site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
देवघरको सम्झना
Ghorahi CementGhorahi Cement

– शरत्चन्द्र चटोपाध्याय


डक्टरको आदेश अनुसार हावापानी परिवर्तनकै लागि भए पनि देवघर जानु प¥यो । हिँड्ने बेलामा कविगुरुको एउटा कविता सम्झिएँ । 

हावापानी बदलिए पनि के फाइदा हुन्छ र, यो सबैलाई थाहा भएको कुरा हो तर पनि मानिस हावापानी परिवर्तन भनेर बाहिर गइरहेका हुन्छन् । त्यसैले मलाई पनि जानु नै प¥यो ।

Agni Group

नजिकै रहेको कुनै घरमा बस्दै आएका एक व्यक्ति राति ३ बजेदेखि बाँस चिरेको स्वर निकाल्दै बेसुरो रागमा भजन गाउन शुरु गर्थे । उनको यो कर्मले मेरो निद्रा खल्बलिन्थ्यो । दिक्क लाग्थ्यो । झर्किन्थें र बाहिर कौसीमा आएर बस्थें । बिस्तारै–बिस्तारै बिहान हुँदै जान्थ्यो । बिहानीसँगै चराचुरुङ्गीको चिरबिर शुरु हुन्थ्यो । सबैभन्दा पहिले कोइलीको कुहुकुहु सुनिन्थ्यो । यसरी बिहान हुनुपूर्व नै सबै चराचुरुङ्गीहरू हल्ला गर्न थाल्थे । बिस्तारै विभिन्न रङ्गका चराचुरुङ्गीहरू त्यहीँ नजिकैका आँपका रुखहरूमा डेरा जमाउन थाल्थे । कुनै–कुनै चरा म बसेको घरमा रोपिएको कागती बोटमा पनि आएर बस्थे ।

त्यसबाहेक सडकमा अवस्थित पीपलको रुखमा पनि कतिपय चराहरू बसेर आवाज दिन थाल्थे । यद्यपि, म कुनै चरा देख्दिनथें तर पनि लाग्थ्यो— म यी सबैलाई चिन्छु । पहेंलो रङ्गका दुई पक्षी हरेक दिन आउँथे र पर्खालै छेउमा रहेको एउटा रुखको सबैभन्दा माथिल्लो हाँगामा बसेर हाजिरी जनाउँथे । अचानक दुई दिनदेखि यी दुबै देखिएनन्् । मनमा शंका लाग्यो— कसैले ती दुई चरालाई पक्रन त पक्रेनन् ? यतातिर शिकारीहरू पनि धेरै नै घुम्थे । उनीहरूको रोजगारी भनेकै चरा समाउनु थियो । तर, तेस्रो दिन ती दुबै चरालाई यथास्थानमा देखेर मनमा असीम सन्तोष छायो ।

Global Ime bank

यसरी बिहानको समय समाप्त हुन्थ्यो । साँझको समय घर कम्पाउन्डको गेटबाहिर आएर एक छेउमा बस्थें । घुमफिर वा वाकिङ गर्ने शक्ति ममा थिएन । त्यसैले जो घुमफिरमा मग्न थिए, तिनीहरूतिर हेर्थें । यसरी घुमफिर गर्ने अधिकतम मानिस मध्यमवर्गका पुरुष र महिला नै हुन्थे । उनीहरूमध्ये केहीका खुट्टा सुन्निएका थिए, जसलाई देख्दैमा बुझिन्थ्यो— उनीहरू खुट्टाको रोगबाट पीडित छन् । जाडोको मौसम नभए पनि उनीहरू आफ्नो सुन्निएको खुटा छोप्न मोजा लगाएर हिँड्थे । कतिपयको धोती सडकमा लत्रिएको देखिन्थ्यो । उनीहरूलाई हिँड्न गाह्रो भइरहेको महसुस हुन्थ्यो, तर पनि उनीहरूले आफ्नो रोग लुकाउन चाहिरहेको भान हुन्थ्यो ।

मलाई सबैभन्दा दुःख एउटी युवतीलाई देखेर हुन्थ्यो । यसरी नै पैदल हिँडेर उनले रोगमुक्त भई आफ्नो क्षीण भएको शक्तिलाई पुनः प्राप्त गर्नेछिन् र  पति, पुत्रसहितको गृहस्थी जीवन जिउँदै नारी जीवन सार्थक तुल्याउँनेछिन् । म आफ्नो ठाउँमा बसेर उनलाई हेर्दै यही सोचिरहेको हुन्थें । एउटी सामान्य बंगाली युवतीले योभन्दा अधिक के नै कामना गर्न सक्थिन् र ! म मनमनै आशीर्वाद दिएर कामना गर्थें— स्वस्थ भएर आफ्नो घर फर्किनू । जुन तीन केटाहरूले उनको जीवन–शक्तिको शोषण गरेका थिए, त्यसलाई जीवित राख्नका लागि उनमा आत्मबल र अथाह शक्ति पैदा होस् । उनी कसकी छोरी हुन्, कसकी बुहारी हुन्, यो मलाई थाहा थिएन । तर, ती युवती हाम्रो देशका ती असंख्य युवतीहरूको प्रतीक बनेर मेरो मनमा अंकित थिइन् । यो कहिले पनि मेटिन सक्दैन ।

मेरा एक जवान मित्र पनि निःस्वार्थ सेवाका लागि मसँगै आएका थिए । कलकत्तामा म बिरामी भएको बेला उनी जस्तो देखिएका थिए, यहाँ पनि ठीक त्यस्तै पाएको छु । अक्सर उनी भन्थे, “जाऊँ दाइ, कतै पैदल घुमफिर गरेर आऊँ । तपाईंभन्दा उमेरले जेठाहरू त घुमफिर गरिरहेका छन् । तपाईं हिँड्नुभएन भने भोक पनि कम लाग्छ ।”

“तर मलाई बेकारमा घुम्नु ठीक लाग्दैन भाइ ।”

उनी मसँग रुष्ट हुन्थे र एक्लै कतै हिँड्थे । अनि जानुअघि मलाई सावधान गराउँदै भन्थे, “अँध्यारो हुनुभन्दा अघि नै फर्किनुहोला कोठामा । काम गर्नेसँग लालटिन मगाउनुहोला । यताउता करेत सर्प धेरै छन् । कतै खुट्टा प¥यो भने गाह्रो हुन सक्छ ।”

त्यस दिन मित्र कतै गएका थिए । साँझको समय थियो । केही मानिस ‘खाना खाने समय भइसक्यो’ भनेर हतार–हतार आफ्नो गन्तव्यतिर दगुर्दै थिए । सम्भवतः यी सबै रोगव्याधिले घेरिएका थिए र साँझ हुनुभन्दा अघि नै आफ्नो घरमा प्रवेश गर्थे । उनीहरूको हिँडाइको चाल देखेर मलाई पनि जोश आयो । सोचें— जाऊँ, केही परसम्म घुमेर आऊँ ।

त्यसदिन निकै बेरसम्म घुमें । अन्धकार नजिकिएको थियो । त्यो महसुस हुनासाथ घरतिर हिँड्न थालें । त्यही बेला देखें— मेरो पछिपछि एउटा कुकुर पनि हिँडिरहेको छ । मैले त्यो कुकरसँग भनें, “के छ ? मसँग जान्छस् ? अँध्यारो बाटोको साथी तँ नै बन् ।”

उसले टाढै रहेर आफ्नो पुच्छर हल्लायो । मैले बुझें— उसले मेरो प्रस्ताव स्वीकार गरेको छ । मैले फेरि पनि भनँं, “ठीक छ, मसँगै आइज ।”

केही अगाडि पुगेर अलिक उज्यालोमा देखें— कुकुर दुब्लो पातलो, केही वृद्ध रहेछ । शरीरका अधिकांश भागमा रौं थिएनन् । केही खोच्याएर पनि हिँडिरहेको थियो । आफ्नो जवानीमा शक्तिवान थियो होला, यसमा कुनै शंका छैन । त्यही कुकुरसित कुरा गर्दै हिँड्दा म बस्ने घरको सामुन्ने आइपुगियोे । मैले ढोका खोलें र भनें, “आइज, भित्र आइज । आज तँ मेरो अतिथि होस् ।”

कुकुर बाहिरै बसेर आफ्नो पुच्छर हल्लाउन थाल्यो । भित्र आउने साहस गर्न सकेन । त्यसबेला काम गर्ने मानिस लालटिन बोकेर बाहिर आयो । उसले ढोका बन्द गर्न लागेको देखेर मैले भनें, “आज ढोका नलगाउनू । बरु यो कुकुर भित्र आयो भने यसलाई केही खान दिनू ।”

एक घण्टापछि बुझ्ने प्रयत्न गरें । थाहा पाएँ— कुकुर भित्रै आएन । कतै हिँड्यो ।

दोस्रो दिन सबेरै बाहिर गएर हेरें । देखें— ढोका अघिल्तिरै अतिथि महोदय उभिएको थियो । प्रत्युत्तरमा मतिर हेरेर उसले पुच्छर हल्लाउन थाल्यो । मैले भनें, “आज जसरी पनि खाना खानू । नखाएर कतै नजानू । बुझिस् ?”

यो प्रश्नको उत्तरमा उसले बारम्बार पुच्छर हल्लायो । मैले सम्झें— ऊ राजी छ ।

रातको समय काम गर्ने मानिसले आएर जानकारी दियो, “अघिल्लो दिनको कुकुर बाहिर बरन्डामा आएर बसेको छ ।”

भान्छामा काम गर्नेलाई बोलाएर भनें, “आज पनि त्यो मेरो अतिथि हो । उसलाई पेटभरि खान दिनू ।”

अर्को दिन पनि मलाई थाहा भयो कि अतिथि महोदय त्यहीँ उपस्थित छ । अतिथिको मर्यादापालन गर्दै बरन्डामा आरामले बसेको छ  फेरि पनि मैले भनें, “खैर, यसलाई यहीँ बस्न देऊ । खाना पनि पेटभरि दिनू ।”

मलाई यो थाहा थियो कि दिनदिनै खाना खेर गइरहन्छ । त्यो रछ्यानमा फ्याँकिन्छ । त्यसैले कुकुरलाई भोजन दिँदा शायद कसैलाई आपत्ति हुँदैन । तर, आपत्ति थियो— त्यो पनि अत्यधिक आपत्ति । बचेको खानाको हकदार थिइन्— बगैंचाकी महिला माली ।

यो कुरा मलाई थाहा थिएन । माली हेर्दा सुन्दर र जवान थिइन् । राम्री थिइन् । काम गर्ने केटोको झुकाव उनीतर्फ अत्यधिक थियो । फलस्वरूप मेरो अतिथि व्रत राख्न बाध्य भयो । साँझको बेला जब म घुम्न निस्किन्थें, त्यसबेला सधैं ऊ सडकमा पहिलेदेखि नै स्वागतमा उभिएको देख्थें । हिँड्दाहिँड्दै सोधें, “मित्र, आजको मासु कस्तो लाग्यो ? हड्डीको गज्जब स्वाद त पक्कै पाइस् होला !”

उत्तरमा उसले आफ्नो पुच्छर हल्लायो । मलाई लाग्यो— उसलाई मासु मीठो लाग्यो । मलाई ती मालीले त्यो मित्र बनेको कुकुरलाई बगैंचाबाट लखेटेको थाहा थिएन । बगैंचामा छिर्न पनि बन्देज लगाइछन् । फलस्वरूप विचरो सडकमै मेरो प्रतीक्षा गर्दै उभिँदो रहेछ ।

अचानक ढोकामा एउटा छाया देखेर म चकित परें । देखें— मेरो अतिथि महोदय अगाडि उभिएर पुच्छर हल्लाइरहेको छ । दिउँसो भएका कारण सबै काम गर्नेहरू सुतेका थिए । त्यसैले यो चुपचाप मेरो सामु आइपुगेको थियो । सोचें— शायद दुई–चार दिन नदेखेको हुँदा मलाई हेर्नै यहाँसम्म आएको होला । मैले भनें, “आ, भित्रै आ ।” तर, ऊ त्योभन्दा अगाडि आएन । सोधें, “खानपिन भयो ? के–के खाइस् ?”

अचानक उसको आँखाको कुनाबाट पानी छचल्कियो । लाग्यो— ऊ मेरो अगाडि गुनासो गर्न उभिएको छ । मलाई झोंक चल्यो । झोंक्किएरै मैले काम गर्ने मानिसलाई बोलाएँ । ढोका खोलिएको आवाज सुन्नासाथ मेरो त्यो अतिथि मित्र बाहिर भाग्यो । काम गर्ने मेरो अगाडि आएपछि भनें, “आज त्यो कुकुरलाई खान दिएनौ ?”

“अहँ दिइनँ । मालीले त्यसलाई भगाइदिइन् ।”

“बचेको खाना के भयो ?”

“त्यो सबै मालीले उठाएर लगिन् ।”

मैले बेस्सरी कराएको सुनेर मेरा सहयोगी मित्र पनि मेरो कोठामा आइपुगे । उनले भने, “दाइ, तपार्इं पनि तमासा नै गर्नुहुन्छ । यहाँ मानिसले पेटभरि खान पाएका छैनन्, तपाईं भने कुकुरका लागि टेन्सन लिनुहुन्छ ।”

ती मित्रलाई थाहा थियो— मसँग यसको कुनै जवाफ छैन । त्यसैले म पनि चुप बसें । कसको कुरा कसले माथिसम्म पु¥याउँछ, म कसरी सम्झाऊँ ? सम्झाउनु मेरो क्षमताभन्दा बाहिरको कुरा हो । खैर जे होस्, मेरो अतिथिलाई बोलाइयो र उसलाई बरन्डाको एउटा कुनामा बस्ने स्थान दिइयो ।

आज बिहान सामानहरू बाँध्ने काम हुँदै थियो । दिउँसोको गाडी थियो फर्किने । गेटसामु एउटा टाँगा आइपुग्यो । त्यसमा सामान राखियो । मेरो अतिथि पनि आज व्यस्त रह्यो । ऊ कुल्लीहरूका साथ दौडिँदै खबरदारी गरिरहेको थियो, कुनै सामान नछुटोस् भनेर । उसको उत्साह अधिक थियो ।

टिकट किनियो । मालसामान गाडीमा चढाइयो । त्यसैबेला मित्रले आएर सूचना दिए— गाडी छुटन लागेको छ । जो मानिसहरू मलाई छोड्न आएका थिए, सबैलाई केही न केही बक्सिस दिएँ । मात्रै मेरो अतिथिलाई दिइनँ । तातो हावाको लहरले आँखाको अगाडि अँध्यारो बनायो । त्यो अन्धकारमा देखें— स्टेसनबाहिरको गेटअगाडि मेरो अतिथि महोदय ठिंग उभिएको छ र एकनासले हेरिरहेको छ ।

गाडी गुड्यो तर घर फर्किनलाई मेरो मन त्यति व्याकुल थिएन । मलाई बेलाबेलामा उसकै सम्झना आइरहेको थियो । अब ऊ म बसिरहेको घरअगाडि पुग्यो भने फलामको गेट बन्द पाउनेछ । अब उसलाई भित्र छिर्न कसैले दिनेछैन । दुई दिनसम्म ऊ यताउता घुम्छ । शायद सुनसान समयमा पर्खाल नाघेर भित्र मेरो खोजी पनि गर्ला । त्यसपछि जहाँबाट आएको थियो, त्यहीँ फर्केर जानेछ ।

शायद योभन्दा तुच्छ जीव शहरमा अरु कुनै छैनन् होला । तर, पनि देवघरको सम्झना वा स्मृतिलाई केही स्मरणीय बनाउने इच्छाका कारण यो कथा लेखें ।

(बंगाली लेखक शरत्चन्द्र चटोपाध्यायको ‘शरत्चन्द्र की यादगारी कहानियाँ’ बाट राजेश खनालले गरेको अनुवाद ।)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ३०, २०७५  १०:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC