site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
माग्ने बूढा भन्छन्– हामीले दर्शकको नाडी छामिसकेका छौं
Ghorahi CementGhorahi Cement

केदार घिमिरे मिडियाबाट टाढै रहन खोज्छन् तर मिडियाले उनलाई पछ्याइरहन्छ । हास्य व्यङ्ग्यबाट आफ्नो पहिचान स्थापित गरेका केदार काँचको पर्दा हुँदै अहिले सेतो पर्दाको यात्रामा छन् । ‘छक्का पञ्जा’ युनिटको एउटा पिल्लर हुन् उनी । वर्षभरी रिलिज हुने अधिकांश चलचित्र फ्लप हुँदा केदार सहभागी चलचित्रले त्यो तीतो अनुभव सँगाल्नु परेको छैन । ‘छक्का पञ्जा’ मा कथा, पटकथा, संवाद र अभिनयमा देखिने केदारसँग चलचित्रसँगै उनको व्यक्तिगत जीवनका विषयमा केन्द्रित रहेर बाह्रखरीका नरेश फुयाँलले गरेको कुराकानीः 
० ० ०
सञ्चारमाध्यममा तुलनात्मक रुपमा तपाईं कमै देखिनुहुन्छ, पत्रकारले खोजेनन् कि तपार्ईंले नै आउन नचाहनु भएको हो ?
जो सजिलै मसँग आइपुग्नुहुन्छ, उहाँसँग म ‘इन्टरटेन’ गर्छु । घर पनि चलाउनुपर्ने, काम पनि गर्नुपर्ने भएकाले मेरो अफिसमै आइदिनुस् न भनेको अवस्थामा चाहेर पनि म सबै ठाउँमा जान सक्तिन । कतै कुनै कार्यक्रममा आउने मिडियासँग भने कुरा गरिरहेको हुन्छु । मिडियामा धेरै आउँदा कति यसकै मात्रै कुरा सुन्नु भन्ने दर्शकलाई लागेर कतै सस्तो पो भइन्छ कि भन्ने लाग्छ । यही कारणले पनि हो अरुको तुलनामा मिडियामा कम आएको हुन सक्छु । 

पहुँच पाउनै गाह्रो हो त्यसो भए ? 
त्यस्तो पनि होइन । भनेको समयमा भनेकै ठाउँमा जान नसकेको मात्रै हुँ । कसैले कहाँ छस् भनेर फोन गर्दा म बानेश्वरमा रहेछु भने मेरो पनि त्यहीँ त हो स्टुडियो भन्यो भने म छिरिहाल्छु । 

‘छक्का पञ्जा–३’ नहेर्नु भएका दर्शकलाई भन्नुपर्दा कस्तो खालको चलचित्र हो ?
गहकिलो विषयवस्तुलाई रमाइलो तरिकाले प्रस्तुत गरिएको चलचित्र भन्न रुचाउँछु म ।  

Agni Group

‘छक्का पञ्जा’ युनिटले गहकिलो विषयलाई रमाइलो र सस्तो ढंगले प्रस्तुत गरिदिन्छ भनेर आलोचना खेप्दै आएको छ, फेरि पनि त्यसैले निरन्तरता पाएको हो ?
राजनीतिक दलको भाषणमा मान्छे आउन् भनेर गाडीको व्यवस्था गरिएको हुन्छ । तर, पनि त्यहाँ आयोजकले सोचेजस्तो मान्छे किन आउँदैनन् भने त्यहाँ गम्भीर कुरा हुन्छ । रमाइलो तरिकाले तिनै कुरालाई प्रस्तुत गरिँदैन । मान्छेको जिन्दगीमा ९० प्रतिशत दुःखैदुःख हुन्छ । जिन्दगीमा के छैन भन्दा रमाइलो छैन । त्यसैलै गम्भीर विषयलाई पनि रमाइलो तरिकाले प्रस्तुत गरियो भने दर्शकले रमाइलो पनि पाउने भए र त्यो विषयले भन्न खोजेको सन्देश पनि पाउने भए भन्ने मान्यताले हामी चलचित्र बनाउँछौं । 

प्रस्तुतिका हिसाबले हामी कतै न कतै चुकिरहेका छौं भन्ने लाग्दैन तपाईंहरुलाई ?
त्यस्तो लाग्दैन । चलचित्र समीक्षक ग्रामरका कुरा गर्छन् यहाँ यो भएन र त्यो भएन भन्छन् । तर चलचित्र निर्माण व्यवहारिक कुरा हो । के चलिरहेको छ ? दर्शकलाई के मन पर्छ र केले हसाउँछ ? हामीले दर्शकको मन छामिसकेका छौं । हामी समीक्षकलाई हेरेर होइन, दर्शकलाई हेरेर चलचित्र बनाउँछौं । समीक्षकलाई हेरेर बनाउँदा दर्शक खुसी हुनु भएन भने अर्को आपत पर्छ । 

Global Ime bank

दर्शकलाई मात्रै खुसी बनाउन खोज्दा राम्रो चलचित्र बन्छ ?
हाम्रो हिसाबले राम्रो बनेको छ भन्ने नै हो । राम्रो भन्नाले चलचित्रको ग्रामरमा मिल्यो भन्ने हठमा म छैन । आजसम्म हामीले गरेको काम र दर्शकले गर्नु भएको मायाका आधारमा हामीले ठिकै काम गरिरहेका छौं होला भन्ने लाग्छ । 

बक्स अफिसमा हिट भएका सबै चलसचित्र राम्रा हुन्छन् ?
सबै राम्रा हुन्छन् भन्ने छैन । समाजमा गलत सन्देश दिएर पनि बक्स अफिसमा रकम संकलन गरेको हुनसक्छ । 

तपाईंहरुको चलचित्र ‘छक्का पञ्जा’ ले सधै राम्रो व्यापार गर्दै आएका छन् । चलचित्र चलाउने तौरतरिका के रहेछ ?
दर्शकलाई मन पर्ने चलचित्र बनाउनु पर्छ । दर्शकलाई कुन कथा कसरी भन्दा मनपर्छ त्यसलाई बुझेर चलचित्र निर्माण गरिदिए पुग्छ । चलचित्र भन्ने शैली राम्रो भएपछि माउथ पब्लिसिटी हुन्छ । माउथ पब्लिसिटी नै चलचित्र चलाउने सूत्र हो । हामीले अपनाएको सूत्र पनि यही नै हो । 

वर्षभरी प्रदर्शनमा आउने अधिकांश चलचित्र फ्लप हुन्छन् तर ‘छक्का पञ्जा’ले त्यो अवस्था भोग्नु परेको छैन । चलचित्र मेकरहरुलाई के भन्नुहुन्छ ?
यो प्रश्नको जवाफ दिन लायक व्यक्ति म हुँ या होइन मलाई थाहा छैन । तर, अन्यौलमै म भन्छु, नेपालमा समस्या भनेको कथा, पटकथा र संवाद मै हो । निर्देशक, कलाकार एक सय एक हुनुहुन्छ तर अनिकाल कथा, पटकथा र संवादमा छ । यसमा ध्यान दिइयो भने राम्रा चलचित्र बन्छन् । टिममा बसेर काम गर्यो भने पक्कै पनि राम्रो काम गर्न सकिन्छ । हाम्रोमा खुट्टा तान्ने प्रवृत्ति छ यसलाई त्यागेर मिलेर अगाडि बढ्न सक्यो भने नेपाली चलचित्र उद्योगलाई अगाडि बढाउन सकिन्छ । 

कथा, पटकथा र संवाद लेख्ने ब्यक्ति भएन कि त्यस्ता व्यक्तिलाई चलचित्र क्षेत्रले आकर्षित गर्न सकेन ?
पारिश्रमिक भएन । फिटिक्कै भएन । कथा, पटकथा र संवाद चलचित्रको मुटु हो । यो भएपछि मात्रै चलचित्रका अरु कुराहरु मिल्छन् । भूकम्पमा किन घर लडे ? पिलर बलियो नभएर । चलचित्रको पिलर कथा, पटकथा र संवाद हो । हामी यसमै लगानी गर्दैनौं अनि चलचित्र नलडेर के लड्छ त ? दुई महिनामा कथा लेख्न लगाएर २०–३० हजार रुपैयाँ थमाइदिन्छौं । उसको चुलो बल्दैन । उ पलायन हुन्छ अनि कसरी आउँछन् राम्रा लेखक ? यहाँ सबैभन्दा धेरै पैसा कमाउने व्यक्ति जबसम्म स्क्रिप्ट राइटर हुँदैन त्यो दिनसम्म नेपाली चलचित्र उकालो लाग्दैन । 

चलचित्रको बजेट कति ? प्रश्न गर्दा सबैले दुई करोड र तीन करोड भन्न थालेका छन्, ३० हजार स्क्रिप्टमा खर्च गर्ने मेकरले केमा खर्च गर्छ यती धेरै बजेट ?
देखाउने कुरामा खर्च गरिन्छ । सिन, भेइकल र लाइटमा खर्च भइरहेको छ । तर जेमा खर्च गरिनुपर्ने हो त्यसमा भइरहेको छैन । 

प्रसंग थोरै बदलौं, सानो पर्दाबाट सन्यास नै लिनु भए जस्तो छ नि ! 
यसको रेडिमेड जवाफ छ मसँग । बर्थडेको दिन आएको जवाफ हो यो । बेलाबेला यस्तो महान विचार मलाई आइरन्छ (हाहाहा...) यसमध्येको एउटा महान विचार, म ४४ वर्षको भएँछु । मैले हिसाब गरेको ७० वर्ष बाँचे भनेँ अनुत्पादक काममै अधिकांश समय खर्च भएर जम्मा १० वर्ष चोखो समय बाँकी रहन्छ । त्यो १० वर्ष मैले कहाँ बसेर काम गर्ने हो, त्यहाँ राम्रो काम गर्नुपर्यो । चलचित्रमा काम गर्ने हो भने यसमै राम्रो काम गर्नुपर्यो । टेलिचलचित्रमा जाने हो भने चलचित्रलाई बिर्सिनुपर्यो । त्यहाँ खन्नुपर्यो जहाँ पानी निस्किन्छ । दुई दुई फिट खनेर पानी निस्किएन भन्दै हिँड्ने हो भने जिन्दगीभर खन्दा पनि पानी निस्किँदैन । त्यसैले एक ठाउँ खनेर पानी निकाल्नुपर्छ । यही कारणले अहिले मैले टेलिचलचित्रमा समय दिन सकेको छैन । 

काँचको पर्दाका दर्शकलाई छोडेर अन्याय गरेजस्तो लाग्दैन ?
लाग्छ, किन नलाग्नु ? 

त्यसो भए काँचको पर्दामा किन अडिन सकिएन ?
त्यो बेला अधिकांश टेलिचलचित्र बन्द भए । सबै बन्द भएर अब के गर्ने भनेर सोचिरहेका बेला दीपकराज गिरी दाइले चलचित्रमा गर्न सकिन्छ कि भन्नुभयो । त्यसपछि शुरु भएको ‘६ एकान ६’ले सफलता पायो । त्यसयता निर्माण भएका सबै चलचित्रले सफलता पाएपछि यताको यतै रहियो । अहिले हाम्रो चलचित्र हेर्ने दर्शक पनि हाम्रो टेलिचलचित्र हेर्ने दर्शक नै हो । उहाँहरुका लागि नै हामीले काम गरिरहेका छौं । 

फेरि पनि प्रसंग बदलौं, केदार घिमिरेको स्वास्थ्य अवस्था राम्रो छैन भन्ने समाचार आइरहन्छ, अहिले कस्तो छ ?
करिब ठिक छ नै भन्नुपर्छ । तर यो चिसो शुरु भएपछि केही दिनयता निमोनियाले समाएको छ । निमोनिया पनि ठिक भइसकेको थियो । नेपाल आइडलमा प्रोमोशनका लागि जाँदा कालीप्रसाद बास्कोटाले दही खाउँ भन्नुभयो र खाएको थिएँ । त्यही चिसोले समात्यो । अब यसको क्षतिपूर्ति दाबी गर्छु कालीप्रसादसँग । निकै भइसकेको निमोनिया ३६ रुपैयाँको दही खाउँ भनेर बल्झाइदिने ? (हाहाहा...)

सरकारले उपचारका लागि आर्थिक सहयोग गर्छु भन्दा तपाईंले त्यसलाई नकार्नुभयो । अरु मागिरहेका छन्, तपाईं चाहिँदैन भनिरहनु भएको छ, किन ?
अरुले मागिरहेका छन् रे ! माग्नेमात्रै हो र ? लुटिरहेका छन् । म एकदम जराबाट आएको व्यक्ति हुँ । गाउँमा बाख्रा चराएर आएको हुँ । दसैंमा मात्रै मासु खाने र दसैंमा मात्रै नयाँ लुगा लगाउने पृष्ठभूमिबाट आएको व्यक्ति हुँ । त्यस्ता व्यक्ति जो हिजो म थिएँ लाखौं हुनुहुन्छ । राज्यको पहुँचसम्म उहाँहरु हुनुहुन्छ । लिनुस् भन्ने बित्तिकै लिनुहुन्न भन्ने लाग्यो । म मर्न लागेँ भनेर अपिल गरेँ भने राज्यले ठूलै रकम दिन्छ होला । तर, मैले नै यो अनुशासन शुरु गर्नुपर्छ भन्ने लाग्यो । मलाई सरकारले दिने पैसा भोलि कुनै गाउँको विकास निर्माणमा जाँदा जनतालाई नै फाइदा हुन्छ । 

मैले मेरो उपचारका लागि घर, खेत सबै बेचेर पनि पुगेन भने पो माग्ने हो । मेरो घर मैले उपचारका लागि बेचेको छैन भनेपछि मसँग उपचार गर्ने हैंसियत छ भन्ने हो । यहाँ लाखौं नागरिक सिटामोल किन्ने पैसा नभएर ज्यान गुमाइरहेका छन् । तर, म त्यो अवस्थामा छैन । मैले मेरो काठमाडौंको घर बेचेर पनि औषधी गर्न पुगेन भने बल्ल सरकारले दिएको पैसा लिन मिल्छ भनेर नलिएको हुँ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २८, २०७५  १३:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC