site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
रानीपोखरीमा पुरातत्वद्वारा प्रताप मल्लको दफन

ई. २०१५ अप्रिल २५ मा आएको महाभूकम्पले नेपालको धेरै सम्पदास्थल भत्किए । त्यसमध्ये मध्यकालीन राजा प्रताप मल्ल (ई. १६४१–७०)ले रानीपोखरीको बीचमा बनाएको अहिले बालगोपालेश्वर नामले प्रशिद्ध मन्दिर पनि भत्कियो । सो मन्दिर ई. १६६९ फेब्रुअरी (नेसं ७८९ माघशुक्ल १३)मा पोखरी खन्न सुरु गरेको पाँचौं वर्षमा ललितपुरका राजा श्रीनिवास मल्लको समुपस्थितिमा प्रतिष्ठा गरिएको थियो । मन्दिर प्रतिष्ठाको आठ महिनापछि ई. १६७०मा स्थापित शिलापत्रमा सो क्षेत्र “श्रीश्रीश्री परमेश्वर–परमेश्वरी ब्रह्मभूमि” भनिएको छ । सो मन्दिरमा नेपालीकलाको नौलो आविष्कार लक्ष्मी र पार्वतीको अर्धाङ्ग स्वरूपको हरिशङ्करी (झङ्केश्वरी) मूर्ति स्थापना गरिएको छ । 

प्रताप मल्लनिर्मित हरिशङ्करी मन्दिर स्थापनाको ५२ वर्षमा काठमाडौं आएका इटालीयन पादरी इप्पोलिटो डेसिडेरीले ई. १७२१ मा देखेर त्यसको बयान गरे – भव्य सिंढीमाथि अडिएको एउटा ठूलो स्तम्भ (ए टल कलम्न) पोखरीको बीचमा छ । स्थापनाको १७६ वर्षमा ई. १८४५ फेब्रुवरीमा प्रुसियाका राजकुमार वाल्डमर आउँदा उनका साथ आएका चित्रकारले त भोटाहिटी क्षेत्रबाट देखिने रानीपोखरीको भूदृश्य चित्रमा नै उतारे, जसमा हरिशङ्करी मन्दिर शिखर (ग्रन्थकूट) शैलीमा बनाएको स्पष्ट छ । सो मन्दिर ई. १८५०मा ब्रिटिस रेजिडेन्सी सर्जन ओल्डफिल्ड आउँदा देखेका थिए, जसलाई अर्को वर्ष प्राइममिनिस्टर जङ्गबहादुरले जीर्ण भयो, घाँसपात उम्रियो भनी भत्काई गुम्बज शैलीमा बनाए ।

पुरानो शिखर मन्दिर साह्रै सुरम्य वस्तु (भेरी पिक्चरस्कु अब्जेक्ट) बिगारी कुरुप (‘अग्ली’) मन्दिर बनाएकोमा ओल्डफिल्डले चित्त दुखाएका छन् । (स्केचेज फ्रम निपाल, भाग १ ई. १८८०, पृ. १११) जङ्गबहादुरको गुम्बज मन्दिर ८३ वर्षपछि ई. १९३४को महाभूकम्पले भत्क्यो र ई. १९३६तिर जुद्ध शमशेरले अर्को शैलीको गुम्बज मन्दिर बनाए जुन ई. २०१५को भूकम्पले भत्कियो र अहिले बनाउने क्रममा छ । 

Prabhu Bank
Agni Group
NIC Asia

पुरानो सम्पदा रानीपोखरीलाई आधुनिक सिमेन्टेड पोखरी बनाउन खोज्दा जनविरोध उभार भई आन्दोलन हुँदा गत सालको मन्त्रिपरिषद्ले सम्बन्धित निकाय पुरातत्व, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, काठमाडौं महानगरपालिकालाई सुझावको रूपमा कार्यादेश दियो –
“रानीपोखरीलाई प्रताप मल्लकालीन शैली, स्वरूप र निर्माण सामग्री प्रयोग गरी पुनःनिर्माण गर्ने सम्बन्धमा अध्ययन” गरी प्रतिवेदन पेस गर्ने ।

यस कार्यादेशलाई ११ सदस्यीय विज्ञ समिति २८ डिसेम्वरमा गठन भई मिटिङ बस्दा पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत रामबहादुर कुँवर र डिभिजनल इञ्जीनियर सम्पत घिमिरेले ठाडै अस्वीकार गरे । उनीहरुको तर्क छ – एउटा चित्रको भरमा “प्रताप मल्लकालीन शैली, स्वरुप”को मन्दिर बनाउन सकिँदैन । संयोजक विष्णु कार्की, पूर्वमहानिर्देशक, पुरातत्व विभागले कार्यादेश अनुसार बनाउन सकिन्छ वा सकिँदैन भनी तीन साता खोजी, उत्खनन कार्य गराए । त्यो गर्न सकिने र गर्नुपर्ने सुझावसहित विज्ञ समितिले २१ जनवरी २०१८ मा महानगरपालिकालाई प्रतिवेदन बुझाए । पुरातत्वका तीन प्रतिनिधि कुँवर, घिमिरे र स्ट्रक्चरल इञ्जीनियर पुरुषोत्तम डंगोलले त्यसमा सही गरेनन् ।

Global Ime bank

तिनीहरुले मौखिकरूपमा पोखरी निर्माण प्रक्रिया मान्ने तर मन्दिर शैली नमान्ने भए र सोही अनुरूप काम गर्दै आएको छ । यसमा सर्वोच्च अदालतले “मौलिक स्वरूप नबिग्रने गरी बनाउन” भनेकोलाई तिनीहरुले जुद्ध शमशेरको गुम्बज शैली हो भनी अर्थ लाएको छ र हौसिएको छ । मन्त्रिपरिषद्ले जस्तो “प्रताप मल्लकालीन शैली र स्वरूप” भनिदिएनन् । पुरातत्वका जागिरे पुरातत्व अधिकृतहरु सम्पदाको बदलिँदो स्वरुप पनि पुरातात्विक हुन्छ भनी सैद्धान्तिक कुरा तेस्र्याउँछन्, उनीहरुलाई प्रताप मल्लकालीन शिखर शैलीको मन्दिरको चित्र पाएको मतलब छैन । 

प्रताप मल्लको हरिशङ्करी÷बालगोपालेश्वर (राणाकालमा गौरीशङ्कर) मन्दिर तीन शैलीका पाइएका छन् – शिखर (ग्रन्थकूट), गुम्बज १, गुम्बज २ । मल्लकालीन छाने (पेगोडा) र स्तूप (चैत्य) शैली नेपालको राष्ट्रिय शैलीको रूपमा स्वीकार्य छ । तेस्रो शिखर शैली मल्लकालमा लोकप्रिय थियो । स्वयं प्रताप मल्लले स्वयम्भूमा प्रतापपुर, अनन्तपुर बनाई सो क्षेत्रको सौन्दर्य बढाएका छन् । ती मन्दिर पनि भूकम्पमा भत्किएकोमा पुरातत्व विभागले नै बनाई उद्घाटन गर्न तयारी गर्दैछ ।  

प्रताप मल्लको प्रिय शिखर वास्तु शैलीलाई जङ्गबहादुरले ई. १८५१मा गुम्बज शैलीले विस्थापित गरे, ई. १९३६मा फेरि जुद्ध शमशेरले अर्को गुम्बज शैलीले प्रताप मल्ललाई बिर्साइदिए । अब प्रताप मल्लको शैली र स्वरूपमा मन्दिर बनाउन सुनौलो अवसर पाएर पनि कुन्नि के स्वार्थले हो प्रताप मल्लको आत्मालाई रानीपोखरीको बीचमा पुरातत्व विभागले जुद्ध शमशेर शैलीको मन्दिरमुनि दफन गर्न लागेको छ । जुद्धको गुम्बज शैलीलाई फोटो प्राप्तिको आधारमा पाटनमा भाइदेगः र भक्तपुरमा फसिदेगः लाई मौलिक स्वरुपमा निर्माण गरिएको कुरा यहाँ स्मरणीय छ । काठमाडौं उपत्यकाको सभ्यतालाई चित्रमा कोर्न सिपालु कलाकार हरिप्रसाद शर्माले शिखर शैली मन्दिरसहितको रानीपोखरीको परिदृश्य कोरेकोलाई पनि जुद्ध शमशेरको गुम्बज शैली मन्दिर रानीपोखरीमा ठडिए खल्लो हुनेछ । (कान्तिपुर–कोसेली, २७ जनवरी २०१८)

रानीपोखरीको निर्माणको जिम्मा सेनालाई दिने कुरा सुनिएको छ । यो अर्को भूल हुन लागेको छ । वास्तवमा कुनै पनि सम्पदा दक्ष डकर्मी, सिकर्मीबाट वास्तुकलाविद्को नक्साङ्कन, निर्देशन र स्थानीय सम्बद्ध सम्पदा संलग्न व्यक्तिको निगरानीबाट हुनुपर्ने हो । यो कुनै कार्यालयबाट ठेक्का दिएर वा राजनीतिक जनप्रतिनिधिबाट विज्ञ र सल्लाहकारको लर्को लगाएर बन्ने होइन । नेपालको वास्तुकलामा छाने र स्तूप शैलीको लेखोट पाइन्छ तर पोखरी वास्तु प्रविधिबारे लेखेको पाइँदैन, त्यसैले यसबारे सम्पदा स्थलकै गहिरो व्यावहारिक अध्ययन गरी सम्बन्धित दक्ष व्यक्तिबाट विकास गर्नुपर्छ ।

सम्पदा निर्माण ढिलो भएर केही हुँदैन, सही विस्तृत विवरण तयार गरेरमात्र गर्नुपर्छ, हचुवाको भरमा गरिए त्यो काम बालुवामा पानी हालेजस्तो मात्र हुन्छ । रानीपोखरीमा पानी अड्याउने उपाय चुनौतीपूर्ण छ । किनभने त्यो महानगरपालिकाको फोहरा र सिमेन्ट वाल बनाउँदा क्षतविक्षत भइसकेको छ । मल्लकालीन पोखरी निर्माण प्रविधिबारे व्यापक अध्ययन आवश्यक छ । ढिलो भएर केही हुँदैन दुरुस्त हुनु आवश्यक छ । रानीपोखरीको बीचमा मन्दिरको रूपमा प्रताप मल्लको सट्टा जुद्ध शमशेर ठडिए रत्नपार्क क्षेत्रमा जाने प्रत्येकलाई मानसिक ‘टर्चर’ हुनेछ । सो रोक्न सम्पदाप्रेमीहरू लागिहाल्ने कि ? 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३१, २०७५  १८:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC