दूरदर्शी दिवाकर

दूरदर्शी दिवाकर

दिवाकार गोल्छासँग शशीकान्त अग्रवालका केही शोख र स्वाभाव मिल्थ्यो । सायद कारण त्यही थियो, आत्मियता बढ्दै गयो । कहिले, कहाँ भेट भयो पहिलोपटक शशीकान्त र दिवाकरको ? त्यो त शशीकान्त झट्ट भन्न सक्तैनन् तर उनीहरुको जब भेट भयो, सम्बन्ध झाँगिदै गयो । र, एक दिन–अभिन्न मित्रतामा परिणत भयो । शशीकान्त र दिवाकरको मित्रता उनीहरु दुईमा मात्रै सीमित रहेन । पारिवारसम्मै पुग्यो । पाविारिक मित्रता पनि भयो ।

शशीकान्तले जब दिवाकरको मृत्युको खवर सुने, उनलाई विश्वास नै लागेन । तर निठुर कालले दिवाकरलाई उठाएकै थियो । शशीकान्तले मृत्युको त्यो खवरलाई आत्मसात् गर्नै पथ्र्यो, गरे । अभिन्न मित्रहरुको छोटो सूची थप छोटियो । “मलाई लाग्छ ६० वर्षको उमेर भनेको त्यति धेरै होइन,” शशीकान्त दिवाकरको मृत्युसँग असन्तुष्टि जनाउँछन् । 

“नेपालमा जुन बेला ठूला उद्योग नै थिएनन् । भर्खर औद्योगिक वातावरणको सुरुआत हुँदैथियो । त्यो बेला नै उहाँले ठूलाठूला उद्योग खोल्नुभयो जुन जनताका लागि आवश्यक थियो । हुलास स्टिल, चिनी कारखाना, पेपर बोर्ड, कागज कारखानालाई उहाँले सरकारीबाट निजीकरण गर्नुभयो,” शशीकान्तले दिवाकरको योगदान सम्झिए, “मुलुकका लागि आवश्यक ठूलठूला उद्योगमा उहाँले लगानी गर्नुभएको थियो । यी उद्योग सुचारु पनि भए । जुन उहाँको सफलता पनि हो ।” 

दिवाकर फगत व्यापारी मात्रै थिएनन् । उनको आँखाले नाफा र पैसा मात्रै देख्दैन थियो । देशको हित र समृद्धिबारे पनि सोच्थे । त्यसैले राज्यले पनि उनलाई विश्वास गथ्र्यो भने व्यवसायीको पनि भरोसा थिए उनी । फलतः कैयौं पटक अफ्ठ्यारो र विवादमा उनले सरकार र व्यवसायीबीच पुलको काम गरे । मध्यस्तकर्ताको भूमिका निभाए । 

आफू र गोल्छा अर्गनाइजेसनका बारेमा जति सोचे होलान् दिवाकरले त्यति नै देशका खातिर पनि काम गरेको शशीकान्तलाई सम्झना छ । भन्छन्, “राज्यलाई अफ्ठ्यारो परेका बेला दिवाकरलाई राज्यले सम्झिन्थ्यो । समस्या सुल्झाउन उहाँ आफ्नै खर्चमा वकिलसँग सल्लाह लिनुहुन्थ्यो । विज्ञ राखेर परामर्श लिनुहुन्थ्यो । र डकुमेन्ट तयार पारेर राज्यलाई सुझाव दिनुहुन्थ्यो ।”

सरकारसमेत समस्यामा उनलाई गुहाथ्र्यो । कारण परिपक्व निर्णय गर्ने उनमा क्षमता थियो । जति परिपक्व निर्णय गर्थे दिवाकार त्यति नै तत्काल पनि । नेपालमा मजदुर आन्दोलन चलिरहन्छ । मजदुर आन्दोदनलाई सुल्झाउन नसक्दा कति व्यवसायीले व्यवसायबाटै हात झिके त कति विदेश पलायन भए । तर दिवाकरले मजदुर समस्या र आन्दोलनलाई सधैँ सुझबुझपूर्ण निर्णयबाटै समाधान गरेको शशीकान्त सम्झिन्छन् । 

“पारदर्शीता दिवाकरको विशेषता थियो । कर छलीमा उनको नाम संस्था कहिल्यै मुछिएन । यो पनि उहाँबाट सबैले सिक्नुपर्छ,” शशीकान्त दिवाकरका विशेषता केलाउँछन्, “विश्वका ठूला मल्टिनेसनल ग्रुपसँग पार्टनरसीप नेपालमा भित्र्याउनु र निरन्तर ती कम्पनीहरुसँग काम गर्न सक्नु उहाँमा हरेको पारदर्शिता नै मुख्य कारण हो ।” 

अहिले आयातभन्दा निर्यात बढी छ । राज्यको असफलता र टाउको दुखाइ नै यही विषय बनेको छ । तर दिवाकर त्यस्ता उद्योगी हुन् अढाई दशक अगाडि नै उनी दीर्घकालीन उद्योगमा जानुपर्छ भन्थे । “कृषिमा आधारित उद्योग स्थापना गर्नुपर्छ जसको प्रत्यक्ष फाइदा उद्योगीसँगै लाखौं कृषकले पनि लिनसक्छन् भन्नुहुन्थ्यो । मात्रै नाफा कमाउँ । रातारात तेस्रो मुलुकबाट समाना ल्याएर बेचौं भन्ने भावना उहाँमा मैले कहिल्यै पनि देखिन । स्थानीय उद्योगलाई नै प्रोमोशन गरौं भन्नुहुन्थ्यो,” दिवाकरको दूरदर्शीता सुनाउँछन् शशीकान्त । 

ड्युटी फ्री एक्सेसमा ठूलो भूमिका खेलेका दिवाकर राष्ट्रवादी छविका व्यक्ति भएको शशीकान्त बताउँछन्, “फाइदाका लागि मात्रै कहिल्यै नसोच्ने र आयातभन्दा निर्यातमुखी उद्योगमा लगानी गर्नुले नै उहाँको राष्ट्रवादी छवि मुखरित हुन्छ,” शशीकान्त नोष्टाल्जिक हुन्छन् । 
 

प्रतिकृया दिनुहोस
ad