site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘चाउचाउ खाएकाले स्वस्थानी पढ्न पाइनँ’
Ghorahi CementGhorahi Cement

सिन्धुपाल्चोक फुल्पिङकोटको कल्लेरी डाँडोमा एक तमासको सिरेटो चल्थ्यो । आङ होइन, मुटु नै डगडगी काँप्थ्यो । तर, बाल्यावस्थामा अहिलेजस्तो जिउ ढाक्ने न्यानो कपडा कहाँ पाउनु ?

पिता हिरालाल न्यौपाने भारतीय सेनाका तर्फबाट द्वितीय विश्वयुद्ध लडेका थिए । तर, युद्ध समाप्त भएपछि उनी जागिरमा फर्किएनन् । त्यसैले अन्नपात प्रशस्त भए पनि घरपरिवारले आर्थिक विपन्नतासँग पौँठेजोरी खेलि नै रहनुपर्‍यो ।

खान त पुग्थ्यो । तर, रुपैयाँ÷पैसा नभएकाले नयाँ लुगा लगाउने रहरै भयो ।

Agni Group

सानो छँदा उनी बाबुलाई भन्थे, “जाडो भयो, फलानाले लगाएकै जस्तो लुगा ल्याइदिनुस् न !”

सन्ततिलाई शरीर ढाक्ने लुगा किन्ने हैसियत नभएपछि पिता भन्दा रहेछन्, “केटाकेटीको जाडो त बाख्राले खाइहाल्छ नि ! जाओ कुद्दै एक लग काम गरेर आओ, जाडो आफैँ भाग्छ !”

Global Ime bank

के को जाडो भाग्नु ! झन् निमोनियाले सिकिस्त बनाउँथ्यो !

गाउँका बालबच्चाहरू कति मृत्युवरण गर्थे । सानो छँदा चिसो जोगाउन नसकेकै कारण प्रायः दीर्घरोगी बन्थे । अल्पायुका पनि !

फाँटभरि सेताम्य पोखिएको तुसारोले भक्तपुरमा चिसो बढेको प्रतीत हुन्छ । टम्म ढाकेको तुँवालोभित्र हराएको घाम बिहान १० बज्दा पनि निम्छरै छ, तात्न भ्याएको छैन । बाहिर फलैँचामा बसेर ४७ वर्षीया कवि उतिबेलाको चिसो अनुभव बाँड्दै थिए ।

उनले अर्को प्रसंग पनि उधिने–

उनी स्वस्थानी व्रतकथा भन्न सानैदेखि रुची राख्थे । ०३३ सालतिर कक्षा दुईमा पढ्दा नै स्वास्थानी भाका हालेर वाचन गर्न सक्थे ।

त्यतिबेलाको एउटा रमाइलो अनुभव रहेछ । स्वस्थानी व्रतकथाको पहिलो या दोस्रो अध्याय हुनुपर्छ, त्यहाँ ‘ब्रह्माण्ड’ शब्द उल्लेख थियो । तर, उनले त्यसलाई उच्चारण बिगारेर कथा वाचन गरे । ‘यहाँ किन बिगारिस्’ भन्दै बुबाले थप्पड लगाएको घटना उनको दिमागमा ताजै रहेछ ।

त्यस्तै अर्को प्रसंग पनि छ–

२०३७ सालको कुरा हो, तिनताक नेपालमा भर्खर ‘रारा चाउचाउ’ आएको थियो । यस्तै स्वस्थानी व्रतकथा भन्ने बेला थियो । बजारबाट चाउचाउ किने । घरमा लगेर पकाएर खाए ।

तीन गाउँ हल्ला फिँजियो, ‘फलानाको छोराले चाउचाउ घरमै ल्याएर खायो, अचम्म !’

भाका हालेर कथा वाचन गर्ने र उत्कृष्ट वाचन शैलीका कारण उनको चर्चा गाउँभरि हुन्थ्यो । अरुका घरमा पुगेर पनि स्वस्थानी पढेर सुनाउँथे उनी ।

 स्वस्थानी भन्न गाउँमा पुगेका उनलाई एकजना बूढीआमैले स्वस्थानी वाचन नै गर्न दिइनछन् । भनिछन्, ‘त्यत्रो ज्योतिषको छोरा भएर च्याच्याउ खाने ? तिमी आजबाट अशुद्ध भयौ । तिमीले पढेको स्वस्थानी हामी सुन्दैनौँ । जाऊ तिमी !’

बूढी आमैले हप्काएर पठाइछन् ।

“उतिबेलाको ‘सामाजिक चेत’ यस्तो पो थियो,” उनको अनुहारमा बाल्यकालका बाछिटा देखा परे ! फिस्स मुस्कुराए उनी ।

०  ० ०

सबैको घरमा रेडियो थिएन । गीत, संगीत सुनेर बस्ने फुर्सद पनि हुँदैनथ्यो । सुसेली हाल्दै मेलापात जाने, सुस्केरा हाल्दै उकालो चढ्ने । वरपीपल चौतारीमा बसेर थकाइ मार्दै सुख–दुःखका कुरा सुन्ने/सुनाउनेबाहेक मनोरञ्जनका अरु साधन थिएनन् । त्यसैले गाउँका पाकाहरू मेलापातबाट फर्किएपछि अबेर रातिसम्म भजन भट्याउँथे । श्लोक भन्थे ।

पाकाहरूले आँखाबाट तरक्क आँसु झार्ने गरी सत्यवादी राजा हरिशचन्द्रका कथा सुनाउँदा उनी भावविह्वल हुन्थे । बाहुलाको फेरले आँसु पुछ्दै मनमनै अठोट गर्थे– म पनि यस्तै कविता लेख्छु र अरुलाई सुनाउँछु ।  विस्तारै उनीमा पद्य साहित्यको चेत अंकुरण हुन थाल्यो र कविता लेखनमार्फत् पोखिन थाल्यो ।

राति खाना खाने बेलामा रामायण, महाभारतका कथा मिसाएर काकाबाहरूले भजन गाएको देख्दा उनी कल्पिन्थे– यस्तै राम्रा–राम्रा कविताहरू लेख्न पाए त पछि–पछि मान्छेहरूले पढ्थे होला नि ! मनमा भाव आएन मात्रै, उनी छन्दबद्ध कविता कोर्न पनि थाले ।

० ० ०

उनी पढाइमा अब्बल थिए । फुल्पिङकोटबाट जलबिरे आउन तीन–चार घन्टाको ओरालो झर्नुपथ्र्यो । त्यसैले पढाइ छुट्ला भन्ने भयले उनी भोकै विद्यालय झर्थे । विद्यालय अवधिभर शिक्षकले भनेका कुरा ध्यानपूर्वक सुन्थे । 

पढाइका अलावा अतिरिक्त क्रियाकलापमा पनि उनीमा उस्तै अभिरुची पैदा हुन्थ्यो । कविता प्रतियोगिता मात्र होइन, हाजिरी जवाफ प्रतियोगितामा समेत जिल्लामा कसैले उनलाई उछिन्न सक्दैनथ्यो । ०३७ सालतिर उनले ‘सरस्वती बन्दना’ शीर्षकमा कविता लेखेका थिए । शिक्षकहरूले अत्यधिक रुचाए त्यसलाई । उत्प्रेरणा थपे, ‘गज्जब कविता लेख्दो रहेछौ, अरु पनि लेख्नू !’ फुरुंग परे उनी ।

त्यो कविता उनले रेडियो नेपालमा समेत पठाए । बाल कार्यक्रम चलाउने वासुदेव मुनालले तीन पटक वाचन गरे । तीन पञ्चायत चर्चा भयो, ‘हिरालालको छोराको नाउँ त रेड्वाले फुक्यो, ख्याल मजाको कविता पठाए’छ र !’

गाउँ–गाउँ, फाँट–फाँट चर्चा भयो त्यो कविताको ।

उनले कविताको पुछारमा चन्द्रप्रसाद शर्मा लेखेर पठाएका थिए । सोही नाम वाचन भयो । पछि उनका गुरु टंकप्रसाद आचार्यले ‘के शर्मा थर राख्या ? आफ्नै थर लेखेर पो पठाउनुपर्छ त !’ भनेपछि उनले न्यौपाने थरबाटै कविता कोर्न थाले ।
० ० ०
०४६ सालमा ‘पालुवा’ खण्डकाव्य प्रकाशन गरे । त्यस खण्डकाव्यले जिल्लाभर हलचल पैदा गर्‍यो । ०४३ सालदेखि उनले विद्यालयमा पढाउन थालेका थिए । महिनाको ७/८ सय तलबले के पुग्थ्यो ? जसोतसो एक हजार प्रति छापेका थिए, एक प्रतिसमेत बाँकी नरहने गरी बिक्री भयो । 

“पहिलो पटक छाप्दा नपुगेर तीन पटकसम्म छापेँ, खुब बिक्री भयो त्यो खण्डकाव्य,” उनले स्मरण गरे ।

उनी सम्झन्छन्, “बरु अहिले कविता पढिँदैन । त्यतिबेला त भाका हालेर पढ्न पाइने किताब भनेपछि त हुरुक्कै हुन्थे मानिस । त्यतिबेलै हो चन्द्रप्रसाद जिल्लामा अब्बल कविको रूपमा दर्ज भएको ।

एकतिर घरव्यवहार, अर्कोतिर शिक्षण पेसा । काव्यिक चिन्तन गर्ने फुर्सद नै हुँदैनथ्यो । वनको काँडालाई तिखारिन केले छेक्ने भनेझैँ उनी घरबाट विद्यालय जाँदा श्लोक भट्याउँथे र घरमा आएर कापीमा टिप्थे । कतिसम्म भने बाटामा उब्जिएको पंक्ति नबिर्सियोस् भनेर रेकर्डरसमेत किनेका थिए र वाचन गर्दै रेकर्ड गर्दै गर्थे ।

अघिल्लो पुस्ताको सर्जक भए पनि उनी ‘प्रविधि मैत्री’ व्यक्ति हुन् । ०४८/४९ सालतिर डिजिटल डायरी आएको थियो । त्यो किनेर त्यसमा टिप्न थालेपछि भने उनलाई कविता रेकर्ड गरिरहने झन्झट आइलागेन ।

०४६ सालदेखि उनले नियमित पुस्तक प्रकाशन गर्न थाले । तर आर्थिक अभावका कारण समयमा पुस्तक निकाल्न कठिन हुन्थ्यो । त्यतिबेला पुस्तक निकाल्न अहिलेजस्तो ‘प्रेस’ र ‘पहुँच’ पनि थिएन । कागज, कम्पोज (सिसाको अक्षर मिलाउने काम), डिस्पोज (त्यसलाई निकाल्ने विधि) आदिको अलग–अलग पैसा भुक्तान गर्नुपथ्र्यो । त्यसैले उनी आफैँ कम्पोज गर्थे । शुक्रबारको दिन विद्यालय छुट्टि भएपछि चार–पाँच घण्टा पैदल हिँडेर सदरमुकाम चौतारा आउने र रातभरि अनिदै बसेर आफैँ कम्पोज गर्थे । शनिबार दिउँसो छापेर तीन–चार घण्टा सुत्ने र पुनः रातभरि आफैँ ‘बाइन्डिङ’ गरेर पुस्तकाकार दिन्थे ।

“कतिपय सिर्जना त कम्पोज गर्दागर्दै जन्मन्थ्यो,” बरन्डाभरि हाँसो गुञ्जियो ।
०  ० ० 
उनका चार दर्जन कृति प्रकाशित छन् । उनको मुख्य विधा महाकाव्य भए पनि खण्डकाव्य, उपन्यास, कथा, निबन्ध, साहित्यिक इतिहास, समालोचनालगायत विविध विधामा उत्तिकै कलम चलाएका छन् ।

उनले हालसम्म १२ वटा महाकाव्य रचना गरेका छन् भने १० वटा खण्डकाव्य सिर्जना गरेका छन् । नेपाली काव्यिक इतिहासमा सर्वाधिक बढी महाकाव्य रचना गर्ने यशस्वी व्यक्ति पनि हुन् उनी ।

बढी लेखिने र कम पढिने विधामा परे पनि कविता बृहत् क्षेत्र हो । कविताभित्र ब्रह्माण्ड छ भन्छन् उनी । “कविताभित्र सिंगो जीवन र जगत छ । वास्तवमा यो बेग्लै विश्व हो,” उनी प्रष्ट्याउँछन् ।

कवितापान पनि अमृतपान गरेजत्तिकै मिठासयुक्त हुने उनको ठम्याइ छ । 

र, ‘चन्द्रयुग’
सानो उमेरमा रामायण र महाभारतको छाप बस्यो । त्यस्तै ठूलो र मोटो कृति रचना गर्ने र युगौँसम्म पठनीय संग्रहका रूपमा जीवन्त राख्ने इच्छा पलायो उनमा । अनि जन्मियो ‘चन्द्रयुग’ । करिब ३२ हजार श्लोक र तीन सय बढी छन्द प्रयोग गरिएको महाकाव्य ‘चन्द्रयुग’ नेपाली साहित्यको सर्वाधिक ठूलो महाकाव्य हो । 

चन्द्रयुग ‘शीत उभाएर घैला भरेको’ शैलीमा प्रकाशन भएको कृति हो । भन्छन्, “किताब प्रकाशनपूर्व थुपै्र शिक्षक साथीहरू महाकाव्यको सदस्य बनिदिनु भयो र एउटा पुस्तकको मूल्यबराबर पैसा सहयोग गर्नुभयो, नत्र पुस्तक प्रकाशन गर्न लाग्ने ८–१० लाख रुपैयाँको जोहो कसरी गर्नु ?”

०४६ सालदेखि रचना सुरु गरेको ‘चन्द्रयुग’ पहिलोपटक ०६५ मा प्रकाशन भयो । दोस्रो संस्करण ०७० मा र अहिले तेस्रो संस्करणको तयारीमा छन् चन्द्रप्रसाद ।

‘चन्द्रयुग’मा  १३ हजार प्रकाशित श्लोक छन् भने बाँकी श्लोक नयाँ रचना गरेको उनी बताउँछन् । करिब साढे तीन सय छन्द प्रयोग गरिएको ‘चन्द्रयुग’ नेपाली साहित्यको संग्रहणीय दस्तावेजमात्र होइन, कविता कोर्न सिक्नेका लागि ‘काव्यशाला’ भएको उनको ठहर छ ।

जाँदाजाँदै मैले सोधेँ– काव्यिक विधामा कलम चलाउन जान्नुपर्ने के रहेछ ? उनले हाँस्दै जवाफ फर्काए, “आफूसँग नहारी अविचलित कलम चलाइरहने, कविताको मूल आफैँ फुट्छ !” 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २, २०७३  १६:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC