site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
ल्याब रिपोर्ट
Sarbottam CementSarbottam Cement

— सुमन सौरभ


बहत्तर घण्टे कल्चर गरिसकेर पनि रिपोर्ट बनाउँदा कन्पारो तात्ने खालको थियो ‘युरिन स्याम्पल’ । जतिपटक दोहो¥याएर हेर्दा पनि पटक्कै रिपोर्ट लेख्न सकेको थिइनँ । न ब्याक्टेरिया, न भाइरस, न पिप, न फंगस— केही भेटिएन । माइक्रोस्कोपमा हेर्दा होस् वा केमिकल मिक्सचरमा— रिपोर्ट लेख्न लायक केही फेला परेन ।

स्याम्पलमा हल्का बेसारकै हाराहारी पहेंलो रंगको झोल थियो । हेर्दा पिसाबजस्तो देखिन्थ्यो । तर, तनावमा पेशागत अनुशासनविपरीत रहेर, पढेको, सिकेको र सधैं अभ्यास गरेको परम्पराभन्दा बाहिर गएर यस्सो सुँघ्दा कुकुरको गन्ध आउँथ्यो । तर, ‘युरिन स्याम्पल’ भनिए पनि पिसाबमा जे–जस्तो हुनुपर्ने थियो, त्यो थिएन ।

Prabhu Bank
Agni Group
NIC Asia

माइक्रोबायोलोजीको १० वर्ष लामो पेशामा यस्तो नमुना कहिल्यै जाँच गर्नु परेको थिएन । ल्याबमा हजारौं थरीका दिसा, पिसाब, रगत, खकारका नमुना जाँचियो र सबैतिरबाट भरपर्दो ल्याब भनेर प्रशंसा कमाइयो । अहिले यत्रो वर्षपछि स्याम्पल सम्झिँदै जिल्लिनु पर्ने अवस्था आएको थियो ।

ल्याब सहायकलाई सोधें, “कसको स्याम्पल हो यो ? को हो यो अरनिको नेपाली भन्ने ?”

Global Ime bank

सहायकले ‘तेरै ल्याब, तेरै नियम, मलार्ई के सोध्छस् ?’ भन्ने लयमा जवाफ दियो, “खै, थाहा भएन । कति आउँछन् स्याम्पल लिएर । कहाँ राखूँ भनेर सोध्छन् । ठाउँ देखाइदियो, टेबलमाथि नै छोडेर जाने हो सबैले । सीधै हातमा बुझ्ने होइन क्यारे । कसको स्याम्पल हो भनेर मान्छे कसरी चिन्नू ?”

उसै त दिमागमा हुइँहुइँती हुरी चलिरहेको थियो, उसको जवाफले झन् रिंगटा लाग्लाजस्तो भयो । निधार कन्याउँदै जाँच गर्ने टेबुलबाट उठें र हावा खान ल्याबको ढोकामा उभिएँ ।

ल्याबको ठीक अगाडि गोरखापत्र संस्थान छ । खै किन हो, छ । त्योभन्दा पर बूढो पीपलको रुख छ— आफैं इतिहास पनि र इतिहासको साक्षी पनि । त्यस रुखमुन्तिर कति विद्रोहका बुद्धि पलाए, कति चेतनाका पालुवा लागे, न भनिसाध्य छ न गनिसाध्य । तर, त्यसको फल कताबाट हाइज्याक भयो कताबाट । पीपलको रुखमुन्तिर वरिपरि पत्रिका पसल छन्, त्यसको मुन्तिर जुत्ता पालिस । बेच्न राखिएका पत्रिकाको दैनिक हेडलाइनभन्दा टल्किने खालको छ जुत्ताको पालिस । त्यसको अलि वर छेउमा भूगोलपार्क छ, नक्सामा नेपाल नदेखिने भूगोल, अनि त्यसको पार्क ।

ल्याबको बायाँ अनाथ र जीर्ण दमकल छ । नगरपालिका, अध्यागमन विभाग, सेना वा अरू कसको अन्तर्गत पर्छ ऊ, उसैलाई थाहा छैन र पनि बूढो गोरुजस्तो जोतिइरहेको छ । दमकलभन्दा उता बीच सडकमा शालिक छ, जुद्ध शमशेरको । शालिकवरिपरिको सडक चारैतिर फैलिएको छ, पीपलको कुरूप जराजस्तै । सडक सधैं जाम हुन्छ । सबैलाई हतारो नै हुन्छ र त्यही हतारोमा नै जाम । त्यसमाथि सवारी साधनको पार्किङले झन् जाम । सडकमात्रै होइन, सडकका पेटीहरू समेत जाम हुन्छन् । थरीथरीका सामान बेच्नेहरू लाम लागेर बसेका हुन्छन् पेटीमा । बेलाबेलामा सामान बेच्नेहरू र नगरपालिकाको प्रतिस्पर्धा हुन्छ पेटीको लालपुर्जा दाबी गर्न । झडप र भागाभाग चलिरहन्छ ।

म धूवाँ र धूलोयुक्त सुख्खा हावा खाँदै ल्याबबाहिरको सडकमा यताउता नियाल्दै थोरै भए पनि सन्चो मान्दै थिएँ, एउटा ख्याउटे मान्छे आयो र मेरै ल्याबको ढोकाछेउमा सेकेन्ड–ह्यान्ड सर्ट–पाइन्ट बेच्नका लागि फिँजायो । उसको अनुहारमा युगौं पुरानो गरिबीको थप्पडको डाम थियो । मलार्ई उसको अनुहारदेखि हाँसो उठ्यो । उसले कपडा मिलाउँदै सातु खाएको तर पानी खान नपाएको जस्तो खस्रो आवाजमा सोध्यो, “मलार्ई देखेर हाँसेको ?”

मलार्ई मनोरञ्जनको मुड चल्यो । भनें, “खकारमा देखिने ब्याक्टेरियाजस्तै नराम्रो छ त अनुहार । कसरी ?”

“आत्मामा घाउ छ बाबै घाउ,” उसले उही खस्रो आवाजमा भन्यो । यसपालि उसको आवाज इनारको अन्तिम गहिराइबाट आएको जस्तो लाग्यो ।

“आत्माको पनि घाउ ? लु गजब भो । अनि आत्माको घाउले आत्मा पो विकृत हुनुपर्ने त ! अनुहार कसरी नराम्रो ?”

“गरिबीको काँडा बिझेको छ, गहिरोसम्म । न कोट्याउँदा आउँछ, न निचोर्दा जान्छ । यसो गर उसो गर, पीडा सरर्रर्रर्र सरेर अनुहारमै आउँछ, अनि तँजस्ता अनुभूतिका गरिबहरू सप्पै यो अनुहारलाई नराम्रो भन्छन् ।”

म बिच्किएँ, “मेरै ल्याबअगाडि पेटी ढाक्ने गरी कपडा फिँजाएर मलार्ई नै तँ भन्छस् ? होच्याउँछस् ?”

“ढुक्क भए हुन्छ, गरिबले होच्याउँदैमा कोही सानो हुँदैन ।”

“गरिब गरिब भन्छस्, गरिबीको उपचारचाहिँ किन खोज्दैनस् ?”

“खोजें, खोज्नु जागिर खोजें ।”

“अनि ? पाइनस् ?”

“कहाँ पाउनू ! त्रिविले दिएको प्रमाणपत्र जागिरको ग्यारेन्टी होइन रहेछ ।”

“ए ऽऽ ! पढेको पनि छस् ? बेकारमै पढिछस् त ?”

“गल्ती भयो ।”

“पसल थाप् न त यही कपडाकै, किन सडक–सडक पेटी–पेटी भौतारिन्छस् ?”

“पसल थाप्न राम्रा कपडा पनि चाहियो, पसलको भाडा चाहियो । पैसा छैन ।”

“बंैकले सापटी दिइहाल्छ नि आजकाल । जग्गा–जमिन देखा न ।”

“जग्गा–जमिन पनि छैन । काकाले म ‘मरिसक्यो, यसको अरू कोही पनि छैन, नजिकको नाताको काका मै हुँ’ भनेर खाए ।”

“काकाले मरिसक्यो भन्यो ? तँ त ज्युँदै छस् त !”

“उनको कुरामा लागेर कानुनले पनि मर्‍यो भनेर कागज दर्ता गरिसकेछ, बाँचेको प्रमाण कहाँ खोज्नू अब ? 'Ignorance of law is not excusable and education of law is not avaliable’ । समयमै न्याय त झन् 'not attainable’।”

“इङ्लिस पनि बोल्दो रहेछस् त, कसले सिकायो ?”

“बीकमसम्म पढेको छु । पहिलो लाइन कलेजमा बिजिनेस् ल पढ्दा थाहा पाएको, पछिल्लो लाइन अनुभवले आफैं थपेको ।”

“यस्तो जान्ने मान्छे, आफू ज्युँदो भएको प्रमाण कानुनी रूपमै पेस गर्नुपर्थ्यो नि, वडा अफिस गइनस् ? सर्जमिन गराइदिन्छ नि मरेको छैन भनेर ।”

“गएँ, सर्जमिन पनि गरायो । सर्जमिनमा काकाका मान्छेहरू पनि थिए ।”

“अनि ? काम भएन ?”

“भयो । वडा अफिसले कागज लेखेर दियो । सबैभन्दा माथि ‘जो जससँग सम्बन्धित छ’ लेखिएको थियो ।”

“तलचाहिँ के लेखेको थियो ?”

“तलचाहिँ ‘निम्न मितिमा मरेको भनेको, फलानोको नाति, फलानोको छोरो, फलानो नाम भएको यो मान्छेको आफू मरेको छैन भन्ने दावामा सर्जमिन गर्दा आधाले काकाको मुखबाट मर्‍यो भन्ने सुनेको भने र आधाले यो मान्छे हिँडडुल गर्ने भएकोले ज्युँदै नै हो भन्ने मत जाहेर गरेकोले उचित कारबाहीका लागि सम्बन्धित निकायलाई सिफारिस गरिन्छ’ भनेको थियो ।”

“सम्बन्धित निकायमा गइनस् त?”

“गएँ । सीडीओ कार्यालय गएँ । जसले त्यो पत्र पढ्यो, उसले ‘त्यहाँ जो जससँग सम्बन्धित छ लेखिएको रहेछ, यो हामीसँग सम्बन्धित होइन रहेछ’ भन्यो ।”

“कुरो राम्रोसँग बुझाइनस् होला ।”

“हातमा वडा अफिसको सग्लो पत्र थियो, राम्रैसँग बुझाउने कोसिस गरें । अर्को एउटाले पत्र पढ्यो र ‘यसमा त आधाले म¥यो भन्ने सुनेको भनेको रहेछ नि’ भनेर समस्या खडा ग¥यो ।”

“अनि ?”

“अनि मैले ‘म ज्युँदै छु, नपत्याए छोएर हेर्नुस्’ भनें । उसले ‘ज्युँदै रहेछस् त भैगो नि त, अब के गर्नु पर्‍यो?’ भन्यो । म जिल्लिएँ । अब मैले ‘भैगो भैगो, ज्युँदै छैन’ भन्नु भएन क्यारे ।”

“सीधै सीडीओलाई भेटिनस् ?”

“भेटें । सलाम गरें, हात जोडें । सीडीओले वडाको पत्र पूरा पढ्यो र ‘यहाँ त उचित कारबाहीका लागि सम्बन्धित निकायलाई सिफारिस गरिन्छ भनिएको रहेछ, ल भन्, तँलार्ई के कारबाही गरूँ ?’ भन्यो ।”

“अनि ?”

“अनि कारबाहीबाट बच्न ‘सु आयो’ भनेर भागेँ।”

निकै बेरको गन्थनमा पनि उसको सेकेन्ड–ह्यान्ड सर्ट–पाइन्ट किन्न कुनै ग्राहक आएनन् । उसले अल्छी मान्दै आङ तान्यो, “खै, बोनी पनि भएन यहाँ त ।”

“यत्रो बेर एउटै पनि सामान बिकेन । अब के गर्छस् ?”

“पर्खिन्छु ।”

“बोनीको लागि ?”

“होइन, फेरि आमाको गर्भमा बस्न ।”

“के भन्छ ? फेरि आमाको गर्भमा बस्न पर्खिने ? अनि के गर्छस् ?”

“सके जन्मिँदै जन्मिन्नँ, जन्मनै परे एकदिन जंगबहादुरजस्तै धरहराबाट हाम्फाल्छु ।” 

“किन हाम्फाल्ने धरहराबाट ?”

“जंगबहादुरै हुन !”

“किन ?”

“नयाँ कोतपर्व मच्चाउन !”

“त्यसरी तेरो समस्या समाधान हुन्छ ?”

“हुँदैन ।”

“फेरि किन त नयाँ कोतपर्व ?”

“रगत बगाउन !”

“किन बगाउने रगत ?”

“बगेको रगतको शोकमा रुन !”

“किन रुने ?”

“काम छ !” 

शालिकवरपर चिरपरिचित जाम थियो । दमकल कराउँदै शालिकतिर लाग्यो र जाममा फस्यो एकछिन । त्यहाँको जाम सच्चा चित्रजस्तै छ, देशको राजनीतिको । सधैंको जाम, बिनाकामको जाम । जाम छिचोलेर दमकल इन्द्रचोकतिर हुइँकियो ।

भनें, “कता आगो लागेछ कुन्नि ?”

भन्यो, “जहाँसुकै लागोस् । पूरै सहर आगो लागे पनि हुन्थ्यो ।”

“धत् पापी, तँलार्ई के फाइदा ?”

“बाँसुरी बजाउन पाउँथें, शालिकमाथि चढेर !”

“किन ?”

“आगो लागेर सहर ध्वस्त हुन्छ ... अनि चिन्ता हुन्छ । जति चिन्ता बढे पनि क्यै हुने होइन क्यारे, अनि क्यै नभएपछि किन चिन्ता गर्नू ! त्यै चिन्ता भुल्न बाँसुरीको पुँपुँ पिँपीँ आवाजले सहयोग गर्छ ।”

“किन ध्वस्त हुनू, बचाइहाल्छ नि दमकलले ।”

“के भर दमकलको ? यो बास्तु नमिलेको सहर हो, न कसैले चाहँदैमा ठीक हुन्छ न कसैले चाहँदैमा बेठीक । के भयो भने के हुन्छ, कसैलाई थाहा हुँदैन ।”

एकछिनपछि ऊ सर्टप्यान्टका लागि फेरि कराउन थाल्यो, “ल आयो सस्तो सस्तो !”

अचानक हावामा समाचार उड्दै आयो— भोलि नेपालबन्द ! साँच्ची नै ‘भोलिको नेपालबन्द सफल पारौं !’ भन्ने नारामा मसाल जुलुस न्युरोड गेटमा आइपुग्यो भन्ने सुनियो । धेरै अगाडिदेखि बन्दैबन्द भोग्दाभोग्दा ब्रोइलर बन्दै गएको मेरो मनमा हल्का कम्पन भयो र म छिटै ल्याब बन्द गरेर घरतिर लागें ।

० ० ०

भोलिपल्ट नेपालबन्द थियो, युगौंदेखिको नेपालबासीको भाग्यझैं । सडक, पेटी सबै खाली–खाली थिए । निकम्मा मान्छेहरू बिनासित्ती सडकमा थुप्रिएका थिए र ‘जुलुस आए हेरिदिऊँ’ भनेर कुर्दै थिए ।

सडक पनि घुमिन्छ र पसल पनि रेखदेख गरिन्छ भनेर बिनाकाम हल्लिँदैहल्लिँदै म पनि बन्द ल्याबअगाडि पुगेर उभिएँ ।

एउटा मान्छे आयो । फंगस–फंगस अनुहारको त्यो मान्छे हतास थियो । उसको आँखामा फंगसीय आक्रोश थियो । उसले बब मार्ली प्रिन्टेड फाटेको कालो र मैलो टिसर्ट लगाएको थियो । फाटेको टिसर्टको प्वालबाट उसको कत्ला परेको छालासहितको करङको केही भाग देखिन्थ्यो ।

ऊ खाली सडकमा रेखाचित्र बनाउन थाल्यो– कालो अँगारको टुक्राले । केही बुझिनसक्नुको चित्र ।

नजिक गएर सोधें, “धर्सैधर्सा मात्र देखिन्छ, यो केको चित्र बनाएको ?”

“इतिहासको !” उसले भन्यो ।

“इतिहासको ? कसको ?”

उसले अचम्मको जवाफ दियो, “पृथ्वीनारायण मरेको !”

“ऊ त उहिल्यै मरिसक्यो नि !”

“त्यतिबेला मर्‍यो, अहिले मारियो !”

“के भन्छ ? कसले मार्‍यो ?”

“राजनीति गर्नेहरूले ! ऊ यता प्रजातन्त्र पनि मर्‍यो !”

“कसले मा¥यो ?”

“त्रिभुवनले । राणाको हातको सत्ता आफ्नो हातमा लिँदा प्रजातन्त्र आयो भनेर ! ऊ उता लोकतन्त्र पनि मर्‍यो !”

“कसरी ?”

“चुनाव नै नलडे पनि संसद भएर, चुनाव हारे पनि मन्त्री बनेर ! ऊऽऽ यता 'जनयुद्ध' पनि मर्‍यो !”

“कहिले ?”

“जंगली स्याल सहर पसेपछि ! यता राष्ट्रियता र राष्ट्रवाद मर्‍यो !”

“कसरी ?”

“नानाथरी राजदूतावासहरूको आदेश मानेर ! यता संविधान मर्‍यो !”

“कहिले ?”

“सर्वोच्च अदालतको हाकिमलार्ई प्रधानमन्त्रीजस्तै बनाएपछि ! त्यता न्यायालय मर्‍यो !”

“कहिले ?”

“नेताले टीका लगाएर न्यायाधीश नियुक्ति दिएपछि र अदालत छोडेर वकिलहरू कालोकोटमै सडकमा ओर्लेपछि ! उता बुद्धिजीवी मर्‍यो !”

“कहिले ?”

“पार्टीको अर्दली भएपछि !”

“सबै मरेको चित्रमा तँ पनि कतै मर्छस् कि के ?”

“सबै रहर मरेको मान्छे, कहिले मर्न अति रहर लाग्छ, कहिले त्यै रहर गर्न पनि झर्को लाग्छ !” 

थुप्रै मान्छेहरू पनि बीच सडकमा कोरिएको उसको गज्याङ्मज्याङ् रेखाचित्र हेर्दै उसको र मेरो प्रश्नोत्तर चाख मानेर सुनिरहेका थिए । म मान्छेको भीडलाई थप कुरा सोध्ने पालो दिएर भूगोलपार्कतिर लागें । सोचें, भोलिसम्म त नेपाल खुल्छ, ल्याब पनि त्यतिन्जेललाई बन्द ।

० ० ०

नेपालबन्दको भोलिपल्ट नेपाल खुल्यो । खुलेको नेपालमा जिन्दगी खोल्न सडकमा फेरि अस्तिकै जस्तो चहलपहल देखियो । सबैको साथमा मेरो ल्याब पनि खुल्यो ।

उहिल्यै कल्चर गरिसकिएको त्यही पुरानो स्याम्पल फ्रिजबाट निकालेर फेरि काममा जोतिएँ । जति प्रयास गरे पनि नयाँ परिणाम आएन, केही पत्ता लागेन । रिपोर्ट लेख्न मिल्ने गरी केही फेला परेन । आफ्नो योग्यता नै संकटमा पर्दै गएको अनुभूतिले वास्तवमै हरेस खाएँ ।

निरन्तर सोच्दै गर्दा अचानक सुर आयो । लेटरप्याडमा लेखें, “प्लिज आइडेन्टिफाइ द सब्सट्यान्स् एन्ड सेग्रिगेट द केमिकल ए–एस–ए–पी ।” र, फटाफट स्याम्पलको आधा झोल टेकु अस्पतालको ल्याबमा पठाएँ ।

टेक्निकल्ली आफ्नो ल्याबमा नहुने टेस्टको पनि स्याम्पल त बिरामीसँग पहिला पनि लिइन्थ्यो र टेकु पठाइन्थ्यो । टेकुबाट रिपोर्ट आएपछि बढी पैसा लिएर बिरामीलाई सोही रिपोर्ट आफ्नो ल्याबको लेटरप्याडमा टिपेर दिइन्थ्यो । टेकुसम्म आउजाउको दुःख त हुन्थ्यो नै, सेवा पनि हुन्थ्यो र आम्दानी पनि । यसपालिको स्याम्पल त आफैंले जाँच गर्ने खालको थियो । तर, आफूले नसकेपछि केही क्लु निस्केला कि भन्ने झिनो आशामा पुरानै स्याम्पल टेकु अस्पताल पठाएर रिपोर्ट पर्खिनुभन्दा अर्को उपाय थिएन ।

मध्यदिनमा टेकुमा फलोअपका लागि फोन लगाएँ । पुरानो सम्बन्धले गर्दा साथीजस्तै बनिसकेको थियो टेकुको सिनियर ल्याब टेक्निसियन । मेरै फोन कुरेर बसेझैं सलाम, नमस्तेको औपचारिकताबिना ऊ सीधै स्याम्पलको विषयमा सुनाउन थाल्यो, “के स्याम्पल पठाएको यार, स्याम्पलमा पिसाबको रंग छ तर थोरै रगतको लेक्रा पनि छ । के हो के हो । स्याम्पलको बस्तु पिसाब होइन तर के हो भन्नेचाहिँ छुट्टिसकेको छैन ।”

“त्यै नसकेर त त्यहाँ पठाएको । चाहिएको जति समय लगाऊ यार तर सही रिपोर्ट चाहियो । जे–जे देखिन्छ, सबै रिपोर्टमा चाहियो ।”

केहीबेर थरीथरीका स्याम्पलमा काम गरेपछि कक्रिएको जिउ बटार्दै उठें । मेरो सहायक अन्य स्याम्पल जाँच गर्दै थियो । म शरीर चंगा बनाउन ढोकामा उभिएर सडक हेर्न थालें ।

नयाँ सडकतिरबाट एउटा ज्याद्रो, भाइरस–भाइरस अनुहारको मान्छे आयो र ल्याबको ढोकाछेउमा नाङ्लोभरि केही सुकेका, केही हरिया टिमुरका दाना बेच्न बस्यो । एक नजर हेर्दैमा लाग्थ्यो— हजार थप्पड खाएर ठेला उठेको सहनशक्ति हुनुपर्छ ऊभित्र, आँखा निकै आक्रोशित थियो । यस्तो लाग्थ्यो— उसले जसलाई हेर्छ, त्यसलाई पक्कै उसको नजरले घोचेको महसुस हुन्थ्यो होला ।

मलार्ई उसको हेराइले त्यस्तै घोच्यो । तर, पनि उसको हेराइबाट आफ्नो अनुहारमा देखिएको त्रासलाई लिपपोत गर्दै, अस्वाभाविक कडा आवाजमा उसलार्ई हकारें, “ओई, मेरो ल्याबअगाडि तेरो थात्रो नाङ्लो नराख् त, जा अलि उता राख् ।”

उसले धारिलो नजरले हेर्‍यो । आम्मै, आँखाभन्दा जिब्रो बढी धारिलो रहेछ । भन्यो, “ल्याबको साथमा सडकपेटीको पनि भाडा तिरेको छस् कि के ?”

उसको निहुँ खोज्ने खालको प्रश्नको जवाफ मसँग थिएन । चुप लागेर भित्र पसें ।

ऊ ग्राहक पर्खिंदै थियो । निकै बेरसम्म पनि कसैले उसको टिमुर किनेन । म उसको दुर्दशामा खुच्चिङ मनाउँदै ढोकामा उभिएँ । लाज पटक्कै रहेनछ उसमा, अघिको ठाडो कुरा बिर्सेर उसले मलार्ई नै सुनायो, “यता त कोही नकिन्ने रहेछन्, उता हनुमानढोकातिर जान्छु । त्यता व्यापार होला कि अलि ।”

“तँलार्ई नै थाहा होला कता बिक्री होला, कता नहोला । कहिल्यै गएको थिइस् हनुमानढोकामा बेच्न ?”

“बेच्न त होइन तर गएको थिएँ । राज्याभिषेकको दिन ।”

“बेच्न नभए के गर्न गएको त ?”

“पुराना राजा परिवारसहित सखाप भएपछि नयाँ राजा बन्ने, बनाउने दिन थियो त्यो । पौराणिक कथामा जस्तै राजा छान्दैछान्दै हात्ती आउला र कतै यस्सो मलार्ई नै पनि माला लगाइदेला कि भन्ने आश लागेर गएको थिएँ ।”

“हाहाहा, हात्ती आयो त ? माला लगाइदियो ?”

“आएन, लाएन । प्वाँखसहितको झिल्के टोपी लगाएका सइसले चढेका घोडाहरू आए, त्यसको पछाडि बग्गीमा बाँधिएका घोडाहरू आए, अनि बाटोभरि लिदी गोबर्‍याए ।”

“छ्या, अनि ?”

“अनि त्यही साइतमा नासल चोकमा मलार्ई जिल्याउँदै अर्कैले श्रीपेच लगायो । त्यसको केही दिनपछि प्रधानमन्त्रीले किस्तीमा राखेर प्रजातन्त्र उसलार्ई बुझायो । नयाँ बनेको राजाले त्यो उपहार स्वीकार्‍यो र इँजारको तुनामा बाँधेर दौराको फेरोले छोप्यो ।”

“लौ, ठूलो कुरा गरिस् । अनि तैलेचाहिँ के गरिस् ?”

“त्यसको विरोधमा एकथरीले आन्दोलनमा बोलाए, गएँ । राजाले घुँडा टेक्यो । ठीक साइतकै बेला खसेको घोडाको लिदीले त्यस्तो संकेत त त्यही बेलामै गरेको थियो । त्यस्तो कुसाइतमा, कपाल खौरेको मुडुलो टाउकोमा थापेको श्रीपेच उसलार्ई फापेन ।”

“हात्ती आएर तँलार्ई माला लगाइदिएर राजा बनाएको भएचाहिँ फाप्थ्यो भनेको ?”

“राजा हुने योग छैन रे मेरो ! पछि हात देखाएँ रत्नपार्कमा ।”

“के हुने योग छ रे त ? सोधिनस् ?”

“सोधें । अघोषित शहीद हुने योग छ रे ! त्यस्तो शहीद, जसको दिवस कहिल्यै आउँदैन रे ! उसले भनेको कति मिल्छ पनि, कति मिल्दैन पनि । अब यता भएन, हनुमानढोकातिरै जान्छु ।”
 
ऊ टिमुरको नाङ्लो उठाएर हनुमानढोकातिर लाग्यो । 

करिब दुई घण्टापछि त्यही ठाउँमा अर्को मान्छे आयो । उसको अनुहार प्यारासाइटभन्दा दिगमिगलाग्दो थियो । उसलार्ई देख्दा लाग्यो— एक्स–रे गरेर उसको आत्मा हेर्‍यो भने पक्कै ठाउँ–ठाउँमा चरक्कचरक्क चर्केको देखिन्थ्यो होला । नाडी छामेर मुटुको घड्कन गन्यो भने पचास पनि पुग्दैन होला ।

देखें— उसले पानपराग, सुर्ती र चुरोट बेच्न भुइँमा थोत्रो डालो बिसायो । यसपालि आफूले सडकपेटीको भाडा नतिरेको याद आयो र पहिलाजस्तो हेपेर कडा बोल्न मन लागेन । उसको सामान बिक्ला, नबिक्ला बेग्लै कुरा, बढी गनगन गर्दा आफ्नै इज्जत बेचिएला भन्ने डर थियो । ‘पसल नराख्’ भन्नुको सट्टा उचित सल्लाह दिएँ, “स्ट्रबेरी र आरु बेच् न बरु, किन क्यान्सर बेच्छस् ओई ?”

उसले भावविहीन भएर कठोर आवाजमा भन्यो, “क्यान्सरले भन्दा भोकले चाँडै मर्छ मान्छे । मर्नु समस्या होइन, कसरी मर्ने भन्ने छनोटचाहिँ समस्या हो ।”

यो पेटीमा सामान बेच्न टेढोटेढो मान्छे मात्रै मुन्टिँदा रहेछन् भन्ने सोचें र भनें, “अरुलाई विषादी बेच्दाबेच्दै पाप लागेर आफैं मरिस् भने नि ?”

“साँच्ची नै मरें भने त साँच्चिकै तर्साउँछु ।”

“कसलाई तर्साउँछस् ?”

“ऊऽऽ त्यो जुद्ध शमशेरको शालिकलाई तर्साउँछु ।”

“बकवास् । शालिकलाई किन तर्साउनू ?”

“ताकि ऊ मैले तर्साउँदा तर्सिएर, अहिले ठडिएको ठाउँबाट तल ओर्लियोस् र देशको शासन सम्हालोस् ।”

“ऊ त्यहाँबाट ओर्लियो भने त बल्लबल्ल आएको डेमोक्रेसी पनि जान्छ नि ।”

“जाओस् यस्तो जाबो डेमोक्रेसी । तानाशाह नै चाहियो, सन्त विचारको ।”

“तानाशाह पनि सन्त हुन्छ कहीँ ?”

“हुन्छ ।”

“कसरी ?”

“जादूले ।”

“जादू ? कहाँबाट पाउनु अब त्यस्तो जादू ?”

“पाइन्छ । यो जादुगर जामन गुभाजुको शहर हो, जो आत्मा खेलाउन जान्थ्यो । उसकी स्वास्नी आफ्नै खुट्टा बालेर रक्सी पार्थी । त्यो महान जादुगरको आत्मा यतै कतै हुनुपर्छ, त्यसलाई जगाउनुपर्छ ।”

“कसरी जगाउँछस् उसको आत्मा ? जानेको छस् ?”

“साँच्चिकै मरे भने म पनि आत्मा हुन्छु, आत्मा टु आत्मा सञ्चार सजिलो हुन्छ । किनकि संवादको भाषा एउटै हुन्छ ।”

“जे बोल्दैछस्, त्यही मातृभाषा हो कि अरु कुनै छ ?”

“जे बोल्दै छु, त्यो मैले जानेको भाषा हो, मातृभाषा छैन ।”

“के वाहियात् ! सबैको हुन्छ मातृभाषा ।”

“मेरो थिएन, आमा लाटी थिइन् । मेरो भाषा पितृभाषा हो ।”

“ओह...सरी... मातृभूमिचाहिँ कुन हो ? मातृभूमि पनि छैन चाहिँ नभन् ।”

“त्यै भन्न लागेको । मातृभूमि हुँदैन । मातृ आफैं माइतीबाट बसाइ सरेर रुँदैरुँदै पिताको घरमा आउँछिन्, जन्मेदेखि उनकै स्थायी भूमिको ठेगान हुँदैन । बाउआमाले जता लान्छन्, उतै जान्छिन्, लोग्नेले जता लग्यो, उतै र छोराछोरीले जता लगे, उतै जान्छिन्, अनि त्यही मातृको नाममा केको भूमि ? एउटी आमाले आफूले जन्माएको बच्चाको नागरिकता त आफ्नै नामबाट दिलाउन नसक्ने देशमा केको मातृभूमि ?”

“यहीँको आदिबासी होस् भनेको क्या ?”

“किन आदिबासी ? म जन्मेको यहीँ हो, सालनाल गाडिएको पूरैबासी हुँ ।”

“नागरिकता छ नि ?”

“छैन, पहिले थियो । एकदिन ‘बुद्ध वाज बर्न इन नेपाल’ भनेर जुलुस आएको थियो, त्यही भीडमा कता हरायो हरायो । अहिले पासपोर्टमात्रै छ ।”

“नागरिकता त नागरिक हुनुको प्रमाण हो नि ?”

“के थप प्रमाण चाहियो ? पेटमा भोक, आँतमा प्यास, शरीरमा अभाव, दिमागमा अन्योल, भविष्य अनिश्चित । यिनै परिचय होइनन् र नागरिक हुनुको ?”

“त्यसो भए पासपोर्टचाहिँ के काम त ?”

“त्यो स्वप्नजालमा झुन्डिने अन्तिम डोरी हो । पाएदेखि त्यसैमा झुन्डिएर कतै गइहाल्नुपर्छ भनेर त्योचाहिँ सक्दो जतन गरेको छु । मौका मिल्नेबित्तिकै यो छुक हराएको ठाउँ छोडेर विदेश उड्नुपर्छ ।”

“पहिला पनि विदेश गइस् त कहिल्यै ?”

“कति गएँ कति । एकताका लिबिया पुगेको थिएँ ।”

“कहिले ?”

“त्यहाँको नेता गद्दाफीलाई जनताले सडकमा लखेट्दै चिमोट्दै गरेको बेला ।” 

“तैैंले पनि देखिस् चिमोटेको ?”

“आफ्नै आँखाले देखें, त्यही भीडमा थिएँ, प्रत्यक्षदर्शी भएर हेरें । पछि एक ठाउँमा घेरेर छातीमा गोली ठोकेर मारेछन् ।”

“तैंले पनि चिमोटिस् ?”

“विदेशी भूमि, विदेशी नेता, किन चिमोट्नू ? चिमोटिनँ । आफ्नो देशमा आफ्नै नेतालार्ई त्यस्तै मौकामा पाएको भए चाहिँ छोड्ने थिइनँ ।”

“अरु कताकता गइस् ?”

“त्योभन्दा पहिला इराक गएर सुरक्षा दिएँ— बेबिलोनियन म्युजियममा । म पुग्नुअघि त्यहाँ लुटपाट मच्चिएको थियो रे ! म पुगेपछि लुटिएन, केही बाँकी भए पो लुटिनू ! बुर्ज खलिफा बन्दै गर्दा दुबईमा थिएँ, त्यहाँ सिमेन्ट बोकें । मलेसिया गएर ट्वीनटावर सफाइमा खटिएँ एक वर्ष । थाहा छ, यहाँ नगरपालिकाले कतिखेर लखेट्न आउँछ ?”

“क्यै ठेगान छैन । जतिखेर पनि आउन सक्छ ।”

“गरिखान पनि दिँदैनन् भाँडहरू । करोडौंको कर चोर्नेलाई कसैले केही गर्दैन, सडकमान्छेमा सबैले आँखा लगाउँछन्,” ऊ असन्तुष्टिमा भुट्भुटिँदै थियो ।

कस्तो कालो जिब्रो, त्यत्ति नै खेर नगरपालिकाको भ्यान आएर रोकियो र त्यसबाट गुटुटुटु खाकीको खैरो रंगको युनिफर्म लगाएका नगरपालकहरू ओर्लिए । उसको नाङ्लो लुटेराकै शैलीमा झम्टिए र उसको कठालो समातेर भ्यानमा हाल्न घिच्याए । ऊ एक झपटमा शक्ति निकालेर फुस्कियो र गोरखापत्रतिर कुद्यो । नगरपालकले लखेटेनन्, भाग्न दिए ।

ऊ गएपछि काम गर्ने टेबलमा फर्किएर त्यही समस्याग्रस्त स्याम्पलको सानो प्लास्टिकको बोतल हेरें र छक्क पर्दै त्यसको टेकुबाट आएको रिपोर्ट हेरें । माथिदेखि तलसम्म करिब दश पटक हेरें हुँला रिपोर्ट । कस्तो वाहियात स्याम्पल ! पागलपनको स्याम्पल, दुःख दिनकै लागि दिएको स्याम्पल । यस्तो अनावश्यक दुःख दिने को रहेछ त्यो अरनिको नेपाली ? सोच्दै थिएँ ।

जनसेवा जाने बाटोतिर अचानक हल्ला शुरु भयो । ल्याबको ढोकाबाट त्यतातिर हेरें, भीड थियो । तनाव दिने स्याम्पलको रिपोर्ट आइसकेकोले फुर्सदमा थिएँ, रमिता हेर्न ल्याबबाट त्यतातिर लागें र भीडमा मिसिएँ ।

एउटा मान्छे नांगो आङमा गठेमंगलको अश्लप्ल चित्र लेखेर थरीथरीका नारा लगाउँदै थियो, “ओम शान्ति, जय नेपाल ! मृत्युदण्ड कायम होस्, मलार्ई तुरुन्त फाँसी दे ।”

उसको आवाजमा आक्रोश मिसिएको निरीहता थियो । ऊ फेरि घाँटीको नसा फुलाउँदै, दुबै हातले आफ्नै छातीमा हान्दै ¥याल बग्ने गरी करायो, “काकाले कानुनी रूपमा मारिदिइसक्यो । अब साँच्चिकै मर्छु । आजै, अहिल्यै मारिदे । मलार्ई तुरुन्त फाँसी दे !”

भीडबाहिरबाट उसले फलाकेको कुरो सुनेर म मनोरञ्जन लिँदै थिएँ, ‘काकाले कानुनी रूपमा मारिदियो’ भन्ने सुनेपछि उदेक लाग्यो । ‘काकाले कानुनी रूपमा मारिदियो’ भन्ने मान्छे त अस्ति भेटेको थिएँ । यो त्यही मान्छे हो ? के परेछ विचरालाई ? मेरो दिमागमा नानाथरी अस्पष्ट विचार आउँदै जाँदै गर्न थाले ।

चौकीअगाडि अनावश्यक भीडका कारण एकजना अर्धनग्न मान्छेको पागल प्रलाप न थियो, जनसेवा थानाबाट एउटा पुलिस बाहिर निस्कियो । पुलिसले ‘एई, यहाँ हल्ला नगर्, जा भाग्’ भनेर तर्साउनका लागि दुईपटक ट्याक्–ट्याक लठ्ठी हान्यो भित्तामा । नमानेर कराइरहेपछि पुलिस अलि कठोर आवाजमा करायो र भित्तामा जोरले लठ्ठी बजायो, “भनेको मान्दैनस् ? भाग् ।”

अभागी ऊ, चुपचाप बसेको भए पो भित्तामा लाग्नु । बाठो भएर गलत दिशातिर छल्यो, ठ्याक्कै पुर्पुरोमै लाग्यो र दाहिने आँखीभौं पट्ट फुटेर तुरुरुरु रगत बग्न थाल्यो ।

उसले पुर्पुरो छाम्यो र बिस्तारै पुलिसलाई सोध्यो, “फाँसी पो मागें त, मृत्युदण्ड पो मागें । दिनेचाहिँ यत्ति हो ?” 

म भीडभित्र पसें, पुलिसलाई फकाएँ र उसलार्ई भीडबाट निकालेर आफ्नो ल्याबमा ल्याएँ । बसाएँ । रगत पुछिदिएँ र कपासमा चोपेर औषधि लगाउँदै सोधें, “ज्यँुदै छँदै कानुनले मरेको भनेर घोषणा गरेको हिजोको मान्छे तिमी नै हौ ?”

“मै हुँ ।” 

“विचरा... च्वः च्वः । पागल भनेर भगाउन खोजेको पुलिसले, तिमीले नै टाउकोलाई लठ्ठीमा हान्यौ । किन त्यस्तो फाँसी दे, मारिदे भन्ने नारा लगाएको ?”

“धेरै दुःख पाइयो । न खाने ठेगान छ न सुत्ने ठहर । यो ज्यानमा अन्न र पानी नपरेको चौबीस घण्टा भयो ।”

“विचरा, धन्दा नमान्, म ख्वाउँला ।”

मैले उसका लागि खाना मगाएँ । ऊ अप्ठ्यारोसँग खान थाल्यो । हेरें, दाँत भाँचिएको रहेछ, घाउ आलै थियो । 

“पुलिसले दाँतमा त हानेको थिएन, दाँत पनि भाँचिएको रहेछ त ?”

“आफैं भाँचियो, आफूदेखि एकदमै रिस उठेर दाह्रा किटेको, भाँचियो ।”

“कठै । अन्त कराउनु बेग्लै कुरा, पुलिस थानाअगाडि नै चाहिँ त्यस्तो जात्रा गर्नु हुन्नथ्यो नि लाटा ।”

“पुलिस भनेको सरकार हो भनेर हल्ला गर्न जानीजानी त्यही ठाउँ रोजेको । के गर्नू, दिमाग ठीक थिएन, पीडाले मानसिक रोगीजस्तै भएको छु ।”

“त्यस्तो उपचारका लागि मानसिक अस्पताल जान्छौ ? म लगिदिन्छु ।”

“अब जान्नँ । पहिला गएको थिएँ, रोगको औषधि हुन्छ, नियतिको हुँदैन भनेर उपचार नगरी फर्काइदियो ।”

“नियति पनि कस्तो रै’छ तिम्रो, जताजतै हन्डरैहन्डर । नाम के हो तिम्रो ?”

“अरनिको नेपाली ।”

अरे ? यो त त्यो स्याम्पल ल्याउने कागजमा लेखिएको बिरामीको नाम । आश्चर्यमा आफू बसेको मेचमुनि विस्फोट भएसरह मेचबाट एकहात माथि उचालिएँ । यस्तरी उचालिएँ कि भित्तामा झुन्ड्याइएको र्‍याकमा टाउको नराम्रोसँग ठोक्कियो । पीडाले रन्थनिँदै टाउको समातेर थचक्क बसेकै मेचमा थच्चिएँ फेरि ।

“अरनिको नेपाली ? केही दिनअघि फाल्तु स्याम्पल दिने मान्छे तैं होस् ?” म तुरुन्तै ‘तिमी’बाट ‘तँ’मा झरें ।

“हो, मै हुँ । बाहिर पेटीमा सर्ट–पाइन्ट बेच्न आउने पनि मै हुँ, अर्को पटक पानपराग र सुर्ती बेच्न आउने पनि मै हुँ । फेरि टिमुर बेच्न बस्ने पनि मै हुँ । पुराना साथीहरू थिए, मेरो अवस्था देखेर ‘लौ, गरिखाने भए खा’ भनेर आफूले बेच्ने गरेको अलिअलि सामान दिन्थे । व्यापार गर्नु सजिलो रहेनछ । मसँग व्यापारी हुने गुण पटक्कै रहेनछ ।”

मैले आफैँलाई महामूर्ख ठहर्‍याएँ । कस्तो त म ! घरिघरि ल्याबअगाडि एउटै मान्छे आउँदा पनि उही मान्छे दोहोरिएको हो भनेर पटक्कै चिन्न सकिनँ । ल्याबअगाडि आएका सबै बेढंगी खालका मान्छेहरू दिमागमा आउँदै हल्ला मच्चाउँदै गए, “काकाले म मरिसक्यो भन्यो... जंगबहादुर बनेर कोतपर्व मच्चाउँछु ... यो वास्तु नमिलेको सहर हो... प्रजातन्त्र मर्‍यो... राष्ट्रियता मर्‍यो... संविधान मर्‍यो... न्यायालय म¥यो... बुद्धिजीवी मर्‍यो... मुडुलो टाउकोमा थापेको श्रीपेच फापेन... अघोषित शहीद हुने योग छ...।”

सोच्दै गर्दा मेरो निधार खुम्चिएर निकै प्रश्नचिन्ह बने होलान्, उसले भन्यो, “आफ्नो ल्याबअगाडि आउने ती मान्छेहरूमा उस्तै आगो, उही दिक्दारी, उही असन्तुष्टि, उही पीडा देख्दा चिनिनस् त चिनिनस् भैगो, अब चिनिस् नि ! यहाँ एउटा स्याम्पल छोडेको थिएँ, के पत्ता लाग्यो मेरो स्याम्पलबाट ?” ऊ पनि ‘तँ’मा ओर्लियो ।

“किन ल्याइस् त्यस्तो फोकट्या स्याम्पल ?”

“पिसाब पोलेर, पेट दुखेर डाक्टरलाई देखाएको, ‘पिसाब खराब होला, जँचाएर ल्याउनू’ भन्यो । खुरुक्क औषधि दिएको भए भैहाल्थ्यो । अनि खुब रुन मन लाग्यो । रोएँ, रोएँ र आँसु नै ल्याएँ ।”

“अनि अहिले पेट दुख्न कस्तो छ त ?”

“पछि फेरि एउटा औषधि पसलमा गएर पिसाब पोलेर तल्लो पेट दुख्छ भन्ने गुनासो गरें । उसले एक सिसी झोल औषधि दियो । अहिले ठीक छ ।”

“निकै दुःख गर्नु पर्‍यो मैले तेरो स्याम्पलको लागि । पछि टेकु अस्पतालको साथीले पत्ता लगायो,” छोटो निष्कर्ष सुनाएँ, “रगतको लेक्रा, बेसारको रंग र कुकुरको गन्घ मिसिएको आँसु रहेछ ।”

“जान्ने नै रहेछस्, थप के पत्ता लाग्यो ?”

“जान्ने प्रमाणपत्रमा त धोती लगाइदिइहालिस् नि ! त्यसको प्रिन्टेड रिपोर्ट नै छ, दिउँला । मेरो दिमाग हल्लाइस् तैंले । पख्, आरामसँग बस् एकछिन । नाम त अरनिको नेपाली, अनि उमेरचाहिँ कति भयो ?”

खाना सकाएर उसले तनतनी पानी पियो र भन्यो, “अर्धशताब्दी ।”

सोधें, “स्याम्पलमा रगत कसरी आयो ?”

“बेतोडले हल्लेको मुटु निचोरेर रोएको, आयो होला अलिकति रगत पनि ।”

“आँसुमा बेसार पनि रोएरै आएको ?”

“होइन, जानीजानी मिसाएको ।”

“किन मिसाइस् ?”

“पिसाबको रंग दिन ।”

“किन ?”

“गरिबको आँसु पिसाबबराबर छ ।”

“कुकुरको गन्घचाहिँ किन मिसाइस् ?”

“कुकुरकै पिसाबबराबर ।”

“कुकुर कहाँ पाइस् ?”

“सार्वजनिक पाटीमा कुकुरहरूसँग सुत्थें, स्याम्पलमा कुकुरको भुत्ला चोपलें ।”

“छिः, कुकुर स्वास्नी राखिस् ?”

“सँगै सुत्ने जम्मै स्वास्नी हुँदैनन् । न ओढ्ने छ न ओछ्याउने । मलार्ई मात्र थाहा छ कुकुर कति तातो हुन्छ ।”

उसका जवाफहरूमा दिमाग चकराउँदै गयो । सोचें, ऊ प्रत्येक भेटमा यस्तै–यस्तै त जवाफ दिन्थ्यो ।

“कोतपर्व गर्छु, रुन्छु भन्थिस् । किन रुने भन्दा काम छ भन्थिस् । किन रुने रे ? के काम थियो रे ?”

“शुद्ध आँसुको नयाँ स्याम्पल दिने रहर थियो । समयले लात्ताले भकुरेको दुःखी मान्छेको आँसुमा के–के हँुदो रहेछ भनेर जान्ने रहर पलाएको थियो, यहाँ स्याम्पल बुझाएर निस्केपछि ।”

“साँच्ची ? आँसु नै हो भनेर पहिल्यै थाहा पाएपछि अब गाह्रो हुँदैन जाँच्न, दिन सक्छस् शुद्ध आँसुको नयाँ स्याम्पल ?”

“सक्दिनँ ।”

“किन ?”

“अब आउँदैन, मुहानै सुकिसक्यो । यहाँ छोडेको स्याम्पल अन्तिम स्याम्पल थियो, अहिले त आँखा ठीक राख्न पनि बनावटी आँसु हाल्नुपर्छ,” उसले टियरप्लस निकाल्यो र आँखामा हाल्यो ।

“कहिले काकाले कानुनी रूपमा मार्‍यो भन्थिस्, कहिले फेरि मरेर शालिकलाई तर्साउछु, उसलार्ई ब्युँताउँछु भन्थिस् ? फेरि चाँहि किन मर्ने ?”

“कानुनी रूपमा त म पहिले पनि मरिसकेको छु नि ।”

“अनि एक पटक मरिसकेपछि किन मर्नू घरिघरि ?”

“राम्ररी सुनिनछस् । सम्झी त, मैले पानपराग, सुर्ती र चुरोट बेच्न नाङ्लो पसल थापेको बेला तैंले ‘अरुलाई क्यान्सर बेच्दाबेच्दै आफैं मरिस् भने के गर्छस् ?’ भनेर सोधेको थिइस् । मैले ‘साँच्ची मरें भने साँच्ची तर्साउँछु’ भनेको थिएँ । साँच्ची शब्दको अर्थ हुँदैन ?”

“ए ऽऽ त्यसो भनेको थिइस् र ? अनि जनसेवा पुलिसचौकीनिर ‘मलार्ई फाँसी दे’ पनि त भन्दै थिइस्, त्योचाहिँ किन त ?”

“हो, आफ्नो लागि सरकारसँग त्योभन्दा बढी मागेर के पाइन्छ र माग्नू ?”

“विवाहित होस् ?”

उसले ‘हो’मा टाउको हल्लायो ।

“स्वास्नीको नाम ?”

“भृकुटी ।”

“छोराको ?”

“राहुल ।”

“छोरी ?”

“सीता ।”

“श्रीमती, छोराछोरीहरू कहाँ छन् त ?”

“थाहा छैन ।”

“किन ?”

“विदेशमा थिएँ । दुई–चार पटक त काकाले बलात्कार गर्‍यो भनेकी थिई फोनमा । पछि फर्किंदा पोइल गइसकिछ ।”

“किन पाल्नै सकिनस् ?”

“पाल्नकै लागि विदेश गएको थिएँ । विदेश गएकै बेला काकाको बलात्कारमा परिछ । यसै पनि सबैजना शरीरकै भोको छन् भन्ने लाग्यो होला कुनै दिन, पोइल गइछ ।”

“अनि छोराछोरी ?”

“बाउ त बेपत्ता छँदै थियो, आमा पनि बेपत्ता भएपछि उनीहरू पनि हराएछन् ।”

“कता हराए ? खोजिनस् ? ”

“खोज्नु खोजें, पाइनँ । काकाले नै कतै बेचे होलान् भन्ने शंका छ ।”

“श्रीमती पोइल गई, छोराछोरी हराए, जग्गा–जमिन काकाले बेचेर खाइहाल्यो, कानुनले मर्‍यो भन्यो, अब के गर्छस् ?”

“यो पासपोर्ट छ,” उसले खाडी देशलगायतका पुरानो भिसा लागेको, विदेश गएको झुत्रो पासपोर्ट देखायो, “बानेश्वरको म्यानपावरमा जान्छु ।”

“खर्च छ त म्यानपावरलाई बुझाउन ?”

“नगद त छैन, रगत छ अलिकति, लिलामीमा राख्छु ।”

“छिः कसले किन्छ रगत ?”

“नकिने सहन्छु, पर्खिन्छु र भौतारिइरहन्छु । मृगौला, मुटु, कलेजो जे बिक्छ, त्यही बेच्न कोसिस गर्छु । आन्द्रा नै बिके झन् राम्रो, खानै पर्दैन । होइन भने एकदिन त कोही मलार्ई खोज्दै पक्कै आउनेछ । आफ्नो ज्यानको माया नगर्ने, अलिकति पैसामा पनि जे पनि गर्ने मजस्तो मान्छे खोज्दै पक्कै कोही आउँछ । मलार्ई थाहा छ, एक पोका चाउचाउको लागि पनि बन्दुक बोक्नेहरू थिए यही देशमा ।”

ऊ आफ्नो अपवित्र आँसुको ल्याब रिपोर्ट नलिइकनै हिँड्यो ।

मैले टेकुबाट आएको उसको स्याम्पल रिपोर्टमा टाइप भएका एकएक अक्षर फेरि ध्यान दिएर पढें, जसमा लेखिएको थियो—

लिक्विड सब्सट्यान्सः डिहाइड्रेडेड मान्छेको धमिलो आँसु ।
रंगः बेसार मिसिएकोले हल्का बेसारे पहेंलो । थोरै काँचो रगत मिसिएकोले हल्का गुलाबी ।
गन्धः लुतोग्रस्त भुस्याहा कुकुरको गन्ध ।
संक्रमणः क्लिनिकल्ली अप्राप्य ।

नियमानुसारको पारम्परिक रिपोर्टले चित्त बुझेन र डटपेनले आफैं टेढोमेढो अक्षरमा थपें—

फर्दर एक्स्प्लानेसनः असाध्यै आक्रोश, चरम निराशा, असीम पीडा, नमरे पनि मरेतुल्य नारकीय जीवन ।
कन्डिसनः होपलेस ।
जनरल प्रेडिक्सनः सुसाइडल रिभोलुसनरी
प्रेस्क्रिप्सनः सख्त ध्यानाकर्षण ।

उसले नै लिन मन नपराएको रिपोर्ट मलाई के काम ? रिपोर्टको कागज डल्लो पारें र टाढैबाट पऽऽरको डस्टबिनमा फुत्त फालें, “गोऽऽऽल ।”
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०७५  ०९:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC