विशेष

यसरी उदाइन् मुना

यसरी उदाइन् मुना
१५ अक्टोबर दिउँसो मोबाइलको म्यासेन्जरमा एउटा म्यासेज आयो, “भाइ, सञ्चै हुनुहुन्छ ?”
“ठीकै छ, तपाईंलाई ?” उत्तरमा मैले लेखें ।
“ठीकै छ,” उनले जवाफ दिइन्, “म त रोल्पामा छु नि ।”
“काठमाडौंमा हुँदा पो कहिले पो भेट भएको थियो र !” मैले लेखें ।
“त्यसो नभन्नू न । म काठमाडौं आएपछि भेट्छु जसरी पनि ।”
“हेरौं,” मैले लेखें । 
यो लेखेको ३ दिनपछि गायिका मुना थापा मगरसँग साँझ साढे ६ बजे बागबजारस्थित सम्झना बुढाथोकीको ‘सम्झना बुटिक’मा भेट भयो । म पुग्दा उनी सम्झनासँगै विदेशमा छिट्टै हुने स्टेज शोको ड्रेसका विषयमा कुरा गर्दै थिइन् । 
उनको व्यस्तता सोचिनसक्नु छ !
० ० ० 
भाग्यमा विश्वास राख्ने हो भने छैटीका दिन भाग्यमा भावीले जे लेख्छिन्, त्यही भोग्नुपर्छ मान्छेले । जिन्दगीको बाटोमा सधैं सीधा रेखामात्रै हुँदैनन्, कैयौं बक्ररेखाहरू पनि हुन्छन् । जसलाई नचाहेरै पनि छिचोल्नु पर्दो रहेछ । 
मुनाले जीवनमा सिकेको यो सबैभन्दा ठूलो पाठ हो ।
मुना अहिलेकी सर्वाधिक चल्तीकी लोकदोहोरी गायिका हुन् । लोकदोहोरीको शिखरमा छिन् । लाग्छ, उनी अहिले शिखरमा उभिएर तल हेरिरहेकी छन् । 
तर, यो शिखरसम्म आउन उनले उकालोमा थुप्रै घुम्ती काटेकी छन् । थुप्रै कुना, कुइनेटा र तरेली पार गरेकी छन् । संघर्षको प्रतिफल हो उनको गायकी । संगीतप्रतिको लगाव र झुकावको प्रतिफल हो उनको सफलता । 
० ० ० 
भविष्यलाई लिएर बाल्यकालमै एउटा सपना कोरिएको हुन्छ । त्यही सपनाको बाटो खोज्दै मान्छे जीवनभर हिँडिरहन्छ ।
तर, मुनाले कहिल्यै ठूला सपना देखिनन् । गोरखा मनकामना सिलिङ लामाछापमा जन्मिएकी उनी हजुरबुबा र हजुरआमासँग बस्थिन् । बेंसीमा बस्ने आमा–बुबासँगै कमै भेट हुन्थ्यो । हजुबुवा–आमाले ‘यस्तो बन्नुपर्छ नातिनी’ भनेर भनेनन्, पढ्नुपर्छ मात्रै भने । उनले पनि कुनै महत्वाकांक्षा पालिनन् । बन्धनमुक्त भएर बाँचिन् । गायिका बन्छु भन्ने त कुनै कुनाबाट लागेन ।
स्कुल जान्थिन् । तर, पढ्न खासै जाँगर चल्दैनथ्यो । पढ्न नपरे पनि हुन्थ्यो जस्तो लाग्थ्यो । गीत सुन्न, गाउन र नाच्न भने उनलाई मन लाग्थ्यो । उनी सानो छँदा गाउन भन्दा पनि नाच्न मन पराउँथिन् । 
“कहिलेदेखि गाउन थालेँ, म आफैंलाई थाहा छैन,” भन्छिन्, “मैले थाहा पाउँदादेखि नै म गाउँथें ।”
उनकी फुपू भगवती थापा मगरको निकै राम्रो स्वर थियो । फुपू गीत गाउँथिन् । गाउँभरिमा उनको चर्चा हुन्थ्यो । गाउँमा हुने विभिन्न धार्मिक, सामाजिक तथा सांस्कृतिक कार्यक्रममा उनीसँग दोहोरी गाउन टाढा टाढाबाट पनि मान्छेहरू आउँथे ।
“अहिलेको जस्तो भएको भए शायद उहाँ राम्री गायिका बन्नुहुन्थ्यो होला । तर, उहाँको गायन गाउँमै सीमित भयो,” मुना भन्छिन्, “काठमाडौं गएर गीत रेकर्ड गराउनुपर्छ भन्ने चेतै भएन । त्यसैले उहाँको प्रतिभा नै मरेर गयो ।”
फुपूको संगतले पनि होला, उनलाई गाउन मन लाग्थ्यो । लोकगीत, झ्याउरे तथा लोकदोहोरी गाउँथिन् । 
० ० ० 
उनी त्यो बेला रेडियोमा बज्ने गीत खुब सुन्थिन् । बिमाकुमारी दुराका गीत उनलाई निकै मन पर्थे । बिमाकुमारीका ‘सम्झी फर्क साइलो दाइ, यही आफ्नै घरमा’, ‘ऐलुको गाँजैमा’, ‘सम्झी सम्झी नरोऊ आमा’ मुनालाई मनपर्ने गीत हुन् । धेरैजसो उनकै गीत गुनगुनाउँथिन् मुना ।
त्यो समय गाउँमा रंगीन टेलिभिजन हुँदैनथे । सबैका घरमा ब्ल्याक एन्ड ह्वाइट टेलिभिजनमात्रै हुन्थे । नेपाल टेलिभिजनमा रामप्रसाद खनालले चलाउने लोकदोहोरी कार्यक्रम आउँथ्यो । त्यो भने उनी नछुटाई हेर्थिन् । त्यस्तै गाउन पाए पनि हुन्थ्यो भन्ने लागिरह्न्थ्यो । यसैगरी लाइभ गाउन सकिन्छ कि सकिँदैन भन्ने लाग्थ्यो । त्यो बेलासम्म पनि प्रोफेसनल रूपमै गीत गाउँछु भन्नेचाहिँ सोचेकै थिइनन् ।
तनहुँको सत्र सय भन्ने ठाउँमा हरेक वर्ष एकादशीको ठूलो मेला लाग्थ्यो । त्यहाँ लोकदोहोरी पनि गाउने चलन थियो । प्रतियोगिता नै हुन्थ्यो । पहिलो, द्वितीय भनेर छुट्ट्याउने चलन थियो । मिलेसम्म साथीहरूसँगै मुना पनि त्यहाँ पुग्थिन् । एक वर्ष सिर्जना विरहीलगायतका थुप्रै राष्ट्रिस्तरका कलाकार पनि त्यहाँ पुगेका थिए ।
त्यहाँ मुनाकै साथी मञ्जु थापा र उनका भिनाजु कर्सिङ थापाको टोलीले लोकदाहोरी गाउने कार्यक्रम तय भएको थियो । धेरै टोलीबीच प्रतिस्पर्धा हुन्थ्यो । त्यसैमध्ये मञ्जु र कर्सिङ थापाको टोलीले पनि दर्ता गराएको थियो । 
तर, सोही प्रतियोगिताका लागि अघिल्लो रात तयारी गर्दागर्दै मञ्जुको स्वर सुक्यो । उनी गाउनै नसक्ने भइन् । त्यो प्रतियोगितामा मुना पनि सहभागी थिइन् । कर्सिङले मुनालाई भने, “सालीको पनि स्वर राम्रो छ । तिम्ले लिड गर्नुपर्यो ।” भने । उनले दोहोरीको लिड गरिन् । उनी पहिलो पटक स्टेज उक्लिएको त्यही दिन थियो । र, पहिलो प्रतियोगिता पनि त्यही नै थियो । त्यो वर्ष थियो– ०५८ साल ।
त्यो प्रतियोगितामा सबैले मुनाको स्वरको तारिफ गरे । मुनाले पनि राम्रो गाउन सक्छिन् भनेर गाउँभरि चर्चा भयो । उनलाई पनि त्यसले थप हौस्यायो । त्यही दिनदेखि म पनि लोकदोहारी गाउन सक्छु भन्ने लाग्यो । र, रुचि झांगियो ।
० ० ० 
०५९ मंसिरमा मुनालाई गीत रेकर्ड गराउन भनेर कर्सिङले काठमाडौं ल्याए । राकेश थापा र चन्द्र परियारको ‘मनकामना केबुलकारमा गेट’ भन्ने एल्बममा उनले गीत गाइन् । पुतलीसडकको आरआरसी स्टुडियोमा रेकर्ड भएको त्यो गीत गाउँमा निकै चल्यो । स्थानीय स्तरमा मुनालाई उचाइ दियो । 
पहिलोपटक काठमाडौं आएकी उनी दोभान दोहोरी साँझ पनि गइन् । त्यहाँ उनले राजु परियार, सकुन्तला थापा, बलिसरा थापा, शीला आलेलगायतका कलाकारलाई देखिन् । राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकार, मान्छेको भीड, त्यसमा पनि आफूले चाहेको दोहोरी गाउन पाउने उनलाई त्यो माहोल निकै मन पर्यो । शीला आले निकै व्यस्त भएकाले उनले त्यति धेरै समय दिन सकिरहेकी थिइनन् । त्यसैले दोभानका सञ्चालक रेशम गुरुङले मुनालाई रोधीमा बस्न आग्रह गरे । तर, गाउँबाट भर्खर आएकी मुनाले त्यो बिरानो ठाउँमा, अपरिचित मान्छेसँग बस्न आँट गरिनन् र फर्किन् गाउँ । 
०६१ फागुनमा भने गाउँकै गणेश गुरुङ (जसलाई मुना दाइ भन्छिन्) पनि दोभान दोहोरी साँझमा काम गर्न आउने भएपछि मुना पनि आइन् । उनले त्यो दोहोरी साँझमा तीन वर्ष काम गरिन् । 
‘दोभान’मा काम गरिरहेकै बेला मुनाले सकुन्तला थापाको ‘जँड्याहा पोइ’ बोलको गीत गाइन्, जुन निकै लोकप्रिय भयो । यसले मुनालाई स्थापित मात्रै गरेन, लोकप्रिय कलाकारका रूपमा पनि उभ्याइदियो । त्यसपछि उनले अहिलेसम्म पछि फर्किएर हेर्नुपरेको छैन । 
“त्यो बेला अहिलेजस्तो सहज थिएन । स्वर राम्रो भए पनि कसैले वास्ता गर्दैैनथे । जो चलेको छ, उसकै पछि लाग्थे । अहिलेजस्तो गीत निकालेर युट्युब र सामाजिक सञ्जालमार्फत स्रोता/दर्शकसम्म पुग्न सक्ने वातावरणै थिएन । त्यसमा पनि गाउँबाट भर्खर काठमाडौं आएका व्यक्तिलाई केही थाहा हुँदैनथ्यो । मलाई पनि त्यस्तै भयो । सबैले स्वर राम्रो छ भन्थे । तर, आफैं गीत निकाल्न सक्ने अवस्था थिएन । अरुको एल्बममा साइड ‘बी’मा केही गीत गाउने अवसर मुस्किलले पाइन्थ्यो । दुई/तीनवटा एल्बममा त गएर गीत गाएँ तर बजारमा आउँदा मेरो स्वर नै सुनिँदैनथ्यो,” मुनाले सम्झिइन्, “थुप्र्रै संघर्ष गरियो, जुन सम्झन पनि मन लाग्दैन । गाउँबाट काठमाडौं आएर एक्लै बस्दा गर्नुपर्ने संघर्षका कथा कति कारुणिक हुन्छन्, त्यो सबैलाई थाहा छ । त्यो मैले पनि भोगें । यो छोटो समयमा मैले भोगेका दुःखका कथा सबै कसरी भन्न सकुँला र ?” 
डन भनिने चक्रे मिलनले खोलेको दोहोरी साँझ ‘रोधी घर’मा पनि मुनाले काम गरिन् । निकै भव्य भौतिक संरचनाका साथ खोलिएको त्यो दोहोरी भने चक्रेको छविकै कारण तीन महिनामा बन्द भयो । ‘रोधी घर’ बन्द भएपछि मुना ललितपुरको ‘रेशम फिरिरी’ दोहोरी साँझमा काम गर्न पुगिन् ।
मुनाले ‘रेशम फिरिरि’मा रामजी खाँड, शिव हमाललाई भेटिन् । उनले खाँड र हमालको ‘देउरालीको भट्टीपसल’ एल्बमको साइड ‘बी’मा ‘रुवायो साराले’ भन्ने गीत गाइन् । यो गीत पनि स्रोता तथा दर्शकले अत्यधिक रुचाइदिए ।
आफ्नो स्वरका दुइटा गीत बजारमा चलेपछि भने मुनालाई आफ्नो छुट्टै एल्बम निकाल्नुपर्छ भन्ने लाग्न थाल्यो । उनी काठमाडौंमा अभ्यस्त हुँदै गइन्, संगीतकर्मीहरूसँगको चिनजान र घुलमिल बढ्दै गयो । उनलाई आँट पलायो । र, निकालिन् पहिलो एल्बम ‘छोरी’ । ५ वटा गीत समावेश भएको उक्त एल्बममा तीनवटा लोकगीत र दुइटा लोकदोहोरी गीत समावेश गरिन् । ०६६ मा निकालिएको यो एल्बम १५ हजार कपी बिक्री भयो । व्यापार औसत भयो ।
मुनाले ‘छोरी’, ‘छोरी भाग–२’, ‘पञ्चे बाजा’, ‘तिमी राम्रो हाँसेर’ र ‘पीरतिमा फेल’ नामक पाँच वटा एल्बम निकालिसकेकी छन् ।
मुनाले अहिलेसम्म करिब चार हजार गीत गाइन् । उनलाई आफ्नै धेरै गीत मन पर्छन् । त्यसमध्ये पनि विशेष मन पर्ने भने ‘चिसो चिसो हावा सरसर’ र ‘ए परदेशी फर्की आऊ’ हो । ‘चिसो चिसो हावा सरसर’ लोकगीत हो ।
उनका धेरै गीत लोकदोहोरी भए पनि उनलाई लोकगीत निकै मन पर्छ । उनका एल्बममा लोकगीत पनि समावेश हुन्छन् । अहिले पनि उनी लोकगीत संकलन गरिरहेकी छन् ।
“गीतको मेलोडी तयार भइसकेको छ,” मुनाले भनिन्, “अब डेढ महिनाजतिमा गीत तयार हुन्छ । नेपाली कला, साहित्य र जीवनशैली बोल्ने गीत तयार गर्दैछु । मेरो आफ्नै शब्द र लयमा हुनेछ ।”
० ० ० 
पहिलो पटक उनी सन् २०१० मा कोरिया गइन् । त्यसयता १५ वटा देश पुगिसकेकी मुनाले अस्ट्रेलिया, जापान, यूके, हङकङ कतै बाँकी राखेकी छैनन् । एउटै देश ५–६ पटक दोहोर्याएकी पनि छन् ।
मैले सोधें, “अहिलेसम्म कतिवटा स्टेज प्रोग्राम गर्नुभयो ? सम्झना छ ?”
उनले भनिन्, “यूके गएका बेला एकपटक डेढ महिना बस्दा २१ वटा स्टेज शो भएका थिए । यति नै भनेर लेखाजोखा गरेकी छैन ।”
स्वदेशका स्टेज शोमा न्यूनतम ५० हजार रुपैयाँ लिने मुना विदेशका कार्यक्रममा डेढ लाखसम्म लिन्छिन् । 
० ० ० 
केही वर्षयता युट्युब हिट बढाउने नाममा भएका उच्छृंखल दृश्य, तस्बिर र शब्द प्रयोगप्रति मुना पनि सन्तुष्ट छैनिन् । लोकदोहोरी गीत प्रतिष्ठानकी केन्द्रीय सदस्यसमेत रहेकी मुनालाई सस्तो प्रचार र लोकप्रियताका लागि गाइने गीतमा सेन्सर गर्नुपर्ने लाग्छ । भन्छिन्, “हुन त अहिलेको समाजमा सेन्सरको कुरा गर्नु आफैंमा राम्रो मानिँदैन होला । तर, गीतका नाममा भएका विकृतिलाई सधैं टुलुटुलु हेरेर बस्न पनि सकिँदैन । त्यसैले शब्दको सेन्सरका लागि एउटा सेन्सर बोर्डको आवश्यकता देखियो ।”
० ० ० 
मुना चलचित्र ‘खुर्पेटो’की नायिकासमेत हुन् । मगर जातिको संस्कृतिलाई आधार बनाएर तयार पारिएको ‘खुर्पेटो’ मा उनी लिड रोलमा देखिँदैछिन् । नेपाली भाषामै तयार पारिएको यो चलचित्रमा मुनाले नायकसँग स्क्रिन सेयर गर्दै रोमान्स गर्नेछिन् ।
“म चलचित्रको नायकसँग लभमा परेकी केटी हुन्छु । विदेश गएको ऊ फर्केर आउँदैन, यस्तै–यस्तै छ । तर, लामो रोल भने छैन । सुरु, बीच र अन्तिममा थोरै रोल छ,” उनले भनिन्, म गीतको म्युजिक भिडियोमा समेत नदेखिने मान्छे । खेल्दिनँ भनेको तर आफ्नै जाति र संस्कृतिका विषयमा बनाएको चलचित्र भएर खेलेकी हुँ ।”
चलचित्र प्रदर्शन हुन बाँकी छ । 
उनी ‘खुर्पेटो’की मात्रै होइन, साजाजिक सञ्जालकी पनि नायिका नै हुन् । ट्वीटर र फेसबुकमा आफ्ना हरेक गतिविधि अपडेट गर्ने मुनाका असंख्य फ्यान फलोअर छन् । उनका फेसबुक र ट्वीटर दुवै एकाउन्ट भेरिफाइड छन् । उनी सम्भवतः फेसबुक र ट्वीटर दुवै एकाउन्ट भेरिफाइड हुने पहिलो लोकदोहोरी कलाकार हुन् । उनको फेसबुक पेज १७ लाख ३२ हजारले फलो गर्छन् ।
तस्बिरः मुनाको फेसबुकबाट
 

तपाईंको मत