जनकपुर । मिथिला तथा तराई मधेसमा दसैंको बेला नाचिने झिझिया लोक नाचको लोकप्रियता यति बेला चुलिएको छ । अन्य सांस्कृतिक नृत्यहरु लोपोन्मुख रहेको बेला झिझिया नाचलाई स्थानीय युवाहरुले जगेर्ना गर्दै झनै लोकप्रिय बनाउँदै लगेका छन् ।
दसैंसँगै तराईका जिल्लाहरुमा झिझिया नाचको चहलपहल सुरु भएको छ । धनुषा, महोत्तरी, सिरहागायतका जिल्लाहरुमा उक्त नाचको आकर्षण देख्न सकिन्छ । जनकपुर वडा नं १० देवी चोक स्थित देवी मन्दिरमा विगत १५ वर्षदेखि प्रत्येक दसैंमा झिझिया नृत्यको प्रतियोगिता हुने गरेको छ । स्थानीय युवा क्लबले आयोजना गर्ने प्रतियोगितामा प्रसिद्ध नर्तकीहरुले भाग लिने र पुरस्कृत हुने गरेका छन् ।
यद्यपि संस्कृतविद्हरु पारम्परिक शैलीको झिझिया नाच भने लोप हुने अवस्थामा पुगेको तर्क गर्छन् । पारम्परिक तरिकाले नाचिने झिझिया नृत्य थोरै स्थानमा मात्र कायम रहेको संस्कृतिविद्हरु बताउँछन् ।
स्थानीय युवाहरुले भने लोप हुन लागेको झिझिया नृत्यको शैलीलाई कायम राख्दै प्रत्येक वर्ष जनकपुर देवीचौक १० स्थित राजदेवी मन्दिरमा महोत्सवको रुपमा मनाउने गरिएको बताए । स्थानीय युवा दीपेन्द्र झाले प्रत्येक वर्ष झिझिया नाचको प्रतियोगिता हुने गरेको बताउँदै भने, “जनकपुरको रामानन्दचौक लगायतका कतिपय स्थानमा अझै पनि उक्त नाच हुने गरेको छ ।” उनले नयाँ पुस्ता पनि उक्त नाचबारे जानकार होउन् भनेर नै प्रतियोगिताको स्वरुप दिएर प्रयास थालिएको बताए ।
किन नाचिन्छ झिझिया नाच ?
संस्कृतिविद् डा. राजेन्द्र विमलका अनुसार दसैंको बेला झिझिया खेलिन्छ । उनले भने, “मिथिलामा के विश्वास गरिन्छ भने दसैंमा धामी, झाँक्री र बोक्सीहरु मन्त्र सिद्ध गर्छन् र बोक्सीले कुनै अनिष्ट नगरोस् भनेर झिझियाको आयोजना गरिन्छ । ”
अर्का संस्कृतिविद् डा. रेवतीरमण लाल भन्छन्, “झिझिया वास्तवमा लोक नृत्य हो । यस नाचले दसैंमा देवीको आराधना पनि गरिन्छ । उक्त नृत्य मिथिलामा विशेष प्रसिद्ध हुनुको साथै प्रत्येक दसैंमा नाच्ने चलन आजसम्म पनि चल्दै आएको छ । उक्त नाच थारु र दोनबार समुदायमा समेत नाच्ने प्रचलन रहेको छ । पारम्परिक नृत्यको शैली भने हराउँदै गएको छ ।”
नाच्ने कला
डा. विमलका अनुसार झिझिया नाचका दिन केही महिलाले माटोको घैंटामा मसिना मसिना प्वाल पार्छन् अनि राति ती घैंटामा बलेको दियो राखेर कुनै दक्ष नर्तकीले टाउकोमा कपडा बेरेर बनाएको गेरुली माथी एउटा माथी अर्को घैंटा हाली अगाडि हिँड्छन् र अन्य महिलाहरु तिनको पछाडि नृत्य र अभिनय गर्दै गीत गाउँदै नाच्दै हिँड्ने गर्छन् ।
पहिले टोल टोलमा नाँच्दै हिँड्ने झिझिया नर्तकीलाई घरघरबाट तेल उपलब्ध गराइने परम्परा थियो तर अहिले दसैंमा सो नाच प्रतियोगितामा सीमित भएको छ । जनकपुर, राजविराज, कलैया लगायतका स्थानामा अझैपनि प्रत्येक दसैंमा झिझिया नाच नाच्ने गरिएको संस्कृतिविद्हरु बताउँछन् । उक्त नाच सहरमा भन्दा गाउँघरमा जीवन्त रहेको लाल बताउँछन् ।
संस्कृतिविद् डा. लाल भन्छन्, ‘‘यस नाचको सबैभन्दा रोचक पक्ष भनेको टाउकोमा ८ देखि १० वटासम्म घैंटा बोकेर नाच्ने कला नै हो । घैंटाहरुमा प्रज्ज्वलीत दियोले उक्त नाचलाई मनोरम र आश्चर्यजनक बनाउँछ । नर्तकीको नृत्य गति एकदमै तेज हुन्छ । परम्परादेखिनै के विश्वास फैलाइएको छ भने बोक्सीले घैटामा बनाइएको सानो सानो प्वालहरु गन्न सक्यो भने नर्तकीको मृत्यु हुन्छ । त्यसैले नर्तकीले ओजपूर्ण र गतिमान झिझिया नृत्य गर्छन् ।’’ धेरै प्वाल भए बोक्सी अथवा तान्त्रिकहरुले गन्न नसक्ने भएर नै घैंटामा सहस्र प्वाल बनाउने परम्परा पनि यसै सोचबाट आएको हो ।
झिझिया नृत्य प्रस्तुत गर्दै आएको रंग दर्पण नेपाल नाट्य संस्थाले झिझिया नाच कठिन रहेको उल्लेख गर्दै यसका लागि महिनौ अभ्यास गर्नुपर्ने जनाएको छ । टाउकोमा घैंटा अड्याएर नाच्नुपर्ने हुनाले सिद्धहस्त नर्तकीले मात्रै सो नृत्य गर्न सक्छन् ।
संस्कृतिविद् डा. विमलका अनुसार झिझियाको घैंटाको प्रतीकात्मक अर्थ रहेको छ, जसले माटोको घैंटा अर्थात् माटोको मानवरुपी कायामा आत्मा निष्कम्प दियोको शिखा झै छ । जसको प्रकाश प्रत्येक प्वालबाट बाहिरिन्छ ।
झिझिया नाचको इतिहास
संस्कृतिविद् डा. लाल भन्छन ‘‘झिझिया वास्तवमा लोकनृत्य हो । बोक्सी प्रथाबाट यसको प्रारम्भ भएको मानिन्छ । दन्त्य कथाका अनुसार एउटा राजाका भाञ्जाले उनकी रानी अर्थात् माइजूलाई प्रेम गर्न थालेका थिए । यता रानीले पनि भाञ्जालाई प्रेम गर्न थालिन् । राजालाई जब दुबैको सम्बन्ध थाहा भयो, त्यसपछि उनले भान्जालाई खतरनाक जंगलमा लगेर छोडिदिए । उक्त जंगलमा एउटी बोक्सी बस्थिन् । जसले राजाको भाञ्जालाई जीवन दिइन् । त्यसपछि राजालाई मारेर उक्त देशको राजा उनको भाञ्जालाई बनाइदिइन् । त्यसपछि त्यो राज्यमा ती बोक्सीलाई गाली गर्न थालियो । यही दन्त्य कथाको आधारमा झिझिया नृत्यको गीतमा बोक्सीलाई गाली गर्ने चलन बसेको हो ।