दिवाकर गोल्छा निजी क्षेत्रको ठूलो हिमायती 

दिवाकर गोल्छा निजी क्षेत्रको ठूलो हिमायती 

म उहाँको कार्यालयमा ३८ वर्षदेखि अहिलेसम्म कार्यरत छु । उहाँले म हुन्जेल छोड्न पाउँदैनौ भन्नुभएकोले त्यहाँ कार्यरत रहँदै आएको हुँ ।  म ३८ वर्षअघि उहाँको साहिँलो भाइ महेन्द्र गोल्छाको माध्यमबाट उहाँको सम्पर्कमा पुगेको हुँ । महेन्द्रले मलाई बोलाउनुभएको हो । दिवाकर भने माहिलो हुनुहुन्थ्यो  । त्यो भन्दा अघि झण्डै ६ वर्ष म अन्यत्र काम गरेको थिएँ । 

मैले उहाँलाई धेरै कर्तव्यनिष्ठ र कर्तव्यप्रति कठोर तर सहनशील पाएँ । उहाँ व्यापारिक समुदायको मान्छे भएरपनि व्यापारमा कहिलेपनि रुची राख्नुभएन । उहाँ उत्पादनमूलक र धेरैभन्दा धेरै रोजगारी दिने कुरातर्फ नै अग्रसर हुनुभयो । 

उहाँ ठूला उद्योग खोल्ने दिशामा लाग्नुभयो । उहाँ नेपालको औधोगिक क्षेत्रमा तेस्रो देशबाट लगानी ल्याउने सायद पहिलो व्यक्ति हुनुहुन्छ । त्यसभन्दा अघि भारतबाट मात्रै त्यसप्रकारको लगानी आएको थियो । हामीले हुलास स्टिलमा तेस्रो देशबाट लगानी भित्र्याएका थियौं । उहाँ प्राविधिक मानिस होइन तर कुनैपनि प्राविधिक विज्ञ भन्दा उहाँ कम हुनुहुन्नथ्यो । 

दोस्रो जनआन्दोलनपछि नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालासँग उद्योग व्यवसायका बारेमा अनौपचारिक रुपमा उहाँ नियमित छलफल गर्नुहुन्थ्यो । उहाँ सानो लगानी गरेर धेरै मुनाफा गर्ने सोचमा भन्दापनि देशलाई दीर्घकालीन रुपमा लाभ पुग्ने उद्योग खोल्नेतर्फ लाग्नुभएको थियो । 

उहाँ अत्यन्तै खट्न सक्ने र मेहनती हुनुहुन्थ्यो । विदेश भ्रमण गएका बेला अन्य कर्मचारी विमान चढेर टाढा जाँदा पनि गएपछि काममा व्यस्त हुने उहाँको क्षमता भएको बताउँछन् । देशले उहाँलाई निजी क्षेत्रको ठूलो हिमायतीका रुपमा सम्झन सक्छ । उहाँको हजुरबाले विराटनगर जुटमिल स्थापनाको क्रममा महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । उहाँले भारतीय प्रमोटरहरुलाई पनि आकर्षित गर्नुएभएको थियो । 

उहाँले सोनापुरमा पनि जुटमिल खोल्नुभयो । त्यो उद्योग चौबीसै घण्टा खुल्ने महिलाहरुले पनि अनुकूल समयमा काम गर्न सक्ने व्यवस्था गर्नुभएको थियो । भृकुटी कागज कारखाना घाटामा गयो । त्यसो हुनुको कारण राज्यले स्वदेशी उद्योगलाई प्रमोट नगरेका कारणले हो ।

जस्तो कि उद्योगका कच्चा पदार्थ ल्याउँदा बढी कर लाग्ने अवस्था थियो । प्रिन्टिङ्ग पेपर ल्याउँदा सहुलियत दिइने व्यवस्था छ । यसो गर्दा  पत्रिका चलाउनेले मात्रै पेपर ल्याएनन् अरुले पनि त्यो सहुलियत प्रयोग गरी पेपर ल्याए । त्यसले गर्दा भृकुटी कागज कारखानालाई नोक्सानी भयो । सरकारको स्वदेशी उद्योगलाई प्रमोट नगर्ने नीतिका कारण नै यस्तो भएको हो ।  

 
 

प्रतिकृया दिनुहोस
ad