बिजनेस जुवा होइन भन्नुहुन्थ्यो

बिजनेस जुवा होइन भन्नुहुन्थ्यो

बुबाले हाम्रो ख्याल राख्नुहुन्थ्यो र हिम्मत दिनुहुन्थ्यो । भन्नुहुन्थ्यो, “अगाडि बढ्नुपर्छ, काम गर्नुपर्छ, मिहिनेत गर्नुपर्छ ।” हामीलाई ठीक छ कि छैन सोधिरहनुहुन्थ्यो । अफिसमा हुँदा पनि खाएको–नखाएको सोध्नुहुन्थ्यो । हामी बिरामी पर्दा आफैं अस्पताल लैजानुहुन्थ्यो ।
उहाँको व्यक्तित्व प्रभावशाली थियो, फ्रेन्डली हुनुहुन्थ्यो । सकारात्मक कुरा गर्नुहुन्थ्यो । आफ्नो सपना स्पष्टसँग हामीसँग राख्नुहुन्थ्यो । उहाँलाई आफैंमा केही गर्न सक्छु भन्ने आत्मविश्वास थियो ।

परिवारसँग बसेको बेलामा हामीलाई आफ्ना कुथा सुनाउनुहुन्थ्यो । उहाँले सामना गर्नुपरेको चुनौतिका कथा सुनाउनुहुन्थ्यो । यसका माध्यमबाट हामीलाई उत्प्रेरणा मिलोस् भन्ने उहाँको चाहना हुने गर्दथ्यो । कलिलो उमेरमा समस्या भोगेर सफल हुनुभएको व्यक्ति हुनुहुन्थ्यो उहाँ ।

उहाँले मलाई सुनाउनुभएको एउटा प्रसंग याद छ । कलेज सक्दा उहाँ १९–२० वर्षको मात्र हुनुहुन्थ्यो । गोल्छा परिवारले सो बेला १०००–१५०० टनको कटन भारतमा किनेर नेपाल ल्याउने क्रममा पानीमा भिजेको थियो अरे । त्योबेला हजुरबुवा रामलाल गोल्छाले उहाँलाई एकदमै विश्वास गर्नुहुन्थ्यो अरे ।

हजुरबुवाले त्यो भिजेको कटन बुवालाई दिनुभयो अरे । उहाँले दिल्ली नजिक भएका सबै फ्याक्ट्रिमा आफ्नो कटनको बारे भन्नुभयो अरे । र, सानै उमेरमा पनि नाफा घाटा र प्रतिफलको कुरा गर्दा फ्याक्ट्रि सञ्चालनकहरु अचम्मित भए अरे । सानो उमेरमा प्रतिफलको कुरा गरेर आफूले उनीहरुलाई अचम्मित पारेको कथा सुनाउनु हुन्थ्यो, बाबा ।

सोबेला उहाँले ४०–५० हजारको नाफा पनि गर्नुभएको थियो रे जुन ठूलै रकम हो । यस्तै कामले आफू हजुरबुवाको प्यारो बनेको उहाँ बताउनुहुन्थ्यो । बुवाको सबैभन्दा ठूलो गुण चिन्तन गर्ने थियो । एकचोटि सोचेको कुरा जसरी पनि पूरा गर्नुहुन्थ्यो उहाँ । त्यसका लागि जेजति बाधा अड्चन आउँथे सबै पर सार्न उहाँ माहिर हुनुहुन्थ्यो ।

एउटा कुरा सोच्नुहुन्थ्यो, कसैको सुन्नुहुन्न थियो । जसरी पनि पूरा गर्नुहुन्थ्यो । यो प्रतिवद्धता कमै मान्छेसँग हुन्छ । केही कुराबाट बिचलित हुनुहुन्न थियो । मानव संशाधन विकास गर्न उहाँ उत्तिकै सक्षम हुनुहुन्थ्यो । आफूसँग काम गर्नेलाई उहाँ माया गर्नुहुन्थ्यो, र काम गर्न प्रेरित पनि गर्नुहुन्थ्यो । यहीकारण पनि समकक्षीहरु समयमा काम गर्दथे । उहाँलाई कुशल व्यवस्थापक भन्दा फरक पर्दैन ।

 

उहाँको निर्णय लिने क्षमता एमदमै तीक्ष्ण थियो । कुनै समय हामीलाई उहाँको निर्णय ठीक नलाग्न सक्थ्यो तर दीर्घकालमा उहाँको निर्णय सधै ठीक हुन्थ्यो । यी सबै गुणभन्दा माथि उहाँ महान व्यक्तित्व हुनुहुन्थ्यो ।
कसैको दुःख देख्न सक्नुहुन्थेन उहाँ । क्षमताभित्रको सहयोग गर्न उहाँ सदैव तयार हुनुहुन्थ्यो ।

बुवाको सपना नेपालमा औद्योगिकरण गर्ने नै थियो । नेपालमा विश्वस्तरीय प्रविधि भित्र्याएर धेरैभन्दा धेरै उद्योग स्थापना गर्ने उहाँ सोच्नुहुन्थ्यो । तर फेब्रुअरीमा उहाँलाई ढाड दुख्ने समस्या देखियो । उहाँले सामान्य दुखाइ भनेर हाडजोर्नी विशेषज्ञलाई देखाउनुभयो । तर, डाक्टरले समस्या हड्डीको नभएको बताउनुभयो ।

शरीरमा पानी जमेको थाहा भएपछि मृगौलामा समस्या रहेको पत्ता लाग्यो । मृगौलाको रोग पत्ता लागेपछि डायलोेसिस गर्ने कि प्रत्यारोपण गर्नेमध्ये हामीकहाँ दुइटा विकल्प थिए । ९५ प्रतिशत सफलतासहित प्रत्यारोपण सहज उपचार भएको थाहा भएपछि हामीले प्रत्यारोपण गर्ने निर्णय लियौं । तर, त्यो सफल हुन सकेन ।

त्यो क्षण मैले शब्दमा व्यक्त गर्न सक्दिनँ । संसारमा आएपछि छाडेर त जानुपर्छ नै तर, आफ्नो बुवा बित्दाको पीडा कसैले भोग्नु नपरोस् । बुवाको देहान्तपछि पनि उद्योगमा नयाँ प्रविधि भित्र्याएर थप गुणस्तरीय र प्रतिस्पर्धी उत्पादन गर्न सक्नेछौं । यो उद्योगलाई थप परिस्कृत बनाउने बुवाको वर्षौं लामो देनलाई कायम राख्ने छौं ।

हामी औद्योगिक विस्तारमात्र होइन, बुवाले झैं नेपालमा रोजगारी सिर्जना गरी आर्थिक समृद्धिमा योगदान दिने छौं । मैले सम्झिनै पर्ने कुरा उहाँको व्यक्तित्व शालिन थियो । आत्तिनु हुन्नथ्यो । मैले भर्खरै बिजनेस सुरु गरेको थिएँ । डलरको मूल्य बढ्दा मलाई ठूलो घाटा हुने देखिएको थियो ।

सोबेला बुवाले मलाई दिनुभएको टिप्स अझै पनि ताजा छ, “चिन्ता नगर हिमांशु । बिजनेस जुवा होइन । कहिलेकाही तलमाथि भइहाल्छ । व्यवसाय गर्छु भन्ने तिम्रो सोच नै सबैभन्दा राम्रो हो । यो सिक्ने क्रम हो । अर्को मौका तत्काल आइहाल्छ । हिम्मत नहार्नु ।”
हो, आशावादी बनेर चुनौतिसँग लड्न बुवाले मलाई सिकाउनुभएको छ ।

प्रतिकृया दिनुहोस
ad