नेपाली रजतपटमा अभिनेता दयाहाङ राईको प्रवेश ‘दासढुङ्गा’बाट भयो । यो चलचित्रले उनलाई रजतपटभित्र सम्भावना बोकेका कलाकारको रूपमा चिनायो । ‘लुट’ले आम दर्शकमाझ चिनायो । ‘कबड्डी’सम्म आइपुग्दा उनको स्टारडम बिक्ने भइसकेको थियो । उनको अनुहारमात्रै देखाए पनि चलचित्र चल्छन् भन्ने निर्माता तथा निर्देशकले उनलाई आफ्ना चलचित्रमा लिन तँछाडमछाड गर्न थाले । डेढ दशकको सेतो पर्दा र त्यसअघिको थियटर यात्राको अनुभव, अभिनय कौशलले उनलाई तिखार्दै लगे । दयाहाङअभिनीत चलचित्रले अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा नेपाली सहभागिताको ढोका खोल्यो । अहिले पनि उनका चलचित्र निरन्तर आइरहेकै छन् तर बक्स–अफिसमा त्यति राम्रो उपस्थिति छैन । के नेपाली दर्शकले उनको विकल्प खोज्न थालेका हुन् ? के कारणले कमजोर चलचित्र बने, जसका कारण सेतो पर्दाको यात्रा बलियो हुन सकेन ? यी र यस्तै प्रश्न अभिनेता दयाहाङसँग ‘बाह्रखरी’कर्मी नरेश फुयाँलले गरेका छन्—
दर्शक भएर हेर्दा तपाईंले कलाकार दयाहाङ राईलाई १० मा कति अंक दिनुहुन्छ ?
नम्बर कसरी भन्न सक्छु र म ! म दर्शकमात्रै होइन, कलाकार पनि हुँ । अभिनयको विद्यार्थी पनि भएकाले जुनसुकै अवस्थाबाट हेर्दा पनि जिरोबाटै शुरु हुन्छ । त्यसैले म अंकमा राख्न सक्दिनँ, जिरो ।
यो प्रश्न किन शुरुमै गरिएको हो भने तपाईंको शुरुवाती चमक अहिले खिइँदै गएको आरोप लाग्ने गरेको छ । तपाईंलाई नयाँ राजेश हमाल पनि भन्ने गरिन्छ । राजेश हमाल आफैंले औपचारिक रूपमै भनेका छन् कि सयौं फिल्म खेलेर पनि सम्झिरहने फिल्मको नाम लिनुपर्दा केही छैन । तपाईं पनि त्यही बाटोमा हिँड्नुभएको आरोपमा कति सत्यता छ ?
संख्यात्मक हिसाबले हेर्दाचाँहि सत्य पनि होला । किनभने मैले धेरै चलचित्रमा काम गरिसकेको छु । करिब १६ वर्षको यो अवधिमा मैले कति चलचित्रमा काम गरें भनेर हिसाब गर्दा ३५ वटा रहेछन् । १६ वर्षलाई हेर्दा त त्यस्तो धेरै पनि होइन । तर, कुनै वर्ष धेरै पनि आए होला, कुनै समय लामै ग्याप पनि भयो होला । संख्या कति भन्दा पनि प्रकारमा भर पर्छ होला ।
मैले योबीचमा कुन–कुन र कस्ता–कस्ता प्रकारका चलचित्र खेलें भन्ने कुराले अर्थ राख्छ ।
तपाईं धेरै चलचित्रमा अभिनय गर्नुको कारण बाँच्न नै हो भन्नुहुन्छ, प्रस्ताव आएजतिका फिल्ममा आँखा चिम्लेर हामफाल्नुमा त्यही अवस्थाले काम गरेको हो ?
सत्य भन्नु पर्दा मलाई अफर आएका मध्ये ७–१० प्रतिशतमात्रै चलचित्रमा अभिनय गर्छु । तीमध्ये सबैभन्दा मन परेका चलचित्रमात्रै गर्छु । कुनै बेला आफूलाई आर्थिक रूपमा ब्यालेन्स गर्नु पनि पर्यो होला तर त्यस्तो अवस्थामा पनि मैले छानेर मात्रै काम गरेको छु ।
यसको अर्थ पारिश्रमिक कम छ, त्यसैले पनि अभिनेताहरूले चलचित्रको संख्या बढाइरहेका छन् भन्न मिल्छ ?
पारिश्रमिककै आधारमा मैले चलचित्र खेलें भन्ने लाग्दैन । मेरो पारिश्रमिक यति हो र यतिबिना खेल्दिनँ भनेर पनि कहिल्यै भनिनँ ।
पारिश्रमिकमा सौदाबाजी गर्न नसक्नु तपाईंको कमजोरी हो ?
पारिश्रमिकमा कसरी बार्गेनिङ गर्नू । के आधारमा गर्नू ?
कामका आधारमा पारिश्रमिक माग्न सकिँदैन ?
पैसाले मात्रै काम राम्रो हुँदैन । पैसाले काम राम्रो हुने भए मलाई एक करोड रुपैयाँ दिनुस्, म शतप्रतिशत दिन्छु भन्न सकिहालिन्थ्यो नि ! कामको गुणस्तर पैसाले दिन सकिने कुरा होइन ।
‘दासढुंगा, ‘लुट’ र ‘कबड्डी’मा बाहेक तपाईंको उल्लेखनीय काम खासै देख्न पाइएन । होइन र ?
त्यसो भए तपार्ईंले गलत बुझ्नु भयो ।
तपाईंलाई आफूले गजब काम गरे पनि त्यसले सफलता नपाएको भनी लाग्ने चलचित्र कुन/कुन हुन् त ?
‘हाइवे’, ‘साँघुरो’, ‘तान्द्रो’, ‘ह्वाइट सन’ । यी चलचित्र मलाई मन परे पनि बजारमा राम्रो चलेनन्, व्यापारिक हिसाबले । तर, यी दुबै चलचित्रले थुप्रै अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलको यात्रा गरे र टाइटल पनि जिते ।
तपाईंका उल्लेखनीय ३ फिल्मबाहेक अरु सबैजसो पिटिए । समस्या केमा थियो ? तपाईंको काममा कि निर्देशक र लेखकको काममा ? वा दर्शकमा ?
दर्शकमा भन्ने कुरामा म सहमत छैन । यो बजारको कुरा भयो । बजारले मन पराएका तर मैले नखेलेका अरु चलचित्र पनि धेरै होलान् । हिट सिनेमा सबै राम्रा हुन्छन् भन्ने मान्यता राख्दिनँ म । पहिलो कुरा पर्फेक्ट चलचित्र बनेकै छैनन् ।
किन बन्न सकेनन् ?
हामीसँग केही न केहीको प्रभाव अझै पनि छ । अघिल्लो चरणको कुरा गर्दा हामीसँग प्राविधिक पक्षको अभाव छ भनिन्थ्यो, अब त्यो पनि कुरा रहेन । पछिल्लो समय हाम्रो पहुँच विश्व चलचित्रमा पुग्यो । विश्व चलचित्र बजारमा पुगेपछि कतै न कतै हामीलाई मनपर्ने चलचित्रबाट प्रभावित भयौं । त्यसमा काम गर्न थाल्यौं तर पनि हाम्रो आफ्नै कथा, आफ्नै चरित्र, आफ्नै शैलीचाहिँ खोज्न सकेनौं । पछिल्लो समय केही चलचित्र आफ्नै माटोअनुसारका निर्माण गर्न थालेका छौं । तर, कथा भन्ने आफ्नै अब्बल शैली निर्माण गर्न सकेका छैनौं । केहीले प्रयास गर्नुभएको छ । तर, त्यसलाई पनि राम्रो तरिकाले हेरिएको छैन कि ! त्यसलाई पनि राम्रो तरिकाले हेरिनुपर्छ भन्ने लागेको छ । त्योचाँहि दर्शकले होइन, तपाईं (पत्रकार)हरूले हेरेर भनिदिनुपर्छ । आफ्नै आँखाअगााडि देखेको चरित्रमा दर्शकले विश्वास गर्न सक्छन् तर कथा भन्ने शैली हामीमा विभिन्न छन् । हाम्रा आफ्नै संस्कृति छन्, ती संस्कृतिको नजिक रहेर शैली निर्माण गर्न सकिन्छ, त्यसलाई पनि केही निर्देशकले प्रयोग गरिरहनुभएको छ तर त्यो दर्शकसामु जोडिन सकेको छैन । निर्माणको खोजी हो । त्यसमा दर्शकले विश्वास नगर्न सक्छन् । त्यसमाथि बहस हुनु जरुरी छ ।
फिल्ममा अनुबन्धित हुनुअघि तपाईंले सबैभन्दा पहिले कुन पक्ष हेर्नुहुन्छ ? निर्देशक, ब्यानर, कथा, चरित्र वा पारिश्रमिक ? तपाईंले बढीजसो काम गर्ने निर्देशक र ब्यानरप्रति तपाईं आँखा चिम्लेर हामफाल्नुहुन्छ भन्ने टिप्पणी चलिरहन्छ । हो ?
सत्य होइन । मेरो पहिलो शर्त भनेकै कथा हो । म शतप्रतिशत सहमत भएका धेरै कथा छैनन् । तर, पनि कथा मन प¥यो भने यसलाई यसरी गरौं न त भन्ने हुन्छ । त्यो कथालाई भन्न सक्ने निर्देशकमा क्षमता कति छ, मूल कथालाई चलचित्रमा उतार्ने क्षमता निर्मातामा कति छ भन्ने हेर्छु । त्यसपछि मात्रै अरू पक्ष हेरिन्छ ।
कुनै समय चल्तीका कलाकार कालान्तरमा हराएर गए । कारण थियो, उनीहरूको हिरोइक शारीरिक बनोट र अन्दाज उमेरसँगै मुर्झाउँदै गयो । ठीक त्यतिबेला अनुहार ठीकठाक हुने थिएटरका कलाकारको उदय भयो । तपाईंहरूजस्ता कलाकारको वर्चश्व भयो । तर, अहिले फेरि पुरानै प्रवृत्ति दोहोरिन थालेको आभास हुन्छ । दयाहाङ राई, सौगात मल्लको फिल्मी करिअर ओरालो लाग्दै गरेको र अनमोल केसी, प्रदीप खड्का, पल शाहजस्ता चिटिक्कका कलाकारको स्टारडम बढ्दै गरेको । यो कस्तो खाले परिवर्तन हो ? कि हाम्रो दृष्टिभ्रममात्रै हो ?
यो कुरा त म मान्दिनँ । सबैसँग आ—आफ्नै विशेषता हुन्छन् । मसँग भएका गुण अरूसँग नहुन सक्छन् भने अरूसँग भएका गुण मसँग नहुन सक्छन् । कुनै समय मेरा चलचित्र राम्रा भए होला, केहीले नयाँ माहोल सिर्जना गरे होलान् । आम मान्छेले नयाँ–नयाँ स्वाद खोज्छ । एउटै अनुहार रेगुलर आउँदा विरक्त पनि लाग्यो होला । नयाँ–नयाँ टेस्ट लिन खोज्नु नौलो कुरा होइन ।
नेपाली फिल्मका मूलभूत समस्या १, २, ३ गरेर भनिदिनुस् न । समस्या कहाँनेर छ ?
पहिलो त सोच नै मुख्य कुरा हो । राज्ले चलचित्रलाई कसरी हेरिरहेको छ भन्ने कुराले पनि ठूलो अर्थ राख्छ । चलचित्रमैत्री नीति छ कि छैन भन्नेले महत्वपूर्ण भूमिका खेल्छ । अर्को कुरा— मैले माथि भनेजस्तो सोचको कुरा आउँछ । चलचित्र मेकरले ‘म आफ्नो चलचित्र अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउँछु’ भन्ने उद्देश्य राख्नुपर्छ । चलचित्र केका लागि बनाउँदैछु भन्ने कुरा पनि स्पष्ट हुनुपर्छ । अर्को पक्ष— हामीसँग फिल्म कल्चर छैन ।
नेपालमा केका लागि चलचित्र निर्माण भइरहेका छन् त ?
मनोरञ्जनबाहेक अन्य केहीमा पनि ध्यान छैन निर्माताको । अधिकांश निर्माताले मनोरञ्जनका लागि मात्रै चलचित्र निर्माण गरिरहनुभएको छ ।
यो गलत ट्रेन्ड हो कि सही ?
गलत हो । चलचित्रले समयलाई देखाउने हो । समय भनेको जहाँ चलचित्र निर्माण भइरहेको छ, त्यो समाज, देश, कला, साहित्य, संस्कृति, चेतनालाई भन्ने हो तर नेपालमा त्यो भइरहेको छैन ।
हामी पहिले प्रविधिलाई दोष दिएर उम्किन्थ्यौं । कथा राम्रो भएर पनि प्रविधिकै कारण पर्दामा परिस्कृत रूपमा देखाउन सकिएन भन्दै बस्थ्यौं । अहिले त प्रविधि पनि उन्नत आइसक्यो । कथा पनि मौलिक उठान भइरहेका छन् । र, पनि वर्षमा ८÷१० वटाबाहेक अरू फिल्मले पानी पनि पाउन सकिरहेका छैनन् । अब दोष केलाई दिने ?
मेकरको सोच र चलचित्र भन्ने शैली सबैभन्दा मुख्य कुरा हुन् । प्रविधि हामीसँग छैन भनेर अब उम्किने समय छैन । तर, प्रविधिले मात्रै पनि राम्रा चलचित्र बन्दैनन् भन्ने देखिसकियो । प्रविधिमात्रै सबै कुरा भए सेक्सपियर र देवकोटाका पालामा भन्दा अहिले राम्रा पेन र कपी होलान् नि, त्योभन्दा राम्रो साहित्य अहिले देखिन्थ्यो होला !
नेपाली मेकर नाफा कमाउने मात्रै सपना देखेर यो क्षेत्रमा आइरहनुभएको छ, यो सोचमा फिल्टर हुनुपर्छ ।
हलिउड कलाकार विल स्मिथ भन्ने गर्छन्, “पहिले एउटा आफ्नो रहरको फिल्म खेल । त्यसपछि पैसा कमाउने फिल्म खेल । अनि त्यसपछि पैसा जम्मा भयो भने फेरि आफ्नो रहरको फिल्म खेल ।” तपाईंले आफ्नो रहरको फिल्म कहिले खेल्नुहुन्छ अब ?
मैले रहर लागेका चलचित्रमा पनि काम गरें र पैसाका लागि पनि काम गरें । म आफैंले आफूलाई प्रशंसा गर्नु पक्कै पनि राम्रो हुँदैन । मैले चलचित्रमा आएर के गरें र मेरो योगदान के हो भनेर कहिलेकाहीँ घोत्लिँदा सोच्छु । त्यो बेला मैले केही कुरा पाउँछु, मैले गरेँ भन्ने खालको । तर, मैलेमात्रै गरेको भने होइन । चलचित्र भनेको टिमवर्क हो । समग्र टिमले गर्यो ।
शुरुमा रहरले चलचित्र गरें होला । ‘लुट’मा आउँदा आफ्नो कथा र चरित्र भन्ने प्रयास गरियो । ‘कबड्डी’ आइपुग्दा दूरदराजका गाउँमा पनि कथा हुँदारहेछन् भन्ने जानकारी दिइयो । ‘हाइवे’ले पहिलोपटक नेपाली चलचित्रका लागि अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलको ढोका खोलिदियो । ‘तान्द्रो’ पनि अन्तर्राष्ट्रिय फिल्म फेस्टिबल घुम्यो । ‘ह्वाइट सन’ले त धेरै अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलबाट टाइटल नै जित्यो । ‘साँघुरो’ सबटाइटलमा लन्डनको टेलिभिजनबाटै प्रसारण भयो । यी चलचित्रसम्म आइपुग्दा नेपाली चलचित्रले ठूलो फड्को मारेको छ । भलै गर्न अझै धेरै बाँकी छ । सन्तुष्टिका हिसाबले गन्दा पनि ३५ वटा चलचित्र गर्दा ७ वटा त राम्रा रहेछन् नि ! बीचमा मैले आफ्नो स्किल विकास गर्न र आर्थिक रूपमा सुरक्षित हुनका लागि पनि केही चलचित्रमा काम गरें । ‘लुट’ र ‘कबड्डी’ले डायस्पोरा मार्केट खुला गरिदियो । यी चलचित्रपछि अरू पनि अन्तर्राष्ट्रिय बजारमा जान थाले । मैले सिनेमा धेरै गरेर बिगारेको पनि रहेनछु, कहिलेकाहीँ काम गर्दागर्दै हामीले र नेपाली बजारले सोचेजस्तो चलचित्र बन्न सकेनन् होला । तर, यो राम्रो चलचित्र होइन भन्न त पाइएन नि ! ‘तान्द्रो’, ‘ह्वाइट सन’, ‘साँघुरो’ हाम्रो बजारमा व्यावसायिक रूपमे राम्रा मानिएनन् । के त्यसो भए ती चलचित्रलाई नराम्रो भन्ने त ?
तपाईंले निर्माताको सोच पनि राम्रो चलचित्र नबन्नुको एउटा कारण हो भन्नुभयो । तपाईं आफैं पनि अब मेकिङमा आएर भनेजस्तो चलचित्र बनाउने सम्भावना होला कि नहोला ?
त्यो सम्भावना छ । कहिले, म भन्न सक्दिनँ । किनभने मैले सोचेजस्तो कथा पनि हुनुपर्छ । सँगै चलचित्रको क्याप्टेन भनेको निर्देशक हो । अभिनेता त माध्यममात्रै हुन् । ऊसँग पनि सोच मिल्नुपर्छ । पैसा कमाउनकै लागि त मैले अभिनय गरेर नै कमाइरहेको छु, मैले भनेजस्तो चलचित्र बनाउने हो भने मैले खोजेजस्तो, मलाई भन्न मन लागेको कथा पनि भेट्टाउनुपर्छ ।
अहिले नेपाली चलचित्र नेपाली भएका ठाउँमा मात्र देखाइन्छ । यसलाई नेपाली चलचित्रले विश्वबजार पाए भन्न मिल्छ ?
मिल्दैन । शो बुक गरेर नेपाली दर्शकलाई देखाइन्छ । केही प्रतिशत (चलचित्रका विद्यार्थी, केही साथीहरू) आएर हेर्लान्, त्यो फरक कुरा भयो । अझै पनि नेपाली दर्शकलाई लै लक्षित गरिएको छ ।