काठमाडौं । मन्त्री रवीन्द्र अधिकारीः साँफेबगरमा जहाज जाने भनेको गएकै छैन अझै, सबै जहाज बिग्रिएका छन् ?
महाप्रवन्धक सुगतरत्न कंशाकारः बिग्रिएको बिग्रिएै छ ।
अधिकारीः साँच्चै भन्नुस् त, टुइनअटर तीनवटा चलाउने भनेको चलेनन् ?
कंशाकारः एउटा चाँहि इन्जिनमा लफडा भएर पहिलादेखि नै चलेको छैन । दुईटा चलिराखेकोमा पनि बिग्रिरहेको छ ।
अधिकारीः तीनवटै चलेका छैनन् ?
कंशाकारः एउटा नचलेको त बर्षौं भयो नि !
अधिकारीः एउटा त इन्जिन बनाउनेबित्तिकै भैहाल्छ रे त !
कंशाकारः हो । हुन्छ ।
अधिकारीः त्यो अरु कसैलाई दिने हो भने त फ्याट्टै भैहाल्छ फेरि । त्यस्तो त होइन ?
कंशाकारः होइन । होइन । त्यस्तो होइन । हामीले नै चलाउने हो ।
अधिकारीः यहाँ कुरा के छ भने नि ! केही चल्दैन भनेर दियो । तपाईंले चल्दैन भनेर अरुलाई दिएको चलिरहने । यसमा एकदम सिरयस हुनुस् है ।
कंशाकारः हो... हो.... ।
अधिकारीः डोमेस्टिकलाई हेल्चेक्र्याइँ नगर्नुस् । त्यही भएर हामी डोमेस्टिकका लागि अरु विमान ल्याउन लागेका हौं । एयरपोर्टको माग भको भै छ, जहाज कति पनि छैन । डिमान्ड र सप्लाईको कुरा मिलिरहेको छैन । जहाज तीनवटा छन् । तीनवटैलाई चालु अवस्थामा ल्याउनुस् । एमए–६० पनि चलिरहेको छैन हो ?
कंशाकारः एउटा चलिराखेको छ, एउटा चलिराखेको छैन ।
अधिकारीः त्यो दुईटै चल्दा यो बीचमा कस्तो राम्रो भएको थियो । मलाई एकदम आनन्द भएको थियो ।
कंशाकारः हो, दुईवटा चल्दा एकदम राम्रो भएको थियो ।
अधिकारीः म आएपछि दुईटा राम्रोसँग चल्दा राम्रो प्रभाव पर्यो । म आँफै पनि आन्तरिक रुपमा रिसर्च गरिरहेको हुन्छु । धनगढीमा भाडा घट्यो । विराटनगरमा राम्रो भयो । हो ?
कंशाकारः हो ।
अधिकारीः विराटनगर र धनगढीमा त त्यसैको (नेपाल एयरलाइन्स) मात्रै माग थियो । त्यसैले त्यो दुईटालाई चाँहि चल्ने बनाउनुस् त, त्यसले राम्रो काम गर्छ । टुइनअटरलाई पनि सामान ल्याएर चलाउनुस् । नत्र भने त के अर्थ ।
दोस्रो वाइडबडी पनि सञ्चालनमा आयो होइन ?
कंशाकारः उडानका लागि इजाजत पाइसक्यौं । सेप्टेम्बर १ बाट उडान शुरु गर्दैछौं ।
अधिकारीः सेप्टेम्बर एक नै कुर्नुहुन्छ । अगाडिनै उडाएर देखाइदिनुस् न ।
कंशाकारः सकिन्छ ।
अधिकारीः डोमेस्टिकमा के छ प्लान ?
कंशाकारः हजुर एउटा गुनासो त के भन्नु चित्त दुखाई, डोमेस्टिकमा ९५ प्रतिशत बजार निजी क्षेत्रले लिइरहेको छ अनि ९५ प्रतिशत गाली हामीले खानुपर्छ ।
अधिकारीः होइन...होइन..., त्यसमा जाँदै नजानुस् । म के भन्छु भने–नेपाल एयरलाइन्स डोमेस्टिकतर्फ त्यो ड्युटीबाट भागेको रहेछ । तपाईंहरुलाई ग्राउण्ड ह्याडलिङ त्यसै दिएको हो र ? त्यो त सहजताका लागि दिएको हो । डोमेस्टिकमा टाढाटाढा जाँदाका लागि यस्तै यस्तै कुराहरुका लागि तपाईंहरुलाई बलियो बनाउन दिएको हो । एक नम्बर, गल्ती जहाज बेच्ने किन्ने कुरै नगर्ने । नेपाल एयरलाइन्सको बोर्ड मात्रै झुण्डाइदिए पुग्छ भन्ने ठानेर, ग्राउण्ड ह्यान्डलिङबाट तलब खाएर अनि तेस्रो हामी त इन्टरनेशनल कहाँ डोमेस्टिक हो भन्ने । तपाईंहरु नगएर को जान्छ त त्यहाँ ? तपाईंहरुलाई सरकारको सुविधा छ भने तपाई जानुपर्यो नि !
आर्थिक वर्ष २०७४/०७५ को संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको वार्षिक प्रगती समीक्षा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको आइतबारको बैठकमा विभागीय मन्त्री अधिकारीले नेपाल वायु सेवा निगमका महाप्रवन्धक सुगतरत्न
कंशाकारबीचको सवाल जवाफ हो यो ।
मन्त्री अधिकारीले निगमले आन्तरिक उडान सञ्चालनमा ध्यान नदिएको र विमान मर्मतमा गम्भीर नभएको गुनासो गर्दै तत्काल बनाएर सञ्चालनमा ल्याउन निर्देशन दिएका छन् । आन्तरिक उडानतर्फ समयमै उडाज भर्न सके घाटा नहुने उनको भनाइ छ ।
“आज तपाईंको इमेज नेपालभित्र छँदै छैन, त्यो गुमेको इमेज रिकभर गर्नुस्,” मन्त्री अधिकारीले महाप्रवन्धक कंशाकारलाई भने, “पछिल्लो समय केही राम्रो भने भएको छ, मैले पाएको डाटा अनुसार ५० प्रतिशत उडान समयमै हुने गरेको छ ।”
जहाँ सजिलो छ त्यहाँ मात्रै काम गर्ने र जहाँ अफ्ठ्यारो छ त्यहाँ जाँदै नजाने भाग्ने चलन गलत भएको भन्दै त्यसो नगर्न पनि उनले निगमलाई सचेत गराएका थिए ।
बीचैमा नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले मन्त्री अधिकारीलाई भने, “मन्त्री ज्यू, नेपाल एयर लाइन्सका जहाज एउटै कम्पनीका नभएका कारण फरक फरक इकुप्मेन्ट चाहिने, फरक फरक पाइलट चाहिने भएका कारण पनि समस्या आएको हो ।”
मन्त्री अधिकारीले प्राधिकरणका सीईओलाई रोक्दै भने, “डीजी साप सुन्नुस्, मेरो कुरा सुन्नुस्–निगमसँग भएका तीन वटा टुइनअटर त एकै प्रकारका हुन् नि हैन ? पहिला यिनलाई चलाएर देखाउनुस् न । यिनै नचलेको त सबैलाई थाहा छ ।”