— कुमार शर्मा
सन्तोषलाई त्यस रात फिटिक्कै निद्रा लागेन । पत्रिकामा दिउँसो पढेको समाचारले उसको मन अस्थिर थियो । दिमाग उथलपुथल बनाएको थियो । चिया पसलमा त्यसै समाचारको बारेमा मान्छे खासखुस गरेको उसले सुनेको थियो । तर, उनीहरूको संवादमा ऊ सहभागी भने हुन चाहेन । अपरिचितहरूसँग झ्याप्पै बोलिहाल्ने उसको स्वभाव पनि होइन ।
दिउँसो पढेको समाचारको शीर्षक भने उसको मन मस्तिष्कमा गढेर बसिरह्यो । प्रयास गर्दा पनि भुलाउन सकेन । समाचारको हेडलाइन थियो, “सरकारले अब सपनामा पनि कर लगाउने ।”
त्यो समाचारको सब–हेडलाइन पनि उसले भुल्न सकेको थिएन । त्यो केही यस्तो थियो, “महत्वाकांक्षी सपना देख्नेहरूमाथि सरकारको २४ घण्टे निगरानी रहने ।”
हुन त ऊ सामान्य मान्छे थियो । उसको सपना पनि आम मान्छेले देख्ने सपनाजस्तै सामान्य थिए । यस्तो समाचारले डराइहाल्नुपर्ने स्थिति त थिएन र पनि ऊ चिन्तित थियो । यसको एउटा कारण भने थियो । पछिल्ला केही दिनमा उसले एउटा सपना देख्न थालेको थियो । अझ भनौं, एउटा सपना मनमनै पाल्न थालेको थियो । लेखक बन्ने सपना । त्यो उसको लागि भयंकर महत्त्वाकांक्षी सपना थियो । पत्रपत्रिकामा फाट्टफुट्ट फुटकर लेख छापिए पनि एउटा किताबै लेखेर लेखक हुने उसको सपना थियो ।
त्यो समाचारमा यो पनि लेखिएको थियो, “कुन सपना महत्त्वाकांक्षी हुने, कुन नहुने— त्यसको छिनोफानो सरकारी अधिकारीले गर्नेछन् ।”
उसलाई आफ्नै सपनादेखि डर लाग्न थाल्यो । जाबो एउटा फ्रिलान्सर भएर किताब लेख्ने सपना देखेकोमा उसलाई आफैंसित रिस पनि उठ्यो ।
“सरकारी अधिकारीलाई पनि मेरो सपना महत्त्वाकांक्षी लाग्यो भने म नाथेले कहाँबाट कर बुझाउने होला ?” यो सोचेरै उसलाई टेन्सन भयो । दुई मिल्ने साथीहरूलाई भोलि बिहान चिया पसलमा भेट्न आग्रह गर्दै सन्तोषले टेक्स्ट पठायो । उनीहरू आउने पक्का भइसकेपछि ऊ केही ढुक्क हुँदै कोल्टे फर्कियो । त्यसपछि भने शायद ऊ निदायो ।
० ० ०
भोलिपल्ट चिया पसलमा तीनै जना साथीको भेटघाट भयो । सन्तोष भने अझै पनि चिन्तित थियो । उसको अनुहार अलि मलिन देखेर पहिलो साथीले सोध्यो, “होइन, के भयो बे तँलाई ?”
टाउको हल्लाउँदै सन्तोषले भन्यो, “केही होइन । बरु तिमीहरूले हिजोको पत्रिका पढ्यौ ?” सन्तोषले दुबै साथीतिर हेरेर सोध्यो । दुबैले पत्रिका नपढेको कुरा गरे ।
“के थियो र हिजोको पत्रिकामा ?” दोस्रो साथीले उसलाई सोध्यो ।
सन्तोषले हिजो आफूले पढेको समाचारबारे बेलीबिस्तार लगायो । शुरुमा उसको कुरा दुबै साथीले पत्याएनन् ।
“कस्तो वाहियात कुरा गरेको ? दिमाग त ठीक ठाउँमा छ तेरो ?” सन्तोषतिर हेर्दै दोस्रो साथी अलि झोक्कियो ।
सन्तोषले त्यही चिया पसलमा बसेर हिजो उक्त समाचार पढेको कुराको कसम नै खायो । दुबै साथीले उसको कुरा अझै पनि पत्याएनन् ।
अरु दिनभन्दा आज चिया पसलमा मान्छेको भीड अलि बढी नै थियो । कुराकानीभन्दा गाइँगुइँ बढी सुनिन्थ्यो । एक हुल मान्छे एकातिर झ्याम्मिएका थिए, जहाँबाट धेरै हल्ला आइरहेको थियो । सन्तोष र उसका दुई साथीलाई पनि सोही भीडले आकर्षित ग¥योे । अलि बेर कोसिस गर्दा पनि केही पत्तो नपाएपछि नजिकै उभिइरहेको एउटा मान्छेलाई उनीहरूले सोधे ।
“ल, भाइहरूलाई थाहा छैन ? हिजोको समाचार पढिएन कि क्या हो ?” त्यो मान्छेले उल्टै उनीहरूलाई प्रश्न ग¥यो ।
तीनै जनाले एक–अर्कालाई हेरे । सन्तोषको धड्कन तेज भयो । दुई साथीहरूको मुख पनि बिस्तारै सुक्दै गयो ।
“सरकारले अबदेखि सपनामा कर लगाउने निर्णय गरेको छ । त्यसैअन्तर्गत सूचना मन्त्रालयमा नयाँ विभाग नै खोलेको छ, जहाँ गएर हरेक नागरिकले आफ्नो सपना दर्ता गर्नुपर्नेछ ।”
उसको कुरा सुनेर तीनै जना एकचोटि फेरि ट्वाँ परे ।
“सपना पनि दर्ता गर्नुपर्ने ?” सुकेको मुखभित्र बचेको थुक निल्दै सन्तोषले सोध्यो ।
“हो । त्यस्तै छ कुरो । सपनाको प्रकृति हेरेर सरकारले निर्णय गर्छ रे— कति कर लगाउने या छुट दिने !”
सन्तोष र उसका साथीले एक–अर्कालाई हेरे तर केही बोलेनन् ।
“भाइहरू अलि हतास देखिन्छौ नि ! खत्रै सपना पालिया छ कि क्या हो ?” त्यो मान्छेले सोध्यो ।
“त्यस्तो केही होइन दाइ, जिज्ञासा लागेर मात्र सोधेको । बरु हजुरलाई केही असर गरेन यो खबरले ?” सन्तोषले उसलाई सोध्यो ।
“म त शिक्षक मान्छे हो भाइ । आफ्ना त केही सपना छैनन् । न रहर छ, न चिन्ता !” ठट्यौलो पारामा उसले भन्यो ।
त्यो मान्छेसँग बिदा हुँदै तीनै जना चिया पसलबाट निस्किए ।
० ० ०
सपना दर्ता गर्नुपर्ने कुराले तीनै जनाको दिमाग रन्थनिएको थियो । धेरै कर तिर्नुपर्ने त होइन या सरकारको निगरानीमा पर्नुपर्ने त होइन भन्ने कुराले तीनै साथीलाई पिरोलेको थियो । हिँड्दाहिँड्दै सन्तोषले प्रस्ताव ग¥यो, “केटा हो ! बरु आजै जाऊँ विभागमा सपना दर्ता गर्न ।”
“हो यार, आजै सोधपुछ गरेर ढुक्क भई बसौं । पछि त फेरि भीड होला, पालो कैले आउने कैले,” पहिलो साथीले ‘हो’ मा ‘हो’ मिलाउँदै भन्यो । अन्ततः तीनै जना राजी भएर सूचना विभागतिर लागे । हिँड्दै केहीबेरमा उनीहरू विभाग पुगे ।
‘सोधपुछ’ लेखिएको ठाउँमा केही मानिस आफ्नो पालो कुर्दै थिए । टोकन लिएर उनीहरू पनि त्यहीँ गएर बसे । केहीबेरमै पहिलो साथीको पालो आयो, जो कामदारको रूपमा दक्षिण कोरिया जाने तयारी गर्दै थियो । हातको पर्ची लिएर पहिलो साथी काउन्टरअघि पुग्यो ।
“भन्नुस्, आज के सहयोग गरौं यहाँलाई ?” कर्मचारी बोल्यो ।
“हजुर ... त्यो ... सपना दर्ता ... गरौं भनेर आएको ।”
“ए ए ! धेरै राम्रो । आजै आउनुभयो, पछि त निकै भीड हुन्छ । भन्नुस् के सपना छ तपाईंको ?” कर्मचारीले सोध्यो ।
“हजुर अहिले दक्षिण कोरियाको भाषा सिक्दै छु । सपनाभन्दा पनि काम गर्न जाने इच्छा छ ।”
“ए ! बधाई छ तपाईंलाई !”
“हजुर किन ?” पहिलो साथी अलि अकमकियो ।
“कामदारको रूपमा विदेश जाने जनशक्तिलाई सरकारको तर्फबाट छुट छ । तपाईं निष्फिक्री हुनुस् ।”
पहिलो साथीको अनुहार केही उज्यालो भयो, “त्यसो भए मैले चिन्ता गर्नु पर्दैन ?”
“पर्दैन पर्दैन । त्यहाँ पुगेर तपाईंले पठाउने रेमिट्यान्सबाट सरकारले आफ्नो काम चलाइहाल्छ । अहिलेलाई ऊऽऽ पर उभिएर यो फर्म भर्नुस् ।”
लगत्तै दोस्रो साथीको पालो आयो । ऊ पनि टोकन लिएर त्यही कर्मचारीसामु उभियो ।
“तपाईं पनि सपना दर्ता गर्न आउनुभएको त होइन नि ?” कर्मचारीले सोध्यो ।
“हजुर... हो हो ।”
“भन्नुस् के सपना छ तपाईंको ?”
“म अहिले पढ्न अस्ट्रेलिया जाने तयारी गर्दै छु सर । सपना भनौं कि इच्छा... त्यही हो ।”
“ए ! ठूलै महत्त्वाकांक्षा रै’छ त भाइको । पढ्नलाई यहाँ विश्वविद्यालय छैनन् र ? कि भाइको हैसियतअनुसारका भएनन् ?” कर्मचारीको कुरा सुनेर दोस्रो साथी अलि हच्कियो ।
“विदेश पढ्न जाने जनशक्तिलाई सरकारले अलि कडाइ गरेको छ,” कर्मचारीले थप्यो ।
दोस्रो साथीको मुख अरु सुक्यो । उसको अवस्था देखेर कर्मचारीले भन्यो, “तर चिन्ताको विषय छैन । दुई दिनपछि आफ्नो बुबालाई लिएर यहाँ आउनुस् ।”
कर्मचारीको कुरा सुनेर दोस्रो साथी अलमल्ल प¥यो ।
“मैले मेरो हाकिमसँग कुरा गर्नुपर्छ । तपाईंको बुबासँग बसेर हामी आपसमा छलफल गरेर मिलाउँला । तपाईं आफ्नो तयारीमा लाग्नुस्,” केही मुस्कुराउँदै कर्मचारी बोल्यो ।
कर्मचारीको पछिल्लो कुराले दोस्रो साथीलाई अलिकति भए पनि राहत दियो । ऊ पनि साइडमा उभिएर फर्म भर्न थाल्यो ।
अन्तिममा सन्तोषको पालो आयो । फर्म भरिरहेका साथीहरूतिर आँखा लगाउँदै ऊ पनि गएर काउन्टरअगाडि उभियो ।
“के मद्दत गरौं आज तपाईंलाई ?” एकदम मिजासिलो आवाजमा कर्मचारीले सन्तोषलाई सोध्यो ।
साथीहरूतिर इशारा गर्दै सन्तोषले आफू पनि सपना दर्ता गर्न आएको सुनायो ।
“राम्रो गर्नुभयो । सरकारको योजनालाई सबैले यसरी पालना गरिदिए देशले चाँडै फड्को मार्छ ।”
सन्तोषले टाउको हल्लायो ।
“तपाईंको सपनाचैं के छ त ? विदेश जाने त होइन ?” केही मुस्कुराउँदै कर्मचारीले सोध्यो ।
“होइन होइन । मेरो त्यस्तो कुनै ठूलो सपना छैन सर । म त सामान्य मान्छे,” उसले पनि केही मुस्कुराउँदै जवाफ दियो, “मेरो ठ्याक्कै यही सपना भन्ने त छैन तर एउटा किताब लेख्न पाए हुन्थ्यो भन्ने छ सर । साहित्यमा मेरो रुचि छ ।” उसले सामान्य रूपले जवाफ दियो ।
“किताब लेख्ने सपना ? यो त गज्जब कुरा भयो । तर, आजकल सुन्छु— किताबको खुब मार्केट छ रे ! खैर, सपना दर्ता गर्ने नियमसँगै सरकारले अर्को नियम पनि ल्याएको छ नि, तपाईंलाई त थाहै होला ।”
सन्तोषले आफूलाई थाहा नभएको जनाउँदै टाउको हल्लायो ।
“नयाँ प्रकाशन ऐनअन्तर्गत सबै प्रकारका प्रकाशन गृहले कुनै पनि किताब छाप्नुअघि पाण्डुलिपि सरकारलाई बुझाउनु पर्नेछ,” कर्मचारीले भन्यो ।
‘साहित्यिक किताबहरू त पर्दैनन् होलान् नि यो नियमभित्र, होइन सर ?” उसले सोध्यो ।
“पर्छन् नि, किन नपर्नु ? सबै खालका किताबहरूमा लागू हुन्छ यो नियम,” कर्मचारी अलि कड्कियो ।
“साहित्यका केही विधाहरूलाई भने यो नियम अलि खुकुलो छ,” केही नरम हुँदै कर्मचारीले बतायो ।
“भन्नाले ?”
“आत्मकथा, यात्रा संस्मरण र प्रेमकथाहरूलाई भने छुट छ । बाँकी सबैको पाण्डुलिपि छापिनुअघि सरकारले हेर्छ ।”
“सेन्सरजस्तो हो सर हो नियम ?” केहीबेर सोचेपछि सन्तोषले सोध्यो ।
“त्यस्तै बुझ्नुस् । बरु तपाईंको सपना कस्तो खालको किताब लेख्ने थियो कुन्नि ?”
आफूलाई राजनीतिक र सामाजिक प्रकृतिका किताबप्रति झुकाव भएको र त्यस्तै केही लेख्ने इच्छा भएको कुरा सन्तोषले कर्मचारीको अगाडि बताउन चाहेन । अहिलेको राजनीतिक अवस्थाको गाम्भीर्यताको भनक उसले बिस्तारै पाउँदै थियो ।
“मलाई प्रेमकथाहरूमा रुचि छ सर, त्यस्तै केही लेखौं भन्ने चाहना हो,” उसले कर्मचारीको अगाडि झुट बोल्नुबाहेक अर्को विकल्प देखेन ।
“एकदम ठीक कुरा गर्नुभयो अहिले । बिक्री हुने भनेकै कि त प्रेमकथा हो कि त आत्मकथा ।”
सन्तोष कर्मचारीलाई हेरेर हाँसेजस्तो ग¥यो । कर्मचारीले पनि हाँस्दै भन्यो, “त्यो एउटा लभस्टोरी थियो नि केही वर्षअघि निस्किएको । त्यस्तै के लभ थियो किताबको नाम । त्यस्तै कथा लेख्नुस् तपाईं, मालामाल भइहाल्नुहुन्छ ।”
सन्तोषलाई त्यो कर्मचारीसँग थप कुरा गर्न मन लागेन । मन खिन्नखिन्न भयो । र, पनि साथीहरू उभिएतिर गएर फर्म भर्न थाल्यो । फर्म भर्दै गर्दा उसले मनमनै सोच्यो— अब जर्ज ओर्वेललाई बिर्सिदिन्छु अनि रोमियो जुलियट पढ्न थाल्छु ।
० ० ०
६ महिना बिते । आफूले प्रण गरेजस्तै सन्तोषले जर्ज ओर्वेललाई बिर्सिदियो । उनका किताब पढ्न छाडिदियो । तर, उसले रोमियो जुलियटको कथा भने पढेन । न त ‘मुनामदन’ नै पढ्यो ।
अर्को ६ महिनापछि त्यही चिया पसलमा त्यही शिक्षकसँग सन्तोषको भेट भयो । सन्तोष आफ्ना नयाँ साथीहरूसँग कुराकानीमा व्यस्त थियो ।
“अनि भाइ, के छ त खबर ?” शिक्षकले सोध्यो ।
साथीहरूसँगको कुराकानी बीचैमा रोकेर सन्तोषले भन्यो, “ओहो दाइ, आरामै हुनुहुन्छ ? साँच्ची, तपाईंले आफ्नो सपना दर्ता गर्नुभयो नि ?”
“हाहा...ऽऽ छैन भाइ, मेरो केही सपना छैन । म त शिक्षक...”
सन्तोषले बीचैमा उसको कुरा काट्यो । उसको आवाज केही चर्को पनि सुनिन्थ्यो, “शिक्षक होस् कि विद्यार्थी, सबै नागरिकले आफ्नो सपना दर्ता गर्नुपर्छ दाइ । यो सरकारको नयाँ कानुन हो ।”
“भाइलाई सरकारको खुब चिन्ता छ जस्तो छ नि !” शिक्षकले केही हाँस्दै भन्यो ।
“मेरो कुरा छाडिदिनुस्, दाइलाई बरु आफ्नो चिन्ता छैन जस्तो छ नि !” सन्तोषले पनि केही हाँस्दै भन्यो । तर, उसको आवाजमा भिन्दै कडापन थियो ।
“अनि भाइको परिचय ?”
“म युवा संघको केन्द्रीय सदस्य ।”
युवा संघ एकलौटी सरकार नेतृत्व गरिरहेको पार्टीको भातृ संगठन थियो । सपना दर्ता गर्न ढिला गरिरहेका नागरिकलाई दबाब दिएर दर्ता गराउने जिम्मा संघलाई दिइएको थियो । त्यसको काम–कारबाहीका समाचार दिनहुँजसो छापामा आउँथे । शिक्षकलाई यो सबै थाहा थियो ।
“अनि दाइको परिचय नि ?”
‘म... म... शिक्षक... मलाई अहिले हतार छ भाइ, म लागें ।”
“सपना दर्ता गर्नचाहिँ नबिर्सनू दाइ । नत्र मेरा साथीहरू तपाईंलाई भेट्न कोसेली लिएर आउनेछन् ।”
सन्तोष र उसका साथीहरूको लामो अट्टाहास शिक्षकको कानमा प¥यो । त्यसपछि त्यो शिक्षक चियापसलमा फेरि कहिल्यै देखा परेन ।