ब्लग

मम्मी छोरी हुन डर लाग्यो !

रिस्ता न्यौपाने

मम्मी छोरी हुन डर लाग्यो !

आज मैले मम्मीसँग भने – मामु मलाई छोरी मान्छे बनिरहन डर लाग्यो । मलाई छोरा बनाइदिनुस् । मम्मी केही बोल्न सक्नुभएन मलाई हेरीमात्रै रहनुभयो । साच्चै नै अब हामी छोरीलाई बाँच्न गाह्रो भएजस्तो लाग्छ । केही दिन पहिले एउटा पत्रिकामा पढेँ – चौहत्तर वर्षकी हजुरआमाको बलात्कार भयो रे । अस्ति आठ महिनाकी बहीनी बलात्कारपछि मारिइन् । यसरी दिनैपिच्छे अखबारका पानामा आउने बलात्कारका घटनाले मनमा एक किसिमको डर पैदा गरेको छ । अब भोलि कस्को पालो होला ?

बलात्कारका घटना धेरै छापिएपछि मम्मीले मलाई अखबार पढ्न बन्द गरिदिनु भयो । उहाँको मनमा एउटा डर छ कतै यस्तो घटना ममाथि नहोस् । हरेक दिन म स्कुलको लागि निस्कन्छु मम्मीले एउटै कुरा भन्नुहुन्छ, अलि चनाखो हुनु है ! अनि स्कुलबाट फर्किन्छु अनि कस्तो पढेर आयौ छोरी कसैले तिम्रा प्राइवेट अंगहरू त छोएन ? भनेर सोध्नुहुन्छ । मलाई दिनमा दुई पटक मेरा प्राइवेट अंगहरु कुन हुन् भनेर सम्झाउनु हुन्छ । अनि कसैलाई छुन नदिनु है भनी सिकाउनु हुन्छ । म आत्तिई सकेँ मेरा मम्मीका ‘‘तिमीलाई कसैले छोयो कि ?’’ भनेर डराउँदै सोधिएका प्रश्नले । अनि म आत्तिइसके हरेक दिन अखबारमा बलात्कारका समाचार पढ्दा ।

म कहाँ सुरक्षित छु ? मैले पढ्ने विद्यालयमा, म हिँड्ने बाटोमा ? म बस्ने घरमा ? कहाँ ? कहाली लागेर आउँछ सम्झिँदा र दिक्क लाग्छ आफ्नै समाजले दिएको लिङ्ग धारण गर्न । आफूलाई सुरक्षित महसुस गर्न पनि लिङ्ग परिवर्तन गर्न मन लाग्छ । आज देश निर्मला दिदीको घटनाले तातेको छ । अझै उहाँको बलात्कारी फेला पर्नसकेको अवस्था छैन । हामीलाई त स्कुलमा सर, म्यामहरूले केही भयो भने पुलिसकोमा जानुपर्छ त्यहाँ ‘पुलिस अंकलले सहयोग गर्नुहुन्छ’ भनेर सिकाउनु हुन्छ । त्यसो हो भने निर्मला दिदीका लागि कहाँ जानु भयो त पुलिस अंकलहरू ?

मलाई सानैदेखि मेरो मम्मीले कहीले पनि राजकुमार र राजकुमारीका कुथा सुनाउनु भएन । कथामा राजकुमारीलाई घोडामा आएको राजकुमारले लान्छ भन्ने मेरा स्कुलका साथीबाट सुने । मलाई सधैँ रातिमा सुत्ने बेला मम्मीले मदर टेरेसा जस्तो बन्नु, सामाजिक काम गर्नुपर्छ, फ्लोरेन्स नाइटेङ्गल्सजस्ती नर्स बनेर रोगीको सेवा गर्नुपर्छ, मंगलादेवी र सहाना प्रधानजस्तो ‘बोल्ड’ राजनीतिज्ञ हुनुपर्छ भन्ने सिकाउनु हुन्थ्यो । त्यसैले पनि होला मैले सानोमा घोडामा चढेर राजकुमार आउने सपना कहिल्यै देखिन । सधैँ समाज सेवा गर्ने र सबैको आर्शीवाद बटुल्दै प्रत्येक अखबारका पानामा फोटोसहित आउने सपना बुन्थेँ । तर, आजको अवस्थाले अखबारका पानामा फोटो त आउला तर फलानो बलात्कारपछि हत्या गरिएछ भनेर पो आउँला कि भन्ने डर लाग्छ । अनि मलाई आफ्नो लिङ्ग परिवर्तन गरी छोरीबाट छोरा हुन मन लागेको  हो । 

मेरो स्कुलको उमेर सुरु हुनेताका म मामा घरमा थिएँ । मामाघरको बुबा सैनिक भएकोले मलाई म तीन वर्षकै उमेरमा मुठ्ठी पारेर हातले अरूलाई हान्न सिकाउनु हुन्थ्यो । पछि स्कुलमा त्यसैगरी गुरुले सिकाउन थाल्नु भो । त्यसलाई कराँते भनिदो रहेछ । बुबाले मलाई संगीना वैद्य दिदीको कराँतेका भिडियो देखाउनु हुन्छ । अरू साथीहरुले जस्तो टम एन्ड जेरी मैले मुस्किलले दिनमा बीस मिनट हेर्न पाउँथे । बुबासँग बस्दा सैनिक लडेको, देश बचाएको, आमा, दिदीबहिनीलाई सुरक्षा प्रदन गरेको या कराँते र उसुका भिडियो देखाउनु हुन्थ्यो ।

त्यसबेला मेरो सानो बालक मस्तिष्कले ती ठूला कुरा बुझ्दैन थियो । आज बल्ल बुझ्दैछु । सायद बुबालाई नातिनी पाएको खुसी त थियो होला तर असुरक्षाको डर पनि त्यति नै हुँदो हो । र, त मलाई सानैदेखि म छोरी कमजोर छुँ भन्ने होइन म बहादुर छु भन्न सिकाउनु भएको होला । धन्यवाद बुबा हजुरले मलाई जे सिकाउनु भयो । तर, त्यो हजुरको सिकाइले खै म कसरी सुरक्षित रहन सकुँला र आफूलाई ?  बुबा ! बलिया पाखुरा भएका हातले मेरा मुख छोप्दै, मलाई समात्दा कसरी उम्किन सकुला र ? त्यसैले बुबा हजुरको डर मेटाउन म नातिनीबाट नाति हुन चाहन्छु । 

मैले मेरो स्कुलको ‘फी’ तिरेर ल्याएको रसिद हेर्दै मेरो बाबामम्मी शिक्षामा पनि ‘कर’ लगाएको छ, हे भगवान कसरी हो यस्तो मंहगीमा बाच्ने भनेर कुरा गरेको सुन्छु । अनि मनमनै सोच्छु, गुणस्तरीय शिक्षाको लागि मेरा अभिभावकले सरकारलाई शिक्षामा लाग्ने ‘कर’ तिरेर प्राइवेट स्कुलमा पढाउन पठाउनु भएको छ । कम से कम शिक्षाबाट उठाएको वा मैले पढे बापत सरकारलाई तिरेको करले गुणस्तरीय शिक्षा प्रदान गर्न नसके पनि मेरो र मजस्ता नानीहरूको लागि सुरक्षाको त व्यवस्था गर सरकार !  होइन भने आज लिङ्ग परिवर्तन गर्ने सोच ममा आएको छ । भोलि समाजमा छोरी या त आमाको गर्भमा नै मारिएलान् या त जन्मिएपछि पनि लिङ्ग परिवर्तन गरि पुरुष बन्लान् । 

के पुरुषमात्रै भएको देश कल्पना गर्न सकिएला सरकार ? 

कक्षा सात 
मेरिडियन स्कुल, बालुवाटार
 

तपाईंको मत