काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालको सामाजिक–आर्थिक रुपान्तरणको वाहक ऊर्जा क्षेत्र भएको बताएका छ् । उनले उर्जा क्षेत्रको विकासका लागि सरकारले उच्च प्राथमिकता दिएको बताए ।
बेइजिङस्थित नेपाली राजदूतावासको सक्रियतामा मङ्गलबार ‘नेपालको ऊर्जा क्षेत्रमा लगानीका अवसर नेपाल–चीन आर्थिक सहयोग मञ्च’ विषयक छलफल कार्यक्रममा उनले सरकारले आगामी दश वर्षभित्रमा १५ हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य लिएको जानकारी दिए । उनले त्यसका निम्ति नेपाललाई वैदेशिक लगानी आवश्यक भएको बताए ।
मन्त्री पुनले भने, “नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न म चिनियाँ लगानीकर्तालाई आह्वान गर्दछु ।”
चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले नेपालमा चिनियाँ लगानी भित्र्याउन आफू निरन्तर क्रियाशील रहेको बताउँदै त्यसका निम्ति चिनियाँ उद्यमी र नेपालका नीति निर्माण तहसँग सहजकर्ताका रुपमा भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे । रासस