सुधारका लागि सबैभन्दा पहिले सत्य स्वीकार गर्ने आँट देखाउनुपर्छ । नेपाली सेनाका प्रधान सेनापतिले सेनाभित्र भ्रष्टाचार हुनेगरेको गुनासो व्यापक भएकाले त्यसको सम्बोधन गर्ने प्रतिबद्धता प्रकट गरेका छन् । उनले सेनामा भ्रष्टाचार हेर्ने निकाय नभएको जनगुनासो पनि मेटाउन सैनिक विशेष अदालतलाई प्रभावकारी बनाउन उपाय खोज्नुपर्ने धारणा पनि व्यक्त गरेका छन् । नवनियुक्त प्रधान सेनापतिले सेनाका उच्च अधिकृतहरूलाई सम्बोधन गर्ने क्रममा विभागीय प्रमुखहरूलाई पनि भ्रष्टाचारका विषयमा सजग हुने निर्देशन दिएका छन् । प्रायः कमजोरी लुकाउने परम्परा भएका सुरक्षा संगठनमा यस प्रकारको आत्मनिरीक्षण सुधारका लागि सकारात्मक संकेत हो ।
नेपाली सेनाभित्र भ्रष्टाचार र आर्थिक अनियमितता बढेको गुनासो व्यापक हुँदै गए पनि इन्कार र ढाकछोपकै प्रयास हुने गरेको थियो । सांकेतिकरूपमा केही कारबाही भए पनि त्यस्तो कारबाही न पर्याप्त थियो न पारदर्शी नै हुन्थ्यो । यसैले अहिलेसम्म अपेक्षाकृत विवादबाट मुक्त र जनताले धेरै विश्वास गरेको संस्था नेपाली सेनाप्रति समेत नेपाली जनता निराश हुन थालेका थिए । यस्तो अवस्थामा प्रधान सेनापति स्वयंले पारदर्शितामा जोड दिएर स्पष्ट सन्देश दिएका छन् । तर, सेनामा हुने आर्थिक अनियमितता र दण्डहीनताको कारण राम्ररी नपहिल्याई त्यसलाई नियन्त्रण गर्न सकिँदैन । नेपाली सेना सुरक्षासम्बन्धी कामबाट नभई ठेक्कापट्टाका कारण विवादमा परेको हो । यसैले सेनालाई विवादबाट मुक्त गर्ने हो भने सबैभन्दा पहिले व्यापार र ठेक्कापट्टाबाट अलग रहनुपर्छ ।
जनता नेपाली सेनालाई साया गर्छन् । यसैले नेपाली सेनाको छविप्रति बढी नै चासो पनि राख्छन् । प्रधान सेनापतिले भनेजस्तै जनताको चासो नेपाली सेनाको ‘व्यावसायिकता आँच नआओस्’ भन्ने नै हो । व्यापार र ठेक्कापट्टामा बढी संलग्न हुन थालेपछि भ्रष्टाचार र अनियमितताको जोखिम पनि उत्तिकै बढी हुनु स्वाभाविकै हो । यसैले प्रधान सेनापति साँच्चै नै नेपाली सेनालाई स्वच्छ र व्यावसायिक संगठन बनाउन ‘सुधारतर्फ उन्मुख हुन चाहन्छन् भने सबैभन्दा पहिले सेनालाई व्यापार र ठेक्कापट्टाबाट अलग गर्नुपर्छ । सेनाले नै नगरी नहुने काममा मात्र नेपाली सेना संलग्न हुनुपर्छ । आर्थिक क्रियाकलापमा संलग्नता नै कम भएपछि अनियमितता स्वतः नियन्त्रित हुनेछ । अनिमात्र नेपाली सेनालाई पारदर्शी र व्यावसायिक संगठन बनाउने चाहना पूरा हुनेछ । सेनाको साखलाई दाउमा राखेर भ्रष्टाचार र अनियमितता गर्दै आएको सेनाभित्र तथा बाहिरको समूहले त भ्रष्टाचार नियन्त्रणका लागि प्रधान सेनापतिलाई सहयोग नगर्ला तर जनताको भने साथ र समर्थन रहनेछ । प्रधान सेनापति आफ्नो प्रतिबद्धताप्रति गम्भीरतापूर्वक अगाडि बढे भने त्यसको परिणाम नेपाली सेना र जनताका लागि सुखद हुनेछ ।