नेपालको पर्यटनलाई नयाँ मोड दिने छिरिङको त्यो तस्बिर !

नेपालको पर्यटनलाई नयाँ मोड दिने छिरिङको त्यो तस्बिर !

आङछिरिङसँग मेरो चिनजान आजभन्दा करिब २७ वर्ष पहिले भएको हो । मैले गल्फ खेल्ने सिलसिलामा रोयल नेपाल गल्फ क्लबमा हाम्रो पहिलो भेट भएको हो । दुईचार पटकको भेटमै हामीबीच  धेरै कुरा मिल्ने पायौं र हामी साथी भयौं । प्रायः जसो, हामी सँगै खेल्थ्यौं । कहिलेकाहीँ मात्र ग्राहकसँग खेल्न आउँदा उसको अन्तै खेल्न जाने बाध्यता हुन्थ्यो । नत्र हामी सँगै खेल्थ्यौं । म आफ्नो गाडी लिएर उसको घरनजिक पुग्थें, ऊ बाहिर निस्किन्थ्यो । मेरै गाडीमा सधैं सँगै जान्थ्यौं।

हामी हप्ताको पाँच दिन खेल्थ्यौं । चार दिन रोयल नेपाल गल्फ क्लबमा । अरु दिन दैनिक २ घन्टा खेल्थ्यौं । शनिबार बिदाको दिनचाहिँ हामी गोकर्ण जान्थ्यौं, दिनैभर खेल्थ्यौं । त्यसरी सुरु भएको हो हाम्रो गल्फ यात्रा । छिरिङ ताप्लेजुङ जाने एक दिन अगाडिसम्म पनि हामी गल्फ खेलिरहेका थियौं । दुर्घटना भएको दिन हामी नखेल्ने उसले मलाई जानकारी दिएको थियो । हाम्रो अन्तिम भेट नै त्यही रहेछ ।

छिरिङ एकदमै 'एम्बिसियस' र निडर व्यक्ति थियो । आँटेको कुरा पुर्‍याउने साहस उसमा थियो । यो एउटा गजबको स्वभाव हो । यसका लागि ऊ कसरी प्लान गर्थ्यो मलाई खासै थाहा थिएन । उ निकै 'फोकस्ड'  व्यक्ति थियो । हामी गल्फ खेल्नेबेला उसको कयौं फोन आउँथे । गल्फमा शतप्रतिशत कन्सन्ट्रेट हुनुपर्छ, तर, उसलाई ती फोनले प्रभाव पार्दैन थिए । फोनमा कुरा सक्थ्यो अनि गेममा फर्किन्थ्यो ।

त्यत्रो ठूलो एम्पायर खडा गरेको मान्छे ऊ कयौं प्रेसर हुन्थे होला । तर, ऊ त्यो देखाउँदैन थियो । आफ्नो प्रयास जारी गरिरहेको हुन्थ्यो, काम गरिरहेको हुन्थ्यो । उसको अर्को गजबको भनेको उसको फोनमा मोबाइल नम्बर सेभ हुँदैन थिए । फोन गर्नलाई कन्टयाक्टमा गएर नाम खोज्दैन थियो । नम्बरै डायल गर्दथ्यो । त्यस्तो अद्वितीय स्मरण शक्ति उसबाहेक मैले कसैमा देखेको छैन । एउटा हिसाब नमिलेको विषयमा हामी साथीहरुबीचमा बाजी पर्थ्यो। तर, ऊ सामान्य हिसाबमा करेक्सन गर्दिन्थ्यो ।

ऊ अरुभन्दा रमाइलो तरिकाले खेल्न रुचाउँथ्यो । र, हाम्रो ग्रुपमा उत्कृष्टमध्ये एक खेलाडी थियो, ऊ । ६ ह्यान्डिक्यापसम्म ऊ पुगेको थियो । म उसलाई एउटा साथीको रुपमा सम्झिन्छु, एकदमै ठूलो हृदय भएको साथी । साथीहरुलाई एकदमै सहयोग गर्न रुचाउने । भोलि के हुन्छ भन्ने उसले चिन्ता देखाउँदैनथ्यो । उसको आफ्नो समस्यालाई कहिल्यै अरुको अगाडि ल्याउँदैनथ्यो ।

उसलाई नयाँ ठाउँ जान मन लाग्थ्यो । पूर्वपश्चिमका सबै हिमाली भेग उ पुग्‍यो।  'मलाई डुल्न मन लाग्यो’ मात्र भन्थ्यो । उसको एउटा तस्बिर एकदमै प्रसिद्ध छ । ब्याकग्राउन्डमा सगरमाथा भएको तस्बिरमा उसले गल्फ प्रहार गरेको देखिन्छ ।

हो त्यो स्थानलाई उसले लिने योजना बनाएको रहेछ । मलाई देखाउन लगेको थियो । कोङ्दे भन्ने ठाउँ लुक्लाबाट हिँडेर २ दिन र हेलिकप्टरबाट ७, ८ मिनेटको फ्लाइटमा पुगिन्छ । त्यो स्थानबाट सगरमाथामाथि डाँडा मुन्तिर देखिन्छ । ५-६ वटा ८ हजारभन्दा बढी उचाइका हिमाल पनि देख्न सकिन्छ ।

त्यो बेला उसले गल्फ हान्ने भन्यो । विश्वको सबैभन्दा उत्कृष्ट खेलाडी टाइगर उड्स थिए । छिरिङको टाइगरलाई नेपाल ल्याउन इच्छा रहेछ । उसले सँगै लगेको १ नम्बरको उड (ड्राइभर) निकाल्यो । र त्यहाँबाट ५-६ वटा सट प्रहार गर्‍यो। मैले त्यो नियालेर बसिरहेको थिएँ । त्यो बेला म रोयटर्सका लागि काम गर्थें । मैले एउटा तस्बिर खिचें, तस्बिर गज्जबको थियो । छिरिङले बल हानेको र पछाडि एभरेस्ट । त्यस्तो दृष्य त एकदमै विरलै पाइन्छ ।

त्यो फोटो हिट भयो । संसारभरबाट राम्रा प्रतिक्रिया आए । यस्तो ठाउँमा यो मान्छेले कसरी गल्फ हान्यो भनेर सबै छक्क परे । अधिकांश दैनिकको हेडलाइन बनेको रहेछ त्यो तस्बिर ।  भारतको टाइम्स अफ इन्डियाको फ्रन्ट पेजमा त म आफैंले देखें । त्यो अपूर्व थियो किनभने नेपाली राजा रानीको कलर फोटो त त्यो फेजमा छापेको मलाई याद छैन । एउटा सामान्य नेपालीले गल्फ हानेको फोटो फ्रन्ट पेजमा छापियो ।

घुम्ने योजना थियो । तर, तस्बिर योजनाबमोजिम खिचिएको थिएन । त्यो स्थानमा होटल बनाउने सपना बुनेर मलाई त्यहाँ लिएर गएको रहेछ उसले । मलाई त्यो मान्छेले किन लग्यो भन्ने लाग्यो । यहाँ कहिँ होटल बन्छ ? कसरी सामान ल्याउने, के गर्ने ?

त्यो बेला मैले भनेको थिएँ- नचाहिने कुरा नगर । कहाँ होटल बन्छ ? त्यसको ३-४ वर्षपछि हामी गएका थियौं, होटल बनिसको थियो । ऊ पाइलापाइलामा विजनेस पनि देख्ने मान्छे । ऊ भन्थ्यो- ‘यहाँ गल्फ कोर्स त बन्न दिउँ न त्यसपछि नेपालमा टुरिस्ट कति आउँछन् कति !
हो हाइ-इन्ड टुरिज्म नेपालमा प्रबर्द्धन गर्ने उसको सबैभन्दा ठूलो इच्छा थियो । छिरिङको त्यो सपना सफल भएको भए नेपालमा पर्यटन क्षेत्रमा एक प्रकारको अचम्मको अध्याय थपिन्थ्यो । तर, त्यो सम्भव हुन सकेन । टाइगर उड्सबाट त्यो तस्बिरपछि राम्रो प्रतिक्रिया आएपनि टाइगरको प्रेम स्कयान्डलका कारण टाइगर नेपाल आएका थिएनन् ।

उसको बारेमा कुरा गर्दा उसको ट्राभल एजेन्सी कम्पनी सम्झिन्छु । त्यतिबेला सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने र सबैभन्दा बढी कर तिर्ने कम्पनी उसको थियो । होटलहरुलाई पछि पारेको थियो उसले ।

त्यसको केही समयपछि उसले मलाई नयाँ अफिस देखाउन लग्यो । मैले के गर्न लागेको भनी सोध्दा जवाफ आयो, ‘एयरलाइन्स खोल्ने हो ।’ मलाई ऊ फेरि पागल लाग्यो । फेरि नचाहिने काम गर्न लागेकोमा मैले सुझाव दिएँ, ऊ चुप बसेन । भन्यो, “म नेपालको सबैभन्दा ठूलो एयरलाइन्सको मालिक बन्छु ।” नभन्दै आज उसको कम्पनी नेपालमा सबैभन्दा धेरै उडान भर्दछ ।

यही सम्झिन्छु । उसले एयरलाइन्सको आँट नदेखेको, असम्भव सपना नदेखेको भए आज छिरिङ हाम्रै माझ रहन्थ्यो । ऊ एउटा अचम्मको शक्ति भएको मान्छे थियो । आज बिहान उठ्नेबित्तिकै के गरौं कसो गरौं हुन्छ । गल्फ कोर्स कति दिनदेखि शून्य छ । समय धेरै बलवान चिज हो । धेरै मिस गरेका छौं, हामीले ।

राष्ट्र प्रेमी व्यवसायी हो, छिरिङ । उसले कुनै पनि काममा नेपालीको पैसा विदेश पठाउने वा नेपालको पैसा विदेश पठाउने कुनै पनि काम गरेन । उसले जति पनि काम गर्‍यो नेपाल र नेपालीलाई फाइदा हुने गर्‍यो। 

उसले सबै क्षेत्रमा काम गर्‍यो। एयरलायन्स खोल्यो, होटल बनायो । पर्यटकलाई नेपाल एयरलाइन्सलाई हात जोड्नुपर्ने अवस्था अन्त्य गर्‍यो । सेवा दिनका लागि उल्टै आफैं हात जोड्यो । पर्यटकको उद्धार गर्न, घाइतेको उपचार गर्न, पर्यटकलाई राम्रो सुविधा नदिएर विदेशमा नेपालको नराम्रो छाप पर्न नदिन अनुनय विनय गर्थ्यो । जहाँ–जहाँ मान्छेले छोडेको छ त्यहाँ उसले होटल खोलेको छ । गोकर्ण डूब्न लागेको बेला एक्वायर गरेको हो । मुस्ताङमा होटल खोल्ने उसको प्लान थियो ।

उसको एयरलाइन्सले पैसा मात्र कमाइरहेको छैन । दुर्गमका लागि यतिधेरै अन्न ओसारिरहेको छ । विकटका लागि खाद्यान्न ढुवानी गरिरहेको छ । उसमा त्यो क्षमता छ, उसले त्यो पनि गरिररहेको छ । उसले जति पनि काम गरेको छ, भविष्यले त्यसको मूल्यांकन गर्ने छ । मलाई त्यो विश्वास छ ।
हाइ-इन्ड टुरिज्म उसको अल्टिमेट लक्ष्य हो । एक रातको १ हजार / १२ सय डलरको टिकट बेच्ने योजना उसको थियो । उच्चस्तरको सेवा दिने र सोहीअनुसार लाभ लिने उ सोच्दथ्यो।

पछिल्लो समय भारतको कुम्भमेलालाई नियालेको थियो । १०-१२ करोड पर्यटक कसरी होल्ड गर्ने उसले नियाल्यो । उसले पत्ता लगायो कि फाइभ स्टार होटलजस्तो टेन्ट पाइने रहेछ, त्योबाट सुविधा दिन सके मान्छेले जति पनि पैसा तिर्दो रहेछ ।

अचम्मका कुरा सोच्थ्यो । एकपटक लुम्बिनी जाँदा होटल किन्न मन गरेको थियो । अहिले पछिल्लो समय चाहिँ जलविद्युत्तर्फ सोच्न थालेको थियो । त्यसमा पनि सबैको फाइदा हुने खालको उसले गर्न खोज्थ्यो । एक्लैले गर्ने खालको होइन । त्योचाहीँ उसको एउटा हिन्दीमा बडप्पन भन्छ नि, त्यो थियो उसमा ।

गल्फमा उसको प्यासन थियो । उसैको लागि पनि हामीले गल्फ खेल्न निरन्तरता दिनुपर्छ । यसैका लागि आउने शुक्रबार कार्समा एउटा पूजा गर्ने योजना बनाएका छौं ।

(गोपाल चित्रकारसँग बाह्रखरीले गरेको कुराकानीका आधारमा)

प्रतिकृया दिनुहोस
ad