site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
गुरु पत्रकार
Sarbottam CementSarbottam Cement

– नरेश फुयाँल


अहिले सञ्चारमाध्यमको संख्या उल्लेख्य छ, पत्रकार उल्लेख्य छन् । तर पनि खोजी पत्रकारिता छैन । ‘हार्ड एन्ड फास्ट’ नतिजाको खोजीमा भौतारिएको पत्रकारिता मैदानको गोरु भएको छ, पत्रकारहरू कुहिरोका काग । नेपाली पत्रकारिताको इतिहास मिसन पत्रकारिताबाट शुरुआत भएको भेटिन्छ । त्यो क्रमले प्रजातन्त्र आउँदासम्म जरा गाडिरह्यो । दिनभरि समाचार कक्षमा बसेर समाचार लेख्ने पत्रकार साँझ पर्दानपर्दै नेतासँग भट्टीमा भेटिन्थे । विरोधीलाई प्रहार गर्नु र विदेश भ्रमणलाई उपलब्धि ठान्थे । त्यो परिपाटीलाई भत्काउनु थियो । जनताका दैनिक जनजीविकाबारे लेख्नु थियो । भ्रष्ट व्यक्ति र प्रवृत्तिको चिरफार गर्नु थियो । त्यो पद्धति शुरु गर्नु थियो । त्यसैले हस्त गुरुङलगायतका केही व्यक्ति खोज पत्रकारितामा लागे । राजनीतिदेखि पर पनि पाठकले पढ्ने समाचार छन् भनेर खोज्नतर्फ लागे । ‘वाटरगेट’ पढेर प्रभावित भएका हस्तले झन्डै–झन्डै त्यसैसँग मिल्दोजुल्दो कृषि सामग्री केन्द्रको समाचार लेखे ।

हस्त शुरुमा यो पथमा आफैं लागे, पछि अरुलाई सुझाए ।

Prabhu Bank
Agni Group
NIC Asia

हस्त कुनै समय विज्ञान र गणितका शिक्षक थिए । पर्सामा उनले ०३९ देखि ०४३ सालसम्म पढाए । त्यो बेला विज्ञान पढाउने शिक्षकको निकै अभाव हुन्थ्यो । जिल्ला शिक्षा अधिकारीले उनलाई बोलाएर विज्ञान र गणित पढाइदिन आग्रह गरे, उनले पनि नाइ भनेनन् ।

शिक्षक हुँदाहुँदै उनले साहित्यमा कमल चलाउन थालिसकेका थिए । उनका लेखनीले प्रशंसा पाउन थालिसकेका थिए । केही मान्छेहरूले उनलाई चिन्न थालेका थिए ।

Global Ime bank

पत्रकार गिरीश गिरीका बुवा गोपाल गिरीले एकदिन भने, “लौ बाबु ! एक ठाउँ जानु पर्ने भयो तिमी ।”

हस्तले सोधे, “कहाँ ?”

गोपालले भने, “मसँगै हिँड ।”

हस्तले उनलाई पछ्याए । गोपालले उनलाई पुर्‍याए— मदनमणि दीक्षित र जनादर्न आचार्यकोमा ।

मदनमणिको ‘माधवी’लगायत पुस्तक हस्तले पढेका थिए । नमस्कार गर्दै उनले ‘माधवी’ पढेको सुनाए । मदनमणि खुसीले दङ्ग देखिए ।

जनार्दनले हस्तलाई भने, “मैले तिमीलाई चिनेसकें । तिमी काठमाडौं आउँछौं भने आऊ ।”

“के गर्नु काठमाडौं आएर ?” हस्तले सोधे ।

“आऊ न त आऊ पहिला,” जनार्दनले भने ।

जनार्दनले हस्तलाई काठमाडौंका लागि निम्तो दिए । निम्तो स्वीकारेर उनी ०४३ मा पर्साबाट काठमाडौंका लागि गाडी चढे ।

‘साप्ताहिक विमर्श’मा केशवराज पिँडालीले अन्तर्वार्ता लिए । पास भए । शुरु गरे ‘विमर्श’मा समाचार लेख्न । हस्तले औपचारिक रूपमा समाचार लेख्न थालेको ‘विमर्श’बाटै हो ।

पोखरामा ‘विमर्श’को शाखा खुल्ने भयो । को जाने काठमाडौंबाट ?

श्री आचार्य तनहुँका, हस्तको पुख्र्यौली घर गोरखा । त्योबेला पोखरामा मण्डलेको दादागिरी थियो । मण्डलेहरूको जगजगीबाट जोगिनु कम चुनौती थिएन । श्री आचार्य बाहुन थिए । पोखरामा जातीय हिसाबले पनि बाहुनभन्दा गुरुङलाई पत्रकारिता गर्न सजिलो हुन्छ भनेर ‘विमर्श’ले ०४४ मा हस्तलाई पोखरा पठायो ।

‘विमर्श’ राजनीतिक पत्रिका, हस्तलाई राजनीतिमा खासै चासो नाइ । गणेशमान सिंहको अन्तर्वार्ता लिन उनलाई तीन दिन लाग्यो । त्यो तीन दिनको बसाइमा हस्तले गणेशमानबाट राजनीतिका धेरै कुरा थाहा पाए । त्योभन्दा पनि ठूलो शिक्षा त उनले कुनै पनि काममा ‘प्यासन’ चाहिन्छ भन्ने सिके । 

त्यो बेला पञ्चायतविरोधी मिसन पत्रकारिता चलिरहेको थियो । समाचारमा राजनीतिकै दबदबा थियो । अन्य विषयले खासै स्थान पाउँदैनथे । त्यही बेला हस्तले राजनीतिसँगै अरू विधामा कलम चलाउन थाले ।

उनी केमिकल सोसाइटीमा जान्थे । दूधमा हालिने रसायनको असर, मलमा मिसाइएको माटो, काठमाडौंको खानेपानीबारे उनले दह्रो कलम चलाए ।

पोखरामा बाँच्नै गाह्रो थियो । हस्त गुरुङ मै हुँ भनेर उनी सकेसम्म चिनाउँदैनथे । हस्त गुरुङले समाचार लेख्छ भन्ने थाहा थियो तर यही मान्छे हो भन्ने थाहा थिएन धेरैलाई । मुस्किलले १०–१२ जनाले चिन्थे उनलाई ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराबाट बर्खाको समयमा दिनकै ४०–५० वटा शव बाहिर निस्किन्थे । कारण के हो ? अनुसन्धान गरे हस्तले । खानेपानी शुद्धीकरण गर्ने रसायनलाई लाखौं पथ्र्यो । त्यो रसायनै हाल्दैन रहेछ खानेपानी संस्थानले । फलतः त्यही पानीका कारण जनतामा झाडापखाला फैलिन्थ्यो, त्यसैले दैनिक ४०–५० जनासम्मको ज्यान लिन्थ्यो ।

हस्तले समाचार लेखे । संस्थानका तत्कालीन महाप्रबन्धकलाई कारबाहीस्वरूप दुर्गम स्थान पठाइयो । पछि तिनै महाप्रबन्धकसँग हस्तको भेट हुन्थ्यो । उनी भन्थे, “हस्तजी, म कहिल्यै बिर्सिन्नँ तपाईंका कारण मैले भोगेको कारबाही ।”

०५० मा ‘विमर्श’ टुक्रियो । जनार्दनसँगै आए हस्त पनि ‘नेपालीपत्र’मा । हरिहर र केशवराज पिँडालीले फेरि ‘विमर्श’मै बोलाए । हस्त पनि फर्किए ।

मन्त्री नै रोए संसद्मा

कृष्णप्रसाद भट्टराईनेतृत्वको सरकारका कृषिमन्त्रीले इन्डोनेसिया, मलेसिया र अर्को एक देशबाट मल खरिद गरे । मूलपानीमा त्यो मल हालेका कृषकको बाली मर्ने समस्या दखिएको हस्तले आफ्नै आँखाले देखे ।

कृषिमा पुगेर उनले त्यहाँ एक कर्मचारी भेटे । उनलाई हस्तले चिनेका थिए, उनलाई दाइ भन्थे । गएर सोधे, “मल लगाउँदा बिरुवा मर्ने कस्तो समस्या हो यो ?”

तिनले भने, “यो कुरा मसँग गर्दै नगर् । सबै कुरा गर् तर यो विषयमा कुरै नगर् । तँ मेरो जागिर खान आ’को ? तँलाई के चाहिन्छ, के खान्छस्, म दिन्छु तर यो कुरा गर्दै नगर् ।”

“दाइसँग कुरा नगरेर कोसँग गर्नू त ?”

“सुनिनस् मैले भनेको ? यस विषयमा कुरा गर्दै नगर्,” ती कर्मचारी जंगिए ।

केही दिनपछि तिनै कर्मचारीले ‘डकुमेन्ट’का लागि खरिद विभागका एकजना मान्छेलाई सिफारिस गरे । ती निकै निडर रहेछन् । भने, “यो विषयमा कुरा गर्ने हो भने मैले भनेको ठाउँमा राति ११ बजे आउनुपर्छ । हैन भने म कुरा गर्न सक्दिनँ । सक्छौ ?”

हस्तले सोधे, “कहाँ आऊँ ?”

उनले हस्तलाई चावहिल बोलाए । मध्यरातमा ती व्यक्तिले मलको भेद खोले । उनले भने, “नमुना मल पनि दिन्छु जाँच गर्न चाहिन्छ भने ।”

गुणस्तर विभागमा हस्तले चिनेकै मान्छे थिए, जाँचिदिए । नतिजा आयो— मलमा ९९ प्रतिशत माटो छ । ९९ प्रतिशत माटो भएको त्यो मलको मूल्य भने निकै महँगो थियो ।

फेरि तिनै दाइले भने, “तँलाई हामी डकुमेन्ट दिन सक्दैनौं, त्यसैले कसैलाई करप्ट गर्, अर्थात किन् । उसैले फोटोकपी गरेर ल्याइदिन्छ ।”

एक जना स्टाफलाई ४ सय रुपैयाँ दिएर हस्तले त्यो डकुमेन्ट ल्याए र सप्रमाण समाचार छापे । समाचार छापिएपछि ती मन्त्रीविरुद्ध संसद्मा चौतर्फी आलोचना भयो । मन्त्री संसदमै रोएर माफी मागे । मल फिर्ता गरे ।

दूधको कथा

साहित्यकार तथा सम्पादक बलदेव थापाले एकदिन हस्तलाई भने, “हस्त !  यो भकुण्डो खेल्न तिमीलाई मात्रै आउँछ । तिम्रै सम्बन्ध छ केमिकल सोसाइटीसँग, के गर्नुपर्छ गर ।”

पोकाबाटै सीधै पिउन मिल्ने दूधको पोका फुलेर भकुण्डो जस्तो भएको थियो, त्यो नै दिएका थिए बलदेवले हस्तलाई ।

उनले त्यसलाई गुणस्तर विभागमा लगेर जँचाए । भेटिए— स्वास्थ्यका लागि हानिकारक तीनवटा तत्व । यस्तो तत्वसमेत भेटियो, जसको प्रयोगले क्यान्सरसमेत हुन्छ ।

त्यो समाचार पनि हस्तले छापे । त्यतिबेलाका चल्तापुर्जा नेता सूर्यबहादुर थापाका भाञ्जाको कम्पनी थियो त्यो, जसले मानव स्वास्थ्यका लागि हानिकारक दूध उत्पादन गरिरहेको थियो । पत्रिका (नेपालीपत्र)मा जसको लगानी थियो, त्यसकै पत्रिकामा त्यही व्यक्तिको कालो कर्तुतबारे छापियो । प्रकाशकले सम्पादक जनार्दनलाई भने, “हामीले लगानी गर्ने अनि तिमीहरू नै हामीलाई यसो गर्ने ?”

जनादर्नले जिब्रो नलक्पकाई भने, “साँचो कुरा ल्यायो, त्यो केटाको अगाडि मैले कसरी मुख देखाउने ? त्यसले मलाई थुक्दैन ? मैले छाप्नै पथ्र्यो, छापिदिएँ । जे–जे खण्डन गर्नु पर्ने हो, गर्नुस् ।”

हस्त भन्छन्, “जनार्दनजस्तो सम्पादक अहिलेसम्म मैले देखेकै छैन ।”

० ० ०

नेपाल प्रेस इन्टिच्युट (एनपीआई)मा हस्तले १८ वर्ष काम गरे । ६६ जिल्लामा पुगेर उनले पत्रकारिता तालिम दिएका छन् । जिल्लाका ९० प्रतिशत पत्रकार उत्पादन गर्ने एनपीआईमा रहेर उनले रिर्पोटिङको कखरा धेरैलाई सिकाए । त्यसैले उनी पत्रकारका गुरु हुन् । पछि उनी खोज पत्रकारिता केन्द्र पुगे । त्यहाँ बसेर उनले खोज पत्रकारिताका लागि नयाँ पुस्तालाई प्रेरित गरे । आफूले जाने बुझेको सिकाए । अनुभव सेयर गरे ।

दृष्टिविहीनलाई सवारी लाइसेन्स

खड्का थरका एक प्रहरी अधिकारी सुनसरीको धरानमा एसएसपी थिए । पूर्वाञ्चलको लाइसेन्स विभाग उनको मातहतमा थियो । त्यहाँ जथाभावी लाइसेन्स बाँडिन्छ भन्ने कुरा आइरहेका थिए ।

हस्तले एनपीआईमा खोज पत्रकारिताको तालिम चलाइरहेका थिए । उनले पूर्वाञ्चलकै पत्रकार कौशलकुमार भट्टराईलाई त्यसबारे (दशैंमा घर जाँदा) बुझ्न भने । कौशलले बुझेनन् मात्रै, रिपोर्ट नै लिएर आए । हस्तले रिपोर्ट हेरे । त्यो डकुमेन्ट समाचारका लागि पर्याप्त थिएन ।

“कुनै एउटा दृष्टिविहीन व्यक्तिले लाइसेन्स निकालेर देखाउँछ भने त्यो खोज पत्रकारिता हुन्छ, यसो गर्न सक्छौ ? पैसा एनपीआईले दिन्छ,” कौशललाई हस्तले भने ।

भने, “म सक्दिनँ ।”

हस्तले सम्झाए, “तिमी पहिला एकजना दृष्टिविहीन खोज । उनका आफन्तलाई खोज । लागेको खर्च म आफैं बेहोर्छु भन । निवेदन दिन लगाऊ ।”

कौशलले रिपोर्टिङ अगाडि बढाए । मुख्य दलाल एक मेडिकल डक्टर रहेको फेला पर्‍यो ।

‘हामी आउन पाएनौं, त्यसैले डक्टरको सिफारिसहित आवश्यक कागजात पठाएका छौं’ भन्ने आशयको निवेदन लेखे ती दृष्टिविहीनले । त्यसका लागि लाइसेन्स विभागलाई मेडिकल्ली ठीक छ भनेर डक्टरले सिफारिस लेख्नुपथ्र्यो । डक्टरले सिफारिस लेखिदिए । पुलिसले डक्टरको सिफारिस हेर्‍यो । सबै ठीक छ । ती दृष्टिविहीनले लाइसेन्स लिए । दृष्टिविहीनले पाएको लाइसेन्स, उनको तस्बिर र प्राप्त सबै सामग्री लिएर कौशल काठमाडौं आए । ‘अन्धालाई लाइसेन्स’ शीर्षकमा समाचार छापियो । एसएसपीसहित ६४ जनालाई कारबाही भयो । कौशललाई प्रहरीले नै ‘थ्रेट’ दियो । ‘यस्तोलाई मार्नुपर्छ, हैन भने हामी सबै पुलिसको जागिर जान्छ’ भन्दै प्रहरी उच्च अधिकारीले बोलेको कुरा नै बाहिर आयो । कौशललाई एक वर्षसम्म काठमाडौं राखियो ।

अहिलेको पत्रकारिता

अहिले भइरहेको पत्रकारिताप्रति हस्त सन्तुष्ट छैनन् । पत्रकारिताभन्दा पनि बजारकारिता बढी भएको उनको टिप्पणी छ । शब्दले पत्रकारिता हुँदैन, ‘एक्सन’ चाहिन्छ । ‘एक्सन’ पत्रकारिता एक जनाले हुँदैन, त्यसका लागि समूह, समय र लगानी चाहिन्छ । यस्तोमा लगानी गर्न मालिकहरू हिच्किचाउने उनको अनुभव छ । अहिले आफ्ना पाठकलाई पत्रकारहरूले मीठो शब्दजालमा फसाइरहेको बताउने हस्त मिडियामा शक्तिको अभ्यास गर्न सक्ने सम्पादक नभएसम्म ‘एक्सन’ पत्रकारिता नहुने बताउँछन् । “रिपोर्टर रिपोर्टिङमा जानुअघि उसलाई आइपर्ने चुनौतीको पूर्वानुमान गरेर सुरक्षाको प्रबन्ध मिलाउन सक्ने पत्रकार मात्रै सम्पादकका लागि योग्य हुन्छ,” उनी भन्छन्, “विश्वमा पहिले यल्लो जर्नालिजम थियो । पाठकले विश्वास गुमाएपछि किलर जर्नालिजम शुरु भयो । अहिलेसम्म त्यस्तै छ ।”

जबसम्म सम्पादकलाई काम दिने रिपोर्टर हुँदैनन् र रिपोर्टरको समाचार ढुक्क भएर छाप्नसक्ने कुर्सी सम्पादकले पाउँदैनन्, तबसम्म नेपाली पत्रकारिता परिणाममुखी नहुने उनी बताउँछन् । समाचार कक्षमा लगानीकर्ताको नेतृत्व भएसम्म नागरिकका पक्षमा पत्रकारिता हुँदैन भन्ने हस्त मिसन बोकेका सम्पादक नजन्मिएसम्म मिसनसहितको पत्रकारिता नहुने ठान्छन् ।

“बैरीको पनि मन जितेर सूचना ल्याउन सक्नुपर्छ । नेपालमा पत्रकारलाई विश्वास नगर्नु र सूचना नदिनुमा मिसनबिनाको पत्रकारिता हुनु नै हो,” हस्त भन्छन्, “उद्देश्य नै नभएको पत्रकार र पत्रकारितालाई कसले विश्वास गर्छ ?”

“पुरातात्विक सम्पदाको पुनर्निर्माणका क्रममा अहिले स्थानीयलाई पाखा लगाएर पुनर्निर्माण प्राधिकरण, पुरातत्व विभाग र ठेकेदारले बनाउन लागिरहेका छन् । जबसम्म ती सम्पदामा स्थानीयको अपनत्व हुँदैन, तबसम्म ती निर्माण भए पनि तिनको दिगो व्यवस्थापन हुँदैन । स्थानीयले हामी आफैं बनाउँछौं भनेर भनिरहेका पनि छन् तर किन उनीहरूलाई पाखा लगाइँदैछ ? यसका पछाडि कारण के हो ? किन पत्रकारले खोजेर लेख्दैनन् ? के यसको जवाफ दिने काम पत्रकारका होइन ?” उनी भन्छन्, “पत्रकारिता एक्लैले हुँदैन, मिसनबिनाको पत्रकारिता सफल पनि हुँदैन । यसका लागि जनशक्ति, समय र लगानी चाहिन्छ । त्योभन्दा पनि ठूलो त इच्छाशक्ति र धैर्य चाहिन्छ ।”
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन ५, २०७५  ०८:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC