site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
लिंगे पिङ नियमावली, २०७३
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
अधिकारी रवीन्द्र

नेपाल लिंगे पिङ प्रवद्र्धन समितिको केन्द्रीय कार्यालयको मुख्य सूचना बोर्डमा प्रकाशित ।
मिति : २०७३ असोज १८ 
खेलकुद विकास ऐन, २०४८ को प्रस्तावनालाई टेकी सर्वसाधारण जनताको शारीरिक तथा मानसिक विकास गरी सक्षम र अनुशासित नागरिक तयार गर्नका लागि वान्छनीय भएकोले नेपाल लिंगे पिङ प्रवद्र्धन समितिले देहायका नियमहरू बनाएको छ ।  
 
प्रस्तावना
लिंगे पिङ नेपालको कुना कन्दरादेखि सहर बजारसम्म विशेषतः चाडबाडको अवसरमा निकै नै लोकप्रिय खेल हो । यो खेलको वास्तविक उद्गम बिन्दु इतिहासको कुन कालखण्ड हो भनेर यकिनका साथ भन्न नसकिए पनि यो खेल परापूर्व कालदेखि चलिआएको हो भन्ने अनुमान पुराना कष्ठकला वा चित्रकलामा कुँदिएको पिङको कलाकृतिबाट जान्न सकिन्छ ।  
यो खेल कुनै अवसर, पर्व, मेला, हाट, जात्रा आदिको अवसर पारेर खेलिन्छ । तसर्थ यो खेल खेल्ने समयमा प्रायः हुलमुल बढी हुन्छ । जहाँ हुलमुल बढी हुन्छ, त्यहाँ ठेलमठेल र झेलमेल पनि बढी हुन्छ । लिंगे पिङ खेल्दा हुन सक्ने अन्याय, झेल तथा दुव्र्यवहारलाई मध्यनजर राखी यो नियमावलीले आजको दिनदेखि यो खेल खेल्दा पालना गर्नुपर्ने आधारभूत नियम विनियम तथा खेलको नियमविपरीत व्यवहार देखाएमा भोग्नुपर्ने दण्डसजायको बारेमा प्रष्ट दिशानिर्देश गरेको छ । अझ नजिकिँदै गरेको हिन्दू महान् चाड दसैं तथा तिहारमा जताततै पिङ खेलिने परम्परा रहेको हुँदा यस्ता थिचोमिचो र ज्यादति झन् यो सिजनमा बढी हुने गर्छ । साथै बढ्दै गएको बजारिकरणले खुला ठाउँ नहुँदा लिंगे पिङको अस्तित्व नै धरापमा परेको हुँदा यो खेलको गरिमालाई बचाउन र यसको ऐतिहासिक मूल्य मान्यतालाई सन्तान दरन्तानसम्म हस्तान्तरण गर्ने अभिप्रायले समेत प्रेरित भएर यो नियमावली सार्वजनिक भएको छ । पौराणिक मान्यताअनुसार पनि दसैंको अवधिभर कम्तिमा एक पटक भुइँ छोड्नैपर्ने भन्दै आएकोमा सबैले सुविस्ताका साथ नियममा रहेर त्यसो गरुन् र गराउन् भन्ने अपेक्षासमेत गरिएको व्यहोरा जानकारी गराइन्छ ।   
 
परिच्छेद–१  
प्रारम्भिक 
१) संक्षिप्त नाम र प्रारम्भः (१) यो नियमावलीको नाम ‘लिंगे पिङ नियमावली’ २०७३ रहेको छ । (२) यो नियमहरू तुरुन्त लागू हुनेछ । 
२) परिभाषा : विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस नियमावलीमा,
(क) ‘ऐन’ भन्नाले खेलकुद विकास ऐन, २०४८ सम्झनुपर्छ । 
(ख) ‘लिंगे पिङ’ भन्नाले घटीमा चार वटा बाँसका खाँबा चारतिर वर्गाकार वा आयताकार मोहडामा गाडेर त्यसको बीचमा झुन्डाइएको डोरीमा खेलिने खेल र ‘लिंगो’ मात्रै भन्नाले पिङ बनाउने अभिप्रायले काटिएको वा काट्न तय गरिएको बाँसको टुप्पोसहितको खाँबो भन्ने सम्झनुपर्छ । 
(ग) ‘लठारो’ भन्नाले पिङकै प्रयोजनको लागि बाबियो वा जुटबाट बनेको मोटो डोरी सम्झनुपर्छ । 
(घ) ‘गरालो’ भन्नाले लठारो बलियोसँग बाँधिएको त्यो काठ बुझ्नुपर्छ, जुन चार वटा लिंगोेहरूको टुप्पो जोडिएको ठाउँमा मिलाएर तेस्र्याइएको हुन्छ ।  
(ङ) ‘खेलाडी’ भन्नाले लठारोमा चढेर कम्तिमा पाँच पटक अगाडि र पछाडि हुत्तिने व्यक्तिलाई सम्झनुपर्छ ।
(च) ‘काम्रो’ भन्नाले खेलाडीको खुट्टा वा पुठ्ठा राख्ने बलिया कम्तिमा दुई वटा साना लठ्ठीलाई डोरिले बुनेर तयार गरिएको चिज सम्झनुपर्छ ।  
(छ) ‘भिजिलान्ते’ भन्नाले वास्तविक खेलमा रुची नभई खेल भाँड्न वा खेल्न भनी आएका व्यक्तिलाई र्याग गर्न बसेका जमातको सदस्य भन्ने सम्झनुपर्छ । 
(ज) ‘हल्लागिरी’ भन्नाले सानोतिनो किचलो सुरु हुनासाथ डाँडै थर्काउने गरी होहल्ला मच्चाउने व्यक्ति वा समूह सम्झनुपर्छ । 
(झ) ‘पिन्चे’ भन्नाले खेल्न नआउने तर खेल्छु भनेर हरबखत काम्रो वा लठारो समाउन आउने व्यक्तिलाई सम्झनुपर्छ । 
(य) ‘रुन्चे’ भन्नाले रोल क्रममा हुनेले एक पटक बल्ल खेल्न पाउँदा जुन व्यक्तिले रोईकराई कम्तीमा तीन पटकसम्म खेलिसकेको हुन्छ, त्यसलाई सम्झनुपर्छ ।  
(ट) ‘ग्वाङ्ग्रो’ वा ‘ग्वाङग्री’ भन्नाले खेल्न आउने तर खेल्ने मौका कहिल्यै नपाउने र प्रायः अलि पर लिंगोमा हात राखेर ट्वाल्ल तमाशा हेर्नेलाई सम्झनुपर्छ । 
(ठ) ‘लठ्ठा’ भन्नाले दुई लठारोको समूह सम्झनुपर्छ । 
(ड) ‘लाठे’ भन्नाले घरमा काम लठाग्र छाडी बाबुआमा, स्वास्नी, छोराछोरीको आँखा छलेर दिउँसोको खाजासमेत खान घर नगई दिनहुँजसो पिङवरिपरि झुम्मिने, अधिकांश समय पिङ हल्लाउन बसेको मान्छेलाई सम्झनुपर्छ ।
(ढ) ‘पिलन्धरे’ भन्नाले खेल्न भनेर आएका खेलाडीको पछिपछि रुँदै कराउँदै आएका बालबच्चा सम्झनुपर्छ, जो अक्सर खेलाडी पिङमा चढ्नासाथ सातै जाने गरी डाँको छोडेर रुने गर्छन् ।   
(ण) ‘उठी’ भन्नाले काम्रोमा खुट्टा राखेर उठेर खेलिने खेल तथा ‘बसी’ भन्नाले काम्रोमा पुठ्ठा राखेर बसेर खेलिने खेल सम्झनुपर्छ । 
(त) ‘रमिते’ भन्नाले खेल्न आउँदा पनि नआउने अनि खेल्न इच्छा पनि नभएका कसैको साथी लागेर आएका १३ वर्षमाथिका मानिसहरूको जत्थालाई सम्झनुपर्छ ।   
 
परिच्छेद–२
३) खेल खेल्ने वा खेल हेर्नेसम्बन्धी व्यवस्था
यस नियमावलीमा निम्न नियमहरूको व्यवस्था गरिएको छ 
(३.१) खेलाडी संख्या र लिंगका सम्बन्धमा : यो खेल एक वा दुई जना अवस्थाअनुसार खेल्न सकिनेछ । जोडी खेल्दा १३ वर्ष उमेर नाघेका विपरित लिंगी छन् भने श्रीमान्–श्रीमती नै हुनुपर्नेछ । अन्यथा जोडी खेल्न पाइनेछैन । १३ वर्ष उमेर हद ननाघेकाका हकमा जो–जो खेले पनि पाइनेछ । 
(३.२) खेल एकैपटक सबैले खेल्न नमिल्ने भएकाले रोलक्रम अनुसार खेल्नुपर्छ, जसमा पहिला आउनेको रोलक्रम पहिलो र पछि आउनेको तदनुसार दोस्रो र तेस्रो हुँदै जानेछ । देहायका विशेष अवस्थाहरूबाहेक अन्य अवस्थामा कुनै पनि हालतमा रोलक्रमको नियम पलना गर्नु गराउनु पर्नेछ । 
 (३.३) अतिथि संस्कारसम्बन्धी : गाउँमा वा टोलमा कसैको घरमा आएको पाहुनाले खेल्न चाहेकोमा विद्यमान रोल क्रमको ख्यालै नगरी उसलाई पहिलोपटक खेल्ने मौका दिइनेछ । दोस्रो पटकदेखि भने उसलाई रोल क्रमअनुसार नै खेलाउनु पर्नेछ ।
(३.४) बच्चा सुरक्षासम्बन्धी : यो उपनियमले पाँच वर्षभन्दा कम उमेरका बच्चालाई खेलाउँदा सम्बन्धित बच्चाको अविभावक अनिवार्य रूपमा उसलाई काखमा राख्न तयार हुनुपर्छ, अन्यथा उसको रोलक्रम रद्द गरिनेछ । 
(३.५) लिंगे पिङ खेलका निषिद्द कार्यहरू : 
(क) खेलाडी तथा दर्शक दिर्घाहरूबीच मुख छाड्न तथा हात हाल्न नहुने ।
(ख) धारिलो वा पड्किने हतियार लिएर आउन निषेध ।
(ग) गाउँलेका बहिनी, दिदी, भान्जी, साली, भतिजी, बुहारी, सोल्टिनीप्रति गिद्धे नजर लाउन नपाइने ।  
(घ) साना बच्चालाई अविभावकबेगर पिङमा चढ्न निषेध ।
(ङ) पीङमा मच्चिँदा ‘सररर’ र ‘चचहुइ’ बाहेक अरु (आपत्तिजनक र उछृंखल) भाषा र शब्दहरू प्रयोग गर्न निषिद्द ।
(च) खेलबीचमा लठारो झड्काल्न र बढी मच्चाउन र अरुलाई हौस्याउन नपाइने ।
(३.६) पिङबाट ओर्लन बाध्य नपारिने : साविक खेलको निर्धारित अवधि सकिँदा पनि खेलाडी वा खेलाडीहरूले खुबै जोशका साथ मच्चिई मच्चिई खेलिरहेको अवस्थामा पिङबाट ओर्लन बाध्य पारिनेछैन । खेलको समय निर्धारण भने खेल्न इच्छुक खेलाडीहरूको चापअनुसार उपलब्ध व्यक्तिहरूकै मिलेमतोमा गर्न सकिनेछ । घरपरिवारका मान्छे विभिन्न बहानामा खेलिरहेको खेलाडीलाई बोलाउन आएमा समेत खेलाडीले आफ्नो अवधिसम्म निष्फिक्री खेल्न पाउने अधिकार यस नियमले व्यवस्था गरेको छ । 
(३.७) आफ्नो पालो आउने बेलामा अन्त कतै भुलिने वा घर जाने र पछि आउनासाथ अघि नै पालो आउने बेलामा गएको भनेर रोलक्रम मिच्न पाइने छैन । 
(३.८) आफैं जिम्मेवार हुनुपर्ने 
(क) खेल भैरहेको ठाउँमा लापरबाही गरी जाँदा मच्चिएको पिङले लागेमा घाइते स्वयंबाहेक अरु कुनै पक्ष जवाफदेही हुनेछैन । 
(ख) हुक्कु हुने गरी मादक पदार्थ सेवन गरी खेल स्थानमा खुट्टै टेक्न नसक्ने गरी आउने, गालीगलौज तथा अशिष्ट भाषा प्रयोग गर्ने, घुर्की लाउने, बहानाबाजी गर्ने, लछार्ने, पछार्ने, तँछाडमछाड वा मुक्कामुक्कीसमेत गर्ने, ठर्रा गनाउने मुख लिएर अर्काको  नजिकै गई ढ्याउ गर्नेजस्ता अक्षम्य भुलहरू गरेमा जोकोहीले वा समूहले मिलेर निज जँड्याहालाई कुटपिट गर्ने वा घिसारेर पिङ परिसरबाट बढीमा एक कोश परसम्म पुर्याउन सक्नेछन् र एक हप्तासम्म खेलबाट वञ्चित गर्न सक्नेछन् । निजको पुनरावेदन कहीँ लाग्ने छैन ।  
(ग) पिङ खेल्दाखेल्दै घडी, सिक्री, रुमाल, पर्स, पैसा, औंठी तथा अन्य बहुमूल्य सामान खसेमा वा हराएमा आफैं जिम्मेवार हुनुपर्नेछ ।  
(घ) आकस्मिक गरालो खसेर, लिंगो ढलेर, भूकम्प, चट्याङ, बाढीपहिरो आएर वा अन्य कारणवश पिङ खेल्दा दुर्घटना भएमा खेलाडी आफैं उत्तरदायी ठहरिनेछ ।
 
परिच्छेद–३ 
४) यस खेलमा निम्नबमोजिमका दण्ड तथा सजाय व्यवस्था गरिएको छ । 
(४.१) खेलाडीहरूबीच हात हालाहाल भएर अंगभंग भएमा (जस्तै नाक कुच्चिएमा, बंगारा झरेमा) पिडकले पीडितलाई सम्पूर्ण उपचार गर्नुपर्ने व्यवस्था यसै नियमले गरेको छ । साथै आपसी सहमतिमा खेल स्थानमै उपलब्ध प्रत्यक्षदर्शी यथासम्भव ज्येष्ठ नागरिकको रोहबरमा आर्थिक हिसाब मिलान गरी उपचार खर्च पीडित पक्ष स्वयंले समेतले पनि गर्न सक्नेछ । खेलको हकमा इच्छा भए पीडितलाई एक पटक पिङ खेलाएर एम्बुलेन्समा पठाउन सकिनेछ भने पिडकलाई तत्काल खेल सिमाबाट कठालो समाएर बाहिर निकाल्ने अधिकार खेल वरिपरिका पालो कुरेर बसेका खेलाडीहरूलाई हुनेछ । विपक्षीको शरीरबाट रगत नै बग्ने गरी मुक्का हान्ने त्यस्ता व्यक्ति सम्बन्धित लिंगे पिङबाट त्यस सिजनको लागि खेल्न स्वतः अयोग्य घोषित हुनेछन् ।
(४.२) सामाजिक शिष्टाचारविरुद्धको क्रियाकलापसम्बन्धीः 
गाउँका नव जवान किशोरी, गाउँलेका भान्जी/भातिजी, साली÷सोल्टिनी, भदै, सानी आमा, ठूलीआमा वा मामाका छोरीहरू, नवविवाहित बधु आदिलाई देखेर दुव्र्यवहार गर्ने, आँखा सन्काउने, सुसेल्ने, सिठी बजाउने, जिब्रो पड्काउने, घाँस वा कागजको रकेट बनाई उनीहरूको टाउको वा जिउमा पर्ने गरी उडाउने, सुनिने स्वरमा दोहोरो अर्थ लाग्ने भाषाहरू प्रयोग गर्ने तथा यहाँ उल्लेख गर्न नमिल्ने कुराहरू गर्ने हर्कत गरेमा लाठेको संयोजकत्वमा पहिलो पटक चेतावनी र दोहोरिएमा खेल परिसरबाट निष्कासित गर्न सकिनेछ ।  
(४.३) खेलाडी, रुन्चे, पिन्चे वा रमिते कुनै समूहले नियोजित रूपमा खेलको दौरानमा काम्रो झिक्ने, खोस्ने, थुत्ने वा लुकाउने गरेमा दोषी ठहरिएको व्यक्तिलाई वान्छनिय ठहरेमा अक्षरशः नेपाली रुपैयाँ एक सय पचाससम्मको नगद जरिवाना तिराउन सक्ने छ । उक्त शुल्कबाट लाठेको अगुवाइमा ल्गिंे पिङ वरिपरि भएका व्यक्तिहरूले चना चटेपटे, पानीपुरी, पिप्लामेठ, चुइङ्गम, चाउचाउ खान सक्नेछन् । सामूहिक सर्जमिनपश्चात काम्रो फिर्ता ल्याइसकेपछि काम्रो मामिलामा मुछिएको निज व्यक्तिको गनेर पाँच पटकसम्म पालो ढुस्सिने व्यवस्था गरिएको छ । 
(४.४) लिंगे पिङ खेल्ने भूभाग २० मिटर वरिपरि लंगुरबुर्जा, पोट, गुच्चा, तासजस्ता अन्य खेलको खाल राखी हल्ला गर्ने अनि खेलाडी र रमितेलाई भाँड्नेजस्ता जघन्य अपराधमा सामेल हुने व्यक्तिलाई एक सय बीस पटक उठबस गराई डाँडा कटाउँदा कसैले केही बोल्न पाउने छैन ।     
 
परिच्छेद–४
५. अन्य नियम, विनियममा असर नपर्ने :
यस नियमावलीमा उल्लेख भएको नियमहरूले क्षेत्रगत रूपमा बनेका, चलनचल्तीमा रहेका नियम, विनियमलाई कुनै पनि प्रकारले असर गर्ने गराउने छैन ।
६. संयोग हुने :
यो नियमावलीमा व्यवस्था भएका कुराहरू  वा बँुदाहरू अन्य नियम, विनियमसँग मेल खान आएमा केवल संयोगमात्र हुनेछ ।
७. अमान्य हुने :
यस नियमावलीमा बाझिएका कुनै पनि कुराहरू बाझिएको हदसम्म अमान्य हुनेछन् ।
८ . बाधा अड्काउ फुकाउने :
यस नियमावलीमा व्यवस्था भएका कुराहरू बाहेक अन्य परिस्थिति सिर्जना भई खेलमा अवरोध आएमा खेलाडीहरूको आपसी समझदारीबाट बाधा अड्काउ फुकाउन कुनै बाधा पर्ने छैन ।
९. अर्थ र संशोधन : यस नियमावलीमा रहेका शब्द र नियमहरूको अर्थ व्याख्या अझ जान्न चाहने र संशोधन एवं सुझाव दिन चाहनेले नेपाल लिंगे पिङ प्रवद्र्धन समितिको प्रधान कार्यालय, बनेपा, रेशम मार्गमा (वा ईमेल (चबखष्लझक२ष्यm।भमग।लउ)मा लिखित जिज्ञासा राख्न वा राय सुझाव दिन सक्ने छन् । सम्बन्धित जिज्ञासालाई सम्बोधन र प्राप्त सुझावलाई प्रथम संशोधनमा पक्कै पनि समेट्न खोजिनेछ । 
यो दसैंमा दुर्गा माताले सबैको कल्याण गरुन् । १८ आश्विन २०७३, रोज शुभम् । 
 
...........
का.मु. अध्यक्ष 
नेपाल लिंगे पिङ प्रवद्र्धन समिति, रेशम मार्ग, बनेपा (काभ्रे)  
फोन : अन्ठानब्बे एकचालीस दुई छ चार छैन फोन छ तार छैन 
बोधार्थ : खेलाडी, रमिते, हल्लागिरि, रुन्चे, पिन्चे, भिजिलान्ते, लाठे र खेलसँग सम्बन्ध राख्ने सबै ।
 
 
तस्बिर :  www.play-scapes.com
 
NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज २२, २०७३  १७:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय