site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सलामी र चक्र शैली

पूर्वमन्त्री चक्र बास्तोला भौतिक रुपमा अब हामीबीच रहेनन् । झण्डै ६ वर्षअघि एउटा कार्यक्रममा लडेर मस्तिष्कघातका कारण बेहोस भएका उनी त्यही अवस्थामा नै  बिदा भएका छन् ।  

उनीसँग नेपाली समाजले  थुप्रै अनुभव लिन सक्थ्यो तर हिँड्दाहिँड्दै बेहोस हुनु र त्यसपछि कहिल्यै पनि होस नखुल्नुले उनका अनुभवबाट केही न केही सिक्ने अवसरबाट बञ्चित हुनुपर्ने अवस्था उत्पन्न भएको छ । 
 
उनी नेपाली कांग्रेसको नेता भएपनि उनका कतिपय शैली र प्रस्तुति भने पार्टीमा मात्रै सीमित हुने खालका थिएनन् । त्यसैले पनि मुलुकले उनलाई अझै लामो समय स्मृतिमा भने अवश्य राख्नेछ । 

उनले विभिन्न मन्त्रालयमा मन्त्रीको रुपमा काम गरेपनि सन् २००० बाट २००१ सम्म झण्डै १३ महिना परराष्ट्रमन्त्री हुँदाका केही कार्यगत शैलीको बारेमा भने यो पंतिmकारले पनि नजिकबाट नियाल्ने अवसर पाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

उनी परराष्ट्रमन्त्री हुनुभन्दा अघिसम्म परराष्ट्रमन्त्री विदेश जाँदा वा आउँदा विमानस्थलमा नेपाली सेनाले सलामी दिने चलन थियो । परराष्ट्रमन्त्री भएका बेलामा भने उनले त्यो तामझाम हटाउन लगाए ।

विमानस्थलको अति विशिष्ट कक्ष खोल्दा वा बन्द गर्दा मात्रै पनि ठूलो रकम राज्यलाई भार पर्ने बताइन्छ । बास्तोलाले भने तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई नै भनेर त्यो चलन हटाउने व्यवस्था गरेका थिए ।

Global Ime bank

लामो समयसम्म तत्कालीन प्रधानमन्त्री कोइरालाका विदेशमामिला सल्लाहकार भइसकेका डा. सुरेश चालिसे बाह्रखरीसँगको कुराकानीमा भन्दै थिए, “यो काम चक्र दाइले नै गर्नुभएको हो । उहाँले गिरिजाबाबु समक्ष प्रस्ताव लग्नुभयो । गिरिजाबाबुले पनि मान्नुभयो ।” 

राष्ट्रप्रमुख वा सरकार प्रमुख विदेश भ्रमणमा जाँदा वा आउँदा त्यसप्रकारको सलामी दिने अन्तर्राष्ट्रिय रुपमा पनि चलन छ । तर, मन्त्रीलाई समेत पटकैपिच्छे त्यस्तो सलामी दिन थालियो भने त्यो हास्यास्पद हुन सक्छ । अहिले विदेशी उच्चस्तरीय प्रतिनिधिमण्डल  आउँदा खुलामञ्च टुँडिखेलमा सलामी दिने व्यवस्था गरिएको छ । नेपालका राष्ट्रप्रमुख वा सरकार प्रमुख विदेश जाँदा वा आउँदा भने विमानस्थलमा नै सलामी दिइन्छ । जंगीतर्फ प्रधानसेनापति विदेश जाँदा वा आउँदा सलामी दिने गरिएपनि अहिलेका प्रधानसेनापति भने विदेश जान भ्याएका छैनन् । 

यसअघि नेपाली वा विदेशी राजदूत आउँदा वा जाँदा  नै विमानस्थलमा सलामी दिने प्रचलन रहेकोमा तत्कालीन राजा महेन्द्रले यो चलन हटाएको पूर्व परराष्ट्रसचिव  डा. मदनकुमार भट्टराईले बताए । 

डा भट्टराईका अनुसार पहिला त झन् कति झर्को लाग्दो अवस्था थियो भने राजदूत आउँदा वा जाँदा १९ तोपको र परराष्ट्रमन्त्री जाँदा वा आउँदा झन् कम महत्व दिएर १७ तोपको सलामी दिने गरिन्थ्यो । राजाले नियुक्त गरेको ‘दूत’ भनेर राजदूतलाई प्रोटोकलमा  परराष्ट्रमन्त्री भन्दा माथि राखिने गरिएको थियो ।  प्रोटोकलमा हेरफेरसँगै त्यो चलन पनि हटेको भट्टराईको अनुभव छ । 

उतिबेला तत्कालीन  राजदूत विजय शमशेर राणालाई बिदा गर्न तत्कालीन गृहमन्त्री बीपी कोइराला नै विमानस्थलमा गएका थिए । विजय शमशेर ७ अगष्ट १९५१ मा भारतका लागि राजदूत भएका थिए । उनी भारतका लागि नेपालको दोस्रो राजदूत पनि हुन् । अझ भारतका लागि तेस्रो नेपाली राजदूत महेन्द्र विक्रम शाह नेपालबाट प्रस्थान गर्नुअघि तत्कालीन

प्रधानमन्त्री मातृकाप्रसाद कोइराला नै विमानस्थलमा विदा गर्न  गएको इतिहासमा रेकर्ड रहेको पूर्व परराष्ट्रसचिव भट्टराई बताउँछन् । यस्ता अनावश्यक झन्झट परिस्कृत गर्दै लग्ने क्रममा पछिल्लो पटक बास्तोलाले परराष्ट्रमन्त्रीलाई सलामी दिने व्यवस्था हटाएका हुन् ।
 
वार्तामा अडान
सन् २००० को डिसेम्बर २५ तारिख । अहिले राष्ट्रपति निवास रहेको शितल निवासमा नेपाल–भुटान १० औं चरणको मन्त्रिस्तरीय वार्ता शुरु भएको थियो । पहिला परराष्ट्र मन्त्रालय रहेको त्यो भवनबाट साँझतिर वार्तामा सहभागीहरु बाहिर निस्कँदै थिए । 

नेपाली प्रतिनिधिमण्डलका नेता थिए, त्यतिबेलाका परराष्ट्र मन्त्री बास्तोला । बाहिर निस्कने क्रममा उनी अघि–अघि थिए । सञ्चारकर्मीहरु बाहिर पर्खिरहेका थियौं । हात उठाउँदै उनले भन्न थाले, ‘‘बुझ्नुभो, मैले त कडै कुरा राखें । सधैं झुलाउनु हुँदैन भनेर भन्दिएँ । सधैं कति कचकच गर्नु ? मानवीय हिसाबले शरणार्थी समस्या त समाधान हुनुपर्यो नि ।” सञ्चारकर्मीसँग उनी अलि अनौपचारिक रुपमा प्रस्तुत भइहाल्थे । 

सञ्चारमाध्यममा नेपालका परराष्ट्रमन्त्रीले कडै रुपमा कुरा राखेको समाचार उनलाई उद्धृत गर्दै आए । भोलिपल्टको वार्तामा भुटानी वार्ता टोलीले मन्त्रीको भनाइलाई लिएर गुनासो गरेछन् परराष्ट्र सचिवसँग । सचिव थिए– नारायण शमशेर थापा । उनी पछि बेल्जीयमको राजदूत भए र क्यान्सरका कारण  ओहदामा रहेकै बेला बिते । भुटानी टोलीको नेतृत्व त्यहाँका तत्कालीन विदेशमन्त्री जीग्मे वाइ थिन्लेले गरेका थिए । उनीपछि भुटानमा दुई दलीय व्यवस्था आएपछि पहिलो ‘लोकतान्त्रिक प्रधानमन्त्री’ पनि भनिए । पेन्सिलभानिया विश्वविद्यालय अमेरिकामा पढेका थिन्ले अंग्रेजीमात्रै होइन, नेपाली भाषासमेत फरर बोल्थे । सन् २००८ देखि २०१३ सम्म उनी भुटानका प्रधानमन्त्री थिए  । 

नेपाल–भुटान वार्ताकै प्रसंगमा जाऔं । नेपालका परराष्ट्रमन्त्रीले बोलेको कुरा नेपाली मिडियामा आएपछि भुटानी टोली ठुस्स परेछ ।  २५ देखि २८ तारिखसम्म वार्ताको मिति थियो । भोलिपल्ट सचिवले मन्त्रीसँग भनेछन्, “हजुरले यसरी कडा बोलिदिनुभएन । उनीहरु रिसाएका छन्,” मन्त्रीले भन्दिएछन्, “मैलै ठीकै त भनेको हो नि । हामी मिडियामा कुरा गर्दैनौं । तर, अल्मल्याउने गरी मात्रै वार्ता गर्नु भएन । साँच्चि नै समस्या समाधान गर्ने गरी प्रस्तुत होऊ भन्नुस्” । नभन्दै सचिवले भुटानी टोलीलाई हामी समाधानतिर जाऔं, अब त्यसरी मिडियामा कुरा नराखौंला भन्दै फकाएछन् । भोलिपल्ट २६ तारिखको वार्तापछि परराष्ट्रमन्त्री फरक रुपमा प्रस्तुत भए । भुटानी टोली उसैपनि मिडियासँग बोल्न नरुचाउने । मन्त्री बास्तोलाले भोलिपल्ट निस्केर भने, ‘‘आज भुटानसँग नेपाल—भुटान व्यापारका विषयमा कुरा भयो । कुरा राम्रो भएको छ । ”

त्यति भनेर उनी फटाफट निस्के । शरणार्थी  विषयको वार्तामा कहाँबाट आयो व्यापार ? सञ्चारकर्मी अल्मलिए, उनी बाटो लागिसकेका थिए । मन्त्रीको उद्धरणमा त्यही कुरा मिडियामा आयो ।  

अनि २७ तारिख पनि खासै कुरा आएन । बैठक जारी भन्नेमात्रै कुरा आयो । अन्तिम दिन शरणार्थीको प्रमाणीकरणका लागि दुईपक्षीय टोली बनाउने बारेमा  सहमति  भएछ । भुटानी शरणार्थी नेपाल छिरेपछिको एक दशकको अवधिमा  त्यो दिन लगभग  ‘ब्रेक थ्रु’ नै थियो । 

सहमति हुन लागेको रहेछ किन व्यापारको कुरा गरेको भनेर केही पछि सोद्धा उनले भनेका थिए, ‘मैले त्यसरी मिडियामार्फत् शुरुमा नपेलेको भए उनीहरु त्यसै टार्ने अवस्थामा थिए । म शुरुमा कडा रुपमा प्रस्तुत भएपछि उनीहरु गम्भीर देखिए । त्यही भएर मैले दोस्रो दिन त्यसरी बोलेको हो । हामीलाई काम हुनु पो ठूलो कुरा हो त, होइन ?’

दशौं बैठकले शरणार्थी सम्बन्धी संयुक्त प्रमाणीकरण टोली (जेभीटी) बनाउने निर्णय गर्यो । अनि प्रमाणीकरणका मापदण्ड समेत बनाइए । नेपाली टोलीको नेतृत्व तत्कालीन गृह सहसचिव उषा नेपालले र भुटानी पक्षको नेतृत्व त्यहाँको गृह मन्त्रालयका सहसचिव तथा निर्देशक डा सोनाम तेन्जिङले गर्ने सहमति भएको थियो । जेभीटीलाई त्यतिबेला रहेका ९८ हजार ८ सय ८६ भुटानी शरणार्थीको प्रमाणीकरणको जिम्मेवारी दिइएको थियो । २००१ मार्च २६ बाट प्रमाणीकरणको कार्यपनि शुरु भयो । 

एकातिर बास्तोलाको प्रयास अर्कातर्फ दाताको दबाबले भुटान पनि चेपुवामा थियो । नेपालसँग वार्ता हुनुअघि ७ देखि ९ नोभेम्बर २००० मा नै भुटानका दाताहरुको बैठकमा यही मामिला उठेको थियो । दाताहरुले शरणार्थीको मानवअधिकारको कुरा उठाउँदै भुटानलाई हायलकायल पारेका  थिए । त्यसैले दातासँग ‘फेस सेभ’ का लागि पनि भुटान नेपालसँग लचिलो भएको बुझ्न गाह्रो थिएन ।

खुदुनाबारी शरणार्थी शिविरका १२ हजार भन्दा बढी शरणार्थीको प्रमाणीकरणको कार्य सकिएको थियो । तर, शरणार्थीसँग भएको सामान्य विवादका कारण भुटानी पक्षको टोली नै सुरक्षा खतरा देखाउँदै स्थलमार्गबाट भुटानतर्फ हिँड्यो । त्यो टोली कहिल्यै फर्केन । बास्तोला मन्त्रीबाट हटिसकेका थिए, शरणार्थी समस्या पनि नयाँ शीराबाट बल्झियो । 

पछि १४ औं चरण सम्मका वार्तामा पनि कुरा नमिलेपछि दातृ निकायको पहलमा सन् २००७ देखि भुटानी शरणार्थी तेस्रो देशमा लग्न थालियो । अहिले सम्म १ लाख १२ हजार भन्दा बढी भुटानी शरणार्थी त्यसतर्फ गइसकेका छन् । सानो अंश अझै नेपालमै छ ।

कोइराला सीएनएनमा चिप्लिँदाको परिणाम
बास्तोला परराष्ट्रमन्त्री भएकै बेलामा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला संयुक्त राष्ट्र संघको कार्यक्रममा भाग लिन अमेरिका गए । उतै हुँदा  सीएनएनसँगको एउटा अन्तर्वार्तामा भुटानी शरणार्थीको संख्याका विषयमा बोल्दा प्रधानमन्त्री चिप्लिए । उनले हन्ड्रेड थाउजेन्ड्स रिफ्युजी (१ लाख शरणार्थी)  भन्नुपर्नेमा वन मिलियन रिफ्युजी (१० लाख शरणार्थी) भन्दिए ।

राजदूतले पहिला नै प्रधानमन्त्रीलाई यस्ता कुरा ‘अपडेट’ गराउनुपर्ने भन्दै सरकारी तहमै असन्तोष जनाइयो । राजदूत थिए— पूर्व मुख्य सचिव रहिसकेका पाका मान्छे दामोदरप्रसाद गौतम । पछि एउटा कारण त्यसलाई पनि मानेर गौतम फिर्ता गरिए । कारण राजदूत चुस्त दुरुस्त नभएको भन्ने अर्थ लगाइयो । परराष्ट्र सचिव नारायण शमशेर थापाले फिर्ता आउन पूर्जी काटे । राजदूतले ‘बाख्राको पाठालाई घाँटी निमोठे जस्तो गर्ने ?’ भन्दै  जवाफ पठाए । ‘पत्रयुद्ध’ले काम गरेन, राजदूत फिर्ता भए । त्यो मामिलामा राजदूतको कति गल्ति हो वा होइन छुट्टै पाटो होला । तर बास्तोलाको यो प्रयास दूतावासलाई चुस्तदुरुस्त राख्ने प्रयास अन्तर्गत भएको बताइएको थियो ।

उन्माद देखिएन 
बीपी कोइरालाको सान्निध्यमा हुर्केका बास्तोला शैलजा आचार्यकी बहिनीसँग विवाह गरेका कारण कोइराला परिवारको भाञ्जे ज्वाइँ हुन् । शक्तिको उपल्लो तहमा कोइराला परिवार रहँदा पनि बास्तोलामा  कुनै उन्माद देखिँदैनथ्यो । सञ्चारकर्मीले मध्यरातमा फोन गरे पनि उठाएर उनी कुरा गर्थे । आफूसँग कुरा गरेर समाचार निस्केपछि उनी फोन गरेर ‘धन्यवाद है’ भन्न समेत भ्याउँथे । कहिलेकाहीँ मैले त्यति छोटो कुरा गरेको थिएँ कसरी यति ठूलो समाचार बनाएको भनेर आश्चर्य पनि मान्थे ।

लुक्ने भए थुप्रै कुरा
२०४८ सालमा प्रधानमन्त्री नियुक्त भएलगत्तै  गिरिजाप्रसाद कोइरालाले तत्कालीन राजदूत विन्देश्वरी शाहलाई १ वर्ष बाँकी रहँदै फिर्ता बोलाइ चक्रलाई भारतको राजदूत बनाएका थिए । पछि उनी राजदूतको कार्यकाल पूरा नहुँदै चुनाव लड्न फर्किएर आए ।

सन् १९७३को तत्कालीन शाही नेपाल वायु सेवा निगमको विमान अपहरणमा मात्रै होइन, त्यो भन्दा अघि पार्टीका अन्य सहयोगीका साथ १ ट्रक हतियार लिएर बंगलादेशी स्वतन्त्रता सेनानीलाई सघाउन उनी त्यता पनि गएका थिए ।

लामो इतिहास बोकेका यी नेता  २०४६ साल अघिको उहापोहमा  विवादमा तानिएका पनि हुन सक्छन् ।  त्यतिबेलाको व्यवस्था विरोधी भएकोले त्यसलाई त्यति अनौठो मान्न सकिँदैन । तर, ओहदामा रहँदा भने देश वा जनहितकै अहित हुने गरी उनी कुनै विवादमा तानिएनन् । २०६२–६३को आन्दोलन अघि नेपाली कांग्रेस र तत्कालीन विद्रोही माओवादीलाई संवादमा ल्याउन उनले पहल गरेको त्यतिबेलाका जानकारहरु अहिले पनि बताउँछन् । उनीसँग सम्बन्धित थुप्रै पक्षहरु उनकै मुखबाट सुन्न अब नपाइने भएको छ । उनको विदाइसँगै अब ती थुप्रै कुरा लुकेका छन् । 

२०६९ सालदेखि मस्तिष्कघातका कारण बेहोस अवस्थामा रहेका उनको बारेमा शनिबार दिउँसैदेखि विभिन्न चर्चा भएका थिए । गत शनिबार राति ९ः१५ सम्म उनका सहयोगी राधाकृष्ण काफ्ले फोनमा पंतिकारसँग भन्दै थिए, “केही घण्टामा नै केही हुन पनि सक्छ वा केही दिन लम्बिन पनि सक्छ । यसै भन्न सकिँदैन ।” नभन्दै घण्टा पनि लागेन । उनले त्यसो भनेको ५ मिनेटमै बास्तोला सदाका लागि विदा भएको जानकारी पाइयो । ऐतिहासिक ती पात्रलाई अलविदा  !

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २९, २०७५  ११:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC