काठमाडौं । गएको वर्ष ७१ हजार ७ सय नेपाली विद्यार्थीले पढ्नका लागि भन्दै नेपाल छोडे । शिक्षा मन्त्रालयको तथ्यांकअनुसार करिब ८० देशमा नेपाली विद्यार्थी अध्ययनका लागि बाहिरिने गरेका छन् । वार्षिक करिब ७२ हजार विद्यार्थीले अध्ययनका लागि ‘नो–अब्जेक्शन लेटर’ लिँदा सवा खर्ब नेपाली रुपैयाँ एक वर्षमा विदेशिने गरेको छ । यसरी विदेशिनेमा बोर्डिङ स्कुलमा पढेका विद्यार्थीको संख्या अधिक छ । सरकारी सामुदायिक स्कुलमा पढ्ने विद्यार्थी अंग्रेजी, गणित र विज्ञानमा कमजोर हुने गरेकाले उनीहरु स्वदेश तथा विदेशमा पाइने अवसरबाट वञ्चित हुने गरेका छन् । कारण– सरकारी स्कुलमा हुने गरेको राजनीति ।
सरकारी स्कुलमा हुने राजनीतिले विद्यार्थीको भविष्य तहसनहस भइरहेको छ । यही विषयलाई उठान गरेर निर्माण गरिएको चलचित्र ‘छक्का पञ्जा–३’ अहिले अल नेपाल प्रदर्शन भइरहेको छ । सरकारी विद्यालयलाई राजनीतिको अखडा बनाइँदा त्यसले पारेको प्रभाव नै चलचित्र ‘छक्का पञ्जा–३’ को केन्द्रीय कथा हो ।
राजनीतिको मियोका रुपमा सरकारी विद्यालयलाई राजनीतिक दलका स्थानीय नेताहरुले कसरी प्रयोग गरिरहेका छन् ? ‘छक्का पञ्जा–३’ ले भन्ने कथा हो । सवा दुई घण्टा यही विषयको पेरिफेरीमा चलचित्रका सम्पूर्ण पात्र घुमिरहन्छन् ।
स्थानीय राजनीतिलाई आफ्नो पकडमा लिनुछ भने पहिला त्यहाँको विद्यालयलाई आफ्नो कब्जामा पार्नुपर्छ भन्ने मूल मन्त्र बनाएर स्थानीय राजनीतिज्ञले स्कुललाई राजनीतिको अखडा बनाउँछन् । संघीय सरकारका मन्त्रीले त्यही उपाय सुझाउँछन् । हेलिकोप्टर चढेर विद्यालयको वार्षिकोत्सव उद्घाटन गर्न संघीय सरकारका मन्त्री पुग्छन् । कारण राजनीति नै हुन्छ ।
विवाहको भोजसमेत स्कुलमै हुन्छ । यो ट्रेलरमै पनि देखिन्छ । जहाँ स्कुलमा कहिलेकहीँमात्रै पढाइ हुने गरेको बताइएको छ ।
अष्ट्रेलिया जान ठिक्क परेकी प्रधानाध्याककी छोरी (दीपिका प्रसाईं) गाउँ पुग्छिन् । त्यहाँ प्रधानाध्यापक (शिवहरी पौडेल) आफ्ना बुवालाई विद्यालयको पालेले समेत नटेरेको, एसईईमा विद्यालयको नतिजा वर्षौंबाट शून्य हुने गरेको तर सुधारका लागि प्रयास गर्दा राजनीतिले थला परेको विद्यालयलाई माथि उठाउन नसकेको बुवाको दारुण अवस्था देखेपछि छोरी दीपिका अष्ट्रेलिया जाने योजना छाडेर बुवाकै स्कुलमा अंग्रेजी शिक्षिकाको रुपमा पढाउन थाल्छिन् ।
छोरीको सुझाव र सहयोगले उनले विद्यालयका शिक्षकलाई कडाइ गर्न थाल्छन् । कामभन्दा पनि जागिरे मनस्थितिबाट गुज्रिएका शिक्षकलाई काममा खटिनुपर्ने भएपछि राजनीतिको भर्याङ टेकेर प्रधानाध्यापकको विरुद्धमा खनिन्छन् । बुवालाई खेतालो शिक्षक बनाएर पढाउन लगाएर आफू अन्य काम गर्ने शिक्षकले दीपीकालाई मुख्य कारक व्यक्तिका रुपमा बुझेर उनको राजीनामा माग्दै स्कुलमा हड्ताल शुरु गर्छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नीर शाह हुन्छन् । बुवाको राजनीतिलाई उकालो लगाउन गाउँ घर आइपुगेका राजा (दीपकराज गिरी) र विद्यालयको स्तर उकास्न अष्ट्रेलिया जान छोडेर पढाउन थालेकी दिपीकाबीच भेट हुन्छ । त्यसपछि कथाले थप नयाँ मोड समाउँदै अगाडि बढ्छ ।
दीपाश्री निरौला निर्देशित चलचित्र ‘छक्का पञ्जा–३’ स्टार कलाकारको लर्को लागेको चलचित्र हो । बोर्डिङ स्कुलमा अंग्रेजी शिक्षकका रुपमा पढाइरहेका विल्शनविक्रम राईको भूमिका लामो नभए पनि दर्शकलाई उनको चरित्र चित्त बुझ्छ । सानै चरित्र भएपनि पनि बुद्धिको अपोजिटमा देखिने स्वस्तिमा खड्काको अभिनय पनि कथालाई पुष्टि गर्छ । प्रियंका कार्की, वर्षा राउत, संजोग कोइराला अतिथी कलाकारका रुपमा आइपुग्छन् । उनीहरुको उपस्थितिलाई पनि दर्शकले रमाइलै मान्छन् ।
दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, नीर शाह, दीपाश्री निरौलाको चरित्र पनि दर्शकले मन पराउँछन् । दीपकराजको अपोजिटमा रहेकी दीपीका ग्ल्यामर लुक्समा चलचित्रभरि देखिन्छन् । तुलनात्मक रुपमा स्टार कलाकारका रुपमा उनी केही फिका लाग्छिन् । तर दर्शकले उनको चरित्रलाई पनि नजरअन्दाज भने गर्न सक्तैनन् । अभिनयका हिसावले केदार घिमिरे, विल्सनविक्रम राई, दीपकराज गिरी, र नीर शाह चलचित्रका नायक हुन् ।
सरकारी विद्याललाई राजनीतिको थलो बनाएर आफ्नो स्वार्थ सिद्धीका लागि प्रयोग गर्दा त्यसले सारा विद्यार्थीको भविष्यमा पारेको प्रभावलाई उठान गरेको विषय आँफैमा नयाँ होइन । तर चलचित्रले नजरअन्दाज गरेको विषय भने पक्कै हो । सरकारी विद्यालयको गुणस्तर खस्काएर सामुदायिक विद्यालयका विद्यार्थी तान्नलाई कुन हदसम्मको हर्कत निजी स्कुलले गर्छन् ? यो विषयलाई उठान गरेर चलचित्र अहिलेसम्म ठूलो ब्यानरबाट निर्माण गरिएको थिएन । कथा यथार्थपरक छ ।
तर चलचित्रको व्यावसायिकताका लागि केही आदर्श पनि घुसाइएको छ । अष्ट्रेलिया जान ठिक्क परेकी सहरको रमझम र ग्यामरस लुक्समा टेलिभिजनको पर्दामा छाएर सानोतिनो छवि बनाएकी टिनेजर, ती सारा अवसर छोडेर गाउँका केटाकेटीको भविष्य बिग्रियो भनेर गाउँमै बस्छिन् ? अनि तीनै युवती जो आफ्नो करिअर नै दाउमा राखेर राजनीतिभित्र छिरेर कायापलट गर्छु भन्ने सोचले हिँडेकी युवती सानो कारणले आफ्नो उद्देश्य नै छाडेर हिँड्छिन् ? दर्शकले प्रश्न चिन्ह उठाउन सक्छन् । ‘छक्का पञ्जा–३’ को अर्को कमजोरी प्राविधिक पक्ष हो । प्राविधिक पक्षमा भने निर्देशकीय हिसाबले दीपाश्री चुकेकी छन् ।
तुलनात्मक रुपमा ‘छक्का पञ्जा युनिट’ले आफ्नो श्रृखंलामा बनाएका चलचित्र मध्येको यो उत्कृष्ट श्रृंखला हो । अघिल्ला संस्करणहरुमा दुईअर्थी शब्द राखेर दर्शकलाई जवरजस्ती हँसाउने ‘छक्का पञ्जा’ युनिट त्यो हर्कतबाट यो पटक टाढै बसेको छ । कथा र यसको प्रस्तुतिका हिसाबले ‘छक्का पञ्जा’ युनिट समाजप्रति गम्भीर हुँदै गएको स्पष्ट देखिन्छ । अधिकांश कमेडीमा केन्द्रित हुने ‘छक्का पञ्जा’ तेस्रो श्रृंखलामा आइपुग्दा कमेडीभन्दा कथामा केन्द्रित भएको छ ।
विषयवस्तुको गम्भीरता र मनोरञ्जनमा ‘छक्का पञ्जा–३’ ले सन्तुलन मिलाउँदा चलचित्र अवधीभर कमेडी जानराको चलचित्र हेर्न मानसिक रुपमा तयार भएर आएका दर्शकले दिक्क मान्दैनन् । दीपकले भनेजस्तै चलचित्रको ग्रामर खोजेर हेर्ने हो भने थुप्रै कमिकमजोरी भेटिन्छन् । तर पहिला पैसा कमाउ अनि अर्को चलचित्र रमाइलो होइन, राम्रो बनाऊ भन्ने मान्यता राख्ने हो भने चलचित्रलाई पुरानै प्रवृत्तिको पुनारावृत्तिभन्दा पनि सुधारिएको कथा भन्न हिचकिचाउनु पर्दैन ।