दाजु आँटको पर्याय हुनुहुन्थ्यो

दाजु आँटको पर्याय हुनुहुन्थ्यो

हामी हुर्कँदै गर्दा दिवाकर दाइ सबैको हिरो हुनुहुन्थ्यो । ठूलो भएपछि उहाँजस्तै हुने हामी सपना देख्थ्यौं । उहाँको व्यक्तिसँगै औद्योगिक र सामाजिक क्षेत्रमा गरेका काम र राजनीतिमा समेत रहेको उहाँको प्रभाव हामीमा पर्नु स्वभाविक थियो । कयौं उद्योग स्थापनासँगै हजारौं रोजगारी सिर्जनाका कारण उहाँको योगदान नेपालको लागि धेरै नै छ । उत्पादनमा भ्यालु एडिसन कसरी गर्ने भन्ने नै उहाँको सोच रहन्थ्यो ।

सानो उमेदेखि नै आफ्नो अन्तिम दिनसम्म देशकै लागि काम गरेर उहाँ हामीलाई छोडेर बिदा लिनुभयो ।

दाइका लागि हरेक व्यापार वा उद्योग मन्दिरसमान हुन्थ्यो र हामीलाई पनि त्यही कुरा सिकाउनु हुन्थ्यो । अनुशासन उहाँको सबैभन्दा ठूलो धर्म थियो, फजुुल खर्च उहाँलाई मन पर्थेन । लवाइखवाइमा उहाँको शोख थिएन । कम खर्च गर्ने उहाँको बानी जीवनभर जम्मा दुईवटा मात्र घडी बाँध्नुले प्रमाणित गर्दछ ।

उहाँले हामीलाई दिने प्रेरणा नै यही थियो कि अनुशासनमा नबसे व्यवसाय चौपट हुन्छ ।

उहाँबाट सिक्नुपर्ने सबैभन्दा ठूलो कुरा भनेको हिम्मत नै हो । हामीभन्दा अलग्गै स्तरको थियो त्यो उहाँमा । त्यो समयमा नेपाली अर्थतन्त्रको कोशेढुंगा साबित हुने उद्योग लगाउने आँट चानेचुने होइन । स्टिल, वायर, जुटमिल, चिनी मिललगायत सहज थिएनन् । उहाँले स्थापना गरेका उद्योगले नेपाली अर्थतन्त्रलाई विस्तारै उकासेकोमा कुनै प्रश्न छैन ।

उहाँ हाम्रो हजुरबुवाको सबैभन्दा प्रिय नाति हुनुहुन्थ्यो । हजुरबुवाले उहाँलाई जेजस्तो काम गर्न पनि आँट्न प्रेरणा दिनुहुन्थ्यो, साथ दिनुहुन्थ्यो । गोल्छा अर्गनाइजेनसन आजको दिनसम्म आइपुग्न पनि उहाँको ठूलो देन छ । एउटा पारम्परिक संस्थाबाट आधुनिक तथा व्यवसायिक रुपमा व्यवस्थित संस्था बनाउन उहाँको भूमिकाबारे बोलेर सक्ने विषय होइन । १७ हजार जनालाई रोजगारी दिने एउटा औद्योगिक घराना बनाउने एकमात्र नायक दिवाकर दाइ नै हो ।

उहाँसँग काम गर्न त्यति सहज थिएन । किनकी उहाँसँग काम गर्दा हरेक कुरा उहाँले चाहेको जस्तो हुनुपर्थ्यो । उद्योग र व्यापारमा ‘पर्फेक्सनिस्ट’ को पर्याय उहाँ हुनुहुन्थ्यो । अनुशासनमा नबस्दा उहाँ गाली पनि गर्नुहुन्थ्यो । हाम्रो लागि सिक्ने मौका त्यही पनि थियो ।
बेलुकासम्म काम गरिसक्ने योजना बनाइएको थियो भने ६ बजे उहाँको कल आउँथ्यो र कामको प्रगति सोध्नुहुन्थ्यो । उहाँका यस्ता धेरै कुराले हामीलाई प्रतिवद्धताको अर्थ सिकायो ।

उहाँले हाम्रो परिवारलाई मात्र होइन देशलाई पनि ठूलो गुन गरेर जानु भएको छ ।

भारतसँग गरिएको सन्धीले नेपाली उत्पादन शून्य भन्सारमा भारत निर्यात गर्ने व्यवस्था गर्यो । यसमा उहाँको ठूलो देन रहेको छ । उहाँ महिनौंसम्म भारतमा बसेर यसबारे समझदारी खोज्नुभयो । त्यसबेला उहाँ नेपाल उद्योग वाणिज्य महासंघको प्रथम उपाध्यक्ष हुनुहुन्थ्यो । त्यसैले गर्दा आज अर्कों रुपैयाँको उत्पादन भारत निर्यात गर्न सकेका छौं ।

मूल्य अभिवृद्धि कर कार्यान्वयनमा आउँदा देशलाई उहाँले ठूलो गुन लगाउनुभयो । नेपालका धेरै व्यवसायी भ्याटको विपक्षमा हुँदा उहाँले महासंघलाई मनाउनुभयो, व्यवसायीहरुलाई भ्याटको महत्व बुझाउनुभयो । र, पछि महासंघले भ्याट कार्यान्वयनमा सहयोग गर्यो ।

सरकारको यो व्यवस्थाका विरुद्ध सडकमा धेरै उद्योगी व्यवसायी उत्रिएका थिए । दिवाकर दाइले सम्पूर्ण उद्योगी व्यवसायीलाई भ्याट देशका लागि जरुरी रहेको बुझाउनु भयो । उहाँकै कारण व्यवसायीले स्वच्छ व्यापारमा भ्याट अत्यावश्यक रहेको र यसले देशमा व्यापारको राम्रो भविष्य हुने बुझे ।

सरकारको यो काम स्वीकार्ने पहिलो संस्था महासंघ नै थियो । त्यसमा उहाँको ठूलो भूमकिा छन् । मलाई लाग्छ उहाँको राष्ट्रप्रेम एकदमै ठूलो थियो । हरेक कुरा गर्दा देशले के पाउँछ भनी उहाँ सोच्नुहुन्थ्यो ।

उहाँको प्यासन उद्योग नै थियो । उद्योगकै कारण मात्र देश आर्थिक समृद्धिमा जान सक्छ भन्ने उहाँले बुझ्नु भएको थियो ।

उहाँ न्युट्रल व्यवसायी हुनुहुन्थ्यो । सोहीकारण पहिलो संविधानसभामा सभासद बनेर जाँदा उहाँलाई नेपाली कांग्रेसले समानुपातिकमा राखेपनि कुनै राजनीतक दलको नभइ व्यवसायीको प्रतिनिधि बनेर जानुभएको थियो । उहाँको पृष्ठभूमि राजनीति नभएका कारण सदा व्यवसायीबारे मात्र कुरा उठाउनुहुन्थ्यो ।

विभिन्न पार्टीका नेताहरुले पनि उहाँसँग सुझाव माग्थे ।

सादा जीवन उच्च बिचार जीउने व्यक्ति हुनुहुन्थ्यो उहाँ । उहाँसँग धेरै समय सँगै हिँड्ने मौका पाएँ मैले । धेरै खर्च उहाँलाई मन पर्दैनथ्यो, भौतिकवादी दुनियाँमा उहाँको शोख थिएन । फजुल रकम रोजगारी सिर्जना सदुपयोग गर्न चाहुहुन्थ्यो उहाँ । मृगौलाको समस्याका कारण पछिल्लो समय स्वस्थ्यमा गडबडी देखिन थालेको थियो । यो समस्याले उहाँलाई काम गर्न गाह्रो हुँदै गएको थियो । मृगौलाकै समस्याले उहाँलाई संसारबाट टाढा बनायो ।

तर, म सम्झिन्छु । अन्तिम अवस्थासम्म पनि म उहाँसँगै थिएँ । उपचारको दिनमा पनि फोनमा कुरा गर्न सक्ने हुनुहुन्थ्यो । उहाँको देहवसानका कारण मैले मेरो दाजुमात्र होइन, प्रेरणाको स्रोत गुमाएँ । नायक गुमाएँ । देशले एकदमै सफल उद्यमी गुमायो ।
 

प्रतिकृया दिनुहोस
ad