‘बुबा भन्नुहुन्थ्यो आधा पाकेको रोटी लिएर मकहाँ नआउनू’

‘बुबा भन्नुहुन्थ्यो आधा पाकेको रोटी लिएर मकहाँ नआउनू’

बुबा वर्कहलिकको उत्कृष्ट उदाहरण हुनुहुन्थ्यो । दिनमा १८–२० घन्टासम्म काम गर्नसक्नुहुन्थ्यो त्यो पनि अनुशासनमा बसेर । हामीलाई पनि अनुशासन सिकाउनुहुन्थ्यो । अहिले पनि सँगै बसेर मात्र लन्च वा डिनर गर्ने बानी हाम्रो छ ।
हाम्रो बिदा फ्याक्ट्रिमै हुन्थ्यो, बुबाले काम गरेको माहौलमा बाल्यकाल बित्यो । हामीले सानैमा कसरी र किन उद्योग सञ्चालन गरेको बुझेका थियौं ।

मलाई सम्झना छ । कलकत्तामा हुँदा अपार्टमेन्टमा बसेको बेला एकजना शिक्षकलाई जिस्काउँदा मैले मेरो जीन्दगीको पहिलो गाली खाएको थिएँ, बुबाबाट । किनकि मैले गुरुको आदर गरेको थिइनँ । उहाँले भन्नुहुन्थ्यो, “गुरुको आदर गर्न नसक्ने व्यक्तिले जीन्दगीमा केही गर्न सक्दैन ।”

एउटा समय थियो ६ वटा उद्योग एकैचोटि सञ्चालन गर्नुहुन्थ्यो । फ्याक्ट्रि अवलोकन नेपाल भ्रमणको सर्किट झैं हुन्थ्यो । ८० औं दशकको कुरा हो यो ।

हामीलाई विशेष सुविधा हुन्थ्यो तर बुबाको जीउने तरिका देखेर आफैंलाई अचम्म लाग्थ्यो । सादा जीवन जिउनुहुन्थ्यो । खाना एकदमै सिम्पल, पहिरनमा ध्यान दिनुहुन्नथ्यो । जीवनभर दुईवटामात्र घडी बाँध्नुभयो । जहिलेपनि घडी बाँध्नैपथ्र्यो । नयाँ घडी किनिदिन्छु भन्दा पनि मान्नुभएन ।

अस्पतालमा हुँदा पनि घडी कलम र चस्मा खोजिरहनुहुन्थ्यो । ड्रेसअपको सेन्स पनि थियो उहाँसँग । आफ्ना सामग्रीको उत्तिकै जतन गर्नुहुन्थ्यो । व्यवसायबारे उहाँ एउटै कुरा भन्नुहुन्थ्यो, “यस्तो व्यवसाय गर्नु जसमा भ्यालु एड होस् र देशलाई फाइदा पुगोस् ।” आवश्यकता भएको सामग्री उत्पादन गर्नुपर्ने उहाँको सोच थियो । यो कुरा उहाँका नशा नशामा थियो र त चिनी, जुट, स्टिललगायत उद्योग स्थापना गर्नुभयो । यी सबै उत्पादनमा ८० देखि ९० प्रतिशत स्थानीय रुपमा भ्यालु एड हुने गरेको छ ।

उहाँ कसैले नगरेको वा गर्न नसकेको काम गर्न रुचाउनुहुन्थ्यो । पायोनियरिङ जब मात्र गर्ने उहाँको सोच थियो । अर्काको सिको गरेर काम नगर्न हामीलाई सिकाउनुहुन्थ्यो । यति नाफा हुन्छ भनेर उद्योग सञ्चालन गर्नुुहुन्थेन । कुन उद्योग लगाउने वा नलगाउने विषयमा दुईवटामात्र पारामिटर थिए उहाँका, ‘कति भ्यालु एड हुन्छ ?’ र ‘देशले कति फाइदा लिन सक्छ ?’

म व्यवसायमा प्रवेश गरेपछि २० वर्ष उहाँसँग काम गर्ने मौका पाएँ । त्यसमध्ये अधिकांश समय उहाँले नेपाल उद्योग वाणिज्य महासंघमा बिताउनुभयो । त्यो समय करिब १० देखि १२ वर्ष थियो । तर, अध्यक्ष हुनु भएन । पछि संविधान सभामा सभासद बनेर प्रवेश गर्नुभयो र नेपाली व्यवसायीको आवाज उठाउनुभयो ।

महासंघको राजनीतिमा लागेर व्यवसायमा प्रभाव परेको गुनासो हामीले गर्दा उहाँ भन्नुहुन्थ्यो, “देश उकालो लागेमात्र हामीले एदम गर्न सक्छौं ।” उहाँ नेपालमा नीतिगत व्यवस्था कार्यान्वयनमा राज्यलाई सघाउने व्यक्तित्व हुनुहुन्छ । नेपालमा भ्याट कार्यान्वयन गर्न उहाँको ठूलो भूमिका छ । उहाँले नेपाली कांग्रेसका नेताहरुसँग भेटघाट गर्ने गरेको मलाई अहिले पनि याद छ । उहाँहरुसँग दैनिक कुरा हुन्थ्यो । आफ्नो व्यवसाय बढिरहन्छ तर देशको उन्नती हुनुपर्छ भन्ने उहाँको धारणा थियो ।

उहाँ अंकको पछि लाग्नुहुन्थेन । परीक्षामा स्थान महत्वपूर्ण नहुनेमा उहाँ विश्वास दिलाउनुहुन्थ्यो, भन्नुहुन्थ्यो, “अंकभन्दा ठूलो सिकाइ हो । परीक्षाबाट प्राप्त हुने पोजिसनले ज्ञानको स्तर तय गर्दैन ।” व्यवसायमा नाफा घाटा भइरहन्छ तर ठीक किसिमको व्यवसाय गरिएको छ भने नाफाघाटाले फरक नपार्नेमा उहाँ विश्वस्त हुनुहुन्थ्यो ।

हामीले बुबाबाट सिक्नेपर्ने सबैभन्दा मुख्य कुरा भने उद्योगमा उहाँको समर्पण नै हो । कुनै काम गर्दा दृढ भइ शतप्रतिशत सामथ्र्य परिचालन गर्ने व्यक्तित्व हुनुहुन्थ्यो उहाँ । काम सम्पन्न नहुन्जेलसम्म अनेकौं फोन गर्नुहुन्थ्यो । हामीले एउटा काम अह्राउनुहुन्थ्यो, उहाँ सयवटा काम गर्नुहुन्थ्यो । त्यहीपनि हामीलाई कार्यप्रगति सोध्न भ्याउनुहुन्थ्यो ।

हामी बुबालाई कामभन्दा अन्य क्षेत्रमा रुची राख्न आग्रह गर्थ्यौं, उहाँ आफ्नो रुची नै उद्योग रहेको बताउनुहुन्थ्यो । इन्टरनेट र टेलिफोन नभएको जमानामा नेपालको पहिलो प्रत्यक्ष वैदेशिक लगानीसहितको उद्योग स्थापना गर्नुभएको हो बुवाले, १९८२ मा ।

खरका छानालाई जस्ताको छाना बनाउने व्यक्ति हो उहाँ । उहाँले व्यापार सुरु गर्दाताका जुटमिलमा आगो लागेको थियो । त्योबेला २०–२२ गाउँमा त्यो आगो फैलिएको थियो रे । भारतबाटसमेत दमकल ल्याएर आगो नियन्त्रणमा ल्याइएको थियो रे ।

सो बेला उहाँले आगो यत्ति चाँडो फैलनुको कारण खरको छानो रहेको बुझ्नुभयो रे । त्यहीखेरै उहाँले खरको छानो विस्थापित गर्ने प्रण उहाँले लिनुभएको थियो रे, हामीलाई सुनाउहुनुहुन्थ्यो ।

बुबाले जापानी प्रतिनिधिसँग कुरा गरेर केन्यामा लगानी गर्ने कम्पनीलाई नेपाल भित्र्याउनुभएछ । जापानी प्रविधिसहितको उद्योग नेपालमा स्थापना गर्नुभएको हो । विदेशमा सिकेको ज्ञानलाई नेपालमा कार्यान्वयन गर्न उहाँ माहिर हुनुहुन्थ्यो ।

हुलास स्टिलमा प्रयोग भएको कलर कोटिङ सिट दक्षिण एसियामै पहिलोपल्ट थियो । गुणस्तरमा कहिले सम्झौता गर्नुभएन । नाफाभन्दा दीर्घकालमा पेब्याक गर्न सक्ने गुणस्तरमा उहाँको जोड थियो । हाम्रो विशेषता नै उहाँले कायम गरेको उच्चकोटीको प्रविधि र गुणस्तर नै हो ।

उहाँ राम्रो काम गरे नाफा आफैं आउनेमा ढुक्क हुनुहुन्थ्यो । उहाँको दुरदर्शीपना निकै सम्झनयोग्य छ । म सानै हुँदा आफूले स्थापना गर्न चाहेको उद्योगको सूची हामीलाई सुनाउनुहुन्थ्यो । र, ती सबै उद्योग उहाँले स्थापना पनि गर्नुभयो ।

उहाँको संलग्नता उद्यममा मात्र थिएन । राजनीतिलाई नजिकबाट हेर्नुभएको थियो उहाँले । गिरिजाबाबुले बुबासँग हरेक कुरामा सल्लाह माग्नुहुन्थ्यो । नेपाल–भारत वाणिज्य सन्धीमा बुबाको ठूलो भूमिका थियो । भारतमा बनेको सामान नेपालमा कर लागेर भित्रिने र नेपाली उत्पादन भारत बिना कर ट्यारिफ निर्यात हुने कसैले सोचेका थिएनन् ।

यस्ता कुरामा उहाँ इन्ट्रुमेन्टल हुनुहुन्थ्यो । उहाँकै कारण आज नेपालका सयौं उद्योगले सुविधा पाइरहेका छन् । यसमा प्रश्नै उठ्दैन । भ्याट कार्यान्वयन गर्दा पनि बुवाको ठूलो भूमिका छ । नेपालका व्यवसायी भ्याटका कारण आफूहरु फस्ने र कर तर्नुपर्ने भएकाले डराइरहेका बेला उहाँ एकजनामात्र भ्याट देशका लागि, विशेष गरी आर्थिक समृद्धिका लागि उचीत औजार भएकोमा उहाँ स्पष्ट हुनुहुन्थ्यो । यो कुरा उहाँले आफ्ना समकक्षी व्यवसायीहरुलाई पनि सम्झाउनुभयो ।

संविधानसभामा सदस्य हुँदा उहाँले धेरै नेताहरुलाई परामर्श दिनुहुन्थ्यो । मलाई याद छ, उपेन्द्र यादवसँग उहाँको पुरानो सम्बन्ध छँदै थियो र दीर्घकालको लागि सोच्न आग्रह गर्नुहुन्थ्यो । पहिले पनि सम्झाउनुहुन्थ्यो । तराईको आन्दोलन चर्किरहेको बेलामा गिरिजाबाबुले बाबालाई बोलाएर ७ दिनसम्म समस्या सुल्झाउन लाग्नुभएको थियो । सबै छलफलको संयोजन गर्नुहुन्थ्यो किनकि उहाँ एकमात्र तटस्थ व्यक्तित्व हुनुहुन्थ्यो ।

संविधानसभाको समितिहरुमा पनि हुनुहुन्थ्यो । जातीय राज्यको विरोधमा उहाँ हुनुहुन्थ्यो । राज्य विभाजन हुने कुनै बाटो खोल्न नहुनेमा उहाँको जोड थियो ।

गोल्छा परिवारभित्र आफ्नै परिवारिक कन्स्टिच्युसन छ । हामी सबैको तलब हुन्छ । नाफा भयो भने निकालेर प्रयोग गर्ने चलन छैन । आफ्नो ९ जना दाजुभाइका लागि कम्तिमा ९ वटै व्यवसाय सुरु गरिदिने सोच्नुहुन्थ्यो । सबैलाई स्थिर बनाउन उहाँको पहल थियो । गोल्छा अर्गनाइजेनसको पिलर हुनुहुन्थ्यो उहाँ । अर्गनाइजेसनमा सबैभन्दा बढी व्यवसाय सञ्चालन गर्ने व्यक्ति उहाँ ने हो ।

उहाँ टास्कमास्टर पनि हो । मैले पनि बुबासँग काम गर्दा धेरुै गालि पनि खाएको छु । बिजनेसको मिटिङमा दाजुभाइ बाबु छोरा हुँदैनथ्यो । मैले गल्ती गरेको छु भने म सजायको भागिदार हुने निश्चित हो । गालीभन्दा पनि मैले सुधार गर्नुपथ्र्यो । बिजनेसमा गल्ती हुँदा उहाँलाई स्वीकार्य थिएन ।

तर, मिटिङ सकेपछि खाना खान हात समातेर लानुहुन्थ्यो । यसरी हाम्रो ग्रुम गर्नुभएको थियो । यो मैले स्वीकारें । आज बुबाको निर्णय सत्य लाग्छ । बुबाको उपस्थिति धेरै मिस गरिरहेको छु । उहाँ हुँदा छुट्टै आँट हुन्थ्यो, प्रेरणा हुन्थ्यो । सबै बाटो बन्द भएपछि बुबाको शरणमा पुग्थ्यौं , ५ मिनेटमा समाधान हुन्थ्यो ।

एकचोटि भेटेको मान्छेलाई साथी मान्नुहुन्थ्यो । उहाँलाई कसैले नाइँ भन्नै सक्दैनथ्यो । किनकि मान्छेलाई ऊ सही हो भन्ने थाह थियो । घन्टौंसम्म अध्ययन गर्नुहुन्थ्यो । त्यहीकारण आत्मविश्वासी हुनुहुन्थ्यो । परिपक्व नभएसम्म कुनै कुरा राख्नुपर्दैनथ्यो ।

मैले एउटा प्रोजेक्टको रिपोर्ट लिएर गएको थिएँ । उहाँले चारवटा प्रश्न सोध्नुभयो दोस्रोपछि मैले जवाफ दिन सकिनँ । उहाले भन्नुभयो, “मकहाँ आउँदा काँचो रोटी लिएर नआउनू । पुरै तयारीबिना मेरो अगाडि नआउनू ।” आफू बिना तयारी केही नगर्ने भएकाले होला सायद ।
समस्या भए उहाँले समाधान गर्दिनुहुन्थ्यो । जवाफदेही नबने उहाँलाई मनपर्थेन । बुबाको लागि मायाभन्दा पहिले सम्मान थियो मेरो । काम गर्दा मेरो गुरु हुनुहुन्थ्यो । मुभि हेर्न मन पराउनुहुन्थ्यो । गाडी चलाउन सोख थियो । शनिबार घुम्न जान्थ्छौं ।
धेरैजसो छलफल बिजनेस सम्बन्धी हुन्थ्यो ।

कर्मचारीहरुसँगको सम्बन्ध विशेष थियो । तीनवटा पुस्ताका कर्मचारी हामीसँग कार्यरत छन् । सबैजना बुबाका लागि ज्यान दिन सक्ने थिए । यो क्षमता बुबामा थियो । गालीसँगै माया र प्रोत्साहन पनि दिनुहुन्थ्यो । बुबासँग चालिस वर्ष सँगै काम गर्नुभएको एकजना व्यक्तित्व हुनुहुन्छ । विश्वास नै सबैभन्दा ठूलो हतियार थियो उहाँको । विश्वासिला मान्छे चिनिहाल्नुहुन्थ्यो ।

ठाडो जवाफ दिनुहुन्थ्यो । डिप्लोमेटिक बनेर कुरा गर्न उहाँलाई कहिल्यै आएन । केही समस्या आए आफूले दायित्वबोध गर्नुहुन्थ्यो । उहाँ दयाको खानी हुनुहुथ्यो । कसैलाई नाइँ भन्न सक्नुहुन्थेन । मर्का परेका जोकोही आएपनि दुवै हात खोलेर सहयोग गरेर पठाउनुहुन्थ्यो ।
तर, अहिले नै बुबाको निधन होला भन्ने हामीले सोचेका पनि थिएनौं । स्वस्थ नै हुनुहुन्थ्यो, यति चाँडो जाने कुरा कल्पनामा पनि थिएन । उपचार भएपछि अझै धेरै उद्योग स्थापना गर्ने योजना थियो । डाक्टरले धेरै कोशिस गर्दा पनि सकेनन् । बुबाको मृतात्मालाई खुसी राख्नका लागि मैले उहाँले खडा गरेको संस्थालाई नयाँ उचाईमा लैजानुपर्छ । गुणस्तरमा सम्झौता नगर्ने उहाँको सिद्धान्तमा म पनि कायम रहनुपर्छ ।

बुबाले छाडेर गएपछि एउटा भ्याक्युम सिर्जना भएको छ । कसैले भर्न सक्दैन । हाम्रो सर्बस्व बुवा हुनुहुन्थ्यो, उहाँको सपना थियो । ‘आई होप आई क्यान मेक हिम प्राउड वान डे !!


 

प्रतिकृया दिनुहोस
ad