site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
दसैं : धर्म कि संस्कृति ?
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

दसैं, बडादसैं, विजयादमी वा दशहरा नामले पुकारिने नेपालीहरूको चाड दसैं पर्वहरूमा सबैभन्दा प्रभावकारी र शक्तिशाली देखिएको छ । त्यसो त बहुधार्मिक, बहुजातीय र बहुभौगोलिक वा विविध स्थिति संरचनाको हाम्रो मुलुकमा सबै समुदायका बासिन्दाले आआफ्नो चाडलाई विशेषरुपले मनाउने र मान्ने कुरा सर्वस्वीकार्य छ । सांस्कृतिक पहिचान ग्रहण गरेका यस्ता धेरैजसो पर्व धार्मिक रुपसँग आबद्ध देखिन्छन् । तिनलाई प्राकृतिक महत्ता पनि दिनसकिन्छ । चाडबाडका धनी नेपालीहरूले अहिले मनाइरहेको दसैं धर्म हो कि संस्कृति ? 
धर्म र संस्कृतिमा कति भिन्नता छ वा विश्वको सांस्कृतिक परम्परामा धर्म ईश्वरको मात्रै प्रतिच्छाया प्रभावी छ कि अन्य कारणले पनि संस्कृतिको उद्भव पाइन्छ ? धर्म के हो ? र संस्कृतिको स्रोत कहाँ छ ? धर्मका विविध परिभाषा छन् । आगोले पोल्नु र पानीले आगो निभाउनु वा चीसो पेय हुनु पानीको धर्म हो । यो बुझाइअन्तर्गत के कर्म नै धर्म हो त ? 
    धर्मलाई मानिसले आध्यात्मिक सोच र संस्कारसँग पनि जोडेको छ । यही क्रममा मानिसले पूजापाठ, मूर्ति संवरण, प्रार्थना आदिको विकास गरेको छ । यस्तो विकास कुनै एक दिनको उपलब्धि पक्कै होइन । सभ्यताको विकासका क्रममा हजारौं वर्ष पार गरेर धर्मको स्थापना र संस्कृतिको संस्कार बसेको हुनुपर्छ । आधुनिक विश्वको ठूलो जनसंख्यालाई अहिले पनि धर्मबाट निःसृत चिन्तनले निर्देशित गरेको छ । धर्म जुनसुकै होओस् तर त्यसले जति गहिरो र फराकिलो प्रभाव मानव समुदायमा अन्य कुनै चिन्तनले पारेको छैन । 
    राजनीतिले राज्यहरू सञ्चालित छन् । तर, मनहरू बढी धर्म संस्कृतिबाट सञ्चालित हुने भेटिन्छ । विश्वका विकसित मुलुकमा चुनावी मतदानमा सहभागी हुनेबाहेक राजनीतिप्रति वास्ता नराख्ने ठूलो समुदाय छ । हाम्रोजस्तो अविकसित, खासगरी नेपालमा सबै वर्ग समुदायका मानिस राजनीतिप्रति गहिरो चासो र सक्रियता राख्छन् । तर, सबै होइन राजनीतिमा कुनै चासो राख्न नसक्ने परिश्रमी वर्ग पनि नेपाली समाजमा छ । अर्थात्, राजनीतिप्रति चासो नरहेको त्यो ठूलो समुदायलाई पनि धर्म संस्कृतिले गाँजेकै छ । राजनीति गर्नेहरू पनि धर्मभीरु छँदैछन् । धर्म के हो भन्ने प्रश्न एकातिर होला तर यहाँ पर्वले लिएको धार्मिक आस्थाको सांस्कृतिक रुपान्तरणलाई विवेचना गर्न खोजिएको हो । 
    दसैंको आध्यात्मिक चेत देवी, दुर्गा, भगवतीसँग जोडिएको छ । यो पनि भौगोलिक प्रभाव र देवताको नामसँग समेत सम्बद्ध छ । नेपालको सन्दर्भमा दसैंलाई हिमाली, पहाडी र तराईतिर आआफ्नै प्रकारले रंग भरिएको छ । नारायणी पूर्व मिथिला क्षेत्रतिर दसैंमा देवीलाई महत्त्व दिएको पाइन्छ भने पश्चिम अवधतिर राम भगवान बढी मानिन्छन् । पहिले चारवटा दसैं थिए रे ! अहिले पनि चैते दसैं सामान्यतः मनाइन्छ र यसबेलाको नवमीलाई रामनवमी भनिन्छ । अर्थात्, चैते दसैं बढी रामभक्तिमा देखिन्छ । 
    यसरी हेर्दा दसैं, यहाँ भन्न खोजिएको धर्मसँग दसैं जोडियो, तिहार जोडियो र हिन्दु आस्थाले प्रभाव परेका अधिकांश चाडबाड देवदेवीमा समर्पित रहे । रामलाई महापुरुष नै भनिएको छ । गीताजस्तो उत्कृष्ट दर्शनमा कृष्णले निर्देश गरेको कर्म, भक्ति र ज्ञान योगको पुट छ । कृष्णलाई पनि भगवान् मानिन्छ । कुनै दार्शनिक महापुरुष हुन् कि ? देवदेवी काल्पनिक हुन् कि, अलौकिक वा प्रभावशाली व्यक्तित्व ? यस प्रश्नमा व्यापक मत भिन्नता छ । यो रहँदै गर्छ तर यसको प्रभाव अस्वीकार्य चाहिेँ छैन । 
    हिन्दु दर्शनले मात्र होइन, इस्लाम र क्रिस्चियन  धर्म वा आस्थाले पनि पर्वलाई प्रभावित गरेको देखिन्छ । चाहे ईद, बकरिद नै भनियोस् अल्लाह(देवदूत), महम्मदसँग सम्बन्धित छन् । मक्का मदिनाको यात्रा धार्मिक भावले नै अनुप्राणित छ । इस्लाम संस्कारलाई धार्मिक आस्था र ईश्वरीय चिन्तनले गहिरोसँग प्रभावित गरेको छ । 
    त्यस्तै क्रिसमस, क्रिस्चियन धर्मको प्रभाव त इस्वी (ख्रिष्टियन) सम्बत्मा समेत परेको छ । विक्रम सम्वत् भारत,राजस्थानको अत्यन्त बलशाली, उदार र जनप्रेमी राजाको नामसँग जोडियो । नेपाल सम्वत् दानी शंखधर शाक्ख्वाले प्रचलित गराए । इस्वी इसामहिससँग सम्बन्धित छ । क्रिसमस इसुसँगै जोडेर मनाइन्छ । 
      वैशाख पूर्णीमा (चंण्डी पूर्णीमा–किरात,मगर आदि समुदायले मान्ने, वा गौडी पूर्णीमा– कुमाल, दरै समुदायले भन्ने र मान्ने)  परम्परा बौद्ध, हिन्दु दुवै चिन्तनसँग मिश्रित देखिन्छ । धर्म, सम्प्रदाय र समुदाय संस्थापकहरूको चिन्तन अन्ततः धार्मिक आस्थासँग रुपान्तरित गरिएको छ । केही नयाँ वर्षहरूको कुरा भिन्न छ । उँभौली, उँधौली पनि प्रकृति पूजकहरूले प्रकृतिसँग जोडेका छन् र यसलाई भगवानकै स्वरुपमा पूजा गर्छन् । 
    अरुलाई छोडौँ, यसरी हेर्दा हाम्रो नेपाली संस्कृति धर्मसँग अभिन्न छ । पहिले मानिस कस्तो थियो ? कस्तो वा नजानिएको संस्कारमा थियो होला । तर, धर्मको अनुभूति गर्न थालेपछि यसको रचना गर्यो र उसका संस्कारहरू धर्मले अनुप्राणित हुँदै आए । धर्म विस्तारित हुँदै गयो र धार्मिक कर्म परम्परा भयो । यही परम्पराले सांस्कृतिकरुप ग्रहण गर्यो । धर्मको फैलिएको वा तरल भएको सशक्त अवस्था नै संकृति हो । 
    संस्कृति पहिचानको अंग बन्यो । हाम्रो संस्कृति नेपाली पहिचान बन्यो । प्रकृतिको पहिचान स्थूल वा मूर्त हुन्छ । संस्कृतिको पहिचान बढी अनुभूतिजन्य रहन्छ । पहिचान भनेकै प्रकृति, संस्कृति हो । मानिसको पहिचान पनि उसको रुप, रंग र बनोटमा देखिन्छ, यो प्रकृति हो । अर्को पहिचान संस्कारमा प्रतिविम्बित हुन्छ, संस्कार व्यवहारको ऐनामा देखिन्छ, संस्कार संस्कृतिको प्रभाव हो । एउटा राष्ट्रको पहिचान पनि यसरी वा यिनै माध्यमले निर्मित हुन्छ ।
    अहिले पर्वहरूमा बढ्दै गएको तडकभडकप्रति चिन्ता व्यक्त भएको छ । यो चिन्ता स्वाभाविक भए पनि चिन्ताको जड गरिबीसँग छ । सक्नेले खर्च गर्दा केही बिगँ्रदैन । खर्च भिन्न हो र विकृति भिन्न हो । खर्चले पैसाको मुहान, चूहान सबै हुन्छ र खुल्छ । बजारमा पैसा पुग्छ । यसको चक्रीय लाभ छ । तर, चिन्ता सबै सक्ने नहुनु वा बन्न नसक्नु हो । चिन्ता यतातर्फ हुनुपर्छ र सबैलाई खर्च गर्नसक्ने बनाउने नीति, व्यबहार चाहिएको छ । ‘समाजवाद और आत्मघात’मा रजनीशले ‘‘मानिसलाई जत्रो बर्को छ, त्यसैमा खुम्चिन सिकाउनु हुँदैन, तर जत्रो चाहिन्छ त्यत्रै बर्को जोगाड गर्न सिकाउनु पर्छ ’’ भन्छन् । अर्थ नेपालीलाई खर्च गर्नसक्ने बनाउनु हो । 
    दसैं सबैभन्दा प्रभावशाली नेपाली पर्व हो । यसबेला मालश्री धुन गुञ्जिनेमात्रै होइन, समग्र नेपाली समाजको धुन नै परिवर्तन हुन्छ । सामाजिक, आर्थिक र प्राकृतिकरुपले पनि दसैंंले धेरै प्रभाव राखेको छ । देवी मन्दिरहरू ( जसलाई शक्तिपीठ भनिन्छ ) मा श्रद्धालुहरूको पूजा अर्चनाले मानिसको दैनिकीमा नै फरक ल्याइदिएको हुन्छ । प्रकृतिको शारदीय मौसम नेपालको सन्दर्भमा बडो अनुकूल छ । दसैंले सांस्कृतिक रुप धारण गरेका कारण विदेशी कुनामा पुगेका नेपालीहरू जस्तोसुकै मौसम भए पनि रमाउँछन्, मनाउँछन् । 
    दशैको शक्ति केही पहिले बहिष्कार गर्नेहरूको हारमा देखिएको छ । केही समुदायले दसैं हाम्रो होइन, बहिष्कार गर्नुपर्छ भने । तर, दसैं कुन समुदायले सुरु गर्यो ? एकिन छैन । पहिले भक्तपुरतिर यो प्रचलनमा रहेको ‘ठ्यासफु‘ मा देखिन्छ भन्ने धेरै प्रमाणसहित संस्कृति र इतिहासविद् महेशराज पन्तले बताउनु भएको छ । बहिष्कार त गरे तर यो पर्वको आर्थिक सशक्तताका कारण उपभोक्ताको माग पूरा गर्ने बजारको व्यवस्थामा त्यही समुदायका व्यक्ति बढी संलग्न पाइए । दसैं चाड हुँदै हो तर यसको सामाजिक र आर्थिक प्रभाव जब्बर छ, गहिरो सांस्कृतिक धार लिएको छ । यही कारण बडादसैं नेपाली पर्वहरूमा सबैभन्दा प्रभावशाली देखिएको वा स्थापित भएको हो । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०७५  १२:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC