site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
घुर
Ghorahi CementGhorahi Cement

– दिनमान गुर्मछान


पुस लागेपछि चिसो हुने नै भयो । चिसोपनि महँगीझैं ह्वात्तै बढेको थियो । यस्तो चिसोमा बाँच्न पनि सकिन्छ के ?— मानिसहरू भन्न थालेका थिए । हुनेहरू बाक्लो लुगा लगाएर घरमै न्यानो भएर बस्थे । नहुनेहरू साँझसँगै कक्रिँदै जान्थे ।

तराईको गाउँमा फुसकाघर नै धेरै हुन्छन् । सबै बाँसकाबेराले बनेका हुन्छन् । जब चिसो बढ्छ, घरका भित्ताहरू पनि चिसिन्छन् । यस्तो चिसोमा झन् घाम लागिदिँदैन । त्यहीमाथि खरका छानामा शीतझरेर चिसो घरभरि फैलिने । जति साँझ पर्दै जान्थ्यो, मान्छेहरू जाडोले कक्रिन्थे ।

Agni Group

भगिराम मुसहरलाई त झन् साँझ पर्नै हुन्न । पातलो ज्यानमा चिसो सहनै नसक्ने । जतिजति रात पर्दै जान्छ, चिसो झन्–झन् बढ्दै जान्छ । भगिराम सुटुक्क पिउन थाल्थ्यो । पिएरै चिसो भगाउन सकिन्छ भन्ने उसलाई लाग्थ्यो । अरु भने घरमा चुला छेउमा बसेर हात काखीमुनि च्यापेका हुन्थे । यस्तो लाग्थ्यो— सबै बिरामीरुँगेर बसिरहेका छन् । सबैको मगजमा भने यो जाडो कसरी छल्ने भन्ने हुन्थ्यो ।

“ठन्डी हरेक साल बाघजैसन हमनीकै पिछा करता । कबु त लागला, हमनीकै लेगइला परही छुटी ।”(चिसोले हरेक साल बाघजस्तै हाम्रो पिछा गर्छ । कहिलेकाहीँत लाग्छ— हामीलाई लिएर मात्र यो जान्छ) भगिरामकी आमा भुत्भुताई ।

Global Ime bank

बूढीआमाको कुरा सुनेर भगिराम डरायो । आमालाई यो चिसोमा न्यानो लुगा दिन नसकेको पीडाले उसको मनमा घोच्न थाल्यो । तर के गर्नू ? जति नै काम गरे पनि घरभरिको जहानलाई खान पुर्‍याउन त कठिन छ । उसले एकछिन गम खायो । 

चुला छेउमै आफ्नी मतारी (आमा)सँग घुस्रिएको नाबालकलाई  हेर्‍यो । भगिरामको सबैभन्दा सानो छोरो । ऊ चिसो लागेरै आफ्नी आमाको सारीको फेरमा घुस्रिएको थियो । उसले आफ्नो टाउको चुलामा बलेको आगोतिरै फर्काएको थियो ।

“छोरोले राम्रो कट्टु पनि लगाउन पाएको छैन,” भगिरामले आफू पनि सानोमा यसैगरी आमाको सारीमा घुस्रिएको सम्झियो र मनमनै सोच्यो, “यो हप्ताभरि काम गरेर कमाएको पैसा जम्मा गरेर आमालाई न्यानो लुगा र छोरोलाई एउटा ट्राउजर किनिदिन्छु ।”

“ठन्ड लागल हौ त आग ताप्न माई,”भगिरामले भन्यो ।

उसकी आमा काखीमा हात च्यापेर टुसुक्क बसेकी थिई । चुलाको अर्काे छेउमा बसेका छोरीहरूलाई भगिरामले हटायो । त्यहाँ आफ्नी आमालाई बस्न लगायो ।

भगिरामको घर चोर्नी गाविसमा रहेको मुसहर समुदायमा थियो, जहाँका मुसहरहरू अर्काको खेतबारीमा काम गरेर पेट पाल्थे । खेतबारीको काम भनेको बाह्रैमास पाइने होइन । अरू बेला घाँसदाउरा जस्ता अन्य काम पनि गर्न भ्याउँथे । तर, त्यो काम भनेको ठूलाबडाको घरमा बोलाए मात्र पाउने, नत्र नपाइने । त्यसैले कति दिन त कामै पाउँदैनथे । यस्तोबेला कोहीकोही सदरमुकाम पुगेर काम खोज्थे । सदरमुकाममा पनि भनेजस्तो काम कहाँ पाइने होर !

भगिरामले चाहिँ कामको लागि कहिल्यै गाउँ छाड्नु परेन । अहिलेसम्म गाउँका मालिकहरूले उसलाई खाली बस्न दिएका छैनन् ।

मुसहरहरूका जम्माजम्मी २३ घर छन् । सबै ऐलानी जग्गामा बसेका थिए । सबैको झुप्रो माटोकैथियो । घरबाहेक कसैको पनि गोठ थिएन । न त कुनै किसिमकाबस्तुभाउ नै पालेका थिए । दिनभरि गाउँमा केटाकेटी मात्र हुन्थे । त्यसबेला उनीहरूका बा–आमा गाउँमा अर्काको घरमा काम गर्न जान्थे । केटाकेटीहरू पनि अलि ठूला भएपछि बा–आमासँग काममा जान्थे । त्यसैले दिनभरि गाउँ केटाकेटीहरूको मात्र हुन्थ्यो ।

भगिरामले आफ्नी स्वास्नीलाई हेर्‍यो । परार माइतीबाट पाएको उही धोती जिउमा बेरेकी छे । उसले तबिहे गरेको सालबाहेक एकपल्ट मात्र सारी किनिदिएको थियो । नत्र उसले किन्न सकेकै छैन । त्यो सम्झेर पनि उसको मन कटक्क खायो र दुब्लाउँदै गएकी स्वास्नीको शरीर हेर्न थाल्यो ।

“राम्रोसँग खान पनि पाएकी छैन,” उसले सोच्यो ।

साँच्चै भन्ने हो भने रामप्यारी दिनरात काममा दलिएकी थिई । मालिकको घरमा कहिलेकाहीँ मीठोमसिनो खान पाएकी थिई । घरमा त सबैले खाएपछि मात्र खान्थी । राम्रो खान र लाउन दिन नसकेकोमा उसले आफूलाई मनमनै धिक्कायो ।

उसकी स्वास्नी रामप्यारी । बिहे गरेको साल खाइलाग्दी थिई । अलि काली भएपनि हँसिली थिई । अब त्यो ज्यान कहाँ रह्यो र ! छाला खुम्चिन थालेका थिए । त्यो उज्यालो अनुहारमा पोतो बाक्लिएको थियो । भगिरामले लगत्तै आफ्नो ज्यानलाई हेर्‍यो । उसको पनि ज्यान सुकेको थियो । कहिल्यै मोटाएन । आफूले लगाएको लुगा हेर्‍यो । पोहोर परशुराम सेठले जडाउरी दिएको कुर्था लगाइरहेको थियो, जसको काखी फाटिसकेको थियो । घरिघरि त्यहीँबाट पनि चिसो पसिदिन्थ्यो । हुन त अहिलेसम्म उसले नयाँभन्दा जडाउरी लुगा नै धेरै लगाएको थियोे । उसलाई आफ्नै जिन्दगी पनि जडाउरीझैं लाग्थ्यो ।

चुलाबाट पाकेको बोडीको तरकारीको भाँडा झिक्दै उसकी स्वास्नी बोली, “अब खानुपर्छ । पाक्यो ।”

चुला वरिपरि बसेका सबै चल्मलाए । चार सन्तान थिए । दुई छोरी र दुई छोरा । कान्छोचाहिँ आमाको काखमै झन्डै निदाइसकेको थियो । आमाको बोलीले ऊ पनि उठ्यो । आँखा मिच्दै उभियो । ऊ आफ्नी मतारीकै नजिक बस्यो । अरु भने चुलाछेउमै परालले बुनेको गुन्द्रीमा लाइनै बसे ।

भगिरामले आफ्नी आमालाई हात धुन सघायो । आमाले रोटी खाँदै गर्दा उसले हेरिरह्यो । केटाकेटीहरू आफ्नो भागको खाइसकेर उठेपछि भगिराम खान बस्यो ।अन्तिममा रामप्यारीले पनि खाई ।

रातसँगै चिसो बढ्दै थियो । केटाकेटीहरू निद्राले झोक्राउन थाले । भगिरामले सुताउनकालागि ओछ्यानतिर लग्यो । चुलादेखि अर्काे कुनामा पराल ओछ्याइएको थियो । त्यहीँमाथि परालले बुनेको गुन्द्रीमा एउटा पातलो तन्ना ओछ्याइएको । केटाकेटीहरू त्यहीँलडे । एउटै हारमा लडेका केटाकेटीहरूको जिउमाथि भगिरामले एउटा अर्काे फाटेको तन्ना ओढाइदियो, जुन धेरै ठाउँमा प्वाल परेर चियाइरहेको लाग्थ्यो । 

“यत्नासे कहाँ होई ? (यतिले कहाँ हुन्छ ?),”जेठो छोरा बोल्यो । 

“चटाई कहाँ बा ? (चटाई कहाँ छ ?),”भगिरामले स्वास्नीतिर फर्किएर सोध्यो ।

सोध्नासाथ स्वास्नीले एउटा गुन्द्री खोजेर ल्याई । त्यही गुन्द्री पनि ओढेको तन्नामाथि ओढाइदियो ।

घरमा भाँडाकुडाबाहेक केही पुराना लुगामात्र थिए । न त ओढ्नलाई न्यानो सिरक थियो । न त कम्मल वा कुनै च्यादर । किनेको तन्ना वा सिरक पनि गर्मीमा मक्किन्थ्यो । त्यसैले भगिरामले किन्नै छाडिदियो । पोहोर एउटा सिरक किनेको थियो । घरमा सात सदस्य थिए । अब सिरक कसले ओढ्ने ? त्यही एउटा सिरक केटाकेटीले ओढून् भनेर दिएको । त्यो पनि निद्रामा तानातान गरेरै च्यातियो । एक महिना काम गरेर घर खर्चबाट जोगाएर आठसयमा किनेको सिरक पनि च्यातिएपछि उसले सिरक किन्ने कल्पना पनि गर्नै छाड्यो ।

आमालाई ओछ्यान लगाइदिऊँ भनेर ऊ कस्सियो । तर, जम्मा दुइटा सुकुल बाँकी थिए । ती पनि मक्किएका। एउटा मक्किएको सुकुल भुइँमा ओछ्याएर माथिबाट पराल ओछ्याइदियो । उसकी आमा त्यहीमाथि पल्टिई । काठको ठुटाझैं उसको पातलो शरीर परालमाथि लम्पसार पर्‍यो ।

अब बाँकी रहे भगिराम र रामप्यारीका जोईपोइ । यो चिसोमा निदाउन सकिँदैन भन्ने उसले बुझिसकेको थियो । चिसोमा सुत्न नसक्नुको पीडामा भगिराम छट्पटाएझैं भयो । झन्डै ९ बज्न लागेको हुनुपर्छ, गाउँमा उज्यालो बढ्यो । यो उज्यालो आगोको थियो, जुन दन्दनी बलेको थियो । त्यसको रापिलो उज्यालो अब भने चारैतिरबाट देखियो । यो पक्कै पनि घुर बालेको हो भन्ने उसले बुझिसकेको थियो ।

ऊ घरबाहिर आयो । बाहिर झन् चिसो थियो । उसले देख्यो सबैको घरको आँगनमा घुर बलेको छ । पराल, सुकेका बाँस, झिक्राझाक्री जे–जे हुन्छ, सबै हालेर बालेको देख्यो । वरिपरि घरका सबै सदस्य आगो तापेर बसेका थिए । यो चिसोमा सिरक वा न्यानो लुगा नभए त आगो नै हो तापेर चिसो भगाउने । उसले पनि यस्तै दिनकालागि भनेर मालिकको घरबाट मागेरै भएपनि धानको पराल जम्मा गरेको थियो । छोराछोरीलाई दिनभरि घरमा खेल्नुभन्दा जंगलमा गई पत्कर र मसिना हाँगा बटुल्न लगाएको थियो । केटाकेटीहरूले दिनभर लगाएर धेरैदिनदेखि पत्कर जम्मा पारेका थिए । भगिरामले आफूले पनि घुर बाल्ने सुर गर्‍यो ।

“जा गएर पराल लिएर आइज् । अब यो चिसोमा सुत्न सकिने  होइन । घुर बालेर आगो तापाैं,”उसले रामप्यारीलाई भन्यो ।

रामप्यारी उसको छेउमै अघिदेखि उभिरहेकी थिई । उसलाई भगिरामको मुख ह्वास्सै गन्हायो । नमीठो रक्सीको गन्ध । साँझ पर्नासाथ चिसो सहन नसकेर भगिरामले रक्सी घुट्क्याएको थियो । रामप्यारी बोली, “खाली अप्ने खइलह ? (आफू एक्लैले खायौ ?)”

“आजु जर्किन उठइलेबानी, ऊ उहाँ बा । तुहो निकालके खा ! (आज जर्किन नै उठाएको छु । ऊ, त्यहाँ छ । तँ पनि झिकेर खा !)”उसले भन्यो । 

लोग्नेको कुरा सुनेर रामप्यारी भित्रैदेखि रोमाञ्चित भई । यस्तो चिसोमा आफूले पनि जिउ तताउन पाउनेमा विश्वस्त भई । त्यसैले अलि छिटो गरेर पराल ल्याई । घरको आँगनभन्दा अलि पर डगरमा घुर बाल्न भगिराम बस्यो ।

परालमा आगो बल्न कति बेर नै लाग्छ र ! सुकेको पराल ल्याएकी थिई । सलाई कोर्नासाथ आगो सल्किहाल्यो । आगो ताप्दै दुवैजना पिउन थाले । पिउँदै आगो ताप्नुको मजा नै अर्काे । त्यहीँमाथि भगिरामले रामप्यारीलाई घरिघरि जिस्काउन थाल्यो । बिस्तारै दुवैलाई रक्सी लाग्न थाल्यो ।

“आग बुझागइल् (आगो निभ्यो),”भगिरामले अझै आगो ताप्ने मनसाय बनायो ।

रामप्यारी भित्र गई । एउटा कुनामा थुपारी राखेको पराल तानी । बाहिर निस्किँदा केटाकेटीहरू सुतेको ठाउँमा हेरी । केटाकेटीहरू चिसोले कुक्रुक्क परेर सुतिरहेका थिए । त्यो गुन्द्री र परालले चिसो थाम्न सकेको चाहिँ थिएन । केटाकेटीहरूको अवस्था देखेर त्यस्तै  लाग्थ्यो । उसले अलिकति पराल उनीहरूमाथि छरिदिई । अनि बाँकी बोकेर बाहिरिई ।

बाहिर भगिराम निभ्नै लागेको घुर तापेर हात सेकिरहेको थियो । रामप्यारीले पराल त्यही घुरमाथि हाली । ओसराबाट झिक्राझाक्री लिएर आई । त्यो पनि आगोमा थपी । बिस्तारै पराल र झिक्राझाक्री बल्न थाल्यो । रन्किएको आगोमा शरीर तताउन पाउँदा दुवै मख्ख थिए । जतिबेला पराल बलेर सकिन्थ्यो, ठीक त्यहीबेला छेउको जर्किनबाट रक्सी गिलासमा भर्दै पिउँथे । यतिबेला भगिरामलाई रामप्यारीले पनि साथ दिएकी थिई । गरिबी र जाडोले सताएको उनीहरूको शरीरलाई आगो र रक्सीको न्यानोले रन्काउँदै लग्यो ।

“आग त हमु तापेनी । भितर त ठन्डके मारे निन्दे नइखे लागल । (आगो त म पनि ताप्छु । भित्र त चिसोले निद्रै लागेन ।)”

बूढी आमा कुनबेला उठेर बाहिर पो आई । छोराबुहारीले तापिरहेको घुरकै एकछेउमा टुसुक्क बसी । बलिरहेको घुर ताप्न थाली । आफू छेउमै भएको दाउराका टुक्राटाक्री घरिघरि आगोमा हाल्थी । आगो तापिरहँदा पनि सिउसिउ गर्न भने छाडेकी थिइन । यस्तो लाग्थ्यो— चिसो भएको छ । छोरो भगिरामले आमाको अवस्था बुझेछ क्यार ! भित्र गएर एउटा गिलास लिएर आयो । गिलास भरेर आमालाई दियो । आमाले भरिएको गिलास समाएर लिई । गिलासभित्र एक नजर पुर्‍याई । लगत्तै मुखमा लगी र पिउन थाली ।

पिउँदै आगो ताप्नुको मजामा उनीहरू भुलिए । त्यतिन्जेलसम्म केटाकेटीहरू पनि बाहिर आगो ताप्न आइसकेका थिए । भित्र चिसो थाम्न नसकेपछि बाहिरिएका थिए । केटाकेटी आफ्ना अभिभावकलाई देखेर अचम्म मानिरहेका थिए । बलिरहेको आगोमा पराल थपेको थप्यै हुन्थे । यस्तो लाग्थ्यो— सबैले होस गुमाइसकेका छन् । छोराछोरीले भनेको कुरा सुनेकै होइन ।

“बलिरहेकै त छ नि; किन थपिरहेको ?”छोरीले भनी । तर, के सुन्थे र ! उनीहरू आफ्नै तालमा घुर बाल्ने र ताप्ने गर्न थाले ।

केटाकेटीहरू दर्शक हुन बाध्य थिए । हुन त उनीहरूले आफ्ना बापमतारीलाई सम्झाउन छाडेका थिएनन् । जति नै सम्झाए पनि कोही सुन्नेवाला थिएनन् । यो प्रक्रिया रातभर चलिरह्यो । 

बिहानीपख चिसो निक्कै बढ्यो । यो चिसोमा जो–कोही कठ्यांग्रिने हुन् । बिहानीको निद्रामा सबै मस्त थिए । सबै भुइँभरि लडेका देखिन्थे । मानौं भुइँमा लड्नु उनीहरूको नियति हो । उज्यालो फैलिनेक्रममा थियो । मिरमिरे बिहानमा रामप्यारी चल्मलाई । चल्मलाएको शरीर बिस्तारै उठ्न खोजेझैं गर्‍यो । ज्यान साह्रै दुखेकोझैं लाग्यो रामप्यारीलाई । हातको आड लिँदै उठ्न खोजी । ओहो ज्यान उठाउनै पो गाह्रो भयो । त्यहीँमाथि टाउको बेस्सरी भारी भएको थियो ।

छेउमै भगिराम थियो । कुक्रुक्क परेर सुतेको देखी । अनुहारभरि कालो ध्वाँसो लागेको थियो । र्‍यालसिँगान भएको । झन्डै उसले नचिनेकी । निकैबेर नियालेर हेरेपछि पो चिनी ।

अलिपर सासू पसारिएकी थिई । त्यतापनि राम्रैसँग नियाली । लगत्तै केटाकेटीहरूको सम्झना आयो र खोजी । यसबेला भने उसको मन अत्तालिएको थियो । निभिसकेको घुरकै छेउमा सबैलाई देखी । सबै एक–अर्कासँग खप्टिएका थिए । बल्ल सास आयो । सन्तोषकै सास फेरी ।

रामप्यारी उठेकी मात्रै थिई । उसकी सासू पनि खोक्दै उठी । खोकी निकै चर्काे थियो । चर्काे खोकीको आवाजले भगिरामको निद्रा खल्बलियो । ऊ छटपटायो । चिसो शरीर उठाउन खोज्यो । झन्डै लड्लाझैं गर्‍यो ।

यतिन्जेलसम्म सबै उठिसकेका थिए । उज्यालो अब भने बढिसकेको थियो । सबै आँखा मिच्न थाले । आँखा मिच्दै सबैले घरतिर हेर्न थाले । यतिबेला भने सबैका आँखा बिस्फारित भएका थिए । सबै वाल्ल परे । एकछिन त मूर्तिझैं भए ।

आँखाले देखेको कुरामा विश्वास गर्नै सकिरहेका थिएनन् । बारम्बार आँखा मिच्दै हेर्न थाले । अविश्वासको नजरले भगिरामले हेर्‍यो । लगत्तै रामप्यारीलाई हेर्न थाल्यो । रामप्यारी पनि उसैलाई हेर्दै रहिछ । एकछिनलाई दुवैबीच मौन तर आँखाबाटै संवाद भइदियो ।

“राति हामीले कति भन्दापनि कोही मानेको होइन । घरभित्र भएको पराल, सुकुल केही बाँकी राख्नुभएन । त्यतिले नपुगेर छानोको खर तान्दै बालेको होइन ?”ठूलीछोरीले बाबुआमाको मनस्थिति बुझेर भनी ।

यतिबेला भने छोरीले रातिको आक्रोश पोखी । आफूहरूले जति नै सम्झाइ–बुझाइ गर्दापनि नमानेको बताई । त्यसमाथि उल्टै केटाकेटीहरूलाई हकारेको जानकारी गराई ।

घरको अस्थिपञ्जरमात्र बाँकी थियो । हिजो साँझसम्म राम्रै देखिएको घर जीर्ण अवस्थामा थियो । घरका भित्तामात्र थिए । खरले छाएको छानो थिएन । त्यो अस्थिपञ्जरभित्र एउटा जाली डढेको खाट र टिनको थोत्रो बाकसमात्र बाँकी थियो । छानो, भित्ता, सुकुल, गुन्द्री, कपडा सब घुरकोखरानी बनेका थिए ।

रुँलाझैं अनुहार लिएर भगिरामले सबैको अनुहार हेर्‍यो ।रामप्यारी छेउमै लडिरहेको पाँच लिटरको रित्तो जर्किन समाएर रुन थाली, जो भगिरामले जाडो धपाउन बन्दोबस्त गरेको थियो ।

छेउमै उभिरहेका चारै छोराछोरीले आफ्ना अभिभावकलाई निन्याउरो मुख लाएर हेरिरहेका थिए । सबैको आँखामा एउटै प्रश्न थियो— अब कहाँ बस्ने ?
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज २७, २०७५  ०७:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC