– नरेश फुयाँल
विसं. २००६ साल । प्रवासबाटै राणाविरोधी आन्दोलन चर्किरहेको थियो । जहानियाँ राणा शासनविरुद्धको आन्दोलनलाई अझ सशक्त बनाउन भारतको कलकत्तामा नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेस एकीकरण गर्ने तयारी चल्यो । नाम के राख्ने ? सहमति जुट्न सकेको थिएन । नाममा नेताहरूका आ–आफ्नै अड्डी र तर्क देखेपछि बीपी कोइरालाले यसको नामाकरण गर्ने जिम्मा श्रीभद्र शर्मालाई दिए । उनकै सुझावमा पार्टीको नाम राखियो— ‘नेपाली कांग्रेस’ ।
श्रीभद्रले ३३ वर्षको उमेरमा दोस्रो विवाह गरे । उनको विवाहमा जन्ती थिए— बीपी कोइराला, गणेशमान सिंह, सुवर्णशशेर राणालगायत नेताहरू । बीपीकै आग्रहमा उनले कांग्रेसको मुखपत्र ‘युगवाणी’मा काम गरे ।
तिनै श्रीभद्रका छोरा हुन्— पत्रकार अजयभद्र खनाल ।
मन्त्रीसमेत भइसकेका बुवा कहिले काठमाडौं, कहिले गृहजिल्ला तनहुँ गर्थे । अजयको बसाइ पनि बुवाको जस्तै थियो । पढाइ पनि त्यसैगरी यता–उता भइरह्यो । तनहुँमै १ कक्षा पढेका अजय काठमाडौं आएर मार्टियस मेमोरियल स्कुलमा भर्ना भएका थिए । बोर्डिङ स्कुल, अंग्रेजीमा निकै कडिकडाउ गथ्र्यो । नजानेको भन्दै स्कुलले उनलाई ३ कक्षाबाट १ कक्षामा झारिदियो ।
“३ बाट एकमा झरेर ‘ए फर एप्पल, बी फर बल’ नै पढेर बसें !” अजयको उज्यालो अनुहारमा बाल्यकालीन स्मरणसँगै मन्ध मुस्कान छाउँछ, “दुई महिना पढेपछि स्कुल जान मानिनँ । घरमै बसेर पढ्थें । बूढानीलकण्ठमा इन्ट्रान्स दिएको, पास भएँ । कक्षा ४ देखि एसएलसीसम्म त्यहीँ पढें ।”
शिक्षकले कर्मयोग, ज्ञानयोग र भक्तियोग पढाउँथे । उनको दिमागमा त्यसको गहिरो प्रभाव पर्यो । यी तीनवटा बाटोबाट मुक्ति पाइन्छ भन्ने मनमा पस्यो । उनलाई लाग्थ्यो— मुक्ति पाउने बाटो त अर्कै छ, बुवाले किन राजनीति गर्नुभएको होला मुक्ति जाने बाटो छोडेर ?
निर्दलीय पञ्चायती व्यवस्था थियो । राजतन्त्रको गुणगान नगाउने दलहरू प्रतिबन्धित थिए । त्यसको प्रभाव समाजका हरेक अवयवमा परिरहेको थियो । शैक्षिक क्यालेन्डर लथालिंग थिए । दुई वर्षको पढाइ सक्न चार वर्षसम्म लाग्थ्यो ।
०४१ सालमा एसएलसीपछि अजय देहरादुन पुगे । त्यहाँ शशी शमशेरको कलेजमा साइन्स पढे । बुवाले इन्जिनियरिङका लागि भारतमै कोटा मिलाइदिएका थिए । अजयलाई त्यसमा रुचि थिएन । उनी काठमाडौं फर्किए । रत्नराज्यलक्ष्मी क्यापसमा मानविकी भर्ना भए ।
‘जोगी’ बन्ने रहर !
स्कुले जीवनदेखि नै दर्शन पढ्न रुचाउने अजयलाई बीए पढ्दै गर्दा ‘जोगी’ बन्ने रहर सवार भयो । उनी गुरुहरूको पछि लाग्न थाले । सत्संगमा गएर ध्यान र योग गर्न थाले । सचितानन्द विशुद्धदेव नामक गुरु थिए । अजय उनकै शरणमा थिए । उनीसँगै सचिनान्दको चेला बनेका दुई साथी ‘जोगी’ भएर हिँडे । परिवार र साथीभाइको आग्रह र करबलले अजय भने सांसारिक जीवनमै फर्किए ।
अध्यात्मको यो रसले अजयलाई भद्र हुन सिकायो— नामजस्तै ।
पत्रकारिता प्रवेश
०४६ सालको जनआन्दोलन चर्किन लागेको थियो । माघ महिना थियो । साथी सीमा शर्मा ‘द राइजिङ नेपाल’मा काम गर्थिन् । उनैले भनिन्, “अजय काम गर्नुपर्छ । पत्रकारिता रमाइलो पनि हुन्छ, खर्च पनि हुन्छ, त्योभन्दा पनि सूचना र जानकारी हुन्छ ।”
अजयलाई पनि प्रस्ताव मनासिव नै लाग्यो । ‘द राइजिङ नेपाल’ले सातौं तहमा पत्रकार मागेको थियो । उनले पनि आवेदन दिए । अखिलेश उपाध्याय र उनी एकैदिन ‘राइजिङ नेपाल’ प्रवेश गरे । श्यामबहादुर केसी सम्पादक थिए ।
शुरुमा उनी राष्ट्रिय समाचार समितिबाट आएका समाचार भित्री पृष्ठमा सेन्टिमिटर नापेर हेडलाइन बनाउने, फोटो छान्ने र प्लेसमेन्ट गर्थे ।
‘राइजिङ नेपाल’ प्रवेशको एक महिना भएको थियो । पी खरेलले ‘राइजिङ नेपाल’अन्तर्गतकै ‘सन्डे डिस्प्याच’ नामक साप्ताहिक प्रकाशन शुरु गरे । त्यसमै सिफ्ट भए अजय । चार जना थिए । १६ पृष्ठको पत्रिका थियो । एक जनाको भागमा चार पृष्ठ पर्थे । स्थानीय समाचार र खेलकुद पृष्ठ उनको भागमा थियो । रिपोर्टिङदेखि पेज–मेकिङसम्म आफैं गर्थे अजय ।
‘सन्डे डिस्प्याच’मा हरेक हप्ता आम नागरिकभन्दा फरक लाग्ने व्यक्तिको फिचर छापिन्थ्यो । पहिलो फिल्ड रिपोर्टिङ, अरुको भन्दा फरक र राम्रो स्टोरी गर्ने चाह पलायो उनमा ।
तर, गर्ने के ?
आइडिया !!
‘फायर फाइटर’को गज्जब हुन्छ । नयाँ पनि, नजिकै पनि ।
‘राइजिङ नेपाल’को ढोकाबाट निस्किनेबित्तिकै दमकलको अफिस थियो । गेटमै देखिए— लामालामा दाह्रीजुँगा पालेका ‘फायर फाइटर’ । अजयले भने, “म राइजिङ नेपालबाट आएको, तपाईंको अन्तर्वार्ता गर्छु ।”
ती फायर फइटरले भित्तातिर देखाएर भने, “यस्तै ?”
उनले सोचेकै आइडियामा अर्कैले भर्खरै स्टोरी गरिसकेछ । त्यसकै कटिङ देखाएका थिए उनले ।
आइडिया फ्लप ! तर, स्टोरी त चाहिएको नै थियो ।
उनी स्टोरी खोज्दै हनुमानढोका पुगे । बिग्रिएका छाता बनाउने व्यक्ति भेटे । उनकै जीवनगाथा लेखे । पहिलो पृष्ठमा छापियो पहिलो बाइलाइनसहितको फिचर ।
एक वर्ष ‘राइजिङ नेपाल’मा काम गरेपछि अजयलाई नेपाल टेलिभिजनको अंग्रेजीतर्फ समाचार सम्पादकको अफर आयो, गए ।
टेलिभिजनमा काम गरेको दुई वर्ष भएको थियो । ‘राइजिङ नेपाल’मा सँगै काम गरेका साथी अखिलेश ‘काठमान्डू पोस्ट’मा थिए । विनोद भट्टराई, सुशील शर्मा ‘काठमान्डू पोस्ट’ छोडेर निस्किएका थिए । पत्रकारको खाँचो थियो । बोलाए अखिलेशले । दुई वर्षको टेलिभिजन बसाइपछि उनको यात्रा सोझियो ‘काठमान्डू पोस्ट’तर्फ ।
पत्रकारहरु प्रायः चलायमान हुन्छन् । पुरानो ठाउँ छोड्ने, नयाँ ठाउँ जानेमा पत्रकारहरू अग्रणी मानिन्छन् । त्यसभन्दा बाहिर अजय पनि रहेनन् । ‘काठमान्डू पोस्ट’मा चार वर्ष बिताएर उनी ‘एभरेस्ट हेराल्ड’ पुगे । युवा जोश थियो । गर्न के सक्दिनँ भन्ने लाग्थ्यो । त्यसमा उपेन्द्र महतोको लगानी थियो । रघुवीर महासेठले पत्रिका हेर्थे । प्रबन्ध सम्पादकको जिम्मेवारी दिने भनेपछि उनी लोभिए ।
‘एभरेस्ट हेराल्ड’ चलाउन गाह्रो भयो । एक वर्ष पनि टिकेन । केही नयाँ गर्न सकिन्छ कि भनेर गएका अजयलगायत साथीहरूको समूहले आफ्नै प्रयासमा केही महिना त प्रकाशन गर्यो तर निरन्तरता दिन सकेन । अन्ततः पत्रिका बन्द नै भयो ।
त्यो बेला वसन्त चौधरीले ‘इन्डिपेन्डेन्ट’ नामक पत्रिका प्रकाशन गर्थे । बजारमा निकै राम्रो चर्चा र वितरण रहेको ‘इन्डिपेन्डेन्ट’बाट उनलाई सम्पादकको अफर आयो । जिम्मेवारी सम्हाले उनले ।
करिब तीन वर्ष काम गरेपछि अजय थप अध्ययनका लागि अमेरिका पसे । तर, उनी अमेरिकातिरै लहसिएनन् । छ वर्षको बसाइपछि उनी नेपाल पर्किए । राष्ट्रिय योजना आयोगको सल्लाहकारका रूपमा सात महिना काम गरे । जगदीशचन्द्र पोखरेल आयोगका उपाध्यक्ष थिए ।
पुनः पत्रकारिता
फेरि शुरु भयो उनको पत्रकारिता यात्रा । सन् २००७ मा उनी ‘द हिमालयन टाइम्स’ पुगे । केही महिना तत्कालीन सम्पादक राम प्रधानको नेतृत्वमा काम गरेका उनी लगत्तै सम्पादक भए । २००७ देखि २०१४ सम्म सम्पादकको जिम्मेवारी निभाए ।
‘द हिमालयन टाइम्स’पछि उनी द्वन्द्व व्यवस्थापनसँग सम्बन्धित काम गर्ने ‘एसिया फाउन्डेसन’ पुगे । त्यहाँ पनि उनको बसाइ लामो रहेन । एक वर्षपछि उनले बिदा लिए । यही बीचमा उनले केही किताबका पाण्डुलिपि तयार पारे ।
यात्रा राजनीतिको
अजयले विश्राम लिइरहेका थिए । रवीन्द्र मीश्रले फोन गरे । ‘साझा पार्टी’ खोल्ने तयारीमा रहेका रवीन्द्रले सँगै काम गरौं भने । हरेक दिन शनिबार एउटा सानो समूह रवीन्द्रको घरमा जम्मा हुन्थ्यो । देश विकासको सच्चा हिमायती दल कसरी बनाउन सकिन्छ भनेर विचार विमर्श हुन्थ्यो । नयाँ सदस्य थपिँदै थिए । सानै भए पनि देश विकासको भिजन बोकेको पार्टी खोल्ने भनेर पत्रकार रवीन्द्रले बीबीसी नेपाली सेवाबाट राजीनामा दिए । पार्टी घोषणा भयो । स्थानीय निकायको निर्वाचन भयो । उनीहरूको पार्टी दर्ता भएको थिएन ।
त्यो समय अजय पार्टीको रणनीतिक योजनाकारको जिम्मेवारी वहन गर्ने सहमतिमा थिए । तर, सञ्चार र प्रचार हेर्ने कोही भएन । अजय त्यतातर्फ लागे । त्यसको सम्पूर्ण जिम्मेवारी उनैले लिए ।
“पार्टी दर्ता गर्ने दिन रवीन्द्रजीले अजय जी आउनुस् पार्टी दर्ता गर्न जाऊँ भनेर फोन गर्नुभयो । म पारिवारिक कारणले त्यो दिन जान पाइनँ, त्यही दिनबाट म बाहिरको बाहिरै भएँ, पारिवारिक कारणले म पछि गइनँ,” उनले भने ।
राजनीतिमा लामो समय रहेनन् अजय । कारण जे होस्, उनी राजनीति छोडेर पत्रकारितामै फर्किए । अजय अहिले ‘अभियान’ आर्थिक दैनिकमा सम्पादक छन् ।
लहडी गिरिजाप्रसाद
गिरिजाप्रसाद कोइराला भर्खर प्रधानमन्त्री भएका थिए । उनी राष्ट्रिय विकास परिषद्को अध्यक्ष थिए । परिषद्का बैठक पत्रकारका लागि खुला हुन्थे । अजय रिपोर्टिङका लागि जान्थे । छलफलमा आएका आकर्षक सबै योजनामा गिरिजाले तत्कालीन अर्थमन्त्री महेश आचार्यलाई देखाएर ‘ल महेशजी, यसमा पैसा हाल्दिनुप¥यो’ भन्थे । त्यो आयोजनाका लागि कति पैसा लाग्छ, कहाँबाट जुटाउने भन्नेतर्फ उनी कहिल्यै सोच्दैनथे । गिरिजाका यी र यस्तै कुरालाई टिपेर अजय समाचार लेख्थे । पछि तिनै समाचारको कारण देखाएर परिषद्को बैठक प्रवेशमा पत्रकारलाई रोक लगाइयो ।
टनकपुरको यथार्थ
टनकपुरका विषयमा पनि अजयले समाचार लेखे । सरकारले टनकपुर भारतलाई बेच्यो भन्ने आरोप लागिरहेको थियो । विपक्षीले सरकारलाई खुइल्याउन यही मुद्दा चर्काइरहेको थियो । के हो टनकपुरको वास्तविकता ? उनले अजय दीक्षित र दीपक ज्ञवालीसँग अन्तर्वार्ता लिएर छापिदिए ।
“त्यो अन्तर्वार्ताको निकै चर्चा भयो । अहिले पनि म त्यो अन्तर्वार्ता सम्झिन्छु, जसले धेरै कुरा धेरैलाई प्रष्ट पारेको थियो,” अजय भन्छन्, “त्यो अन्तर्वार्तामा टेक्निकल पाटो के हो, जुन नेपाललले चाहेर पनि परिवर्तन गर्न सक्दैन, तर राजनीतिक यथार्थ यस्तो छ भन्ने उल्लेख थियो । त्यो निकै विवादास्पद भएको थियो ।”
मृत्युको त्यो खबर
अखिलेशले डेस्क हेर्थे, अजय रिपोर्टिङ शाखाको नेतृत्व गर्थे । अजयले डेस्क हेरे अखिलेश रिपोर्टिङ शाखाको नेतृत्व लिन्थे । त्यसैले उनीहरूलाई समाचार कक्षमा यस्तो गर भन्ने कोही हुँदैनथे ।
०४८ सालमा कांग्रेस नेतृत्वमा सरकार गठन भएलगत्तैदेखि एमालेले आन्दोलन छेडेको थियो । सरकारले आन्दोलन दबाउन कफ्र्यु पनि लगाउँथ्यो । अजय कफ्र्युको वेवास्ता गर्दै दिनभर सडकमा निस्किन्थे । अपरान्ह सेना र प्रहरीको भ्यानमा बसेर काठमाडौंका अधिकांश ठूला अस्पताल पुगी घाइतेको संख्या पत्ता लगाउँथे, बिरामीसँग कुरा गर्थे र समाचार लेख्थे । कफ्र्युको जोखिम मोलेर विस्तृतमा समाचार लेख्ने उनैमात्रै हुन्थे ।
त्यही बेला पाटनमा प्रहरीको गोली लागेर एक विद्यार्थीको मृत्यु भएको थियो । सूचना पाउनेबित्तिकै अजय घटनास्थलतर्फ दौडिए । दुई घण्टाभित्र मृतक विद्यार्थीका आमा–बुवासँग अन्तर्वार्ता लिए र अर्को दिनको ‘काठमान्डू पोस्ट’मा छापे ।
“जापानमा पढ्दै गरेकी ती विद्यार्थी बिदाको समयमा घर आएकी थिइन् । बाहिर केको हल्ला हो भनेर झ्यालबट हेर्दा उनलाई प्रहरीले चलाएको गोली लाग्यो र उनको मृत्यु भयो,” अजय ०४८ सालको एउटा विद्रुप घटना सुनाउँछन् ।
पहिलो पृष्ठमा छापिएको त्यो समाचारमा चन्द्रशेखर कार्कीको अनुभवी क्यामेराको लेन्सले तस्बिर पनि खिचेको थियो । अजय त्यो तस्बिरसँग जोडिएर एउटा वाक्य सुनाउँछन्, “अवस्था जति डरलाग्दो हुन्छ, चन्द्रशेखरको जुम लेन्स त्यति लामो हुन्छ ।”
मानसिक रोगीको समाचार
के नयाँ समाचार लेख्ने भन्ने प्रतिस्पर्धा हुन्थ्यो । समाचार लेख्नभन्दा पनि विषय खोज्न चर्को पथ्र्यो । उनले साथी (रमेश)बाट सुने— धुलिखेलको मानसिक अस्पतालमा मानसिक सन्तुलन गुमाएका बिरामीको संख्या उच्च भएपछि अस्पतालले नै बिरामीलाई बाटोमा ल्याएर छाडिरहेको छ ।
विषयमा समाचार थियो । एकाबिहानै मोटरसाइकलमा धुलिखेल पुगेर अजयले डीएसपीलाई भेटे । होटलमा बसेर चिसो पिउँदै कुरा गरे । डीएसपीले पनि खुलेरै यथार्थ बताए । अजयले उनलाई कोट गरेर समाचार लेखे । “समाचार छापिएकै दिनबाट डीएसपीलाई हेडक्वार्टरले लिखित स्पष्टीकरण सोध्यो । त्यही कारण उहाँ राजीनामा दिने मनस्थितिसम्म पुग्नुभयो ।”
सम्पादकसँगको सम्बन्ध
अजय श्यामबहादुर केसी सम्पादक भएका बेला ‘राइजिङ नेपाल’ प्रवेश गरेका थिए । पत्रकारिताको यात्राले उनलाई सम्पादक योगेश उपाध्यायसँग काम गर्न ‘काठमान्डू पोस्ट’ ल्याइपुर्यायो । योगेशले ‘काठमान्डू पोस्ट’ छोड्ने भए । अजय र अखिलेश सुटुक्क श्यामको घरमा पुगे । ‘काठमान्डू पोस्ट’मा सम्पादक भएर आउन आग्रह गरे ।
“उहाँले मानिरहनुभएको थिएन । तर, हामीले उहाँलाई कन्भिन्स गरायौं । उहाँ सकारात्मक भएपछि बल्ल हामीले ‘काठमान्डू पोस्ट’का प्रकाशकलाई भन्यौं । दुवै पक्षलाई मनायौं र श्याम सर नै ‘काठमान्डू पोस्ट’को सम्पादकका रूपमा आउनुभयो । दोस्रो पटक उहाँसँग काम गर्ने अवसर मिल्यो,” अजयले सुनाए ।
अविकासको जड
अजयले पछिल्लो एक वर्षमा भ्रष्टाचारसम्बन्धी एउटा रिपोर्ट तयार पारे, जुन पुस्तकका रूपमा केही समयपछि प्रकाशन हुँदैछ । यो पुस्तक लेखनका क्रममा गरिएको अनुसन्धानबाट उनले निष्कर्ष निकाले— अहिले सबैको केन्द्र पैसा हो । नाता, सम्बन्ध, नैतिकता र मानवता त पैसापछि तपसिलका विषय हुन् । शुरुमा राजनीतिलाई केन्द्रमा राखेर विश्लेषण गरिन्थ्यो तर अहिले पैसा केन्द्रमा छ, राजनीति त एउटा पक्षमात्रै हो ।
“प्रचण्डको निर्णय प्रक्रिया हेर्ने हो भने पैसा जहिले पनि नम्बर १ मा हुन्छ । प्रचण्डमात्रै होइन, अरु नेताको पनि त्यस्तै हो,” अजय आफ्नो पत्रकारिताको लामो अनुभव र पुस्तक लेखनका क्रममा गरेको शोध र त्यसको निष्कर्ष सुनाउँछन् ।
राजनीतिका लागि अहिलेको मुख्य योग्यता पैसा हो । नेताहरूलाई कसले प्रायोजन गरिरहेको छ, सबैलाई थाहा छ— निजी क्षेत्रले । “पहिला नेताहरू भ्रष्टचार गर्थे, पैसा आफैं राख्थे तर अहिले भ्रष्टाचार गर्छन् तर त्यो पैसा आफू नराखी व्यापारीलाई दिन्छन् । यो सिस्टम नै बनिसकेको छ । हाम्रो अर्थतन्त्र विकास हुन नसक्नुको मुख्य कारण यही हो,” अजय भन्छन्, “राजनीति र अर्थतन्त्रको यस्तो विकृत नेक्सस बनेको छ, जसले नेपाल अगाडि बढ्न सकेन ।”
यो विकृतिबाट बाहिर नआएसम्म अर्थतन्त्रको सहज विकास नहुने बताउने अजय अहिले राजनीतिको रिपोर्टिङ गर्ने पत्रकारमा आर्थिक पत्रकारिताबारे उत्तिकै जानकारी हुनुपर्ने बताउँछन् ।
तस्बिरः सौरभ रानाभाट