पैसा हुनेहरू गरिब वा धनी मुलुक जता बसे पनि ऊर्जामा पहुँचले तिनको जीवनयापन सुविधाजनक हुन्छ । बिजुली भए उज्यालो बत्ती, ताजा खाना, स्वच्छ पानी उपलब्ध हुन्छ भने प्रविधिको प्रयोग र तापक्रम नियन्त्रण गर्ने क्षमता पनि हुन्छ ।
बिजुली पर्याप्त भयो भने सयौं नोकरचाकर चाहिने सुखसुविधा सजिलै प्राप्त हुन्छ । रेफ्रिजेरेटर नभएको भए दिनहुँ ताजा खोज्नु पर्ने हुन्थ्यो, भण्डारका दराजहरू आधा त रित्तै हुन्थे, प्रशस्त खानेकुरा हामीले खानुभन्दा पहिले नै सडिसकेको हुन्थ्यो । सन् १९३०मा अमेरिकामा पेटको क्यान्सर सबैभन्दा बढी हुनुको एउटा कारण यही थियो । मूलतः जैविक इन्धनबाट उत्पादन हुने रासायनिक मल नभएको भए अहिलेको खाद्यान्नको आधा त फल्ने नै थिएन । आधुनिक स्टोभ र हिटरहरू नभएको भए आफैँले दाउरा जुटाउनु पथ्र्यो र दाउराबाट निस्कने धुवाँका कारण आफ्नै घरभित्रै ज्यानमारा बिखालु हावामा सास लिनुपथ्र्यो । इन्धनबाट चल्ने ट्रक, पानी जहाज र मेसिनहरू नभएका भए सबै कठिन काम मानिसहरूले नै गर्नुपथ्र्यो ।
संसारमा जैविक इन्धनबाट दुई तिहाइ बिजुली उत्पादन गरिन्छ, आणविक र जलविद्युत् गरेर अर्को २७ प्रतिशत उत्पादन हुन्छ । इन्टरनेसनल इनर्जी एजेन्सी (आईईए)का अनुसार ओईसीडी मुलुकहरूमा सबै मिलाएर वर्षको १ खर्ब ६० डलर अनुदान दिँदा पनि सौर्य, हावा, जलतरङ्ग र जैविक ऊर्जाबाट भने ९.८ प्रतिशतमात्र विद्युत् उत्पादन हुन्छ । उच्च वातावरणीय चेतना भएको मानिने जर्मनीमा समेत आधाभन्दा बढी बिजुली जैविक इन्धनबाट उत्पादन हुन्छ ।
अहिले पनि १ अर्ब १० करोड जनसंख्याले बिजुलीबाट हुने अद्भूत लाभहरू पाउन सकेका छैनन् भन्ने जानकारी पश्चिमका लागि चिन्ताको विषय हो । अहिले व्यापकरूपमा गरिब मुलुकहरूले कोइलाबाट बिजुली निकाल्ने वातावरणमा हानि पु¥याउने योजनाको साटो सौर्य प्रविधिजस्तो स्वच्छ ऊर्जातर्फ छलाङ मार्नुपर्छ भन्ने गरिन्छ कोइलाबाट उत्पादन गरिने ऊर्जा योजनामा लगानी गर्न छाडिसकेका । विश्व बैंकलगायतका प्रभावशाली दाताहरूले यस दृष्टिकोणलाई समर्थन गरेका छन् ।
यसमा निहित अर्थ बुझ्न सकिन्छ । नीतिनिर्माताहरूले विश्वव्यापी तापक्रम बढ्ने समस्यालाई सम्बोधन गर्नु जो छ । जैविक इन्धनबाट क्रमिकरूपमा अरू स्रोततर्फ उन्मुख हुनु महत्त्वपूर्ण हुन्छ र हरित ऊर्जालाई सस्तो र भरपर्दो बनाउन नयाँ आविष्कार आवश्यक छ । तर, विश्वका गरिबहरूका लागि भने यो सन्देश पाखण्डी र खतरनाक छ । जैविक ऊर्जाले विश्व तापक्रम बढाएको छ भने साथै समृद्धि, वृद्धि र कल्याण पनि बढाएको छ ।
गरिबी र ऊर्जाका बीचमा प्रत्यक्ष र बलियो सम्बन्ध छ । गरिबी जति धेरै हुन्छ ऊर्जा उति कम हुन्छ । बंगलादेशमा गरिएको एउटा अध्ययनमा विद्युतीकरणको घरायसी आय, खर्च र शिक्षामा उल्लेख्य सकारात्मक प्रभाव देखाएको छ । बिजुलीको सुविधा पाएका परिवारहरूको आयमा बर्सेनि २१ प्रतिशतसम्म वृद्धि भएको गरिबीमा १.५ प्रतिशत कटौती भएको छ ।
ऊर्जाका लागि कोइलाको निर्भरता चाँडै समाप्त हुनेवाला छैन । हाम्रो चाहना जे भए पनि कोइला प्रायः सबैभन्दा सस्तो र भरपर्दो ऊर्जाको स्रोत रहिआएको छ । आईईएको अनुमानअनुसार कोइलामा चर्को कार्बन कर लगाए पनि सौर्य र वायु ऊर्जाका तुलनामा सन् २०४० सम्म पनि कोइला नै सस्तो रही रहनेछ ।
बितेका १६ वर्षमा विद्युत् प्रसारणबाट बिजुलीमा पहुँच पाउने प्रायः सबैजसोले जैविक इन्धनबाट निकालिएको बिजुली पाएका हुन् ।
प्रसारण लाइनको महँगो विस्तारका तुलनामा प्रसारण लाइनबिनाको सौर्य ऊर्जा उपलब्ध गराउन निकै सस्तो हुन्छ । तर, विद्युत् उपभोक्ताका लागि भने यो कमजोर विकल्प हो । यसबाट बत्ती बाल्न, मोबाइल चार्ज गर्नमात्र पुग्छ अर्थात् हुनु र नहुनुमा खासै फरक हुँदैन । आईईएको आकलनअनुसार १९ करोड ५० लाख जनाले प्रसारण लाइनबाहिरको सौर्य ऊर्जा प्रयोग गर्दा १७० किलोवाट प्रतिघन्टा बिजुली उपभोग गर्नेछन् जुन अमेरिकाका ठूला टेलिभिजनमा प्रयोग हुनेभन्दा बिजुलीको आधामात्र हो ।
गरिबहरूको जीवनमा सौर्य ऊर्जाको प्रभावका बारेमा भएको पहिलो गम्भीर अध्ययनअनुसार गरिबहरूले थोरै बिजुली पाउन सके पनि त्यसबाट उनीहरूको जीवनस्तरमा भने स्पष्ट देखिने प्रभाव परेको पाइएन । सौर्य ऊर्जाको उपभोगले बचत वा खर्चमा वृद्धि भएन, उनीहरूले सौर्य बिजुलीको उपभोगपछि नयाँ वा बढी काम गरेनन् र तिनका सन्तानले पनि बढी पढाइ गरेनन् ।
बिजुलीमा पहुँच भन्नुको अर्थ १७० किलोवाट प्रतिघन्टा हो भन्ने त हामीमध्ये धेरैे पक्कै मान्दैनौ । यति थोरै मात्राको बिजुलीले कुनै कारखाना वा फार्मका लागि बिजुली पुग्दैन । यसैले यसले गरिबी घटाउन र रोजगार सिर्जना गर्न सक्तैन । यसले वर्षको ३८ लाखको ज्यान लिने दाउरा, गोबर वा कार्डबोर्डजस्ता वस्तु बाल्दा निस्कने संसारको सबैभन्दा ठूलो वातावरणीय हत्यारा घरभित्रको वायु प्रदूषण नियन्त्रण गर्न सहयोग पनि पुगदैन । प्रसारण लाइनबाट आउने बिजुलीबाट स्टोभ र हिटर बाल्ने धनी मुलुकहरूका लागि भने यो चिन्ताको विषय नै हैन । तर, बिजुलीको स्टोभ वा हिटर बाल्न सौर्य ऊर्जाबाट निस्कने प्रसरणलाइन नभएको बिजुलीबाट नपुग्ने हुनाले प्रसारण लाइनबाहिरको सौर्य ऊर्जा नपुग्ने भएकाले त्यस्तो बिजुलीका उपभोक्ताले त दुःख पाइरहने भए ।
सन् २०१६ मा अफ्रिकाको ऊर्जा अभावको समस्या समाधान गर्न कोइलाको प्रयोग गर्न रोक्न खोज्ने प्रयासका लागि नाइजेरियन अर्थमन्त्रीले पश्चिमी मुलुकहरूलाई ‘पाखण्ड’को संज्ञा दिएकी थिइन् । उनले भनिन् – ‘‘सयौं वर्षसम्म वातावरण प्रदूषण गरेपछि अहिले अफ्रिकाले कोइला प्रयोग गर्न खोज्दा उनीहरू हामीलाई रोक्न खोज्दैछन् ।’’
बंगलादेशका लागि गरिएको कोपेनहेगन कन्सेन्ससको अध्ययनअनुसार आगामी १५ वर्षमा कोइलाबाट बिजुली निकाल्न आयोजनाहरूको निर्माण गर्दा विश्व जलवायु परिवर्तनमा ५९ करोड २० लाख अमेरिकी डलर बराबरको क्षति पुग्छ । अर्कातिर, त्यसबाट निस्कने बिजुलीबाट हुने विद्युतीकरणले जलवायुमा परेको प्रभावको भन्दा करिब ५०० गुना धेरै २५ खर्ब ८० अर्ब डलर बराबरको आर्थिक वृद्धि हुन्छ । सन् २०३० सम्ममा औसत बंगलादेशी १६ प्रतिशत बढी समृद्ध हुनेछ ।
विश्व तापक्रम नियन्त्रणका नाममा बंगलादेशलाई यो फाइदा लिन नदिनुको अर्थ २३ सेन्ट तापक्रमको मूल्यका लागि १०० डलर बराबरको लाभ लिन नदिनु हो । बंगलादेशमा ऊर्जाको कमीले कुल गार्हस्थ्य उत्पादनमा ०.५ प्रतिशत नोक्सान हुने गरेको छ र २ करोड १० जनसंख्याले प्रतिदिन १.२५ डलरभन्दा कममा गुजारा गर्छन् ।
अर्को विकल्प छैन । हामीले ऊर्जाको अभावविरुद्ध संघर्ष गर्नुपर्छ र जलवायु परिवर्तन रोक्नुपर्छ । तर, त्यसका लागि स्वच्छ ऊर्जाले जैविक इन्धनसँग प्रतिस्पर्धा गर्न सक्नेगरी हरित ऊर्जाको अनुसन्धान र विकासमा ठूलो वृद्धि हुनु जरुरी हुन्छ । यसको अर्थ आफू थोरै ऊर्जा खर्च गर्न तयार नहुने धनी मुलुकहरूले संसारका गरिबहरूलाई त्यसो गर्न भन्नु पाखण्ड हो भन्ने पनि मान्नु हो ।
(कोपनहेगन कन्सेन्सस सेन्टरका निर्देशक तथा कोपेनहेगन बिजनेस स्कुलका अतिथि प्राध्यापक)
(बाह्रखरी र प्रोजेक्ट सिन्डिकेटको सहकार्य)
Copyright: Project Syndicate, 2018.