site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
बोल्ड खुशवन्त
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
–उपेन्द्रराज पाण्डेय 
ब्रिटिस साम्राज्यवादबाट स्वतन्त्रता प्राप्त गरेसँगै भारतीय उपमहाद्वीपमा द्वन्द्वको बिउ रोपिन सुरु भएको थियो, जुन आजसम्म पनि कायमै छ । कश्मीर मुद्दा अझै सल्टिन सकेको छैन । सन् १९४७ मा बेलायती उपनिवेशबाट छुट्कारा पाएको भारत दुई देशमा विभाजित हुन पुग्यो । मुस्लिम समुदाय बाहुल्य रहेको उत्तरी क्षेत्र पाकिस्तानको रूपमा स्थापित भयो भने हिन्दू बाहुल्य दक्षिणी क्षेत्र भारतको रूपमा । बेलायती शासकहरूले भारतीयहरूलाई सत्ता हस्तान्तरण गरेर गए पनि दुई समुदायका बीचमा द्वन्द्वको बिउ पनि रोपेर गए भन्ने आरोप लगाइन्छ । सन् १९०५ मा बेलायती शासकहरूले बंगाल राज्यलाई विभाजन गर्न खोजेपछि सन् १८८५ मा स्थापित भारतीय राष्ट्रिय कंग्रेसले व्यापक विरोध प्रदर्शन गरेको थियो । त्यसले अखिल भारतीय मुस्लिम लिगको स्थापनामा मुख्य भूमिका खेल्यो । सुरुमा मुस्लिम लिगले आफ्नो समुदायको हकहित र अधिकारका लागि आवाज उठाए पनि पछि छुट्टै स्वतन्त्र मुस्लिम राष्ट्रको समेत माग उठायो ।
जसरी यहुदीहरूलाई नाजी ज्यादती एउटा पहिचानको विषय बनेको हुन्छ, त्यसरी नै भारतीय उपमहाद्वीपका नागरिकलाई भारत–पाकिस्तान विभाजनपछिका हिंसात्मक घटनाहरू । पाकिस्तानी इतिहासकार आयशा जलालले यो घटनालाई बीसौं शताब्दीमा दक्षिण एसियामा घटेको ऐतिहासिक घटना भनेकी छन् । भारत स्वतन्त्र भएपछि धेरै अफ्रिकी मुलुकहरू स्वतन्त्रताका लागि लडे र स्वतन्त्रता प्राप्त गरे । तर, बेलायती साम्राज्यबाट छुट्ने क्रममा सबैभन्दा बढी हिंसा र आतंक भने भारत र पाकिस्तानमा भएको थियो । सो क्रममा करिब १५ लाख मानिसले ज्यान गुमाए भने करिब एक करोड मानिसहरू आफ्नो थातथलो छोड्न बाध्य बनाइए । धर्मका आधारमा दुई देश बनाइसकेपछि एकआपसमा शंका उत्पन्न भई एक समुदायले अर्को समुदायलाई निषेध गर्न थाले । पाकिस्तानमा रहेका हिन्दूहरू भारत आए भने भारतमा रहेका मुस्लिमहरू पाकिस्तान गए । 
दक्षिण एसियाको आधुनिक इतिहास निर्माणमा दुई व्यक्तिको महत्वपूर्ण भूमिका रहेको पाइन्छ । कुशल विचारक र राजनीतिज्ञ मोहम्मद अली जिन्नाह र महात्मा गान्धीजस्ता व्यक्तित्वकै छत्रछायाँमा भारत विभाजित भएको थियो । जिन्नाहको लगातारको दबाबले पाकिस्तानको जन्म भयो, जसलाई पाकिस्तानका पिता भनेर चिनिन्छ । गान्धी भने स्वतन्त्रता संग्रामका लागि अहिंसात्मक आन्दोलन अपनाएर विश्व समुदायमाझ प्रेरणाको स्रोत बने । उनीबाट नेल्सन मन्डेला, मार्टिन लुथर किङजस्ता विश्वप्रसिद्ध नेताहरू प्र्रभावित भएका थिए । गान्धी र जिन्नाहले पनि विभाजनलाई रोक्न सकेनन् । दोस्रो विश्वयुद्धमा संलग्न केही पत्रकार तथा सैनिकहरूले विभाजनपछि घटेका हिंसात्मक घटनाहरू दोस्रो विश्वयुद्धताका नाजीहरूले गरेको ज्यादतीभन्दा पनि डरलाग्दा भनेका थिए । निसिद हजारी आफ्नो कृति ‘मिडनाइट्स फ्युरिज’मा लेख्छन्, “हत्याराहरूको समूहले पूरै गाउँमा आगो लगाउँथ्यो । वृद्धवृद्धा र बच्चाहरूलाई जिउँदै जलाएर, युवतीहरूको अपहरण गरी बलात्कार हुन्थ्यो । गर्भवती महिलाहरूको स्तन काटिन्थ्यो ।”
यस्ता खालका हिंसात्मक घटानाहरू इतिहासमा भन्दा पनि साहित्यमा बिनापूर्वाग्रह प्रस्तुत गरिएको पाइन्छ । इतिहासमा कुनै न कुनै पक्ष लिएर प्रस्तुत गरिएको छ । तर, उपन्यासहरूमा केही मात्रामा भए पनि सन्तुलित तथ्यहरू भेटिन्छन् । धेरै भारतीय तथा पाकिस्तानी साहित्यकारहरूले विभाजन र यसले उब्जाएका हिंसाहरूलाई आफ्ना कृतिहरूमा प्रस्तुत गरेका छन् । सलमान रुस्दीको ‘मिडनाइट्स चिल्ड्रेन’, बाप्सी सिध्वाको ‘क्र्याकिङ इन्डिया’, तहमिमा अनामको ‘अ गोल्डेन एज’, अमिताभ घोषको ‘द स्याडो लाइन्स’, कमलेश्वरको ‘कितने पाकिस्तान’ र खुशवन्त सिंहको ‘ट्रेन टु पाकिस्तान’ केही प्रतिनिधि कृतिहरू हुन् ।
सन् १९१५ मा वर्तमान पाकिस्तानको हदालीमा जन्मेका सिंह विभाजनपछि भारत आएका थिए । उनले विभाजनपछि घटेका घटना आफैंले अनुभव गरे । उनले आफ्नो शिक्षा लाहोर, दिल्ली र लन्डनबाट पूरा गरे । कानुनमा स्नातक उनले केही समय लाहोरमै वकालत पनि गरे । तर, उनी त्यसमा रमाउन सकेनन् । सन् १९४७ मा भारतीय विदेश विभागमा प्रवेश गरेका उनले केही समय क्यानडास्थित भारतीय दूतावासमा सूचना अधिकृतका रूपमा काम गरे । उच्च तहका कूटनीतिक र राजनीतिक क्षेत्रका व्यक्तिसँग निरन्तर भेट हुने भए पनि सिंह भने सन्तुष्ट हुन सकेनन् । सन् १९५१ मा अल इन्डिया रेडियोमा पत्रकारको रूपमा काम गरेका उनी सिखहरूको इतिहासका बारेमा अध्ययन अनुसन्धानमा त्यतिबेलादेखि नै तल्लीन थिए । उनको ‘सिखहरूको इतिहास’ निकै नै प्रसिद्धि कमाएको कृति हो । सन् १९५६ मा उनको पहिलो उपन्यास ‘ट्रेन टु पाकिस्तान’ प्रकाशित भएको थियो, जुन उनको सबैभन्दा सफल कृति मानिन्छ ।
खुशवन्त सिंहको परिचय एक सफल उपन्यासकारमा मात्रै सीमित छैन । उनी इतिहासकार, पत्रकार, वकिल, स्तम्भकार, राज्यसभा सदस्य आदिका रूपमा समेत परिचित छन् । सन् १९६९ मा ‘इलुस्ट्रेटेड विक्ली अफ इन्डिया’सँग उनी सम्पादकका रूपमा जोडिन पुगे । उनले प्रस्तुत गर्ने विषयवस्तुका कारण त्यो साप्ताहिक पत्रिकाको बिक्री ह्वात्तै बढ्यो । पत्रिकाको वितरण ६० हजार प्रतिबाट बढेर साढे ४ लाख प्रति पुग्यो । यहाँसम्म कि प्रकाशकले बजारको मागअनुसार पत्रिका पु¥याउन सकेनन् र सिंहलाई जागिरबाटै निकाल्नुप¥यो । पत्रकारितामा उनको प्रवेशले भारतीय पत्रकारिता जगत्मा हलचल नै ल्याइदिएको थियो । उनी पत्रकारले पाठकलाई मनोरञ्जनका साथै सूचना दिँदै उत्प्रेरित गर्न सक्नुपर्छ भन्ने मान्यता राख्थे । उनले सधैं वाक् स्वतन्त्रताको पक्षमा वकालत पनि गरे । ज्यादै संकीर्ण भारतीय समाजसामु उनले यौनका विषयवस्तुलाई प्रस्तुत गरे । भारतीयमात्रै होइन, दक्षिण एसियामै यौनलाई नितान्त निजी विषयवस्तुका रूपमा हेर्ने गरिन्छ । बाहिरी रूपमा जति आदर्शका कुरा गरे पनि हाम्रो समाज भित्रभित्रै मक्किएको छ । केवल आडम्बरी देखाउँछ समाज । समाजको यही ढोँगी चरित्रलाई प्रहार गर्न पनि सिंहले यस्ता विषयवस्तु छानेका हुन् । भारतीय लेखक सोभा डेले त सिंहलाई ‘कामसूत्र सिंह’को संज्ञा दिएकी छन् ।
कसैले ‘तपाईंका विषयवस्तु त अश्लील भएनन् र ?’ भनेर प्रश्न ग¥यो भने सिंहको जवाफ हुन्थ्यो, “कलमका लागि आजसम्म कसैले कन्डम आविष्कार गरेको छैन ।” उनले निडरताका साथ आफूलाई प्रस्तुत गरे । आम भारतीयको भन्दा उनको सोच फरक थियो ।
सिंहले केवल ढोँगी र आडम्बरी समाजलाई मात्रै प्रहार गरेनन्, राजनीतिक जालझेल, बलिउड र व्यापारीकरण गरिएको क्रिकेटमाथि पनि आफ्नो नियमित स्तम्भमार्पmत् आलोचना गरिरहे ।
नेहरू–गान्धी परिवारसँग सिंहको निकट सम्बन्ध थियो । उनले जवाहरलाल नेहरू, इन्दिरा गान्धीदेखि राहुल गान्धीसम्मका व्यक्तिलाई नजिकबाट नियाल्ने मौका पाए । उनको लामो समय इन्दिरा गान्धीसँग निकट सम्बन्ध थियो । उनी इन्दिराका प्रशंसक पनि थिए । सिंहलाई इन्दिराले नै राज्यसभा सदस्यका रूपमा मनोनीत गरेकी थिइन् । उनी सन् १९८० देखि १९८६ सम्म भारतीय राज्यसभाका सदस्य थिए । जब सन् १९८४ मा प्रधानमन्त्री गान्धीले पञ्जाबको अमृतसरमा रहेको स्वर्ण मन्दिरमा आक्रमणको आदेश दिइन्, त्यसपछि सिंह उनीसँग रिसाए र आफूले सन् १९७४ मा पाएको भारतको तेस्रो ठूलो नागरिक पदक पद्मभूषण पनि सरकारलाई फिर्ता गरे । 
स्वर्ण मन्दिरमा जर्नेल सिंह भिन्द्रनवाले र उनको समूह लुकेर बसेको आशंकामा ‘अपरेसन ब्लुस्टार’ चलाइएको थियो । भिन्द्रनवालेको समूहले छुट्टै खालिस्तान देश माग गरेका थिए । उनीहरूले भारत र पाकिस्तान विभाजित भइसकेपछि हिन्दू र मुस्लिम समुदायका लागि अलग–अलग देश भए पनि पञ्जाबी सिखहरूको पहिचान संकटमा परेको भन्दै आन्दोलन गरेका थिए । तर, त्यो सशस्त्र आन्दोलन ‘अपरेसन ब्लुस्टार’मार्फत मत्थर पारिएको थियो ।
खुशवन्त सिंह खालिस्तानका पक्षधर त थिएनन् तर पनि सिख धर्मावलम्बीको संस्कृति र आस्थाको केन्द्र स्वर्ण मन्दिरमाथि आक्रमण हु्ँदा रुष्ट भएका थिए । सो अपरेसनमा करिब ४५० सिख र करिब २ सय सुरक्षाकर्मीहरू मारिएका थिए । देशमा भड्किँदो साम्प्रदायिक हिंसालाई मध्यनजर गर्दै इन्दिरा गान्धीले संकटकाल घोषणा गरेकी थिइन् । अमृतसरमा मन्दिर भत्काइएको ५ महिनापछि नै गान्धीको आफ्नै दुई सिख सुरक्षा गार्डद्वारा हत्या भएको थियो । त्यसपछि भारतमा हिन्दू र सिखबीच साम्प्रदायिक दंगा भड्किएको थियो । त्यतिबेला दिल्लीमा रहेका सिखहरूमाथि आक्रमण भएको थियो । खुशवन्त सिंहमाथि पनि भौतिक आक्रमणको धम्की आएकाले उनले स्वीडिस दूतावासमा शरण लिएका थिए । उनले त्यतिबेला आफू आफ्नै देशमा शरणार्थी भएको बताएका थिए । खुशवन्त सिंहको पाकिस्तान र मुस्लिमहरूप्रतिको सदाशयता हिन्दूवादी र अति राष्ट्रवादी समूहलाई मन परेको थिएन । रेगिनाल्ड मास्सेले ‘गार्जियन’मा लेखेअनुसार सिंहलाई ‘भारतीय माटोमा बसेका अन्तिम पाकिस्तानी’को बिल्ला भिराउँथे केही मानिसहरू ।
खुशवन्त सिंहको जन्मदिन पनि वर्षमा दुई पटक मनाइन्थ्यो । सिंह जन्मेका बेला उनका बुबा शोभा सिंह गाउँमा थिएनन् र उनकी आमाले जन्मेको दिन सम्झिन सकिनन् । पछि विद्यालय भर्ना गर्ने बेलामा उनका बुबाले सजिलोका लागि फेब्रुअरी २ लेखाए । तर, उनकी आमालाई भने सिंह अगस्ट १५ मा जन्मेको जस्तो लाग्थ्यो । त्यसैले उनको जन्मदिन वर्षमा दुई पटक मनाइए पनि उनी भने फेब्रुअरी २ नै रोज्थे । सिंहले आफ्ना निकटका करिब २० जनाबीच आफ्नो जन्मदिन मनाउँथे । त्यो सानो जमघटमा भारतीय जनता पार्टीका नेता लालकृष्ण आडवाणीसमेत हुन्थे । आडवाणी हरेक वर्ष जन्मदिनको शुभकामना दिन सिंहकहाँ पुग्थे । उनी सिंहका प्रशंसक थिए । तर, पछि उनीहरूबीचको सम्बन्धमा खटपट सुरु भयो । जब सन् १९९२ मा बाबरी मस्जिदमाथि बीजेपीका समर्थक हिन्दूवादी समूहद्वारा आक्रमण भयो, सिंह विक्षिप्त भए । उनी साम्प्रदायिकतामाथि आँच आउने खालका क्रियाकलापको कडा आलोचना गर्थे । त्यो साम्प्रदाथिक दंगा हुनुमा आडवाणीको हात रहेको धेरै मान्छन् र खुशवन्त पनि । त्यसबेला आडवाणी रथयात्रामा निस्केका थिए र विवादको जड त्यही नै थियो । सार्वजनिक स्थलमै सिंहले आडवाणीको कडा आलोचना गरेका थिए । आडवाणी सहभागी कार्यक्रममै उनले भनेका थिए, “मिस्टर आडवाणी ! मैले यस्तो सुनौलो मौका कहिल्यै पाउनेछैन । मैले तपाईंको मनोनयन पत्रमा हस्ताक्षर गरिदिन्थें, तपाईंका वास्तविक एजेन्डा मलाई थाहा हुन्थेन । तपाईंले समाजमा असहिष्णुताको बिजारोपण गर्नुभयो । तपाईं रुढीवादी हुनुहुन्छ ।”
यसो भनिरहँदा धेरैले आडवाणीको खिल्ली उडेको महसुस गरे तर उनी भने सिंहसँग रिसाएनन्् । छोरा राहुलका अनुसार खुशवन्तको मृत्यु भएपछि सबैभन्दा पहिले श्रद्धाञ्जली दिन पुगेका राजनीतिक व्यक्तित्व आडवाणी नै थिए ।
उनी हरेक विषयवस्तुलाई मिहिन ढंगले केलाउन सक्थे । उनको वर्णनात्मक लेखन शैलीले पाठकलाई लोभ्याउँथ्यो । उनी हदाली (सिंह जन्मेको ठाउँ, जुन अहिले पाकिस्तानमा पर्छ)बाट आफ्नो घर आउने पाहुनालाई हार्दिकताका साथ स्वागत गर्थे । उनी आगन्तुकहरूसँग हजुरआमाको नाम सोध्थे र उनीहरूलाई चिनेको भनिदिन्थे ।
एक शताब्दी बाँचेका सिंह चिया पसलेदेखि प्रधानमन्त्रीसम्मका व्यक्तित्वसँग निकट सम्बन्ध राख्न सक्ने क्षमताका थिए । उनी आमन्त्रित पाहुनालाई मात्र स्वागत गर्थे । उनको घरको ढोकामा लेखिएको हुन्थ्यो, “यदि तपाईंलाई आमन्त्रण गरिएको छैन भने घण्टी बजाउने कष्ट नगर्नु होला ।” 
तर, जो आमन्त्रित पाहुना हुन्थे, उनी बडो आदरसत्कार टक्र्याउँथे । त्यसो त उनलाई भेट्न जानेहरू ह्विस्की उपहार लिएर जाने गर्थे । सञ्चारमाध्यममा एकदमै पियक्कडका रूपमा प्रस्तुत गरिए पनि सिंहले पिउने कुरामा आफ्नै सीमा तोकेका थिए र त्यो सीमा कहिल्यै नाघेनन् ।
उनले सधैं आफ्ना लेख रचनाहरूमार्फत धर्मनिरपेक्ष भारतको वकालत गरे । सधैं राम्रोलाई कदर र नराम्रोको आलोचना गर्न उनी हिचकिचाएनन् । उनको पहिलो उपन्यास ‘ट्रेन टु पाकिस्तान’ले भारत–पाकिस्तान विभाजनपछिका हिंसात्मक घटनाहरूलाई सन्तुलित ढंगले प्रस्तुत गरेका छन् । उनले कसैको पक्ष लिएका छैनन् । दुवै पक्षबाट भएका आपराधिक क्रियाकलाप र ज्यादतीलाई उनले प्रस्तुत गरेका छन् । म्याजिस्ट्रेट हुकुम चन्द, सामाजिक कार्यकर्ता इकबाल सिंह र गाउँले गुन्डा जग्गत सिंहजस्ता पात्रहरूमार्फत भारत–पाकिस्तान सीमामा पर्ने सानो गाउँ मनो माज्राको हिन्दू, सिख र मुस्लिम समाजको चित्रण गरेका छन् । वर्षौंसम्म मिलेर बसेका यी समुदायबीच विभाजनपछि नै एकअर्काप्रति घृणाको भाव पैदा भएको थियो ।
उनले उपन्यासको सुरुतिरै लेखेका छन्, “सत्य यो हो कि दुवै पक्षले हत्या गरे । दुवैले निर्दोषमाथि गोली चलाए र पीडा दिए । दुवैले बलात्कार गरे । कलकत्तादेखि बिहारसम्म हिंसा फैलियो, जहाँ हिन्दूले मुस्लिमको नरसंहार गरे, मुस्लिमले हिन्दूको ।”
उनको यो भनाइले के पुष्टि गर्छ भने हिंसामा दुवै पक्षको संलग्नता थियो । उनले गोली तटस्थ हुने र यसले राम्रो÷नराम्रो छुट्याउन नसक्ने भएकाले लाखौं निर्दोष नागरिक मारिएको बताएका छन् ।
उनी स्तम्भकारका रूपमा पनि निकै चर्चित थिए । ‘हिन्दूस्तान टाइम्स’मा छापिने उनको स्तम्भ ‘विथ मालिस टुवाडर््स वन एन्ड अल’ भारतका धेरैजसो सञ्चारमाध्यममा सिन्डिकेट गरिएको थियो । उनले स्तम्भमार्फत शक्ति र सत्ताका आशक्त राजनीतिक व्यक्तित्व, हिन्दू अति राष्ट्रवादी समूह र हिंसा चाहने केही पाकिस्तानी मौलानाहरूको खरो आलोचना गर्थे । उनको स्तम्भको लोगो पनि स्तम्भजत्तिकै चर्चित थियो । पुस्तकहरूबीच मधुरो प्रकाशमा हातमा ह्विस्की लिएर मुडामा बसेका खुशवन्त स्तम्भको लोगो थियो ।
प्रायः खुशवन्तलाई सम्झनुपर्दा मानिसहरू तीन कुरा सम्झन्थे । सिंहको महिलाहरूसँगको सम्बन्ध, गान्धी परिवारसँगको सम्बन्ध र ह्विस्कीसँगको सम्बन्ध । तर, बाहिर आएजस्तो उनी थिएनन् । महिलाहरूलाई उनी सम्मान गर्थे । सिंहको बौद्धिकताबाट थुप्रै महिला प्रभावित भएका थिए । खुशवन्त पुरुषहरूले आफ्नो सुन्दरताले भन्दा पनि आफ्नो बौद्धिकताले महिलाहरूलाई प्रभाव पार्न सक्ने बताउँथे । उनी भन्ने गर्थे, “महिलाको मन जित्न पुरुषहरूले आफूलाई सुन्दर बनाइराख्नु पर्दैन ।”
सन् २०१४ मार्च २० का दिन ९९ वर्षको उमेरमा खुशवन्तको निधन भएको थियो । लामो समय बाँचेका उनी पछिल्लो समय आफ्नो बिग्रँदो स्वास्थ्य स्थितिबाट चिन्तित थिए । खुशवन्तको इच्छाअनुसार उनको अन्त्येष्टि पाकिस्तानको हदालीमा मुस्लिम परम्पराअनुसार गरिएको थियो ।
सधैं ढोँगी र आडम्बरी समाज, भ्रष्ट राजनीति र विभिन्न धर्मका नाममा विभाजित समाजविरुद्ध आवाज उठाएका सिंहका चर्चित कृतिमध्ये ‘दिल्ली : अ नोभल’, ‘द कम्पनी अफ वुमेन’, ‘आई श्याल नट हियर द नाइटिंगेल’, ‘सनसेट क्लब’ केही प्रतिनिधि कृति हुन् ।
आवरण तस्बिर ः campusdiaries.com
NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन ८, २०७३  ११:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC