काठमाडौं । अर्थमन्त्री डा। युवराज खतिवडाले विश्वमा हाल देखा परेको व्यापार युद्धको अवस्थाले नेपालजस्ता साना मुलुकको लागि समष्टिगत आर्थिक व्यवस्थापन गर्न चुनौती सिर्जना गरेको बताएका छन् । विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्र कोषको संयुक्त बैठकमा सहभागी हुन इन्डोनेसिया पुगेका खतिवडाले अवस्था कुनैपनि मुलुकको लागि फाइदाजनक नभएको बताए ।
त्यस्तै, यस अवस्थाले मूल्य नियन्त्रण गर्ने मौद्रिक नीतिको औजार तथा प्रभावकारिता कमजोर हुँदै गएकोले यसतर्फ विश्व समुदायको ध्यान जानु जरुरी भएको बताए । विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको बार्षिक बैठक अन्तर्गत दक्षिण पूर्व एसिया क्षेत्र मतदान समूहको बैठक अर्थमन्त्री खतिवडाले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका छन् ।
सो बैठकमा उनले दक्षिण एसियाको आर्थिक वृद्धिदर विश्वमै उच्चतम रहेको र सोबाट विश्व अर्थतन्त्रमा सिर्जना गरेको अवसर र योगदानको सही चित्रण हुनुपर्ने विषय समेत औंल्याए । वित्तीय क्षेत्रमा प्रयोगमा आएका नवीनतम प्रविधि ‘फिनटेकू ले ल्याएको चुनौती र अवसरलाई व्यवस्थापन गर्न नियमनकारी निकायहरुको क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकता औंल्याउदै बहुनियामक निकायबीच समन्वय हुन नसके वित्तीय अराजकता निम्तिनेतर्फ सबै सचेत हुन आग्रह गरे ।
अर्थमन्त्री खतिवडाले ठूला राष्ट्रको द्वीपक्षीय सहमतिले ‘ग्लोवल गभर्ननेन्स गर्ने अभ्यासबाट साना राष्ट्रहरुको आवाज सही ढंगबाट प्रतिनिधित्व नहुनेतर्फ सहभागी देशहरुको ध्यानाकर्षण गर्दै वहुपक्षीय संस्थाको भूमिका कमजोर हुन लागेको तर्फसमेत संकेत गरे ।
नेपाल बहुपक्षीय संस्थावादको पक्षमा रहेको र त्यस्ता संस्थाहरु साना मुलुकको आवाज विश्व समुदायलाई सुनाउन प्रभावकारी मञ्च हुने विचार व्यक्त गरे । यस अवस्थामा विश्व बैंक समूहले बहुपक्षीय संस्थाहरुको लागि नेतृत्वदायी र प्रेरणादायी भूमिका निभाउनुपर्ने तर्फ पनि जोड दिए ।
सो समूहको बैंठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल लगायत नेपाली प्रतिनिधिमण्डलका सदस्यहरुको उपस्थिति रहेको थियो ।
यसैबीच बहुपक्षीय लगानी प्रत्याभूति संस्थाको प्रतिनिधि मण्डल र नेपाली पक्षबीच भएको द्वीपक्षीय बैठकमा नेपालमा वैदेशिक निजी लगानी प्रवर्द्धन गर्न उक्त संस्थाले थप परियोजनामा लगानी प्रत्याभूति गर्ने प्रतिवद्धता समेत व्यक्त भएको थियो । साथै, उक्त संस्थाका प्रतिनिधिहरुले वैदेशिक निजी लगानीको लागि उपयुक्त वातावरण सिर्जना गर्न नेपालले हालै गरेका प्रयासहरु सकारात्मक रहेको धारणा व्यक्त गरेका थिए ।