै गर्छु । बादलसँग भेट हुँदैन भने हामी फर्किन्छौं ।” बादललाई भेट्ने उनीहरूको सपना साँच्चै कालो बादलमै विलीन भयो । घरको बुइगलमा लगेर पत्रकार सम्मेलन गरेका थिए त्यहाँ माओवादीले ।

२२ घण्टा लगाएर अघिल्लो दिन पुगेको ठाउँबाट फर्किंदा उनीहरू साढे तीन ३ घण्टामा फर्किए । माओवादीले फनफनी घुमाएर उनीहरूलाई आग्रा पुर्‍याएका रहेछन् ।

अहिलेको पत्रकारिता

१०४ वर्षे जहानियाँ राणा शासनविरुद्ध प्रवासमै बसेर केही साहित्यकारहरूले पत्रकारिता गरे । ३० वर्षे पञ्चायतविरुद्ध नेपाली भूमिबाटै मिसन पत्रकारिता भयो । ०४६ सालमा प्रजातन्त्रको पुनर्बहाली त भयो तर राजनीतिक स्थिरता कायम हुन सकेन । त्यसको फाइदा संविधानले नै सीमित पारेको राजतन्त्रले लियो । राजा ज्ञानेन्द्र सक्रिय भए । शासनसत्ता हातमा लिए । व्यावसायिक बन्दै गएको नेपाली पत्रिकाले फेरि खबरदारी गर्नुपर्‍यो ज्ञानेन्द्रको कदमलाई । पत्रकारिता प्रजातन्त्रको रक्षाका लागि करिब–करिब खुलेरै लाग्यो ।

“प्रजातन्त्र संकटमा पर्दा पत्रकारिताले त्यसको रक्षाका लागि सधैं काम गरेको छ, त्यसैले पनि पत्रकारिता क्षेत्र बलियो हुनुपर्छ,” राजाराम भन्छन् ।

प्रजातन्त्र पुनस्र्थापनापछि नेपालमा पत्रकारिता फस्टायो । संख्यात्मक रूपमा पत्रकारिता जति फस्टायो, गुणात्मक रूपमा त्यति धेरै फड्को मार्न सकेको छैन । यसको कारण पत्रकार खोजी समाचारमा ननिस्किनु मुख्य रहेको राजाराम बताउँछन् । गुणस्तरीय समाचार सामग्रीका लागि पर्याप्त स्रोत–साधन नहुनु, पत्रकारको क्षमता अभिवृद्धिका लागि सञ्चारगृह उदासीन देखिनु, पत्रकार अल्छी हुनु यसका मुख्य कारण रहेको उनको ठहर छ ।

पत्रकारिता व्यवसाय अवश्य हो तर यसमा पैसाभन्दा पनि ‘प्यासन’ले मात्रै काम हुने राजारामको भनाइ छ । काम गर्ने र लगाउने दुबैले पत्रकारितालाई सेवामूलक व्यवसायको रूपमा बुझेको खण्डमा मात्रै अपेक्षित पत्रकारिता हुने उनको निष्कर्ष छ ।

अहिले पत्रकारभन्दा पनि पत्रकारले लेखेको ‘कन्टेन्ट’ पढ्ने व्यक्ति बढी बौद्धिक भएको पत्रकार विजयकुमारले बताउने गरेको प्रसंग सुनाउँदै राजाराम पत्रकार अध्ययनशील हुनुपर्ने र त्यसका लागि कडा मेहनतको आवश्यकता रहेको बताउँछन् ।

“रिपोर्टरले खासै मेहनत गरेजस्तो मलाई लाग्दैन । एउटा पत्रकारले उठाएको विषयलाई सबै पत्रिकाका पत्रकारले फलो गरेको देखिन्छ,” उनी भन्छन्, “हरेक ५–६ महिनामा लिड चेन्ज गरेर पुरानै समाचार छाप्ने गरेको देखिन्छ । यसले नेपाली पत्रकारितालाई अगाडि बढाउँदैन ।”

तस्बिरः विकास कार्की

तपाईंको मत