आङछिरिङलाई मन नपराउने मान्छे नै छैनन् 

आङछिरिङलाई मन नपराउने मान्छे नै छैनन् 

मैले १९९२ मा आङछरिङ सरलाई चिनेको हुँ । म रोयल नेपाल गल्फ क्लबमा खेल्थें । उहाँले सोही समय गल्फ खेल्न सुरु गर्नु भएको हो ।  उहाँले मलाई सानो भाइको रुपमा माया गर्नुहुन्थ्यो । पछि गोकर्ण रिसोर्टको स्वामित्व उहाँले लिनुभएपछि उहाँ मेरो ‘बोस’को रुपमा हुनुहुन्थ्यो । उहाँ मेरो बोस भएपनि दाजुभाइको सम्बन्ध थियो, हाम्रो ।

कामको कुरामा हामी प्रोफेसनल थियौं भने बाहिर हामी दाजुभाइझैं थियौं ।

उहाँ गल्फलाई एकदमै माया गर्ने व्यक्ति हुनुहुन्थ्यो । नेपालमै गल्फको विकास गरौं भनेर उहाँले गल्फकोर्स सहितको होटल सञ्चालन गर्नुभयो । गल्फ खेलाडीलाई पनि निकै प्रोत्साहन तथा माया गर्नुहुन्थ्यो । आफ्नो वरिपरि गल्फका प्रतीभा देख्नुभयो भने आफूले कसरी मद्दत गर्न सक्छु भने सोच्नुहुन्थ्यो । र, आफ्नो स्तरबाट सहयोग गर्न सदा तायार हुनुहुन्थ्यो ।

गल्फलाई नेपालमा स्थापित गर्न तथा विदेशी खेलाडी नेपाल ल्याउने कुरामा उहाँको स्पष्ट भिजन थियो । नेपाललाई गल्फ टुरिज्मको डेस्टिनेसन बनाउने क्रममा उहाँले गोकर्णलाई आफ्नो स्वामित्वमा ल्याउनुसँगै कोङ्देमा एउटा अस्थायी होल बनाएर टाइगर उड्सलाई खेलाउने सपना थियो । उहाँको त्यो सपना पूरा हुन सकेन । तर, कालान्तरमा त्यो सम्भव हुनेवाला थियो, यसलाई पूरा गर्नुपर्ने अभिभारा अबको नेतृत्वमा छ ।

हामी खेल्दा जिस्किन्थ्यौं । कामको कुरामा सिरियस पनि हुन्थ्यौं । उहाँ कर्पोरेट खेलाडी, हामी व्यावसायिक, तर कहिलेकाहीँ उहाँ हामीभन्दा राम्रो खेल्नुहुन्थ्यो । अनि दिउँसोतिर मेसेज पठाएर प्रतिक्रिया माग्नुहुन्थ्यो । सेन्स अफ ह्युमर भएको, सबैजनासँग राम्रो मित्रता गाँस्ने मान्छे हो, उहाँ ।

एकदमै कोमल मन, काममा दूरदर्शी, निर्णयमा बोल्ड, क्विक डिसिजन दिन सक्ने क्षमता उहाँमा थियो । हरेक मान्छेलाई कुनै न कुनै हिसाबमा सहयोग गर्नुपर्छ भन्ने सोच उहाँमा थियो ।

उहाँसँग राजादेखि रैतीसँग समान व्यवहार थियो । क्याडि (गल्फ ब्याग बोक्ने)देखि आफूभन्दा अग्रजलाई दाइ वा भाइको सम्बन्ध राख्नुहुन्थ्यो । यो गुण धेरै कम मान्छेमा हुन्छ । यो अभूतपूर्व क्षमता उहाँमा थियो ।

मैले नजिकबाट चिनेअनुसार हाँस्नुपर्ने, खेल्नुपर्ने व्यक्तित्व उहाँ हुनुहुन्थ्यो ।

उहाँको निधनले हामीलाई ठूलो क्षति पुगेको छ । उहाँ हुनु र नहुनुमा ठूलो भिन्नता महसुस हुनेछ । उहाँकै कम्पनीभित्र कार्यरत कर्मचारी भएका कारण संस्थालाई ठूलो क्षति पुगेको छ । र, गल्फलाई केही गरौं भनेर लागेका हामीहरु उहाँ देहान्तबाट शोकाकुल छौं । व्यक्तिगत रुपमा मैले अभिभावक गुमाएँ ।

देशका लागि एकदमै सोच्ने मान्छे हो उहाँ, । देशमै रोजगारी सिर्जना गर्नुपर्छ भन्नेमा उहाँ सोचमग्न हुनुहुन्थो । पछिल्लो समय विशेष गरी हस्पिटालिटि क्षेत्रमा लगानी गर्न थाल्नुभएको थियो । होटलहरुमा लगानी गर्ने उहाँको सोच थियो । यसकारण देशलाई ठूलो नोक्सान भएको छ ।

यो अल्पायुको देहान्तले ‘बिग ड्रिम’ गर्ने व्यक्ति समाजले गुमायो । जीवनमा ठूलो उतारचढावका बाबजुद एउटा अल्पसंख्यिक समुदायबाट आएको व्यक्तिले ठूलो साम्राज्य बनाउनु भएको हो । सपना बुनेर त्यसैलाई पछ्याउनु भएको हो उहाँले ।
उहाँसँग भिजन थियो, सपना थियो र त्यो पूरा गर्न उहाँ लागि पर्नुभएको थियो ।

उहाँ राष्ट्रप्रेमी मान्छे हो । माओवादी द्वन्द्वकालमा पनि उहाँलाई हतास र निराश देखिँन । यस्तो हुँदै गर्छ, हामी सकारात्मक भएर अघि बढ्नुपर्ने सोच्नुहुन्थ्यो । राजनीतिक समस्या आफ्नो ठाउँमा हुँदै गर्छ, सबै देश यस्तै कालखण्डबाट माथि उठ्छन्, हामी काम गर्दै गर्नुपर्छ भन्ने सकारात्मक माइन्डसेट बोकेर हिँड्नुहुन्थ्यो । साँच्चै भन्नुपर्दा, व्यावसायिक क्षेत्रमा उहाँभन्दा बढी सकारात्मक मान्छे कहिल्यै देखिनँ ।

छिरिङ सर खाली ठाउँ देख्नुभयो भने भन्नुहुन्थ्यो, “यो त कमर्सियल ठाउँ हो, यहाँ त बिजनेस गर्न सकिन्छ । यसको प्रयोगबाट राज्यले कर उठाउँछ ।”

साँच्चै करको मामलामा उहाँ एमदमै सकारात्मक हुनुहुन्थ्यो । कर नउठाई राज्यले विकास गर्नै सक्दैन भन्ने उहाँको सोच थियो । राज्यको ढुकुटीमा नागरिकले तिरेको कर नभएसम्म राम्रो पूर्वाधार बन्ने नसक्ने उहाँको बुझाई थियो । स्पेसलाई अपरच्युनिटी देख्नुहुन्थ्यो उहाँ । उहाँको भिजन, योजनामा चल्नसके हामी सफल हुन सक्छौं जस्तो लाग्छ ।

उहाँलाई कोही मान्छे मन परोस् वा नपरोस् फरक थिएन । हामी गोकर्णमा गल्फ खेल्दै गर्दा एकजना कर्मचारीलाई हृदयघात भएको थियो । उहाँ उक्त घटनाप्रति चिन्तित हुनुभयो, उसको उपचार खर्च, परिवार एकैचोटि सम्झनुभयो उहाँले । हरेक व्यक्तिमा व्यक्तिगत सम्बन्ध बनाउनुहुन्थ्यो उहाँ ।

उहाँ सक्नेभन्दा नसक्ने तथा असहायलाई मद्दत गर्नुहुन्थ्यो । शवयात्रामा उर्लेको मावसागर उहाँको यही गुणको नतिजा हो । तितामिठा जस्तो भएपनि यो उद्योगको लागि आङछिरिङ एकदम खत्तम मान्छे हो, कसैले भन्न सक्दैन ।
 

प्रतिकृया दिनुहोस
ad