site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भाले
Ghorahi CementGhorahi Cement

– राजु अधिकारी


मस्त निद्रामा सुतिरहेकी उसलाई बिहान ४ बजेतिर कानै फुट्ने गरी बासेको भालेले जुरुक्क उठाइदियो । उसलाई त्यो भालेको ‘कुखुरी काँ’ सुन्दा निकै रिस उठ्यो । सोची— केक्के न राम्रो स्वर होला जस्तो गरेर बिहान–बिहानै किन कराउँदो होला यो ? बरु मेरै स्वर उसको भन्दा कति सुरिलो र मीठो छ ।

कहिलेकाहीँ उसलाई पनि भाले बासेको जस्तै ‘कुखुरी काँ’ गर्दै बासिदिऊँ जस्तो पनि लाग्छ । तर, पोथी बास्यो भनेर फेरि टाउको काटेर धुरी कटाउलान् भन्ने डरले ऊ चुप लाग्छे । धुरी नकटाउने भए उसले पक्कै पनि भालेको स्थान लिइसक्थी ।

Agni Group

ऊ सोचीबस्छे, “खै ! पूर्व जुनीमा के पाप गरेकी रहिछु, यो जुनीमा पोथी बनेर जन्मिनु पर्यो !”

उसले जुन दृष्टिकोणबाट हेरे पनि भालेलाई निकै आनन्द देख्छे अनि आफूलाई जताततैबाट पीडित । सलक्क परेको जिउडाल, राता, हरिया, पहेला रंगीचंगी प्वाँख अनि ठूलो र रातो चम्किलो सिउरो । ढलक्–ढलक् गर्दै ‘मै हुँ’ भनेर हिँड्ने, काम केही नगर्ने अनि मन लागेको बेला पखेटा घुमाउँदै पोथीसँग रोमान्स गरे भैगो— क्या मस्ती छ भालेलाई ! अनि बाँकी सबै काम पोथीले गरिहाल्छे । भालेलाई न त अन्डा पार्दा हुने पीडा थाहा छ न २०–२२ दिन ओथारो बस्दा हुने छटपटी र भोक थाहा छ । न बच्चाहरू जन्मेपछि स्याहार्नुपर्ने चिन्ता ! अझ मानिसहरूले सोध्दा ‘कुन भालेको बच्चा हो ? निकै सप्रेका पो रहेछन्’ भनी सोध्छन् । सारा दुःख गर्नुपर्ने पोथी, अनि नामचाहिँ भालेको ? उसलाई रिस उठ्छ । सोच्छे— देवताले पनि निकै अन्याय गरेका रहेछन् पोथीलाई !

Global Ime bank

बिहानै ४ बजे भालेको त्यो हल्लाले ब्युँझिएपछि उसलाई निद्रै लागेन । बिहान भएपछि बच्चाहरूलाई चराउन ऊ बाहिर निस्किई । खोरबाट सँगै निस्केको भालेचाहिँ गाउँ डुल्न गयो । शायद अरु कुनै पोथी खोजिरहेको होला ! त्यो सम्झेर उसलाई निकै पीडा र छटपटी हुन्छ ।

“कतै मरे पनि हुँदो हो नि,” मनमनै भालेलाई सरापी ।

चल्ला कोरलेको भर्खर तीन हप्ताजति भएको छ । उनीहरूलाई स्याल, चिल र बाजबाट जोगाउनै प¥यो, खाना खुवाउनै प¥यो । त्यसैले हरेक दिन ऊ साह्रै व्यस्त हुन्छे । भालेलाई सिन्कोबराबर चिन्ता छैन ।

दिउँसो उसले एउटी बिरालीलाई आँगनको छेउमा घाम ताप्दै पल्टिरहेको देखी । ऊ र त्यो बिराली एउटै समयतिर सुत्केरी भएका हुन् । हुन त बिरालाका बच्चाले पनि उसका बच्चालाई कहिलेकाहीँ जिस्काउँछन् तर उनीहरू वनबिराला जस्ता हिंस्रक छैनन् । त्यसैले ऊ र बिराली राम्रा साथी हुन् । प्रायः सधैं प्रशन्न मुद्रामा देखिने बिराली त्यो दिनचाहिँ अलि दुःखी देखिन्थी । उसका स–साना मायालाग्दा बच्चाहरू उसको शरीरमा चढेर खेल्दै थिए । उसका चारवटा बच्चा थिए तर त्यो दिन त्यहाँ तीन वटा बच्चामात्रै खेलिरहेका थिए । पोथीले सोची, “अर्को एउटा अन्त कतै खेल्न गएको होला ।” उसले नजिकै गएर बिरालीलाई सोधी, “बिराली दिदी, किन आज झोक्राएकी तिमी ?”

बिरालीले गहभरि आँसु ल्याएर भनी, “त्यो मोरोले मेरो छोरोलाई मार्दियो । बाउको नाममा कलंक । पापी ।” त्यति भनिनसक्दै ऊ रुन थाली ।

“के रे ? बिरालोले आफ्नै छोरो मार्‍यो ?” अचम्म मान्दै पोथीले सोधी ।

“हो त । यो भाले जातिहरू कति पापी हुन्छन्, तिमीलाई के थाहा ? आफू शक्तिशाली भइरहन यिनीहरूले जे पनि गर्न सक्छन्,” बिरालीले आँसु पुछ्दै भनी ।

पोथीले नयाँ कुरा थाहा पाई— बिरालो जातिमा बाउले आफू सधैं राजा भएर बसिरहन आफ्नै भाले बच्चालाई मारिदिन्छ । ऊ घनघोर अचम्ममा परी । त्यसपछि त झन् उसलाई पोथीहरू कति निरीह रहेछन् भन्ने बोध भयो । आफ्नो सन्तानलाई आफ्नै आँखाअगाडि मार्दा पनि टुलुटुलु हेरेर बस्नुपर्ने ! थुक्क जिन्दगी !!

साँझतिर लाटो कामी कराउँदै आयो, “ए बोई, पाडीहरू बेच्ने छैनन् ?”

लाटो कामी एक–दुई हप्ता बिराउँदै वरिपरिका गाउँ डुलिरहन्थ्यो । पूरै लाटो त होइन तर बोली अलि प्रष्ट नभएकोले सबै उसलाई लाटो कामी भन्थे । बोलीको ‘लाटो’ भए पनि मनको चाहिँ ऊ निकै बाठो थियो । पुख्र्यौली आरनको काम छोडेर उसले सजिलो काम रोजेको थियो— गाई, भैंसी, खसी, कुखुरा बेच्ने र साट्ने काम । त्यो काम आरनको भन्दा सजिलोमात्र थिएन, कमाई पनि उत्तिकै हुन्थ्यो । त्यसैबाट उसले गुजारा चलाएको थियो ।

बोइले पिढीमा बसेर साँझका लागि तरकारी केलाउँदै थिइन् । लाटो कामीको आवाज सुनेर बाटोतिर हेर्दै उनले भनिन्, “पाडी छैन बाबु । बरु यो ठाँडो पाडोलाई कतै तर लगाइदेऊ न । भैंसीले दूध छुटाइसक्यो, यो पाडो त्यत्तिकै घाँडो भा’छ ।”

“खै बोई ! पाडो बिक्न त अर्को दशैं पर्खिनुपर्ला जस्तो छ । अझै जोत्ने पनि भा’रैनछ । पाडी भए तुरुन्तै बिक्थ्यो । अनि चल्लाहरू बेच्ने भाछैनन् बोई ?” लाटो कामीले सोध्यो ।

“अझै भाछैनन् बाबु । बल्ल भाले–पोथी छुट्टिएका छन् । अझै एक–डेढ महिना नहुँदै बेच्ने हुँदैनन् होला ।”

“कतिवटा छन् बोई ?”

“खै, आठवटा जति छन् कि के हो । एउटा भालेचाहिँ राख्नुपर्ला, अरु सबै बेच्ने हो,” बोईले उत्तर दिइन् ।

त्यो सुनेर पोथीलाई फेरि पोथी जातिप्रति दया पलायो, “हेर त, पोथी भए बाल्यकालमै घर छोडेर जानुपर्ने रे ! त्यो पाडोचाहिँ भाले भएकैले केही काम नभए पनि बसी–बसी खान पाउने । दिनभरि घाम तापेर सुत्छ, कामसाम केही छैन ।” पाडोलाई देख्दा पनि उसलाई रिस उठ्यो । मनमनै फत्फताइरही ।

उसलाई पोथीको जिन्दगीदेखि दिक्क लाग्यो । बच्चा पार्‍यो, उनीहरूलाई स्याहार्‍यो, फेरि उनीहरूलाई लाटो कामी आएर लान्छ अनि फेरि बच्चा पार्‍यो । उसको जिन्दगी त्यसैगरी निरस चलिरहेको छ । उसलाई लाग्छ— म त चल्ला उत्पादन गर्ने कारखानाजस्तै भएकी छु ।

उसलाई मर्न पाए पनि हुन्थो जस्तो लाग्यो । तर, आफैं मर्न सकिँदैन । यो बूढी पोथीलाई कसले लग्नू ? मासु खानेले पनि भालेमात्रै खोज्छन् । उसले बोईलाई पनि नियाली, उनको जिन्दगी पनि ऊजस्तै निरस छ । बाजे दिनभरि गाउँ डुल्छन् तर बोई भने रातदिन घरको काममा व्यस्त हुन्छिन् । अझ उल्टै बाजेले कहिलेकाहीँ बोइलाई केही काम बिग्रियो भने थर्काउँछन् ।

एकदिन त्यही लाटो कामी चल्ला खोज्दै आइपुग्यो । बोईले भनिन्, “चल्ला त छैनन् बाबु तर यो पोथी बूढो भयो, अन्डा पनि धेरै पार्न छोड्यो । बच्चा कोरल्दा पनि धेरै बिगार्छ । बरु यसलाई लग ।”

“खै बोई, बूढो पोथी त कसले खान्छ र ? मेरी बड्डी सुत्केरी हुने बेला भएको छ । उसैलाई झोल ख्वाउनु पर्ला, बरु सस्तोमा दिनुस् ।”

लाटो कामीले निकै सस्तोमा पोथी किन्यो । श्रीमती सुत्केरी भएको दिन पोथी काट्न भनेर तमिस्यो । उसको घाँटीमा खुर्पा पर्नै लाग्दा यमराजका दूतले पोथीलाई सोधे, “तिम्रो अन्तिम इच्छा के छ ?”

उसले आफ्नो मनमा लागेको कुरा भन्ने मौका पाई । तुरुन्तै केही अरु नसोची भनी, “प्रभु ! यदि दोस्रो जन्म हुन्छ भने मलाई अर्को जन्ममा भाले बनाएर जन्माइदिनू ।”

यमराजको दूतले ‘तथास्तु’ भनेसँगै उसको घाँटीमा लाटो कामीको खुर्पा पर्यो ।

केही दिनमै उसले भाले भएर नवलपुरे बाजेको घरमा जन्म लिई । ऊ निकै खुशी भई । अब बल्ल रमाइलो गर्न पाइने भयो भनेर ऊ फुरुंग भई । पोथीहरूसँग रोमान्स गर्न पाइने, अरु कुनै काम गर्न नपर्ने । अन्डा पार्ने, बच्चा जन्माउने, बच्चा स्याहार्ने सबै झन्झटबाट मुक्त । गाउँ डुल्यो मस्ती गर्‍यो, क्या मज्जा ! ऊ मख्ख थिई । केही हप्ता बिते । ऊ कहिले आफ्नो जवानी चढ्ला भनेर पर्खी बसेकी थिई ।

एकदिन बाजेले बोईसँग कुरा गर्दै थिए, उसले कान थापेर सुनी । बाजे भन्दै थिए, “अर्को दशैंमा छोरो पनि आउँछ होला । भोलितिर त्यो भालेलाई बधिया बनाउनुपर्छ कि क्या हो ?”

उसले ‘बधिया’ भन्ने शब्द पहिले कहिल्यै सुनेकी थिइन । मनमनै सोची— के हो बधिया बनाउने भनेको ? शायद भाले बनाउने भनेको होला । कतै मेरो जवानी त चढेन ?

यस्तै सोच्दै उसले त्यो रात आनन्दले बिताई ।

अर्को दिन नवलपुरे बाजेले उसलाई खोरमै थुनेर राखे । अरु बच्चालाई चाहिँ बाहिर जान दिए । अनि बाजेले काम गर्ने मान्छेलाई बोलाएर भने, “ए बड्का ! मैले भाले जति छुट्याएर राखेको छु । आज तिनीहरूलाई बधिया बनाइदेऊ त ।”

‘हुन्छ बाजे’ भन्दै बड्काले भालेहरूलाई समातेर लग्यो । अझै पनि उसलाई लागेको थियो— ऊ अरुभन्दा फरक छे, किनभने ऊ भाले हो ।

उसलाई अलि पर लगेर बड्काले धारिलो हँसिया निकाल्यो । त्यो देखेर उसलाई डर लाग्यो । ईश्वर पुकारी । ईश्वरले सुनेछन् कि क्या हो— बड्काले उसको पेटको तल्लो भागमा अलिकति चिरेर केही चिज निकाल्यो अनि सिउरो पनि काटेर ठुटो बनाइदियो । अनि उसलाई छोडिदियो । उसलाई निकै पीडा भइरहेको थियो तर ज्यानचाहिँ जोगियो ।

अनि खुट्टा खोच्याउँदै ऊ अरु कुखुरा भएतिर गई । उसको पीडा देखेर भालेहरूले सोधे, “ओए, के भो ?”

उसले आफूमाथि बड्काले गरेको ज्यादतीबारे बताई । अरु कुखुरा हाँस्न थाले । अनिमात्रै थाहा पाई कि उसलाई त बड्काले नपुंशक बनाइदिएको रहेछ । ऊ छाँगोबाट खसेजस्ती भई । भुइँमा टाउको ठोकी–ठोकी रुन थाली । तर, केही उपाय थिएन । आफूलाई सम्हाली । चोक्टा खान गएकी बूढी झोलमा डुबेर मरी भनेको शायद त्यही होला भनेर चित्त बुझाई । न त पोथीसँग मस्ती गर्न पाइयो, न त पुरुषत्व नै रह्यो । न भालेको पहिचान सुन्दर सिउरो नै रह्यो । नपुंशक भएर समाजमा टाउको निहुराएर बाँच्नुपर्ने भयो । पूर्वजुनीमा यो कस्तो बरदान मागिएछ भनेर ऊ मनमनै पछुताई । तर के गर्नु ! अब सहनुबाहेक अरु कुनै उपाय थिएन ।

उदास हुँदै उसका बाँकी दिन बित्न थाले । उसले आफूसँगै जन्मेका पोथीहरूलाई हेरी । सबै कति मजाले बसेका थिए । उनीहरूको इज्जत थियो, केही गुमेको थिएन । पीडित थिएनन् । ऊ भने ‘आफू कहीँको पनि भइएन’ भन्दै काल पर्खेर बसी ।

दशैं आउनै लागेको थियो । साँझको बेला ऊ आँगनमा कुहेका मकैका दाना जाँगर नलागी–नलागी टिप्दै थिई । त्यसैबेला एउटा भयानक छाया ऊतर्फ आइरहेको देखी । सिंहजस्तो छाया देखेर ऊ तर्सिई । भाग्ने विचार गर्दै टाउको माथि उठाएर हेरी । त्यहाँ उसले पहिले कहिल्यै नदेखेको मान्छे देखी ।

त्यो मान्छेले ‘बाबा’ भनेर बोलाएको सुनेपछि बल्ल उसलाई थाहा भयो— ऊ त नवलपुरे बाजेको छोरो रहेछ । अनि उसलाई अचानक याद आयो— दशैंमा उसैलाई खुवाउन भाले काट्ने कुरा । अनि ऊ तर्सिई ।

हुन त उसलाई नपुंशक भएर बाँच्ने रहर थिएन तर काललाई नजिकै देखेपछि जसलाई पनि डर लाग्दो रहेछ । ऊ पनि डराई । रातभरि उसलाई निद्रा लागेन ।

अर्को दिन बिहान बाजे आएर सबै कुखुरालाई छोडिदिए तर उसलाई चाहिँ खोरमै थुनेर राखे । उसलाई शंका लागिसकेको थियो— अब अन्तिम दिन आइसक्यो ।

“दशैं मान आगिलो बाबु ? कैह्या ऐलो ?” बड्काले बोलेको सुनेपछि उसको मुटुले ठाउँ छोड्न थालिसकेको थियो । किनभने, आफूलाई नपुंशक बनाएको दिनदेखि नै उसलाई बड्का पटक्कै मन पर्दैनथ्यो । बड्काको छाया देख्दा पनि उसलाई डर लाग्थ्यो ।

“कल ऐन हुँ । मज्जा बटो बड्का ?” बाजेको छोरोले बड्कालाई थारु भाषामै उत्तर दियो । अझै बिर्सेको रहेनछ ।

“हाँ मज्जा बटु ।”

“ए बड्का आयौ ? त्यो बधिया काट्नु पर्यो के ! छोपेर राख्या छ खोरमा, गर्देऊ त,” बड्का आएको देखेर नवलपुरे बाजेले उसलाई बधिया काट्न अह्राए ।

बड्काले खोरमा गएर उसलाई समातेर ल्यायो अनि काट्ने तरखर गर्न लाग्यो । फेरि घाँटीमा हँसिया पर्ने बेला यमराजका दूतले उसलाई सोधे, “के छ अन्तिम इच्छा ?”

उसले हात जोड्दै भनी, “प्रभु ! अरु जेसुकै गर्नू तर अर्को जुनीमा मलाई भाले नबनाइदिनू । म पोथी भएरै जन्मिन पाऊँ !”

यमराजका दूतले ‘तथास्तु’ भन्दै गर्दा बड्काको धारिलो हँसिया उसो कलिलो घाँटीमा रेटियो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०७५  ०९:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC