site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
धून
Sarbottam CementSarbottam Cement

— दीपक महत


तनहुँको सदरमुकाम दमौलीबाट गाडीको यात्रापछि सहजै मेरो गाउँ छाब्दिबाराही पुगिन्छ । गाडी नगुड्दासम्म हामी हिँडेरै सदरमुकाम झथ्र्यौं । प्रत्येक वर्ष नयाँ कक्षामा उक्लिएपछि किताब किन्न दमौलीसम्म अधिकांश स्कुले साथी आउँथ्यौं । एकसरो कपडामा धानिएको शरीरलाई पैसाले पुगेसम्म रुखले पालुवा हालेजस्तै गरी चिटिक्कै सिँगार्ने, न्यानो आशामा ।

घरमा बुबा, मम्मी र ममात्रै थियौं । बुबा मम्मीको कडा परिश्रममा जेनतेन हाम्रो जिन्दगी चलिरहेको थियो । प्रिय गाउँ, जहाँ बाल्यकाल खुशी र सुखमा बित्यो । जीवित देवी भनेर कहलिएको छाब्दिबाराहीमा माछासँगको साक्षात खेल अहिले पनि हिजैजस्तो लाग्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

कक्षामा प्रथम भएको पुरस्कार मेरो नामबाहेक अरूमा जान कहिल्यै चाहेन । त्यसका लागि स्कुलमा मात्रै नभएर घरमा पनि कम्ता मेहनत गर्नुपर्थेन । बुबा–आमालाई घरमा सहयोगको आभास दिन सकिनँ । अहिले मनले थकथकी मान्छ । किताबी प्रेम यति थियो, मानौं विश्वमै किताबको असली प्रेमी भएको घोषणा हुने भए मेरै नाममा त्यो परिचय जोडिन्थ्यो ।

प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेपछि विज्ञान पढ्ने तिव्र चाहनाले मनमा डेरा जमायो । वैज्ञानिक बन्ने भूत सवार भयो । संसार जित्ने चाहनाले मलाई महत्त्वाकांक्षीको कुन हदसम्म पु¥यायो, म जान्दिनँ । निम्न आर्थिक स्थितिमै म यी सबै मनका चाहनालाई मूर्तरूप दिन एसएलसीपछि राजधानी भित्रिएँ ।

Global Ime bank

काठमान्डू बसेर पढ्ने पारिवारिक हैसियत नभए पनि मनैभरि विज्ञान पढ्ने उत्कट चाहना थियो भने अर्कोतिर नेपालमा ०५७ तिर माओवादी द्वन्द्व उत्कर्षमा पुगेकाले पनि गाउँमा बस्ने स्थिति थिएन । गाउँका धेरै युवा माओवादी छापामार बनेका थिए भने कोही अन्यत्रै पलायन हुन बाध्य थिए । यसले गर्दा पनि काठमान्डूको यात्रा तय गर्नु मेरा लागि बाध्यता र आवश्यकता दुवै हुन गयो ।

आईएस्सी भर्ना भएँ, अमृत साइन्स क्याम्पसमा । मेरा उर्वर र जोशिला दिनहरू त्यतै बित्न थाले । संगीतप्रति मेरो विशेष प्रेम थियो । संगीत सिक्ने इच्छा त थियो तर पैसा पर्याप्त थिएन । पैसाले मलाई रोकेन । मालती संगीतालय जमलमा म डेरा गरी बस्ने घरका अंकल ललितराज शाक्यले जागिर गर्थे । उनैले मलाई त्यहाँ न्यून शुल्कमा संगीत सिक्ने चाँजोपाँजो मिलाइदिए ।

कलेज पढ्नुका अतिरिक्त संगीतमा रियाज गर्न बिहान ६ बजेदेखि ८ बजेसम्म दिनहुँ मालती संगीतालयमा रहन्थें । सँगै संगीत सिक्नेमा ११ कक्षा पढ्दै गरेकी आस्था श्रेष्ठ थिई । शास्त्रीय संगीतमा उसको प्रेम थियो । प्रेम भनौं या लगाव— उ औधी रुचि देखाउँथी ।

काठमान्डूको सम्पन्न नेवार समुदायमा हुर्केकी आस्था मलाई आफ्नो भाषामा पनि रियाज गराउँथी । निकै अप्ठ्यारो लाग्ने नेवारी भाषा तैपनि म उसैको संगतले अलिअलि बुझ्ने भइसकेको थिएँ । भाषा मात्रै होइन, उसले मलाई आफ्नो संस्कृतिबारे पनि बताउँथी । प्रायः उसको घरमा हुने भोजहरूमा म निम्त्याइन्थें । पाहुना बनेर भित्रिन्थें । परिकारहरूको स्वाद जिब्रोले अमूल्य मान्थ्यो । नेवार समुदायका संस्कृतिले मेरो मनसम्म बास गर्न थाले । आफ्ना पर्वहरूमा ऊ नेवारी ड्रेसमा चिटिक्कै सिँगारिएकी पुतलीजस्तै बनेर सजिन्थी । फूलहरूले छर्ने सुगन्ध उसमा म भेट्थें । सुगन्धको रसपान गर्न मन लालायित बन्थ्यो ।

बितिरहेका दिनहरू संगीतले छर्ने रसिला धूनजस्तै थिए । टुसा बनेर प्रेम अंकुराउन समय लागेन । साथीबाट प्रेमी–प्रेमिका बन्यौं । औपचारिक प्रेम प्रस्ताव आवश्यक परेन । मेरी प्रेमिका आस्था मात्रै आस्थामा सीमित थिइन, मेरो जिन्दगीको भरोसा र आशाको प्रतीक थिई ।

आस्थाको न्यानो साथले काठमान्डू मनमान्डूजस्तो लाग्थ्यो— वर्षाले सडकको धूलो बगाएर लैजाँदा मनका पीडा बगेजस्तो । धूलोले छपक्कै छोपिरहँदा उसको स्पर्शले छोएजस्तो । गाडीको कर्कश ध्वनिले कोलाहल मच्चाइरहँदा गितारबाट निस्केको मीठो धूनजस्तो । एक–अर्काले कुराकानी गर्दा ऊसँग कानेखुसी गरेजस्तो ।

घुम्नका लागी बहाना हजार बनिदिन्थे । अपरिचित काठमान्डू उसैको संगतले वर्षौंदेखिको परिचितजस्तै बनेको थियो । उपत्यकाका भन्ज्याङ, चौतारी, गुम्बा, संग्रहालय, मन्दिर, रेस्टुराँ हाम्रा सहयात्री बनेका थिए । उसको प्रेमिल अँगालोले सारा डर, तनाव, पीडा उडाएर स्वतन्त्रतामात्रै मनमा बाँकी  राखिदिन्थ्यो ।

उसका कोमल हातसँग बाँधिँदै काठमान्डू चक्कर लगाइरहँदा हामीजस्तै फन्को मारिरहेका जोडीसँग पनि देखादेख भइरहन्थ्यो । आँखा जुध्दा ती आफ्नै सहपाठीझैं लाग्थे ।

० ० ०

ढिलो हुँदा कुर्ने आस्था थिई तर यता परीक्षाले भने कुर्ने थिएन । मायामा सन्तोष थियो तर पढाइको तयारीले असन्तोषी बनायो । आईएस्सी प्रथम वर्ष विशिष्ट श्रेणीमा पार लगाएको मलाई दोस्रो वर्षमा भने रसायनशास्त्रले ताराको कालो धब्बा लगाइदिएको थियो । घरमा भन्ने हिम्मत थिएन । हजार आशा सञ्चित गरेर शहर हुलिएको मलाई घरमा विषय लागेको भन्ने नैतिक आधार थिएन । धरातल गुमेको थियो । भत्किएको थियो ।

प्रेमको आफ्नै लय थियो । मिठास थियो तर पढाइले लय गुमायो । रंगीन समय श्यामश्वेत लाग्न थाल्यो । म दोस्रो वर्षको रसायन मिलाउन असफल ठहरिएँ । प्रेमको रासायनिक प्रतिक्रिया गराउन अब्बल म परीक्षाका बेला ‘आन्सर शिट’ र पेनको ठीक तवरले प्रतिक्रिया गराउन नजान्दा पछारिएँ । मस्तिष्कमा प्रतिक्रिया गराए पनि नतिजा दिन सकिनँ । कारक क्याटलिस्ट थियो, जसलाई ठीक ढंगले प्रयोग गर्न सकिएन । उचित ताप र चापको व्यवस्था गर्न सकिएन ।

दशैंमा घर फर्किंदा बुबा–आमालाई सर्टिफिकेट देखाउन नसक्ने भएको थिएँ । त्यो ठूलो उपहार गुमेको थियो । गुमेको उपहारबाहेक के दिन सक्थें भनेर अरू उपहारहरूको खोजीमा लागें । खोजी प्रगतिको थियो, जहाँ बुबा–आमाले गर्वका साथ सारा गाउँलेलाई मेरो गाथा धित मारेर सुनाउन पाऊन् ।

परिस्थितिले आस्थासँग मलाई टाढा बनाउँदै लग्यो । आस्थाले मसँग गुनासो गरिरहन्थी— समय दिएनौ भनेर । म स्वीकार गर्दै उसलाई मेरो उद्देश्य सुनाउँथें । तर, खै उसले के  बुझी !

ऊसँगको अन्तिम भेट वसन्तपुरको हिमालयन जाभामा भएको थियो । कफीको सुरुप तान्दै गर्दा उसको चम्किलो मुहार निभेको थियो । निराशाका धर्सा लट्पटिएका थिए । लाग्थ्यो— हाम्रा तमाम सपनाहरू यहीँ बिसर्जन हुँदैछन् ।

त्यसो त म पनि भित्रभित्रै उकुसमुकुस बनिरहेको थिएँ । साँझको सिमसिम पानीमा बसन्तपुरबाट छुट्टिएसँगै ऊ कहिल्यै सम्पर्कमै आइन । याद छ— बरोबर उसले भन्ने गर्थी, “तिमी लिरिक्स लेखे म म्युजिक भर्छु, मैले लिरिक्स लेखे तिमी म्युजिक भर्नू है !”

तर, समय फेरियो, ऊ फेरिई, म फेरिएँ । मेरो जिन्दगीको लयमा उसको कर्कश धूनमात्रै गुञ्जिरह्यो ।

० ० ०

यता माओवादी जनयुद्धले समाज विरूप बन्दै थियो । यसबाट हाम्रो गाउँ अछुतो हुने कुरै भएन । शाही सेना र माओवादी छापामार अनेक प्रयोजनका लागि छुट्टाछुट्टै गाउँ चहार्थे । सोधखोज गर्थे । एक–अर्काको कुरा खोतल्थे । जनता त्रस्त थिए । तौलेर मात्रै बोल्नुपर्ने स्थिति थियो । नभए ज्यान जतिबेला पनि तलमाथि पर्ने सम्भावना थियो । घरमा फोनबाट कुरा हुँदा बुबा–मम्मी गाउँको हालखबर यस्तै रहेको जानकारी दिनुहुन्थ्यो ।

लड्नेहरू एक–आपसमा लड्थे । उनीहरू आफैंमा समेत लड्दैनथे, समाजलाई पनि उसैगरी लडाउँथे । तर, जनता भने यसैको दोहोरो चपेटामा नराम्ररी पिसिन्थे । आहत थिए ।

समय न हो सबथोक । यसले कुन बेला के बोकेर आउँछ, भन्न सकिन्न । भविष्यको अज्ञात पर्दा शायदै खुला होला, हामी बाँचेको संसारमा । भावीमा लेखिएको कुरा भोगाइमा एकपछि अर्को गरी आउँदा बल्ल हामी खुशी र दुःखको भाव झल्काउने पात्रमा सीमित भयौं !

दशैं सम्मुखमा आइपुगेको थियो । मान्यजनबाट टीका थाप्न घर जानका लागि ०५९ असोजको पहिलो शुक्रबार सबेरै कोठामा ताल्चा लगाएर निस्किएँ । घरको रोमाञ्चित यादले मनमा खुशीका लाभाहरू सल्बलाइरहेका थिए । यसपालि मेहेनतले पास गरेको आईएस्सीको सर्टिफिकेट पनि थियो भने साथमा बुबा र मम्मीका लागि एक जोर नयाँ लत्ताकपडा ।

“बाबु घर निस्कन आँटेको ? गाउँबाट फोन आएको थियो,” झोला बोकेर निस्किनै लाग्दा घरबेटी ललित अंकलले भन्नुभयो ।

सधैको जस्तो बोलीमा उहाँको लय थिएन । कता–कता सुर हराएजस्तो । कुरा चपाएजस्तो । मैले लख काटें । पक्कै केही अनिष्टको पूर्वसंकेत हुनुपर्छ ।

घरबेटी अन्टीले ‘बाबु, भित्र जाऊ’ भनेपछि म लिभिङरुमतिर लागें । विस्तारमा अंकल बोल्न थाल्नुभयो, “हिजो साँझ नेपाली सेना र माओवादीको दोहोरो भिडन्तमा परी बुवाको निधन भएछ । अरु गाउँले पनि हताहत भएको कुरा छ । म तिम्रो घरसम्म तिम्लाई पु¥याउन जान्छु । तिमी सम्हालिऊ बाबु ।”

दिमाग रन्थनियो । डाँको अनायासै ठूलो स्वरले गुञ्जियो । चारैतिर बादल मडारिन थाल्यो । आँखाको डिलबाट आँशुधारा बग्न थाले । घरमा मम्मीको अवस्थाले झनै अत्यास लाग्ने बनायो । मन कठोर बनाउँदै म सम्हालिन खोजें । तर, पीडाको तीरलाई रोक्न सजिलो त कहाँ हुन्छ र !

रोदनको अमिलो पानी मुखसम्म बर्सियो र अनन्त भएर बगिरह्यो । बुबासँगका अतीतले चह¥याउन थाले । अझ धेरै घरमा मम्मीको अवस्थाले । गोलीले चुँडिएको भरोसालाई गुमाउँदा हजार आशाहरू पलभरमै स्खलित भए ।

आस्था यतिबेला मानस्पटलमा नमेटिने गरी घुम्न थाली । उसले अप्ठ्यारो पर्दा ढाडस दिन्थी, सम्झाउँथी । उसले संगीत रियाज गर्दा निकाल्ने वियोग धूनले मनलाई नोस्टाल्जिक बनाउँथ्यो । उसको अभाव कयौं टनको गह्रौं थिचाइ बन्यो । न आस्था थिई न त प्राणप्रिय बुबा हुनुहुन्थ्यो ।

सुनौलो जिन्दगीको लिरिक्समा परिस्थितिले कस्तो कर्कश धून भरिदियो !

र, पनि जिन्दगी हो— आफ्नै लय र आफ्नै सुरमा हिँडिरहन्छ । त्यही सुरमा मैले नयाँ धून रचेर जिन्दगीको गीत लेखिरहेछु ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २, २०७५  ०६:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC