site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
\'जदौ\' यज्ञनिधि !
Sarbottam CementSarbottam Cement

– नरेश फुयाँल


(दशकौं रेडियोको तरंगमा गुञ्जिएका दाहाल यज्ञनिधिको शुक्रबार साँझ निधन भएको छ । २०५७ सालमा मृगौला फेल भएपछि डायलाइसिस गर्दै आएका दाहालले काठमाडौंको अन्नपूर्ण न्युरो अस्पतालमा अन्तिम सास फेरे । 'बाह्रखरी' परिवार उनीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । उनीबारे ०७३ माघ १ गते प्रकाशित सामग्री पुन: प्रस्तुत गरेका छौं- सं.)

‘रिटिङ रिटिङ बज्यो बिनायो, खुल्यो साहित्य सञ्चारको दैलो । स्रोता ! आजका लागि पूर्व र पश्चिम, उत्तर र दक्षिण सबैतिर हामी दिशा चहार्दैछौं, हेर्दैछौं, आउँदैछौं, जाँदैछौं । हिजोका दिन हिजै गए, आजका दिन आज आए, भोलिका दिन कस्ता आउने हुन् । शुभ प्रभात ल !’

Prabhu Bank
Agni Group
NIC Asia

दाहाल यज्ञनिधिका यी शब्द र आफ्नै भिन्न प्रस्तुतीकरणसहितको ध्वनि राष्ट्रिय सञ्चार रेडियो नेपालमा करिब ३० वर्ष गुञ्जियो । आज त्यो आवाज रेडियोमा सुनिँदैन । स्रोतालाई दाहाल यज्ञनिधिको त्यो आवाजको तिर्खा छ । तर, त्यो ओजपूर्ण अवाजको प्यास मेटाइदिने र खोजपूर्ण सामग्री दिने मान्छे कोही भेटिएन उनीजत्तिको ।

यज्ञनिधिजस्तो खरो र झर्रो बोल्ने रेडियोमा कोही थिएन । त्यसैले उनको जागिर पटक–पटक गयो रेडियो नेपालमा । दाउपेच र छद्मवेषमा आँखा उघार्दा रामनाम, आँखा चिम्लिँदा तथानाम गर्नेहरूको भीडमा सत्य उद्घाटित गर्दा उनले त्यसको उपहारस्वरूप नसिहत पाए । उनी त्यसलाई स्वीकार्न तयार थिएनन् । तर, पटक–पटक सहे ।

Global Ime bank

० ० ०

पूर्वी नेपालको माझ किराँत खोटाङमा जन्मिएका यज्ञनिधिको विशेषता भन्नु नै इमान हो, जसलाई उनले कहिल्यै लिलाम गरेनन् । त्यसैले त उनी सबैका अगाडि ठाडो शिर गरेर बोल्छन् । आँखा जुधाउनलाई इमान चाहिन्छ, बोल्नलाई अध्ययन चाहिन्छ अनि चुनौती मोल्नलाई आँट चाहिन्छ । यी तीन कुराका प्रतिविम्ब हुन् यज्ञनिधि ।

दरबार हाइस्कुलमा २७ वर्ष विद्यार्थीलाई आफ्नो ज्ञान बाँडेका उनले २४ वर्ष कर्रा पढाए । तीन वर्ष स्वास्थ्य अवस्थाले पढाउन सकेनन् । उनलाई त्यहाँ पनि दुःख दिने काम नभएको होइन तर उनी कहिल्यै झुकेनन् । झुक्नलाई इमान हल्लिएको हुनुपर्छ । उनको हाजिरमा हेडमास्टर रातो चिन्ह लगाउन खोज्थे । यज्ञनिधि भन्थे, "मैले विद्यार्थीलाई ठगेको छैन । मेरा न्यायाधीश विद्यार्थी हुन्, हेरौं तपाईंको रातो मसीको चिन्हले के गर्दोरहेछ । महिना बितेका दिन तलब आएन भने कसरी कहाँबाट लिनुपर्छ, मलाई राम्रैसँग थाहा छ । म पनि माझ किराँतबाट आएको बाहुन हुँ ।"

० ० ०

यज्ञनिधिको सपना थिएन रेडियोमा गुञ्जिने । समयक्रमले उनलाई रेडियोमा पुऱ्यायो । तत्कालीन पञ्चायती शासनले रेडियोतर्फ धकेलेको थियो उनलाई ।

कुनै दिन थियो उनी लोकसेवाको फर्म च्यापेर चिसो कोठामा आए । टुप्पी कसेर पढी सरकारी अधिकारी हुने सपना देखे । आफूमा भएको सूचनाको संग्रह र गर्न सक्ने मेहनतलाई मूल्यांकन गर्दा उनलाई अधिकृत हुन्छु भन्ने आत्मविश्वास पनि थियो ।

पञ्चायती शासकको जगजगी थियो । जनता उठ भन्दा उठ्ने, बस भन्दा बस्ने अवस्थामा थिए । उनलाई यो पटक्कै मन परेको थिएन । उनकै शब्दमा 'लोकसेवा नामको शाही सेवा आयोग' मार्फत सरकारी अड्डामा छिरेर पञ्चहरूको इशारामा नाच्न उनको दह्रो स्वाभिमानले दिएन । त्यसैले उनले लोकसेवाको फर्म च्याते । विद्यालयबाट शिक्षामार्फत विद्यार्थीमा चेतना भर्ने र रेडियोमार्फत असल नागरिकको बोली जनतासामु पु¥याउने अठोट कसे ।

वैचारिक हिसाबले सरल नागरिकका रूपमा बाँच्न निकै मुस्किल थियो । उनलाई समकालीनसँगै हुर्केबढेका र सँगै पढेकाहरूले नै दुःख दिए । उनको हातमा संस्कृतको डिग्री थियो । त्यसको मतलब उनले कि जजमानी गर्नुपर्ने थियो या स्कुल/कलेजमा (दरबन्दी भेटिए) पढाउने । तर, पढाउन त्यति सजिलो थिएन । कुनै पञ्चको गोडा मोल्नुपर्थ्यो । त्यो समय यज्ञनिधि रेडियो तथा अन्य ठाउँका नाटक तथा कवितामा भाग लिन्थे ।

भीमनिधि तिवारीकी जेठी छोरी बेञ्जु शर्मा रेडियो नेपालमा कार्यक्रम चलाउँथिन् । उनी कवि पनि थिइन् । उनले रेडियो नेपाल छोडिन् । उनको ठाउँ खाली भयो । बेञ्जुकै मितिनी आइन् । अर्थशास्त्र पढेकी प्रभाले कार्यक्रम चलाएको सुहाएन । हरिहर शर्मा आए । उनलाई विजय मल्ल र सञ्चारमन्त्री हरिबहादुर बस्नेतले थेगेका थिए । प्रज्ञा प्रतिष्ठानमा स्थायी भएर कलाकारको रूपमा काम गरिरहेका शर्माको आवाज पनि रेडियोका लागि उति जचेन ।

रेडियो नेपालले शाखा अधिकृतको दरबन्दीमा जागिर खुलाएको थियो । ३० प्रतिस्पर्धी थिए । जतिसुकै राम्रो स्वर भए पनि रेडियो नेपालको गेट छिर्न दह्रै 'चुक्लीबाज' चाहिन्थ्यो ।

यो थाहा पाएका यज्ञनिधि सञ्चारमन्त्री हरिबहादुर बस्नेतलाई भेट्न गए र भने, "म कांग्रेस हुँ । बनारस रिक्सा चलाउन जान सक्दिनँ । मलाई कतै ठाउँ दिनुस् । हैन भने यहाँ मैले बम पड्काउन नपरोस् ।"

मन्त्रीसँगको भेटपछि यज्ञनिधि ०३४ कात्तिक ११ गते रेडियो नेपाल छिरे । नाटक खेलिसकेका उनलाई बोल्नमा हिचकिचाहट थिएन । १५ मिनेटको समय थियो कार्यक्रमको । आफू बोल्न थालेपछि स्रोताले रेडियो बन्द नगरून् भन्ने मनशायले उनी स्टुडियो छिरे । छन्दमा लेखिएका कविता लय हालेर पढ्न सक्ने क्षमता थियो उनमा । लेखनाथका कविता लय हालेर पढे ।

बेञ्जु शर्मा छन्दका कविता पढ्दिनथिइन् । स्रोताले यज्ञनिधिलाई मन पराए । पहिलो दिनको कार्यक्रम सकिएपछि उनलाई दोस्रो दिनको हुटहुटी सुरु हुन्थ्यो । त्यो बेला उनले चलाउने कार्यक्रमको नाम 'साहित्यिक' थियो । करिब एक वर्षपछि उनले नाम परिवर्तन गरेर 'साहित्य सञ्चार' बनाए । यो कार्यक्रम उनले २२ वर्ष चलाए ।

भोग्यप्रसाद शाह रेडियो नेपालका कार्यकारी निर्देशक थिए । मनमा प्रजातन्त्रप्रति इच्छा भएका तर पञ्चको इशारामा जागिर खाएका हुनाले पनि उनले यज्ञनिधिको जागिर पटक–पटक थेगिदिए । 'अराष्ट्रिय तत्व' भन्दै विभिन्न अभियोग लगाएर यज्ञनिधिलाई रेडियो प्रशासनले निकाल्न खोज्थ्यो । तर, भोग्यप्रसादले भने उनको जागिर थामिदिन्थे ।

० ० ०

'हाम्रो संस्कृति हाम्रो परम्परा' भन्ने कार्यक्रम चलिरहेको थियो । पाण्डव सुनुवार र हिरण्य भोजपुरे प्रस्तोता थिए । नामअनुसारको कार्यक्रममा दम थिएन । हिरण्यले जागिरको सरुवा लिएर काठमाडौं छोडे ।

यज्ञनिधिले पाण्डवलाई भने, "यो अलपत्र परेको कार्यक्रमलाई न्याय गर्नेगरी अध्ययन गरेर चलाउँछु ।"

उनलाई जातजाति, भाषा, संस्कृति, भेष र देवी–देउराली अध्ययन गर्न पाउने लोभ थियो । ‘जहाँ ढुंगा ढुंगामा देवताको बास छ...’ भन्ने गीत सुनेका यज्ञनिधिले कस्ता ढुंगामा कस्ता देवता छन् भन्ने पढ्नु थियो । छाँगा छहरा र तरेलीका कथा खोज्नु थियो । सँगै पञ्चायतले संस्कृति चलाउन भने रोक लगाउँदैन भनेर सुरु गरेको कार्यक्रम उनले १८ वर्ष चलाए । 'हाम्रो संस्कृति हाम्रो परम्परा' रेडियो नेपालकै लोकप्रिय कार्यक्रमको रूपमा दरियो ।

उनले अर्को पनि कार्यक्रम चलाए रेडियो नेपालमा । नाम थियो, 'समाजको मझेरीमा साहित्य' । समय संघर्षको थियो । द्वन्द्व उत्कर्षमा थियो । दरबारलाई कसरी ढाल्ने भन्ने राजनीतिक दलमा चिन्ता थियो । नेताहरू विकल्पसहितका उपायहरू खोजिरहेका थिए । सकेसम्मको सहयोग सबै क्षेत्र र व्यक्तिबाट लिइरहेका थिए ।

अनेक दाउपेचमा परेर उनले रेडियो नेपाल छाडे । सञ्चार मन्त्रालयका सचिव शंकर कोइरालाले उनलाई फोन गरेर भने, "मलाई कसैले अह्राएको हैन, मैले मेरै मनले भन्दैछु, तपाईं रेडियो नेपाल फर्किनुस् ।"

तीन दशक सरकारी कर्मचारीको नाडी समाएर अंगार भएका यज्ञनिधिले उनका नाइके कांग्रेस नेता दिलेन्द्रप्रसाद बडू रहेको थाहा पाए । बडूलाई पत्रकार महासंघका तत्कालीन सभापति विष्णु निष्ठुरीले यज्ञनिधिलाई रेडियोमा फर्काउन सुझाव दिएका रहेछन् । बडूलाई उनले नजिकबाट चिनेका थिएनन् ।

सीआईडी कांग्रेस, चैते कांग्रेस, काला कांग्रेस र कांग्रेसभित्र खेलेर कांग्रेसलाई मार्ने दरबारका सीआईडी कांगे्रस थुप्रै देखेका यज्ञनिधिलाई लाग्यो– कुरा ठाउँमै गर्नुपर्छ । यज्ञनिधि पुगे कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको घरमा ।

गिरिजाप्रसादलाई उनी बौद्धिक होइन, लडाकु नेता मान्थे । मन परे उचालेर माथि पु¥याउने, रिस उठे गुन्द्रुक कोचेझैं कोचेर फालिदिने स्वभावका गिरिजालाई तेस्रो पटक भेट्न गए उनी ।

यज्ञनिधि किड्नी फेल भएर वीर हस्पिटलको शय्यामा सुतेका बेला अस्पताल पुगेर गिरिजाले उनकी श्रीमतीलाई ढाड थप्थपाउँदै 'यसलाई केही परे मलाई भन्नू, यसको बाउ म हुँ' भनेको बिर्सिएका रहेनछन् ।

अदबका साथ गिरिजासामु पुग्ने यज्ञनिधिलाई थोरै डर भने लाग्थ्यो । तर, दिव्या कोइरालाको छोराको नाताले भने यज्ञनिधि बोल्न हिच्किचाउँदैनथे ।

उनले भने, "परिस्थिथिति यहाँ आइपुग्यो गिरिजाबाबु, तपाईंले पनि बेबी किङ भनिसक्नुभएको थियो तर अब तपाईंले पनि अब यो राजदरबार जोगाएर जोगिनेवाला छैन । तपाईंले जोगाउने प्रत्यत्न गर्नुभयो भने तपाईंको राजनीति पनि मैले संकटमा देखेको छु । के गर्नुहुन्छ म जान्दिनँ, तपाईं के गर्नुहुन्छ भनेर पामर भाषा बोल्ने मेरो चलन पनि छैन । तपाईंको काम सुशील दाले गर्नुहुन्थ्यो । क्रान्तिको समयमा हामीलाई बोलाउनुभएको थियो । मैले के भनेको छु, उहाँलाई सोध्नुस् । हामी साहित्यकारहरूलाई तपाईंहरू के गरिरहनुभएको छ र छैन, त्यो पनि पढिरहेको छु । तर, मैले गरेको काम हो । म नेपालमा कहलिएको नागरिक छु र अहिले नागरिक आवाज दिने समय आएको छ, साहित्यकै शीर्षकबाट । म त्यो भाषा बोल्न जान्दछु । सजिलो भाषामा भन्दा म माओवादीको भाषा बोल्न जान्दछु । त्यो दिने हो र मैले पाउँछु भने जान्छु । हैन भने खाँचो छैन गिरिजाबाबु ।"

गिरिजाबाबुले आफूलाई दिएको जवाफ सुनाए, "तपाईं बौद्धिक नागरिक भएर, जिम्मेवार नागरिक भएर कसरी चल्नुपर्छ, चल्नुस् ।"

जवाफमा यज्ञनिधिले भने, "पछि आपत् आइलाग्यो भने मैले मान्नेवाला छैन, त्यही भएर आजै आएको हुँ ।"

गिरिजाबाबुले 'हुन्छ' भने ।

गिरिजाबाट यस्तो आश्वासन पाएपछि उनी रेडियो नेपाल गएर दरबारको खेदो खन्न थाले । अरु ‘यो पनि साहित्य हो र ?’ भन्थे । तर, यज्ञनिधि त्यही कृष्ण अविरलको 'रक्तकुण्ड' आफ्नो कार्यक्रममा प्रसारण गर्थे ।

०६३ कात्तिक १ बाट ०६५ असोजसम्म नेपाली आकाशमा तरंगित भएको कार्यक्रमको उद्देश्य थियो, दरबारको खेदो खनेर त्यसलाई ढाल्नु । उनले आफ्नो त्यो बेलाको रोगी शरीरमा पलाएको साहसलाई सम्झिँदै भने, "सकिएन भने बरु उसले मलाई मारोस् ।"

बिहान कोइरालाको शिविरमा चिया खाने, दिउँसो भट्टराईकोमा खाजा खाने र साँझ पञ्चेकोमा पुगेर उसको भजन गाउँदै दरबारको सीआईडी गर्नेबाट एकदिन यज्ञनिधिलाई सोधनी भएछ, "तिमीलाई त दरबारको सीआईडी भन्छन् नि ?"

सेतो छवि र उँचो इमानका लागि जिन्दगीभर पञ्चसँग संघर्ष गरेका यज्ञनिधिले भनेछन्, "जिन्दगीको सरल रेखामा सरल नागरिकता बोकेर हिँडेको मलाई सरल निष्कलंक जनता मार्ने सीआईडी भएको प्रमाणित गर, म आफैं टुँडीखेलमा पुगेर फाँसी चढ्छु ।"

० ० ०

दरिद्र सोच, दरिद्र अर्थतन्त्र र दरिद्र सामाजिक कुरीतिको मुस्लो कुइरोले ङ्याकेको जीवन उनले पनि जिए । खोटाङ दिक्तेलको बाहुन परिवारमा जन्मिएका यज्ञनिधि सानोमा भरिया बने । बेल्टार र धरानमा थुप्रै भारी बोके । 'बाहुनले हलो जोते जात जान्छ' भन्ने सामाजिक संस्कार थियो । बाध्यताबीच उनको परिवारसँग अरु विकल्प थिएन । बेल्टार झर्न तीन दिन लाग्थ्यो । धरान झर्न चार दिन । सप्तकोसी तर्न पाइन्छ भनेर पनि उनीहरू धरान पुग्थे । उनको ज्यानअनुसार बुवाले तामाको चोया काढेर ढाकर बुनिदिका थिए । उनी टेकान लगाएर आफ्नो तौलभन्दा गह्रुँगो भारी धरानबाट नौ दिनमा दिक्तेल पुर्‍याउँथे । एकपटक उनले १.२५ रुपैयाँ दाम पाए । भारी बोक्दा सबैभन्दा धेरै रकम बुझेको त्यही दिन थियो । त्यही पनि साहूले २५ पैसा भने खुसी भएर दिएको बक्सिस थियो । उनले बोकेको भारीको ज्याला भने १ रुपैयाँ थियो रे !

"त्यो भारी बोक्न पनि सोचेजस्तो सहज थिएन । दशौं दिन बाटोमा बस्नुपर्थ्यो," उनले सम्झिए, "बाटोमा अविजाल खुवाएर बेहोस बनाउँदै बोकेको सम्पत्ति लुट्थे, इन्द्रजाल पढेकाहरूले लठ्याएर भएभरको सुन र पैसा लग्थे । अविजाल खुवाएर ज्यान लिएका थुप्रै घटना म आफैंले देखेको छु ।"

दिक्तेलका सरकारी प्रशासनिक भवनमा प्रयोग भएका काठ यज्ञनिधि र उनका बुबाले पिठ्युँमा ठेला उठाएर बोकेका हुन् । "माओवादीले कति आगो लगाएर जलाइदिए भन्ने सुनेको छु, अझै पनि केही त बाँकी होलान् । म भने ०५३ देखि खोटाङ निस्किएकै छैन ।"

भारी बोक्दा उनलाई पढ्ने रहर जाग्थ्यो । स्वअध्ययन गरिरहेका थिए । संस्कृतका श्लोक पढिरहेका थिए । गाउँमा बसेर भरिया हुनुभन्दा सहरमा पसलमा लुगा च्यातेर पढ्छु भन्दै उनी ०२६ सालमा धरान झरे र कक्षा ७ मा पढ्न थाले । त्यही स्कुलिङले हो– आजको दाहाल यज्ञनिधिलाई जन्माएको । 

तस्बिरः डा. नवराज लम्सालको फेसबुकबाट

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २६, २०७५  ०८:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC