– सोनाक्षी सिन्हा
आफ्नो फिल्मी करिअरको शुरुवातमा ‘दबंग’, ‘राउडी राठौर’, ‘सन अफ सरदार’जस्ता हिरोकेन्द्रित फिल्म गरेकी सोनाक्षी सिन्हा १ सय करोड क्लबकी प्रिय हिरोइन थिइन् । उनले ‘अकिरा’, ‘नूर’, ‘इत्तेफाक’जस्ता लिकबाहिरका प्रयोगात्मक फिल्म पनि गरिन् । यद्यपि आर्थिक रूपमा यी फिल्म चलेनन् तर पनि उनले कामबाट प्रशंसा पाइन् । आफ्नो आठ वर्षको करिअरमा सोनाक्षीले बक्स अफिसमा धमाकेदार सफलता र असफलता दुवैको स्वाद चाखेकी छन् । ‘नवभारत टाइम्स’सँगको कुराकानीमा उनले आफ्ना सफलता/असफलता दुवैको अनुभूति बाँडिन् । उनकै शब्दमाः
फिल्मलाई आफ्नो काँधमा बोक्न सक्छु
मैले करिअरको शुरुवातमा जुन–जुन फिल्म गरें, ती सबैबाट मैले धेरै थोक पाएँ । पहिलो— मैले जे सिकें, सेटमै सिकें । किनकि, मैले कुनै पनि अभिनय तालिम लिएकी थिइनँ । दोस्रो— आज मेरा जति पनि इमानदार दर्शक हुनुहुन्छ, उहाँहरू सबै तिनै फिल्मका कारण शुभचिन्तक बन्नुभएको हो, जुन मैले करिअरको शुरुवातमा गरेकी थिएँ । त्यतिबेला मान्छेहरू ‘यस्तो फिल्म किन गरेको ?’ भन्दै मेरो मजाक उडाउँथे । उनीहरूको नगरमा मेरो रोक थोरै थियो, हिरोकेन्द्रित फिल्म थिए । तर, दर्शक कहाँबाट बन्छन् ? यिनै फिल्मबाट त हो । दर्शकले बढी कस्तो फिल्म हेर्छन् ? यस्तै फिल्म त हो । अहिले जति पनि दर्शक मलाई हेर्न हलसम्म पुग्नुहुन्छ, त्यो सबै यिनै फिल्मका कारण त हो । त्यसैले मलाई लाग्छ— मैले तिनै उत्कृष्ट फिल्मबाट शुरुवात गरें । यिनै फिल्मको सफलताले मलाई त्यतिविघ्न स्वतन्त्रता र आत्मविश्वास दिए कि फिल्म उद्योगमा मेरो आफ्नै हैसियत बन्यो । अब म एउटा फिल्मलाई आफ्नो काँधमा बोक्न सक्छु । तिनै फिल्मले मेरो यो साख बनाएका हुन् कि म शीर्ष भूमिकाका फिल्म काम गर्न सकूँ !
करिअरमा ‘अकिरा’, ‘नूर’, ‘लुटेरा’को असर
फिल्म नचलेपछि पक्कै पनि फिल्मसँग जोडिएका सबैलाई दुःख लाग्छ । त्यतिबेला सन्तोष लाग्छ, जतिबेला फिल्म फ्लप नै भए पनि आफूले गरेको कामबाट जस पाइन्छ, प्रशंसा पाइन्छ । मलाई त्यस्तै भयो । ‘अकिरा’, ‘नूर’, ‘लुटेरा’बाट मैले राम्रो प्रतिक्रिया पाएँ । ‘लुटेरा’ पनि चलेको थिएन तर यो फिल्म बनेको पाँच वर्षपछिसम्म पनि दर्शकहरूले मलाई प्रशंसा गरिरहनुहुन्छ । मेहनतको प्रशंसा भएपछि मनमा सन्तोष लाग्छ ।
यस्ता थुप्रै फिल्म छन्, जुन बक्स अफिसमा चलेनन् तर राम्रा थिए । त्यस्ता पनि छन्, जो घटिया छन् तर बक्स अफिसमा रेकर्ड राख्छन् । त्यसैले बक्स अफिस राम्रो या नराम्रोको मानक होइन । यसकै आधारमा खुशी या दुःखी हुनु हुँदैन । मैले सिक्काका दुवै पाटा देखेकी छु । एउटा फिल्म ठूलै हिट भयो भने पनि मैले धेरै हल्ला गदिनँ । धेरै चलेन वा फ्लप भयो भने पनि म उदास भएर बस्दिनँ । किनकि मलाई थाहा छ— मसँग काम छ । त्यतिबेला मेरो अर्को फिल्मको काम शुरु भइसकेको हुन्छ, जसका लागि मैले शतप्रतिशत मेहनत गर्नुपर्ने हुन्छ । मेरो प्रयास यसमै हुन्छ कि मैले मनबाट काम गरूँ । फिल्म चल्नु या नचल्नु दर्शकको हातमा हुन्छ, मेरो होइन । त्यसैले म यस्तो कुरामा चिन्ता लिएर बस्दिनँ ।
दर्शकको सोच
कामको आधारमा भन्ने हो भने फिल्म चल्नु र नचल्नुले मलाई केही फरक परेको छैन । अहिले पनि जो निर्माता÷निर्देशक मसँग काम गर्न चाहनुहुन्छ, उहाँहरूले मेरा फिल्म चल्छन् भनेर मलाई लिन खोज्नुभएको होइन । उहाँहरूलाई राम्ररी थाहा छ— कलाकारको रूपमा मैले आफ्नो प्रस्तुतिबाट फिल्मलाई अझ राम्रो बनाउन सक्छु । रह्यो कुरा दर्शकको नजरको— त्यो त हरेक शुक्रबार बदलिन्छ । ठीक छ, अघिल्लो शुक्रबार चलेन, अर्को शुक्रबाट चल्छ अनि दर्शकको दृष्टिकोण फेरिन्छ । मैले अहिले दुवै खाले फिल्म गरिरहेकी छु । मसँग छनोटको सुविधा छ— मैले के र कस्तो काम गर्ने । जुन फिल्मको भूमिका, कथा र सेटअप राम्रो लाग्छ, म ती फिल्ममा काम गर्छु ।
पहिले दर्शकहरू हिरोकेन्द्रित फिल्म हेर्न सहजै हलसम्म पुग्ने तर हिरोइनकेन्द्रित भयो कि हल खाली देखिने समस्या थियो । तर, पछिल्ला दुई वर्षमा यो सोचमा धेरै परिवर्तन आएको छ । किनकि यस्ता फिल्म धेरै बन्न थालेका छन् । तपाईं बच्चालाई ललिपप दिनुहुन्न भने उसलाई त्यसको स्वाद र गुणबारे थाहा हुन्न । उसलाई त त्यही केक वा चकलेट प्रिय लाग्छ, जुन पहिलेदेखि खाँदै आएको छ । दर्शकको हकमा पनि यही कुरा लागू हुन्छ । हिरोइनकेन्द्रित फिल्म दिइयो भने उहाँहरू स्वीकार गर्नुहुन्छ । यो हाम्रा लागि राम्रो हो ।
कमेडीमा रुचि
‘ह्याप्पी फिर भाग जाएगी’को स्क्रिप्ट सुनेपछि मलाई रोमाञ्चक लाग्यो । मनोरञ्जनपूर्ण लाग्यो । त्यसैले यसमा काम गर्न राजी भएँ । ह्याप्पी भन्ने पात्र मसँग मिल्दोजुल्दो भएकीले यसमा काम गर्न मलाई रहर लागेको हो । ममा पनि पञ्जाबी गुण भरिएको छ । मलाई खान्की पनि पञ्जाबी मनपर्छ, डान्स पनि पञ्जाबीजस्तै गर्छु । आफूसँग मिल्ने पात्र भयो भने काम गर्न मजा आउँछ । फेरि मलाई कमेडी फिल्म गर्न खुब मनपर्छ । म पारिवारिक मनोरञ्जक बन्न चाहन्छु, जुन यति धेरै वर्षदेखि गर्दै आएकी छु ।